अग्रवाल काण्डमा थुनछेकको बहस सकियो
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ४ । उद्योग वाणिज्य संघ मलगवाका अध्यक्ष रंगलाल अग्रवाल मृत अवस्थामा फेला परेको घटनामा संलग्नताको आशंका गर्दै पक्राउ परेका दुईजनाको सोमबार जिल्ला अदालतमा थुनछेकको बहस सकिएको छ ।
मलंगवा नगरपालिका–८ का शिवनाथ चौधरी र उनका छोरा भोला भन्ने अविनाश चौधरी विरुद्ध थुनछेकको बहस भएको हो । उनीहरु विरुद्ध कर्तव्य ज्यान अन्तर्गत मुद्धा दायर भई थुनछेकको प्रकृया अगाडी बढेको प्रहरीले जनाएको छ । आइतबार र सोमबार दुईदिन अभियुक्तका पक्ष र विपक्षका वकिलहरुले बहस गरेका हुन् । जिल्ला अदालतबाट थुनछेकको आदेश नभएकाले दुईजनालाई हाल जिल्ला प्रहरी कार्यालयकै हिरासतमा राखिएको प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।
अग्रवालको हत्या भएको दावी गर्दै हत्यामा संलग्नताको आशंकाका साथ उनका छोरा रविले गत भदौ १८ गते मंगलबार जिल्ला प्रहरी कार्यालयमा ५ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीमा उल्लेख भएका मध्ये दुईजनालाई प्रहरीले गत असोज १० गते विहिबार नियन्त्रणमा लिएको हो । उनीहरु उद्योग वाणिज्य संघ मलंगवामै कार्यरत थिए ।
मलंगवा नगरपालिका–८ का ५५ बर्षिय रंगलाल अग्रवाल संघको निर्माणाधिन भवन नजिकै खेतमा भदौ १२ गते राती करिब नौ बजे मोटरसाइकल सहित लडेर मृत अबस्थामा फेला परेका थिए । संघको नेतृत्व चयनका लागि साधारणसभा आयोजना गरिएको अघिल्लो रात उनी मृत फेला परेका थिए । साधारण सभाको अघिल्लो रात उनको संकास्पद मृत्यु हुनुले घटना रहस्यमय बनेको उनका आफन्तजन एवं उनी सम्बद्ध संघसंस्थाले दावी गर्दै आएका छन् ।
No comments:
Post a Comment