Friday, January 24, 2014

पशुमा खोरेत रोगको औषधी आयो

पशुमा खोरेत रोगको औषधी आयो
सर्लाही समाचारदाता
मलंगवा, माघ १० । जिल्ला पशु सेवा कार्यालय सर्लाहीमा लामो समय पछि खोरेत रोग बिरुद्धको औषधी आएको छ
पशु चिकित्सक कृष्ण भुषण मेहताका अनुसार जिल्लामा खोरेत रोग विरुद्धको औषधी सहज रुपमा पाईने भएको छ । औषधी आएपछि जिल्लाको दक्षिणी क्षेत्र हरिपुर्वा, हरकठवा, फेनरा, सिमरा, धनगढा लगायत क्षेत्रमा तीन साता अघिबाट फैलिएको खोरत रोग पनि विस्तारै नियन्त्रणमा आउन थालेको छ ।
सदरमुकाम मलंगवा आसपासका गाविसहरुमा खोरेत रोग फैलिएकाले नियन्त्रण लिने प्रयास भइरहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

विद्युत अवरुद्ध जारी रहने

विद्युत अवरुद्ध जारी रहने
सर्लाही समाचारदाता
लालबन्दी, माघ १० ।  जिल्लाको  कालिन्जोर देखी कर्मैया सम्म केहि दिन बिहान र दिउँसो  विद्युत अवरुद्ध हुने भएको छ । नवलपुर–मलंगवा सडकखण्डमा पोल सार्नका लागी विद्युत अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण प्रशाखा लालबन्दी फिडर अन्तर्गतका एकदर्जन गाविसमा विद्युत अवरुद्ध हुने प्राविधिक मोहन श्रेष्ठले बताए । बिहान र दिउँसो विद्युत अवरुद्ध भएपनि रातको समयमा भने लोडसेडिङ् तालिका अनुसार नै विद्युत सुचारु हुने श्रेष्ठले जानकारी दिए । नवलपुर–मलंगवा सडकखण्ड वर्षौ देखी जिर्ण रहेका कारण हुलाकी सडक आयोजनाले  विस्तार र कालोपत्रे गर्ने कार्यका लागि विद्युत पोल सार्ने काम भईरहेको हो । यसअघि विद्युत पोल नसारेकै कारण भारतीय ठेकेदारले काम हुन नसकेको बताएको थियो ।

रेडबुल लिगको फाइनलमा एभरेष्ट र लालबन्दी भिड्ने

रेडबुल लिगको फाइनलमा एभरेष्ट र लालबन्दी भिड्ने
सर्लाही समाचारदाता
इश्वरपुर, माघ १० ।  ईश्वरपुर–२ स्थित नारायण उमाविको खेल मैदानमा भएको रेडबुल जिल्ला स्तरिय फुटवल प्रतियोगितमा शुक्रवार सेमी फाईनलका खेल सम्पन्न भएका छन् ।
प्रतियोगिताकोे पहिलो सेमी फाईनल खेलमा एभरेष्ट फुटवल एकेडेमी जब्दीले युनिभर्सल युवा क्लव मनर्वालाई शुन्यका विरुद्ध तीन गोल गरेर फाईनलमा प्रवेश गरेको छ ।
त्यस्तै दास्रो सेमी फाईनल खेलमा आयोजक फुलजोर युवा क्लव बयलवासलाई शुन्यका बिरुद्ध पाँच गोल गरेर लालबन्दी स्पोर्टस क्लव फाईनलमा प्रवेश गरेको छ । आइतवार हुने प्रतियोगिताको फाईनल खेल एभरेष्ट फुटवल एकेडेमी जब्दी र लालबन्दी स्पोर्टस क्लव बिच हुने प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए ।

रेल चलाउन क्षतिपूर्ती दिनुपर्ने माग

रेल चलाउन क्षतिपूर्ती दिनुपर्ने माग
सर्लाही समाचारदाता
लालबन्दी, माघ १० ।  राज्य तथा सरकारले जग्गाको मुआब्जा तथा क्षतीपूर्ति एकल निर्णयले मात्र नभई सम्वन्धित सरोकारवाला तथा चलन चल्ती मुल्य अनुसार दिनुपर्ने बताइएको छ ।
शुक्रवार लालबन्दीमा भएको जग्गा प्राप्ती तथा क्षतीपूर्ति मुआब्जा प्रचलित कानुनी संसोधन २०३४ तथा एकिकरण संसोधन २०७० सम्वन्धी अन्र्तक्रिया कार्यक्रमका वत्ताहरुले सो धारणा व्यक्त गरेका  हुन् ।
राज्यले क्षतिपूर्ति तथा मुआब्जा दिने काममा ढिलाई गर्न नहुने र सम्वन्धित निकाय तथा सरोकारवाला सहितको दवाव समिति गठन गरी सरकारलाई दवाव दिनुपर्ने समेत धारणा समेत राखेका थिए ।
ओमन एक्ट तथा सामुदायिक सारथीको सहयोग तथा चेतनाको लहर आमा समुह लालबन्दी–८ को आयोजनामा भएको कार्यक्रममा जिल्लामा बन्न लागेको मेट्रो रेलवे लाईनको क्षेत्रमा पर्ने जग्गाको मुआब्जा भन्दा पनि क्षतिपूर्ति लिनु पर्नेमा जोड दिएका थिए । मेट्रो रेल्बे लाईन विस्तार विभागले जब्दीमा रेल्वे स्टेशन समेत बनाउने बताएपछि करिव ४२ विगाहमा क्षेत्रफलमा रहेकोे चौडीमा बस्ती रहेको भएपनि नापी विभागले बुट्यान, झाडी लगायत नाम राखी एैलानी जमिन भन्दै त्यस क्षेत्रमा रेल्वे स्टेशन राख्न लागेको जानकारहरुको भनाई रहेको छ ।
रेल्वे स्टेशन राख्दा सयौँ घर परिवार जग्गा विहिन हुने हुँदा उनीहरुलाई उचित चलन चल्ती मुल्य अनुसार क्षतिपूर्ति दिएर मात्र हटाउनु पर्ने भनाई रहेको      छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बावुकाजी प्राधान, समाजसेवी गोविन्द महत, बासु अधिकारी, भुमी अधिकार मञ्चका मदन विक, जिल्ला मालपोत कार्यालयका अधिकृत राम जिनिस राउत, जिल्ला वन कार्यालयका केदारनाथ दाहाल, गाविस सचिव सम्भु ठाकुर लगायतले धारणा राखेका थिए ।

काठ तस्करी रोक्न छलफल

काठ तस्करी रोक्न छलफल
सर्लाही समाचारदाता
कर्मैया, माघ १० ।  कर्मैया गाविसको चुरे क्षेत्र बाट भईरहेको अवैध काठ तस्करी रोक्न शुक्रवार स्थानीय सरोकारवाला संग छलफल भएको छ ।
हरिहर सामुदायिक वनका अध्यक्ष भिम थापाको अध्यक्षता तथा  ईलाका वन कार्यालयका सहायक वन अधिकृत नरेश यादवको प्रमुख आतिथ्यतामा छलफल भएको हो । छलफलमा राजनीतिक दलका प्रतिनिधी, स्थानीय वासिन्दा लगायतले वन क्षेत्रमा भैरहेको अवैध तस्करी रोक्ने विषयमा छलफल भएको थियो । वन क्षेत्रमा भैरहेको अवैध चोरी निकासीका साथै प्रस्तावित पार्वती सामुदायिक वन लाई सामुदायिक वनमा परिणत गर्ने विषयमा छलफल भएको बताइएको छ ।
छलफलमा नेपाली काँग्रेसका दिपक रानाभाट, रमेशराज काफ्ले, शंकर थापा, एमालेका रेवती पन्त, एकिकृत नेकपा माओवादीका भरत थापा, नेकपा माओवादीका टंक प्रसाई लगायतको सहभागिता रहेको    थियो ।

हरिवनमा ६ लाखको चोरी

हरिवनमा ६ लाखको चोरी
सर्लाही समाचारदाता
हरिवन, माघ १० ।  हरिवन–८ मा शुक्रवार अलि हुसेन मियाको घरमा चोरी भइ छ लाख बराबरको धनमाल हराएको छ ।
बिहान साढे दुई बजेको समयमा घरमा बाहिरबाट सुरुङ् खनी चोरी भएको बताइएको छ ।  चोरले घर भित्र बाकसमा राखेको पाँच तोला सुन, सय तोला चाँदी, दुई लाख तीस हजार नगद चोरेर लगेको पीडितको भनाई छ ।
घटना पश्चात ईलाका प्रहरी कार्यालय हरिवनले केहि युवाहरुलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको र अनुसन्धान भइरहकाले उनीहरुको नमा खुलाउन नमिल्ने प्रहरी निरीक्षक शंकर सिंह रावलले बताए ।

हरिवन उमाविमा मास्के

हरिवन उमाविमा मास्के
सर्लाही समाचारदाता
हरिवन, माघ १० । हरिवन गाविस–२ स्थित महादेव जनता उमाविको शुक्रबार भएको अभिभावक भेलाले घनश्याम मास्केको अध्यक्षतामा नौ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।
सर्वसम्मत रुपमा चयन गरिएको समितिमा क्रमशः मोहन श्रेष्ठ, प्रकाशप्रसाद पौडेल, केदार खड्का, श्याम कार्की, कमलविक्रम कार्की र गिता चालिसे सदस्य रहेका छन् । त्यसैगरी शिक्षक प्रतिनिधिबाट माधव सरकार सदस्य एवं विद्यालयका निमित्त प्रधानाध्यापक जयशंकर सिंह सदस्य सचिव रहेका छन् ।