Saturday, March 1, 2014

परिवारकै रहस्यमय मृत्यु ः गाउँ शोकाकुल

परिवारकै रहस्यमय मृत्यु ः गाउँ शोकाकुल

मृत फेला परेका महत परिवार । (तस्वीर ः मृतक महतको फेसबुक पेजबाट)
सर्लाही समाचारदाता
हरिवन, फागुन १६ । डिभी परेर अमेरिका जाने तयारीमा काठमाण्डौ पुगेका हरिवनका एकै परिवारका तीन सदस्य रहस्यमय अवस्थामा मृत फेला परेका छन् । हरिवन गाविस–४, दनुवारी निवासी ३५ वर्षिया श्यामध्वज महतका परिवारनै शुक्रबार विहान आफू सुत्ने कोठामा मृत फेला परेका हुन् । महत, उनकी श्रीमती सुनिता कार्की (महत) र ४ वर्षिया छोरी नानुको रहस्यमय मृत फेला परेको समाचारसँगै दनुवारी गाउँ शोकाकुल बनेको छ ।
अमेरिका जाने प्रक्रियाका लागि अन्तर्वार्ता दिन महत परिवार दुई साताअघि काठमाडौं गएको थियो । भक्तपुरको मध्यपुर नगरपालिका–१७, मगरगाउँस्थित श्यामध्वजका ससुरा रणबहादुर कार्कीको घरमा तीनैजना मृत फेला परेका हुन् । सुनिता र नानु खाटमा सुतिरहेको अवस्थामा र श्याम ढोकाको माथिल्लोमा भागमा रहेको भेन्टिलेसनको ग्रीलमा सलको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
डेढ तल्ले घरको एउटा कोठामा महत परिवार र सँगैको अर्काे कोठामा मृतक सुनिताका भाई नविन कार्की सुतेका थिए । छतमा रहेको एउटा कोठा भाडामा लगाइएको छ । तर नविन र भाडामा बसेका कसैले पनि रातिको घटना थाहा नपाएको बताए । नविनले शुक्रबार बिहान कलेज जाने बेलामा भिनाजु ढोका झुण्डिएको अवस्थामा देखेको बताइएको छ ।
६ फिट उचाईका महत ५ फिट ११ इन्च उचाईको ढोकाको ग्रीलमा सल लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको घुडाले भूई छोएको छ । त्यस्तै उनले लगाएको लुगामा माटो लागेको देखिन्छ । उनको मोवाइल र एकसय ५० रुपैया पनि गेट छेउमा भेटिएको थियो । बिहीबार राती साढे एघारबजेसम्म सुनिताका भाई नविनसँग सबै जना सँगै बसेर दिउँसो खिचेको तस्बिरहरु हेरेपछि उनीहरु सुतेका थिए । ‘‘हिजो बिहीबार पाँच बजेतिर सानोठिमी क्याम्पस क्षेत्रमा घुमेको र केही दिन अघि चिडियाखानामा खिचेको फोटो हेर्दा साँढे एघार बजेको थियो ।’’ इकान्तिपुरमा प्रकाशित समाचार अनुसार नविनले भनेका छन्–‘‘फोटो हेर्दा बेला–बेलामा सोमबार हुने अन्र्तवार्ताको पनि प्रसंग आउँथ्यो । एक जनाको परिचय अर्काेलाई थाहा नहोला भनेर छलफल समेत हुन्थ्यो ।’’ शिवरात्री भए पनि शुक्रबार मेडिकल गर्ने भएकाले मदिरा सेवन नगरेको नविनले बताए ।
शुक्रबार (फागुन १६ गते) स्वास्थ्य परीक्षण र सोमबार       (फागुन १९ गते) अन्तिम अन्तरवार्ता तय भएकाले परिवार नै काठमाडौंतर्फ लागेको थियो । परिवारका अन्य सदस्यका अनुसार मृतक महतले मेडिकल जाँचका लागि ६० हजार रुपैया समेत बुझाइसकेका थिए ।
प्रहरीका अनुसार खाटमा सुतेको अवस्थामा रहेका आमा छोरीको घाटीमा निलडाम देखिएको छ । तर उनीहरुको घाँटीमा केही वस्तु थिएनन् । प्रहरीले प्रारम्भिक अध्ययनका आधारमा श्रीमती र छोरीको हत्यापछि महतले आत्महत्या गरेको अनुमान गरेको छ । अनुसन्धान र पोष्टमार्टम रिपोर्ट पछि मात्रै थप प्रष्ट हुने पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनिता र श्याम दुबैको अनुहारमा नङले चिथोरेको घाउ छ । घटनास्थलमा अनुसन्धानका लागि भक्तपुरका प्रहरी र अपराध अनुसन्धान महाशाखाको टोली खटिएको थियो । त्यस्तै शिक्षण अस्पतालमा पोष्टमार्टममा खटिने चिकित्सक पनि घटनास्थल अवलोकन गर्न आएका थिए ।
‘‘मेरो डे्र«स दिदी भिनाजु सुतेको कोठामा थियो ।’’ इकान्तिपुरमा प्रकाशित समाचार अनुसार नविनले भनेका छन्–‘‘ढोकामा कालो देखेँ, हलचल गरेन । अनि भाडामा बसेकी आन्टीलाई टर्च मागेर हेर्दा त भिनाजु झुण्डिएको देखेँ ।’’ उनको कोठामा छिर्ने दुई ढोका मध्ये महत झुण्डिएको ढोका सधै बन्द हुन्छ । माथिल्लो तलामा भाडामा बसेकी देवी भण्डारीले राती एक बजे बच्चा कराएको सुनेको बताइन् । ‘‘मामुलाई त्यसो नगरिस्यो न भनेर तीन पटक बच्चा कराएको सुनेँ ।’’ इकान्तिपुरमा प्रकाशित समाचारमा भण्डारीले भनेकी छिन्–‘‘त्यसपछि केही सुनिनँ ।’’
आर्थिक हैसियत राम्रै भएका र विदेश जाने तयारीमा रहेकाले श्यामले श्रीमती र छोरीको हत्या गरेर आफूले आत्महत्या गर्न नसक्ने आफन्तहरु बताउछन् । ‘‘श्रीमती र छोरीलाई मारेर आफू मर्नुपर्ने अवस्थाको व्यक्ति होइन ।’’ मृतकका साँढुदाई नाता पर्ने नरबहादुर भण्डारीले भने–‘‘सुनियोजित हो कि भन्ने शंंका छ ।’’ श्यामको परिवारमा कुनै विवाद नभएको पनि उनले बताए ।
मृतक महतका छिमेकी झनक उप्रेतीले महतको परिवारकै मृत्युको खबरले गाउँ नै शोकमग्न बनेको बताए । ‘‘हामीलाई त अझैपनि विश्वास नै लागेको छैन ।’’ शुक्रबार सर्लाही दैनिकसँग उप्रेतीले भने–‘‘श्रीमती र छोरीको हत्या गरेर आफू आत्महत्या गर्ने कुनै कारण थिएन र त्यस्तो गर्छन् भन्ने पनि कुनै विश्वास छैन ।’’ घटना शंकास्पद भएकाले निश्पक्ष रुपमा छानवीन हुनुपर्ने समेत उप्रेतीले माग गरे । मिलनसार र मृदुभाषी रहेका महतको परिवारमा कुनै झै–झगडा भएको समेत थाहा नभएको उनले बताए ।
हरिवन गाविस–४ निवासी कृष्णबहादुर महतका चार भाई छोरा मध्ये मृतक श्यामध्वज माइला हुन् । उनकी श्रीमती सुनिताको माईती सर्लाहीकै मूर्तिया हो । सुनिता हरिवन बजार स्थित न्यू हरिवन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत समेत थिइन् । घटनाबारे थाहा हुनेवितिकै मृतक श्यामध्वजका बुबाआमा सहित परिवारका सम्पूर्ण सदस्यहरु शुक्रबार विहानै त्यसतर्फ लागेका छन् ।

युनियन अध्यक्ष संघमा प्रवेश गरे

युनियन अध्यक्ष संघमा प्रवेश गरे
सुनिल ठाकुर÷सर्लाही दैनिक
मलंगवा, फागुन १६ । नेपाल राष्ट्रिय शिक्षक युनियन सर्लाहीका अध्यक्ष नवलकिशोर राय शुक्रवार नेपाल शिक्षक संघमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय मलंगवामा आयोजित एक कार्यक्रमका बीच युनियन अध्यक्ष राय आÇना ३ दर्जन भन्दा बढी शिक्षक साथीहरु सहित संघमा प्रवेश गरेका हुन् । युनियन अध्यक्ष राय सहित संघमा प्रवेश गरेका शिक्षकहरुलाई नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कौशलकिशोर रायले अविर र माला लगाएर सदस्यता प्रदान गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय शिक्षक परिषद्मा आवद्ध युनियन अध्यक्ष राय नेपाली कांग्रेस निकट शिक्षक संघमा प्रवेश गरेका हुन् । उनीसँगै उमावि भेल्हीका प्रअ दिनेश राय, औरही माविका प्रअ लक्ष्मीकान्त राय, शिक्षक फोरममा आवद्ध एवं मावि नोकेल्वाका प्रअ बासुदेव राय, नेपाल लोकतान्त्रिक शिक्षा फेड्रेशनका जिल्ला उपाध्यक्ष एवं प्रअ भरत राय, प्रअ सुरेन्द्र राय, प्रअ रामविर राय, शिक्षक परिषदका जिल्ला सचिव इन्द्रभुषण सिंह,  रामएकवाल महतो, श्यामकुमार महतो, रामबाबु राय, महादेव राय, जलेश्वर राय, विनोद साह, देवनाथ साह, रामदेव राय, जयराम ठाकर, सुखनन्दन राय, राजकुमार चौधरी, लालबाबु साह, नरसिंह राय, गंगाराम राय, नारायण राय लगायत शिक्षकहरु संघमा प्रवेश गरेका छन् ।
परिषदमा लाग्नुअघि शिक्षक संघकै उपाध्यक्ष रहेका नवलकिशोर संघमा पुन आउँदा अगामी शिक्षक युनियनको निर्वाचनमा संघको जित सुनिश्चित भएको अध्यक्ष कौशलकिशोरले दाबि गरे । त्यसैगरी नवप्रवेशी रायले आफु केही दिनका लागि परिषदमा लागेपनि फेरी पुरानै घरमा फर्किन पाउँदा खुशी लागेको बताए । आफु बिना शर्त संघमा आएको र साथीहरुले फेरी कुनै पनि जिम्मेबारी दिए आफु पछि नहटने बताए । संस्थाको हकहितमा आफु कटिबद्ध रहने पनि नवलकिशोरले बताए । कार्यक्रममा नेपाली काँग्रेसका कार्यालय सचिव जगन्नाथ प्रसाद साह, मावि गम्हरियाका प्रअ एवं युनियनका सचिव कामदेव राय, शिक्षक संघका कार्य समिति पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच नेपाल शिक्षक संघले आगामी शिक्षक युनियनको अधिवेशनमा संघको तर्फबाट अध्यक्षको उम्मेद्वार चयन गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । संघका उपाध्यक्ष यमनाथ उप्रेतीको संयोजकत्वमा विन्देश्वरप्रसाद सिंह, कामदेव राय, बद्रीनारायण मिश्र र रामकुमार शर्मा सदस्य रहेको समिति गठन गरिएको संघका अध्यक्ष रायले बताए । समितिले चयन गरेको व्यक्ति नै युनियनको आगामी अधिवेशनमा अध्यक्षको उम्मेद्वार हुनेगरि संघको जिल्ला कार्यसमितिले म्याण्डेट दिएको संघका अध्यक्ष रायले बताए ।

वैदेशिक रोजगारमा संचारकर्मीको समूह

वैदेशिक रोजगारमा संचारकर्मीको समूह
सर्लाही समाचारदाता
लालबन्दी, फागुन १६ । वैदेशिक रोजगार सम्बन्धि विषय वस्तुलाई पत्रकारिताको माध्यमबाट सशक्त ढंगले उठाउने उद्देश्यले सर्लाहीमा सञ्चारकर्मीहरुको एक समूह गठन गरिएको छ ।
वैदेशिक रोजगारका विषयमा बुधवारदेखि लालबन्दीमा सञ्चालित पत्रकारिता तालिमको शुक्रबार समापन गर्दै सेफर माइग्रेसन रिपोर्टर्स ग्रुप गठन गरिएको हो । हरिवनमा रहेको सहयोगी समाज नेपालका दिपेश बरालको संयोजकत्वमा ग्रुप गठन गरिएको सदस्य आकाश उप्रेतीले जानकारी दिए । ग्रुपमा सर्लाही सहित महोत्तरी, सिन्धुली र रौतहटका सञ्चारकर्मी पनि सदस्य रहेका छन् । सहयोगी समाज तथा सुरक्षित आप्रवासन सूचना केन्द्र र सामी हेल्भेटास संस्थाले संयुक्त रुपमा आयोजना गरेका तालिममा काठमाडौंबाट आएका कान्तिपुर दैनिकका दिनेश रेग्मी र सञ्चारकर्मी रजनिश भण्डारीले प्रशिक्षण दिएका थिए ।

लालबन्दीमा रथ यात्राको प्रवचन

लालबन्दीमा रथ यात्राको प्रवचन
सर्लाही समाचारदाता
लालबन्दी, फागुन १६ । काठमाण्डौबाट शुरु भएको अनुव्रत रथ यात्रा शुक्रवार लालबन्दीमा आइपुगेर प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
लालबन्दीमा रहेको भुदेव खाद्य उद्योगको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न गरिएको हो । प्रवचन कार्यक्रममा स्थानीय सर्वसाधारणहरुको उलेख्य सहभागिता रहेको थियो ।
शान्ति, अहिंसा लगायतको कामना गर्दै केहि दिन अघि शुरु भएको रथयात्रा विराटनगरमा पुगेर टुंगिने आयोजकले जनाएको छ ।

गौरीशंकरको प्रथम सम्मेलन

गौरीशंकरको प्रथम सम्मेलन
सर्लाही समाचारदाता
गौरीशंकर, फागुन १६ ।  गौरीशंकर गाविसलाई खुल्ला दिशामुक्त घोषणा गर्नका लागी सरसफाई सम्वन्धी प्रथम गाउँ सम्मेलन शुक्रवार सम्पन्न भएको छ ।
सम्मेलनले आगामी चैत्र मसान्त भित्रमा गाविसका सम्पूर्ण कर्मचारीहरुले घरमा शौचालय निमार्ण गरिसक्नु पर्ने निर्णय गरेको गाविस सचिव रामप्रिय साहले जानकारी दिए ।
विभिन्न संघ सस्थाहरुले पनि ०७१ असार मसान्त भित्रमा शौचालय निमार्ण गरिसक्नु पर्ने निर्णय भएको साहले जानकारी दिए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलंगवाका ईन्जिनियर शिवशंकर रौनियारको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको थियो ।
सर्लाहीलाई २०७२ साल सम्ममा खुल्ला दिशामुक्त घोषणा गर्नका लागी ९९ गासिमा नै सरसफाई सम्मेलन गर्ने क्रम जारी रहेको छ । साथै शौचालय निमार्ण गर्न नसक्ने अत्यन्त विपन्न परिवारमा गाविस, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र जिविसको सहयोगमा शौचालय निमार्ण गर्न सहयोग गरिने बताईएको छ ।

जिल्लाको समस्या संसदमा उठाइने

जिल्लाको समस्या संसदमा उठाइने
सर्लाही समाचारदाता
हरिपुर, फागुन १६ । नेकपा एमाले जिल्लाकोे दुई र तीन नम्वर क्षेत्रको क्षेत्रिय भेला शुक्रवार सम्पन्न भएको छ । क्षेत्र नम्वर २ को हरिपुर र क्षेत्र नम्वर ३ को बरहथवामा क्षेत्रिय भेला सम्पन्न भएको हो ।
क्षेत्र नम्वर २ मा क्षेत्रिय अध्यक्ष धन बहादुर मिक्चनको अध्यक्षता तथा क्षेत्र नम्वर ३ को क्षेत्रिय अध्यक्ष टंक बहादुर बस्नेतको अध्ययक्षतामा भेला सम्पन्न भएको थियो । पार्टीको आगामी जेठ ३ गते नबौँ राष्ट्रिय महाधिवेशन परेका कारण संगठित सदस्यहरुलाई नविकरण गर्ने काम भैरहेको एमाले जिल्ला अध्यक्ष मनोज देवकोटाले जानकारी दिए ।
एमालेले जिल्लाको विभिन्न समस्याहरु आफ्ना पार्टीका नवनिवार्चित सभासदहरु मार्फत संसदमा उठाउन माग गर्ने देवकोटाको भनाई छ । साथै सभासद्हरुलाई विकास निमार्ण कार्यमा ध्यानाकर्षण समेत गराईने एमालले जनाएको छ । सर्लाहीबाट एमालेको तर्फबाट प्रत्येक्ष र समानुपातिक तर्फ गरी चारजना सभासद् रहेका छन् ।

भाँङ खाएर गम्भिर घाईते

भाँङ खाएर गम्भिर घाईते
सर्लाही समाचारदाता
लाल्बन्दी, फागुन १६ ।  शिवरात्रीको अवसरमा अत्याधिक भाँङ खाएर लालबन्दीमा एक पुरुष गम्भिर घाईते भएका छन् ।
भाँङ खाएर लड्दा लालबन्दी २ का ५२ वर्षिय कमल बहादुर डुमजन गम्भिर घाईते भएका हुन् । घाईते डुमजनको स्थानीय स्तरमा प्राथमिक उपचार पश्चात थप उपचारका लागी वीरगञ्ज पठाईएको प्रहरीले जनाएको छ ।
भाङ खाएर घरतर्फ फर्कदै गर्दा बाटैमा लडेर डुमजन गम्भिर घाईते भएका थिए ।