Monday, October 28, 2013

‘मुलुक टुक्र्याउनबाट जोगाउने अन्तिम अवसर’

‘मुलुक टुक्र्याउनबाट जोगाउने अन्तिम अवसर’
सर्लाही समाचारदाता
हरिवन, कात्तिक १० । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई टुक्रिनबाट जोगाउन र हिन्दु राष्ट्र कायम राख्नका लागि आगामी संविधान सभा अन्तिम अवसर भएको बताएका छन् ।
मेची–महाकली राष्ट्रिय एकता रथयात्राका क्रममा आइतबार अपरान्ह हरिवनमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको राष्ट्रिय एकता, अखण्डता एवं सार्वभौमिकता जोगाउनका लागि आगामी संविधान सभा नै अन्तिम अवसर भएको बताए । ‘‘जातीय आधारमा संघीय राज्य बनाएर देशलाई टुक्रयाउने प्रयास भईरहेको छ ।’’ अध्यक्ष थापाले भने–‘‘जातिय, धार्मिक, भाषिक रुपले मुलुकलाई एक बनाउने हाम्रो अभियान र लडाँई जारी छ, मुलुकलाई एक बनाईराख्ने हो भने हामीलाई सहयोग गर्ने तपाईहरुको अन्तिम अवसर हो, नत्र मुलुक कहाँ पुग्छ ठेगान छैन ।’’
जातीय आधारमा संघीय राज्य एवं हिन्दु राष्ट्रको अस्तित्व मेटिएको संविधान निर्माण भए त्यसलाई परिवर्तन गर्न करिब–करिब असम्भव रहेकाले बेलैमा त्यसप्रति सजग हुन समेत उनले आग्रह गरे । आम नेपाली जनतालाई सजग र सचेत बनाउँदै झकझक्याउन पनि चुनावको मुखैमा रथयात्रा गर्नु परेको उनले वताए । वैदेशिक शक्तिहरुले आÇनो धर्म र संस्कृतिको प्रभाव जमाउनका लागि खेल खेलीरहेको र त्यसमा प्रमुख दलहरुले साथ दिएकाले आम नेपालीको धार्मिक, साँस्कृतिक सहिष्णुता जोगाउन राप्रपा नेपाल निरन्तर लागिरहेको थापाको भनाई थियो । संसदबाट प्रधानमन्त्री छान्दा भारतको आर्शिवाद थाप्ने प्रमुख दलहरुको चलन रहेकोले उक्त प्रचलन तोड्नका लागि आम जनताको प्रत्यक्ष मतबाट कार्यकारी प्रधामन्त्री छनौट गरिनुपर्ने थापाको कथन थियो ।
गणतन्त्र, संघियता र धार्मिक स्वतन्त्रताको साझा एजेन्डामा ९५ प्रतिशत सहभागिता हुँदापनि गत संविधान सभाबाट नयाँ संविधान दिन नसक्ने दलहरु पूनः जनताको घरदैलोमा निर्लज्ज बनेर भोट माग्न आएको उनले बताए । उनले ठूला भनिने चार दलले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए ।
ठूला चारदलले शान्ति र संविधानको नाममा गरिब देशका गरिब जनताको करबाट संकलित एवं वैदेशिक ऋणबाट सय अर्ब भन्दा बढी बजेट स्वाहा पारेको अध्यक्ष थापाले दावी गरे ।  सत्ता र पैसाका लागि प्रमुख दलहरु लागि परेका कारण मुलुक परिवर्तन  र संविधान विहिन बनेको थापाको आरोप थियो । ‘‘लोडसेडिङको मार व्यहोरिरहेको मुलुकमा कुलेखानी जस्ता तीन ठूला योजना र अर्काे पूर्व पश्चिम राजमार्ग बन्न सक्ने बजेट स्वाहा पारियो ।’’ अध्यक्ष थापाले भने–‘‘फेरी पनि उहि एजेण्डा बोकेर ति तपाईहरु माँझ आएका छन् ।’’ चार ठूला दलले भोट माग्नआए पहिला सयचोटी कान समातेर उठबस् गराउन समेत थापाले आग्रह गरे ।
कार्यक्रममा बोल्दै पूर्व नायव बडागुरुज्यू एवं प्रध्यापक माधव भट्टराईले नेपालीको धार्मिक, सांस्कृतिक पहिचान गुम्ने अवस्थामा पुगेको उल्लेख गर्दै मुलुकको एकता, अखण्डता एवं सार्वभौमिकता सहित कला संस्कृतिको अस्तित्व जोगाउनका लागि आगामी संविधान सभाको निर्वाचनमा राप्रपा नेपाललाई सहयोग गर्न आग्रह गरे । ‘‘राष्ट्रिय एकतामा बाँधिएको नेपाललाई जातिय नाममा काँक्रोको चिरा जसरी टुक्र्याउन खोजिदै छ ।’’ भट्टराईले भने–‘‘मुलुकलाई टुक्र्याउनबाट जोगाउने अन्तिम अवसर आगामी संविधान सभाको चुनाव हो ।’’
सभामा राप्रपा नेपालका २ नम्बर क्षेत्रका उम्मेद्वार ध्रुव बुढाथोकीले स्वागत गरेका थिए । कार्यक्रममा पूर्व मन्त्री सोनेलाल राय, केन्द्रीय सदस्य नारायण श्रेष्ठ, राप्रपा नेपालका जिल्ला अध्यक्ष प्रभाकर सिंह लगायत जिल्लाका विभिन्न क्षेत्रका उम्म्देवारहरुको समेत उपस्थिती रहेको थियो । सभा पश्चात अध्यक्ष थापा नेतृत्वको रथयात्रा पूर्व मेचीतर्फ लागेको छ ।

No comments:

Post a Comment