Friday, October 25, 2013

भाग्ने म्यादीको संख्या बढ्यो

भाग्ने म्यादीको संख्या बढ्यो
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०७ । सुविधाको विषयमा असन्तुष्टि जनाउँदै सर्लाहीबाट नियुक्ति लिएका म्यादी प्रहरी भाग्ने क्रम जारी छ । तालिममा सहभागि भएका मध्ये जिल्लाका विभिन्न स्थानबाट बिहिबारसम्ममा ७३ जना म्यादीले काम छाडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा रहेका ७३ जना म्यादी प्रहरीहरु सम्पर्क बाहिर गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।  आवेदन लिने बेलामा नेपाल प्रहरीका जवानको २ महिना बराबरको सम्पूर्ण सुविधा उपलब्ध गराउने भनिएपनि हाल डेढ महिनाको मात्र सुविधा दिने भनिएपछि तालिममा सहभागि भएका म्यादी प्रहरी भागेका हुन् ।
आवेदन लिनेबेलामा नेपाल प्रहरीको जवानले खाने दुईमहिनाको संपूर्ण सुविधा दिने भनिएपनि हाल डेढ महिनाको मात्र पाईने सुनेपछि र अर्को जिल्लामा खटिनु परेकाले म्यादीहरु धमाधम भाग्न थालेको प्रवक्ता ओलीले बताए । सर्लाहीमा एकहजार चारसय ६५ जना म्यादी प्रहरी खटाईने भएपनि धनुषाबाट एकहजार दुईसय ७९ जना जना मात्र आईपुगेका थिए । धनुषाबाट नियुक्ति बुझेर सर्लाही आउनुपर्ने म्यादीहरु नआएको प्रवक्ता ओलीले बताए ।
इलाका प्रहरी कार्यालय हरिवन, लालबन्दी, केशरगञ्ज, हरिपुर र बरहथवालाई १ सय २५ जनाको दरले तथा इलाका प्रहरी कार्यालय गडहियामा १ सय ३२ जना पठाईएको थियो भने बाँकीलाई मलंगवामै राखिएको थियो । त्यसमध्ये बिहिबारसम्म ७३ जना म्यादी प्रहरीले काम छाडेर भागिसकेका छन् । तालिममा आएका म्यादीहरु केही दिन दुईछाक खाना खाँदै भाग्दै गरेका कारण खाना खुवाउने ‘क्याटरिङ’ वालालाई समेत समस्या देखिएको प्रवक्ता ओलीले बताए ।

Thursday, October 24, 2013

लागुऔषधका युवकलाई म्याद थप

लागुऔषधका युवकलाई म्याद थप
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०७ । प्रतिबन्धित औषधि (लागु औषध) सहित पक्राउ परेका एक युवकलाई जिल्ला अदालतबाट म्याद थप गरी कार्बाही प्रकृया अगाडी बढाईएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार मलंगवा नगरपालिका–८ बाट लागु औषध सहित काठमाण्डौ मातातिर्थ–१ का २४ वर्षिय विक्रम गुरुङलाई नियन्त्रणमा लिएको थियो । गुरुङलाई बिहिबार जिल्ला अदालतबाट सात दिन म्याद लिएर कार्वाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीले बताए ।
प्रहरीका अनुसार शंकास्पद देखिएपछि चेक जाँच गर्दा गुरुङको साथबाट नर्फाेन नामक इन्जेक्सन ५९ भाइल, डाइजेपाम ५९ थान, फेनारगन ५९ थान प्रतिबन्धित औषधि बरामद भएको थियो ।

सोसल रिपब्लिकको घरदैलो

सोसल रिपब्लिकको घरदैलो
सर्लाही समाचारदाता
लालबन्दी, कात्तिक ०७ । सोसल रिपब्लिक पार्टीको बिहिबार लालबन्दीमा घर दैलो कार्यक्रम सम्मपन्न भएको छ ।
पार्टीका क्षेत्र नम्बर १ का उम्मेद्वार शुनिल कुमार साहको नेतृत्वमा घर दैलो कार्यक्रम सम्मपन्न हो । लालबन्दी गाविसको १, ७, र ९ वडामा घर दैलो कार्यक्रम गरिएको उक्त पार्टीका नेता मनोज पोखरेलले बताए । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Wednesday, October 23, 2013

कानून बनाउने दल र उम्मेद्वारबाटै नियम उल्लंघन

कानून बनाउने दल र उम्मेद्वारबाटै नियम उल्लंघन
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, कात्तिक ०६ । आगामी संविधान सभाको निर्वाचनमा सहभागि सर्लाहीका राजनैतिक दल र उम्मेद्वारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको उल्लंघन सुरु गरेका छन् । गत कात्तिक ४ गते सोमबारदेखि लागू भएको आचारसंहिता अनुसार प्रचारप्रसारमा प्रयोग गर्ने सवारी साधनको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयहरुबाट पास लिनुपर्ने भएपनि सर्लाहीमा राजनैतिक दलहरुतर्फ कसैले लिएका छैनन् भने उम्मेद्वारहरुतर्फ क्षेत्र नं. १ का उम्मेद्वार नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मात्र एउटा जीपको पास लिएका छन् । मुलुकको मूल कानून बनाउने माध्यमको रुपमा रहेको संविधान सभाको निर्वाचनमा सहभागि राजनैतिक दल र कानून बनाउने सभासद्मा निर्वाचित हुन प्रतिष्पर्धा गरिरहेका संविधान सभाका उम्मेद्वारहरुले स्वयं निर्वाचन आयोगद्वारा जारी आचारसंहिता (नियम) को उल्लंघन गरेर लज्जाजनक व्यवहार प्रस्तुत गरेका छन् । जिल्लामा पार्टीको झण्डा र चुनाव चिन्हका व्यानर फहराएर तथा पोष्टर पम्प्लेट टाँसेर भारतीय नम्बर प्लेटका सहित सयौं सवारी साधन गुडिरहेका भएपनि एकजना उम्मेद्वारले मात्र सवारी साधनको पास लिनुले मूलुकको मूल कानून बनाउन कस्सिएका दल तथा उम्मेद्वारहरु आचारसंहिता पालनातर्फ उदासिन बनेको स्पष्ट भएको छ ।
गत असोज २२ गते मंगलबार पत्रकारिता विकास प्रतिष्ठानद्वारा मलंगवामा आयोजित ‘संविधान सभा निर्वाचन ः सुरक्षा र चुनौती’ विषयक अन्तरक्रियामा आचारसंहिताको पूर्ण पालना गर्ने जिल्ला स्थित मुख्य राजनैतिक दलका प्रमुखहरुले व्यक्त गरेका भएपनि सवारीसाधनको पास नलिएर उल्लंघन सुरु गरेका छन् । बुधबारसम्म क्षेत्र नं. १ का नेकपा एमालेका उम्मेद्वार अध्यक्ष झलनाथ खनालले प्रयोग गर्ने एउटा जीपको लागि पास वितरण भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्ण कमल अधिकारीले बताए । राजनैतिक दलतर्फ भने एउटा पनि सवारी साधनको पास वितरण नभएको अधिकारीले बताए ।
‘‘जिल्ला स्थित निर्वाचनमा भाग लिएका राजनैतिक दलहरुलाई आचारसंहिता पालना गर्न आग्रह गर्दै आजै पत्राचार गरिसकेका छौं ।’’ मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश अधिकारीले बुधबार सर्लाही दैनिकसँग भने–‘‘जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि पास लिएको सवारी साधनको विवरण सहित बोधार्थ गरेका छौं, आचारसंहिता विपरित गुडिरहेका सवारीसाधनलाई प्रहरी प्रशासनले आवश्यक कार्वाही गर्नेछ ।’’
पास लिनका लागि कतिपय राजनैतिक दल र उम्मेद्वारहरु सम्पर्कमा भने आईरहेको अधिकारीले बताए । ‘‘सम्पर्कमा आएका राजनैतिक दल तथा उम्मेद्वारहरु मध्ये अधिकांशले भारतीय नम्बर प्लेटका सवारी साधनको अनुमति माग्न आएका छन् ।’’ अधिकारीले भने–‘‘निर्वाचन सम्पन्न नभएसम्मका लागि भन्सार तिरेर आउने भारतीय सवारीसाधनलाई मात्र पास दिईने बताएपछि फर्किरहेका छन् ।’’
प्रचार प्रसारका लागि एउटा राजनैतिक दलले २ वटा तथा एक उम्मेद्वारले २ वटाका दरले हल्का सवारी साधन प्रयोग गर्न पाउने आचारसंहितामा उल्लेख छ । सर्लाहीमा ५४ वटा दलले उम्मेद्वारी दिएका छन् भने स्वतन्त्र सहित जम्मा २ सय ५५ जना उम्मेद्वार कायम छन् । निती निर्माण तहमै सक्रिय हुने एमाले र तीन मधेशवादी दल तमलोपा, तमसपा, सद्भावना तथा चुरेभावरको केन्द्रिय अध्यक्ष लगायतले उम्मेद्वारी दिएको जिल्लामा ५४ वटा दल तथा २ सय ५५ जना उम्मेद्वारले सवारी साधन प्रयोग गर्छन । आर्थिक व्ययभार लगायत विविध कारणले कतिपय उम्मेद्वारले सवारी साधन प्रयोग नगर्ने भएपनि जिल्लाका अधिकांश राजनैतिक दल तथा उम्मेद्वारले पार्टीको झण्डा र चुनाव चिन्हले रंगीचंगी बनाएर प्रचारप्रसारमा जीपहरु प्रयोग गरिरहेको जानकारहरु बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले पार्टीका झण्डा र चुनाव चिन्ह अंकित सवारी साधनको हकमा निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्ने र अन्य भारतीय सवारी साधनले पनि भन्सार तिरेको कागजात साथमै राख्नुपर्ने बताए । ‘‘प्रचारप्रसारमा प्रयोग भएका सवारी साधनसँग पास हेरिन्छ र सामान्य भारतीय सवारीसाधनको भन्सारको कागजात हेरिन्छ ।’’ प्रजिअ घिमिरेले भने–‘‘नियमानुसार नभए कानून बमोजिम कार्वाही हुन्छ ।’’
प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले प्रचार प्रसारमा प्रयोग हुने सवारीसाधलाई निर्वाचन अधिकृतको कार्यालयबाट पास लिन र बाँकी भारतीय नम्बर प्लेटका सवारी साधनलाई भन्सार तिरेर गुडाउन बुधबार नै सार्वजनिक सूचना टाँस एवं सदरमुकाम मलंगवामा माईकिङ समेत गरिएको बताए । ‘‘आज र भोली दुईदिनसम्म सूचनाको बाटो हेर्छौं ।’’ प्रहरी उपरीक्षक धानुकले बुधबार सर्लाही दैनिकसँग भने–‘‘पर्सीबाट नियम विपरित गुडेका सवारीसाधन नियन्त्रणमा लिएर कार्वाही थाल्छौं ।’’ जिल्ला प्रहरी कार्यालयले बुधबार दिनभर सदरमुकाम मलंगवामा यसबारे माईकिङ गरेको थियो भने विभिन्न स्थानमा सार्वजनिक सूचना टाँस गरेको छ । विहिबार पनि माईकिङ र सूचना टाँसलाई निरन्तरता दिईने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।

व्यवसायीको हडताल ः सुरक्षामा समर्थन

व्यवसायीको हडताल ः सुरक्षामा समर्थन
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०६ । नवलपुर–मलंगवा सडकखण्ड मर्मतका लागि यातायात सेवा नै बन्द गरी व्यवसायी बुधबारदेखि अनिश्चित हडतालमा उत्रिएका छन् ।
सडक पूर्ण रुपमा जिर्ण भएपनि सम्बन्धित निकायले मर्मतका लागि कुनै वास्ता नगरेपछि यातायात व्यवसायी हड्तालमा उत्रिएका हुन् । सडकमा यातायत नै चलाउन नहुनेगरी भएको खाल्डा खुल्डी मर्मत नभएसम्मका लागि नवलपुर–मलंगवा २५ किलोमिटर सडकखण्डमा कुनैपनि भाडाका सवारी साधन नचलाउने निर्णय गरिएको सर्लाही यातायात बस व्यवसायी संघका अध्यक्ष शिवशंकर रायले बताए ।
राय भन्छन् –‘नवलपुरदेखि मलंगवासम्ममा भएको २५ किलोमिटरको दुरीमा यात्रा गर्दा आधा घण्टा मात्र समयमा लाग्नुपर्ने हो तर जिर्ण सडकका कारण दुई घण्टासम्म सवारी चलाउनुपर्छ तर त्यसमा पनि दुर्घटनाको जोखिम हुन्छ ।’
कात्तिक–२२ सम्ममा सो सडक पीच गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने शर्तका साथ भारतीय निर्माण कम्पनी भिस्वा कन्स्ट्रक्सनले दुई वर्षिय सम्झौता गरेको भएपनि समय सकिन १५ दिनमात्र बाँकी रहदा पीच हुन त परै जाओस् ठेकेदार कम्पनीको अहिले अत्तो पत्तो छैन ।
सडक जिर्ण हुँदा यातायात व्यवसायी र सर्वसाधारण यात्रुको कठिनाई एवं धुलो उडेर आसपासका समाज तथा बस्तीहरुमात्र प्रभावित नभई नजिकिदो संविधान सभाको निर्वाचनको सुरक्षार्थ सुरक्षा निकायको समेत टाउको दुखाइको विषय बनेको थियो । जिर्ण सडकले प्रहरी भनेको समयमा कहिपनि पुग्न नसक्ने जनाउँदै गत असोज १४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत सडक मर्मत गर्न गृहमन्त्रालयमा पहल गर्ने निर्णय गरेको थियो ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले निर्वाचन अघि नै जिर्ण सडक मर्मतको माग गरिएको बताए । भारतीय निर्माण कम्पनीले सडक बनाउने ठेक्का लिएपछि सो सडकमा केही गर्न नमिल्ने भएको तर ठेकेदारले समयमै कार्य सम्पन्न गर्न नसक्दा समस्या आएको घिमिरेले जानकारी दिए ।
प्रजिअ घिमिरे अगाडी भन्छन् –‘हामीले नेपाल स्थित भारतीय राजदुतावास मार्फत भारत सरकारलाई तत्काल मर्मतका लागि बजेट माग गरेका छौं सो कुरामा भारतीय राजदुको अभिव्यक्ति सकारात्मक रहेको छ । ठेकेदारले सम्झौता अनुसार कार्य नगरेकाले मर्मतका लागि भएपनि बजेट माग गरिएको हो ।’
सुरक्षा निकायले सडक मर्मतको माग गरिरहेको अवस्थामा यातायात व्यवसायीले गरेको हडतालले उक्त कार्यका लागि दवाव त परेको छ तर नवलपुर–मलंगवा सडक खण्डमा भाडाका सवारी साधन नचल्दा सर्वसाधारण भने तत्कालका लागि मर्कामा परेका छन् । बुधबार निजी सवारी मोटरसाईकल र प्राइभेट गाडी मात्र चलेकाले आफ्ना सवारी नहुनेहरु पैदल यात्रा गरी गन्तव्यसम्म पुग्न बाध्य भएका थिए ।

पोखरीमा शव फेला प¥यो

पोखरीमा शव फेला प¥यो
सर्लाही समाचारदाता
चन्द्रनगर, कात्तिक ०६ । चन्द्रनगर गाविस अन्तर्गत रहेको नाडिमन तालमा बुधबार शव फेला परेको छ ।
मंगलरबार साँझदेखि हराएका चन्द्रनगर–८ का ४५ वर्षिय श्रीदेव सिंह दनुवार पानीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनायो । साँझ साढे सात बजेतिर घरबाट एक्कासी हिडेका दनुवार मृत अवस्थामा भेटिएपछि मृत्युको कारण बारे अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करेन्टबाट घाइते

करेन्टबाट घाइते
सर्लाही समाचारदाता
नवलपुर, कात्तिक ०६ । घरको काम गर्ने क्रममा बुधबार करेन्ट लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
नेत्रगंज–७, स्थित दीपक खड्काको घरमा प्लाष्टर गर्ने क्रममा आल्मुनियमको रुसाले ३३ हजार भोल्टको हाइटेन्सन लाइनलाई छोएपछि स्थानिय ४५ वर्षिय प्रेमबहादुर गजमेर गम्भीर घाइते भएका थिए ।
करेन्टबाट घाइते गजमेरको स्थानिय अस्पतालको प्राथमिक उपचार पश्चात थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । करेन्ट लागेका गजमेरको शरिरका विभिन्न भाग डढेकोले उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।