Monday, December 2, 2013

महिला हिंसा कम गर्न सडक नाटक देखाईयो

महिला हिंसा कम गर्न सडक नाटक देखाईयो
–लालबाबु यादव÷सर्लाही दैनिक
मलंगवा, मङ्सिर १७ । महिला हिंसा विरुद्धको अभियान अन्र्तगत सोमबार सदरमुकाम मलंगवामा सडक नाटक प्रदर्शन गरिएको छ ।
‘घर शान्ति नै विश्व शान्तिको आधारः शैक्षिकवादको चुनौती प्रतिवाद गरि महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ मलंगवा स्थित जिविस चोकमा सडक नाटक प्रदर्शन गरिएको हो । महिला तथा बालबालिका माथि भईरहेको दाईजोप्रथा, बोक्सी, कुलक्षण, यौन दुर्वव्यवहार जस्ता हिंसा विरुद्धको न्यूनिकरण गर्नका लागि नाटक प्रदर्शन गरिएको आयोजकले जनाएका छन् ।
जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय सर्लाहीको आयोजना तथा युएनडीपी शान्तिका लागि जिविकोपार्जन परियोजना जनकपुरको सहयोगमा जनचेतना अभियान नेपालले चेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो ।
महिलाहरूमाथि भइरहेको विभिन्न किसिमका यातना, बालविवाहलगायत अन्य शोषणलाई प्राथमिकतामा राखेर जनचेतना फैलाउने उद्देश्यका साथ सडक नाटक प्रदर्शन गरिएको जनचेतना अभियान नेपालका सुनिल यादवले जानकारी दिए ।
अभियान अन्र्तगत सोमबार मलंगवा सहित भाँडसर, लक्ष्मीपुर सु. लगायत गाउँहरुमा समेत नाटक प्रदर्शन गरिएको   थियो । हाल महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानमा कार्यक्रमहरु भईरहेका छन् ।

नारायण उमाविमा कम्प्युटर कक्षा

नारायण उमाविमा कम्प्युटर कक्षा
सर्लाही समाचारदाता
इश्वरपुर, मङ्सिर १७ । नारायण उमावि एवं नारायण बहुमुखी क्याम्पस इश्वरपुरमा सोमबारदेखी कम्यूटर कक्षा शुरु भएको छ ।
त्यसै विद्यालयका पूर्व विद्यार्थी डा. हरिकृष्ण उपाध्यायले निःशुल्क ७ थान एवं पूर्व प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन मैनालीले उपलब्ध गराएको १ थान कम्प्युटरबाट कक्षा सञ्चालन सुरु गरिएको विद्यालयले जनाएको छ । कक्षा ६ देखि माथिका विद्यार्थीलाई कम्प्युटर कक्षामा सहभागि गराईने बताईएको छ । हाल सिब्रेट कम्पनीमा कार्यरत उपाध्यायले आफूले पढेको विद्यालयलाई सहयोग स्वरुप ७ थान कम्प्युटर उपलब्ध गराएका हुन् ।
सोमबार एक कार्यक्रमका विच हरिप्रसाद उप्रेतीले कम्प्युटर कक्षाको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा चितरन्जन साह, खेम श्रेष्ठ, विद्यानन्दन झा लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो । कम्प्युटर कक्षा सुरु भएपछि उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरु थप लाभान्वित हुने भएका छन् ।

एकैरात तीनघरमा चोरी

एकैरात तीनघरमा चोरी
सर्लाही समाचारदाता
नेत्रगंज, मङ्सिर १७ । आईतबार राती नेत्रगंज गाविस–३ स्थित दुई सर्वसाधारणको घरमा चोरी भएको छ भने एकघरमा चोरीको प्रयास भएको छ ।
दिपक घिमिरे र भैरव न्यौपानेको घरमा चोरी भएको हो भने सकुन्तला अधिकारीको घरमा चोरीको प्रयास भएको दिपकका भाई रोशन घिमिरेले बताए । आÇनो घरबाट ५० हजार नगद, दुईतोला सुनका गहना, डिजिटल क्यामेरा चोरी भएको छ भने न्यौपानेको घरबाट नगद चोरी भएको दिपकका भाइ रोशनले बताए । अधिकारीको घरमा भने ढोका फोरेर चोर्ने प्रयास भएको विहान थाहा भएको उनले बताए। ‘‘हामी तल सुतेका थियौं, बाहिर रहेको भ¥याङ्गबाट माथिल्लो तल्लामा सुतिरहनु भएका दाजुको कोठाको ढोका फोरेर चोरी भएको छ ।’’ रोशनले सोमबार राती सर्लाही दैनिकसँग दावी गरे–‘‘काठमाण्डौ जान दाजुले वीरगंजबाट ५० हजार पैसा र गहना किनेर ल्याउनु भएको थियो।’’ रोशनले चोरी भएका दुईवटै घर र चोरी प्रयास भएको घरमा आईतबार दिउँसो पैसा भित्रिएको थाहा पाएका एकै समूहले चोरी गरेको अनुमान गरे । ‘‘हाम्रो घरमा दाजुले पैसा र गहना ल्याउनु भएको, भैरव न्यौपानेको घरमा ४ महिनाको पेन्सन वापत निकालेको रकम ल्याएर राखेको र सकुन्तला अधिकारीको घरमा धान बेचेर पैसा राखेको देखेका वा थाहा पाएकाले चोरी गरेका हुन् ।’’ रोशनले भने ।
पछिल्लो समय नेत्रगंज गाविसमा चोरीका घटना बढीरहेको सर्वसाधारणले गुनासो गरेका छन् । प्रहरीले भने पीडितले भनेजति ठूला परिमाणमा चोरी नभएको दावी गरेको छ । चोरीमा संलग्नहरुको खोजी कार्य भईरहेको र गस्ती कार्य व्यापक बनाईएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उचित जनशक्ति अभावका कारण प्रभावकारी ढंगले रात्री गस्ती गर्न समस्या परिरहेको र भएजति जनशक्ति परिचालन गरेर सकृय गस्ती गराईएको प्रहरी स्रोतले जनायो ।

छुट्टाछुट्टै दुर्घटनामा सातजना घाईते

छुट्टाछुट्टै दुर्घटनामा सातजना घाईते
सर्लाही समाचारदाता
नेत्रगंज, मङ्सिर १७ । पूर्व–पश्चिम राजमार्गमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटना ७ जना घाईते भएका छन् ।
नेत्रगंज गाविस स्थित वागवानी केन्द्र नजिक साँझ सवा पाँच बजे दुईवटा मोटरसाईकल एकआपसमा जुध्दा तीनजना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आईरहेको भारतीय बीआर ३० एफ ६६७६ नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.४ प ४२८७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाँदा ३ जना घाईते भएका छन् । पूर्वतर्फ गईरहेको मोटरसाईकलमा सवार कमलामाई नगरपालिका–१२, सिन्धुली निवासी करिब ४५ वर्षिय विष्णुबहादुर बोगटी र सोही ठाउँ बस्ने करिब ३५ वर्षिय सुरेश माझि तथा पश्चिमबाट पूर्वतर्फ आईरहेको मोटरसाईकलका चालक हरिवन–९ निवासी करिब २२ वर्षिय आलोक साह घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
घाईते मध्ये माझीको अवस्था केही गम्भिर एवं अन्यको अवस्था सामान्य रहेको बताईएको छ । उनीहरु तीनैजनाको हरिवन स्थित नमूना अस्पतालमा उपचार भईरहेको छ । भारतीय मोटरसाईकल चलाईरहेका साहले गलत दिशामा आएर ठक्कर दिएको ट्राफिक प्रहरीले जनायो ।
त्यस्तै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपुर बजारमा बिहान भएको सवारी दुर्घटनामा ४ जना घाईते भएका छन् । लालबन्दीबाट हरिवन तर्फ आउँदै गरेको को. १ ज १४४२ नम्बरको म्याजिकले विपरित दिसाबाट आउदै गरेको अनटेस्ट डिस्कभर मोटरसाईकल लाई ठक्कर दिएको थियो । दुर्घटनामा परि म्याजिक चालक रानिगंज गाविस–२ का २१ वर्षिय मनोज गिरि, सहचालक इश्वरपुर गाविस–२ का २२ वर्षिय धिरेन्द्र साह, मोटरसाईकल चालक हरिवन गाविस–९ का २२ वर्षिय राजकिशोर साह र मोटरसाईकलमा सवार हरिवन गाविस–९ निवासी २३ वर्षिय सुरेश साह घाईते भएका हुन् । उनीहरु मध्ये मोटरसाईल चालक साहको अवस्था गम्भिर रहेको बताईएको छ । उनलाई हरिवन स्थित नमूना अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाईएको ट्राफिक प्रहरीले जनायो । ठक्कर दिने म्याजिक तथा मोटरसाईकल एवं साँझ एकआपसमा ठक्कर खाएका दुईवटा मोटरसाईकल ईलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेका छन् ।

सर्पदंश केन्द्रमा आँखा शिविर

सर्पदंश केन्द्रमा आँखा शिविर
सर्लाही समाचारदाता
नवलपुर, मङ्सिर १७ । सर्पदंश उपचार केन्द्र नवलपुरमा सोमबार भएको निशुल्क आँखा शिविरमा १ सय ५२ जनाको आँखा परिक्षण गरिएको छ ।
परिक्षणका क्रममा २० जना मोतिया बिन्दुका विरामी भेटिएको छ । परोपकार आँखा उपचार केन्द्र लालबन्दी, थे्रट हेलोज फाउडेसन र जानकी आँखा अस्पताल जनकपुरको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरमा डाक्टर प्रदिप यादवको टोलिले बिरामीहरुको आँखा परिक्षण गरेको थियो । परिक्षणका क्रममा फेला परेका मोतिया बिन्दुका बिरामीहरुको आगामी मंसिर २० गते लालबन्दीको जनज्योति उमाविमा शल्यक्रिया गरिने परोपकार आँखा उपचार केन्द्रले जनाएको छ ।

Sunday, December 1, 2013

मतदान ८१.६८ प्रतिशत, सदर ९५.२ प्रतिशत

मतदान ८१.६८ प्रतिशत, सदर ९५.२ प्रतिशत
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १६ । गत मंसिर ४ गते सम्पन्न संविधानसभा सदस्यको निर्वाचन २०७० मा सर्लाहीमा प्रत्यक्षतर्फ ३ लाख २० हजार ६ सय ४९ जना मतदाता मध्ये २ लाख ६१ हजार ८ सय ९१ जनाले मतदान गरेका छन् । जुन् कुल मतदाताको ८१.६८ प्रतिशत हो । जसमा पुरुष १ लाख ३० हजार ३ सय ३ र १ लाख ३१ हजार ५ सय ८८ महिला मतदाताले भाग लिएका छन् । जसमध्ये २ लाख ४९ हजार ३ सय २५ मत सदर भएको छ । जुन खसेको मतको ९५.२ प्रतिशत हो । २०६४ को संविधानसभा सदस्यको निर्वाचनमा भने ६९.१७ प्रतिशत मात्र मत खसेको थियो भने खसेको मध्ये ९३.९२ प्रतिशत मत सदर भएको थियो ।
क्षेत्र नं. १ मा ५१ हजार २ सय ७८ मतदाता मध्ये ४० हजार ६ सय ४८ जनाले मतदान गरेका छन् । जुन् ७९.३४ प्रतिशत हो । जसमा पुरुष मतदाता १९ हजार ९ सय २ र महिला मतदाता २० हजार ७ सय ८२ जनाले मतदान गरेका थिए । जस्मा ३८ हजार १ सय १६ मत सदर भएको छ । जुन खसेको मतको ९३.६९ प्रतिशत हो ।
त्यस्तै क्षेत्र नं. २ मा ५५ हजार ७९ मतदाता मध्ये ४३ हजार ७ सय ९७ ले मतदान गरेका छन् । जुन् ७९.५ प्रतिशत हो । मतदानमा  २१ हजार ३ सय ३८ पुरुष तथा २२ हजार ४ सय ५९ महिलाले मतदान गरेका थिए । खसेको जम्मा मत मध्ये ४१ हजार ३ सय ७९ मत सदर भएको छ । जुन् खसेको मतको ९४.४८ प्रतिशत हो ।
त्यसैगरी क्षेत्र नं. ३ मा ५४ हजार ८ सय १९ मतदाता मध्ये ४५ हजार २८ जनाले मतदान गरेका छन् । जुन् ८२.१४ प्रतिशत हो । मतदानमा २२ हजार ३ सय ९४ पुरुष तथा २२ हजार ६ सय ३४ महिलाले मतदान गरेका थिए । खसेको जम्मा मत मध्ये ४२ हजार ६ सय ३ मत सदर भएको छ । जुन् खसेको मतको ९४.६१ प्रतिशत हो ।
त्यस्तै क्षेत्र नं. ४ मा ५४ हजार १ सय ४७ मतदाता मध्ये ४४ हजार ५ सय ९५ जनाले मतदान गरेका छन् । जुन् ८२.३६ प्रतिशत हो । मतदानमा २२ हजार ६ सय १४ पुरुष तथा २१ हजार ९ सय ८१ महिला मतदाता रहेका थिए । उक्त क्षेत्रमा खसेको मत मध्ये ४२ हजार ३ सय ४१ मत सदर भएको छ । जुन खसेको मतको ९४.९५ प्रतिशत हो ।
त्यसैगरी क्षेत्र नं. ५ मा ५३ हजार १ सय ७१ मतदाता मध्ये ४४ हजार ७ सय ५९ जनाले मतदान गरेका छन् । जुन् ८४.१८ प्रतिशत हो । मतदानमा २२ हजार ५ सय ८९ पुरुष तथा २२ हजार १ सय ७० महिला मतदाता रहेका थिए । उक्त क्षेत्रमा खसेको मत मध्ये ४३ हजार २ सय ९० मत सदर भएको छ । जुन् खसेको मतको ९६.७८ प्रतिशत हो ।
त्यस्तै क्षेत्र नं. ६ मा ५२ हजार १ सय ५५ मतदाता मध्ये ४३ हजार २८ जनाले मतदान गरेका छन् । जुन् ८२.५० प्रतिशत हो । मतदानमा २१ हजार ४ सय ६६ पुरुष तथा २१ हजार ५ सय ६२ महिला मतदाता रहेका थिए । उक्त क्षेत्रमा प्रत्यक्षतर्फ खसेको मत मध्ये ४१ हजार ५ सय ९६ मत सदर भएको छ । जुन् ९६.६७ प्रतिशत हो ।
त्यसैगरी समानुपातिकतर्फ भने ३ लाख २६ हजार ४ सय ५१ मतदाता मध्ये २ लाख ६७ हजार ५ सय ३५ जनाले मतदान गरेका छन् । जुन् कुल मतदाताको ८१.९५ प्रतिशत हो । समानुपातिकतर्फको मतदानमा १ लाख ३३ हजार ६ सय २२ पुरुष तथा १ लाख ३३ हजार ९ सय १३ जना महिला मतदाता सहभागि भएका थिए । जसमध्ये २ लाख ६० हजार १ सय ५१ मत सदर भएको छ । जुन् खसेको मतको ९७.२४ प्रतिशत हो । निर्वाचनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित सुरक्षाकर्मीहरु र कर्मचारीहरुले समेत मतदान गर्ने हुनाले प्रत्यक्षको तुलनामा समानुपातिकतर्फ बढी मतदाता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
समानुपातिकतर्फ क्षेत्र नं. १ मा ५२ हजार २ सय ८६ मतदाता मध्ये ४१ हजार ७ सय १ जनाले मतदान गरेका छन् । जुन् कुल मतदाताको ७९.७६ प्रतिशत हो ।  जसमा पुरुष मतदाता २० हजार ४ सय १० र महिला मतदाता २१ हजार २ सय ९१ ले मतदान गरेका थिए । खसेकोमध्ये ४० हजार २० मत सदर भएको छ । जसअनुसार सदर मत प्रतिशत ९५.९७ हो ।
त्यस्तै क्षेत्र नं. २ मा ५६ हजार ३ सय ३० मतदाता मध्ये ४५ हजार २ सय ७० जनाले मतदान गरेका छन् । जुन् ८०.३७ प्रतिशत हो । मतदानामा २१ हजार ५ सय ४९ पुरुष तथा २३ हजार ७ सय २१ महिला मतदाता रहेका थिए । खसेको जम्मा मत मध्ये ४३ हजार ६ सय ३९ मत सदर भएको छ । जुन् खसेको मतको ९६.४० प्रतिशत हो ।
त्यसैगरी क्षेत्र नं. ३ मा ५५ हजार ६ सय ६२ मतदाता मध्ये ४५ हजार ८ सय ७१ जनाले मतदान गरेका छन् । जुन् ८२.४१ प्रतिशत हो । मतदानमा २३ हजार २ सय ३४ पुरुष तथा २२ हजार ६ सय ३७ महिला मतदाता रहेका थिए । उक्त क्षेत्रमा खसेको मत मध्ये ४४ हजार ३ सय ६० मत सदर भएको छ । जुन् खसेको मतको ९६.७१ प्रतिशत हो ।
त्यस्तै क्षेत्र नं. ४ मा ५५ हजार ४ सय ३६ मतदातामा ४५ हजार ४ सय ८९ जनाले मतदान गरेका छन् । जुन् ८२.०६ प्रतिशत हो । मतदानमा २३ हजार २ सय ५४ पुरुष तथा २२ हजार २ सय ३५ महिला मतदाता रहेका थिए । उक्त क्षेत्रमा खसेको मत मध्ये ४४ हजार ४ सय ३१ मत सदर भएको छ । जुन् खसेको मतको ९७.६७ प्रतिशत हो । त्यसैगरी क्षेत्र नं. ५ मा ५३ हजार ५ सय ७३ मतदाता मध्ये ४५ हजार १ सय ६५ जनाले मतदान गरेका छन् । जुन् ८४.३१ प्रतिशत हो । मतदानमा २२ हजार ८ सय ९० पुरुष तथा २२ हजार ३ सय ५६ महिला मतदाता रहेका थिए । उक्त क्षेत्रमा समानुपातिकतर्फ खसेको मत मध्ये ४४ हजार ५ सय ४ मत सदर भएको छ । जुन् ९८.५४ प्रतिशत हो ।
त्यस्तै क्षेत्र नं. ६ मा ५३ हजार १ सय ६४ मतदाता मध्ये ४४ हजार ३९ जनाले मतदान गरेका छन् । जुन् ८२.८४ प्रतिशत हो । मतदानमा २२ हजार ३ सय ६६ पुरुष तथा २१ हजार ६ सय ७३ महिला मतदाता रहेका थिए । सो क्षेत्रमा खसेको मत मध्ये ४३ हजार १ सय ९७ मत सदर भएको छ । जुन् ९८.०९ प्रतिशत हो ।
फोटो सहितको मतदाता परिचय पत्र लागू भएकाले र मतदाता शिक्षा कार्यक्रमको प्रभावका कारण २०६४ को निर्वाचनभन्दा यसपटकको निर्वाचनमा मतदान प्रतिशत एवं सदर मत प्रतिशत बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नेपथ्य व्याण्डले लालबन्दीमा सांगीतिक प्रस्तुती दिने

नेपथ्य व्याण्डले लालबन्दीमा सांगीतिक प्रस्तुती दिने
सर्लाही समाचारदाता
लालबन्दी, मङ्सिर १६ । मुलुककै चर्चित सांगितिक व्याण्ड नेपथ्यले ‘शान्तिको लागि शिक्षा मुल नाराका साथ संगीत यात्रा २०७० अन्तर्गत सर्लाहीमा पनि प्रस्तुती दिने भएको छ ।
आगामी मंसिर २७ गते बीणा चलचित्र मन्दिर लालबन्दीमा चर्चित गायक अमृत गुरुङ सहितको सांगीतिक कार्यक्रम हुने भएको हो । दर्शकहरुसँग टिकट दरबापत तीनसय देखि एकहजार रुपैयासम्म लिईन स्थानीय सह आयोजक सोसाईटी बचत तथा ऋण सहकारी संस्था लालबन्दीले जानकारी दिएको छ । दिउँसो ३ बजेपछि सुरु हुने सांगीतिक कार्यक्रमको मुख्य आयोजक काठमाण्डौको नेपालय नामक संस्था रहेको बताईएको छ । कार्यक्रम सफल रुपले सम्पन्न गर्नका लागि विश्वकृष्ण थापाको संयोजकतत्वमा आयोजक समिति समेत गठन गरिएको छ ।
कार्यक्रमबाट संकलन भएको नगदबाट सोसाईटी छात्रवृत्ति अक्षय कोष खडा गरेर स्थानीय गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने आयोजक समितिका नारायण गुर्मछानले बताए ।
कार्यक्रम हेर्न चाहनेका लागि जिल्लाका विभिन्न स्थानमा टिकट उपलब्ध गराईने व्यवस्था मिलाईएको आयोजकले बताएका छन् । नेपथ्यले शान्तिको लागि शिक्षा भन्ने मूल नाराका साथ लालबन्दी सहित मुलुकका १० स्थानमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।