Wednesday, October 30, 2013

डिआईजीद्वारा निरीक्षण

डिआईजीद्वारा निरीक्षण
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १३ । आगामी संविधान सभा निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न बुधबार नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका नायव महानिरीक्षक (डिआईजी) हरुले सर्लाहीमा निरीक्षण गरेका छन् ।
नेपाल प्रहरीको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआईजी विज्ञानराज शर्माले जिल्ला प्रहरी कार्यालय मलंगवामा निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका हुन । डिआईजी शर्माले निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले बताए । अपरान्ह २ बजेतिर आएका डिआईजी शर्माले मलंगवामा आधा घण्टा विताएका थिए ।
त्यस्तै सशस्त्र प्रहरीको मध्य क्षेत्रीय कार्यालय पथलैयाका प्रमुख डिआईजी महावीर गुरुङले पनि बुधबार नै जिल्ला स्थित सशस्त्र प्रहरीका इकाईहरुको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन दिएका छन् । विहानै सर्लाही आएका गुरुङ साँझमात्र फर्केका थिए ।
‘‘डिआईजी साहेबबाट जिल्लाका ६ वटै क्षेत्रमा रहेका क्षेत्रीय निर्वाचन सुरक्षा वेसहरुको निरीक्षण भयो ।’’ सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय मलंगवाका नायव उपरीक्षक भरत बस्नेतले भने–‘‘निर्वाचनको सुरक्षाका लागि आवश्यक निर्देशन समेत दिनुभयो ।’’ सशस्त्र नायव महानिरीक्षक गुरुङले सशस्त्र प्रहरीको सर्लाही स्थित क्षेत्र नं. १ को सागरनाथ, २ को हरिवन, ३ को धरहरा, ४ को त्रिभुवननगर, ५ को सुन्दरपुर र ६ को बाराउद्योरण स्थित क्षेत्रीय निर्वाचन सुरक्षा वेसको समेत स्थलगत अवलोकन गरी जानकारी लिने र व्रिफिङको काम भएको नायव उपरीक्षक बस्नेतले बताए ।
निर्वाचनको विरोध गरिरहेको माओवादी बैद्यपक्ष सहितका दलहरुले पु¥याउन सक्ने अवरोध लगायतलाई मध्यनजर गर्दै नजिकिदो संविधान सभा निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा निकायहरुले जनाएका छन् ।

No comments:

Post a Comment