सर्लाहीको हरिवन-सिन्धुलीको क्यानेश्वर सडकखण्डमा ट्रयाक्टर दुर्घनटना
५ जनाको मृत्यु ः ६ जना घाइते
सर्लाही समाचारदाता
क्यानेश्वर, कात्तिक १४ । हरिवन–क्यानेश्वर सडकखण्डमा विहीबार राती ट्रयाक्टर पल्टदा दुई महिला सहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाईते भएका छन् ।
लालबन्दी बजारबाट टेलरभरी टनाटन खाद्यान्न सामानहरु बोकेर सिन्धुलीको क्यानेश्वर जाँदै गरेको ट्रयाक्टर राती १० बजेतिर धिमिलेडाँडा भन्दा केही तलपुगेपछि क्यानेश्वर गाविस स्थित सडकबाट झण्डै ४० मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमध्ये चारजना क्यानेश्वर गाविसका छन् भने एकजना पत्थरकोट गाविसका छन् । सँगै यात्रा गरिरहेका एक दम्पतिमध्ये श्रीमतिको मृत्य भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा क्यानेश्वर गाविस–१, भुताहाका मात्र तीनजना छन् भने नौ नम्बर वडाका एकजना र पत्थरकोट गाविसका एकजना रहेका छन् ।
त्यस्तै मृत्यु हुनेमा क्यानेश्वर गाविस अन्तर्गत वडा नं. १ का ७४ वर्षिय काजीमान थिङ, ४४ वर्षिया फूलमाया थिङ, २० वर्षिया माईली थिङ तथा वडा नं. ९ का ३२ वर्षिय प्रतिक स्याङतान रहेका छन् । त्यस्तै दुर्घटनामा परि पथ्थरकोट गाविस बाहुनीका २५ वर्षिय विशाल ब्लोनको पनि मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट हरिवनका प्रमुख हबल्दार इन्द्र घिसिङले बताए । विशाल सोही ट्रयाक्टरको चालक रहेको बताईएको छ । मृतकहरको शव यो समाचार तयार पार्दासम्म घटनास्थलमै जस्ताको तस्तै छरिएर रहेको थियो ।
त्यस्तै दुर्घटनामा परि क्यानेश्वर गाविस–१ की १८ वर्षिया विना मोक्तान तथा सर्लाहीको नारायणखोला गाविस–२ का १८ वर्षिय दलबहादुर रुम्बा गम्भिर घाईते भएका छन् । ट्रयाक्टरकै सहचालक रहेका रुम्बाको अनुहार सहित टाउकोका विभिन्न भागमा गहिरा चोटहरु रहेका छन् भने मोक्तानको ढाड र खुट्टाहरु भाच्चिएको अनुमान गरिएको छ । उनीहरुलाई राती नै थप उपचारका लागि बाहिर पठाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अन्य घाईतेमा क्यानेश्वर गाविस–१ का ३७ वर्षिय ज्ञानबहादुर थिङ, ३६ वर्षिय भिमबहादुर तामाङ र २० वर्षिय धनबहादुर घिसिङ रहेका छन् । दुर्घटनामा परेर मृत्यु भएकी माइली घिसिङ घाईते धनबहादुरकी श्रीमति हुन् । त्यस्तै दुर्घटनामा परि पत्थरकोट गाविस बाहुनीका संजीव वाईबा घाईते भएका छन् ।
पत्थरकोट बाहुनी टोलाका संग्रामसिंह वाईबाको ट्रयाक्टर उनका छोरा संजीव वाईबाले चलाउँदा दुर्घटना भएको घाईतेहरुले बताएका छन् । ‘‘चालक विशाललाई हटाएर संजीवले ट्रयाक्टर चलाएका थिए ।’’ सर्लाही जिवन अस्पतालमा उपचार गराईहेका घाईते भिमबहादुरले भने–‘‘न्यूट्रलमा राखेर चलाएका थिए, एक्कासी सडकबाट तल खस्यो ।’’ घाईते संजीव भने फरार भएको प्रहरीले जनाएको छ ।
भिमबहादुरका अनुसार साँझ ६ बजे लालबन्दीबाट सामान बोकेर हिडेको ट्रयाक्टर राती साँढे ८ बजेतिर सर्लाही र सिन्धुलीको सिमा क्षेत्र धिमिलेडाँडा पुगेको थियो । डाँडामा खाना खाएर झण्डै एकघण्टापछि हिडेको ट्रयाक्टर दुईकिलोमिटर जति तलपुगेपछि सडकबाट खसेको थियो । ‘‘हामीले राती धिमिलेडाँडैमा बसौ भनेका थियौं ।’’ घाईते भिमबहादुरले भने–‘‘तर धनबहादुर र उनकी श्रीमति माइलीले ११ महिनाको बच्चा घरमा हुनाले दुध खुवाउनुपर्छ भनेर जिद्धी गरे अनि राती नै क्यानेश्वरतर्पm लाग्यौं ।’’
दुर्घटनामा सामान्य घाईते भएका घाईतेद्वय भिमबहादुर र धनबहादुर पुनः उकालो चढेर डेढ घण्टामा धिमिलेडाँडा आईपुगेका थिए । उनीहरुको खबर अनुसार स्थानीय बासिन्दाले हरिवन स्थित एम्बुलेन्स र प्रहरीलाई खबर गरेका थिए । सर्लाही जिवन अस्पताल हरिवनबाट एम्बुलेन्स र स्वास्थ्यकर्मी सहितको टोली घटनास्थल पुगेर घाईतेहरुको उद्धार गरिएको ट्राफिक प्रहरी हबल्दार घिसिङले बताए । घाईतेहरुलाई दुईवटा एम्बुलेन्समा राखेर राती १ बजे हरिवन ल्याईएको थियो । राती नै हरिवनबाट सशस्त्र प्रहरी र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । अधिकाशं मृतकहरुको शव क्षतविक्षत रहेको घटनास्थलमै पुगेका सर्लाही जिवन अस्पताल हरिवनका सञ्चालक एवं स्वास्थ्यकर्मी अर्जुन मैनालीले बताए । ‘‘मैले त यस्तो दर्दनाक दुर्घटना कहिल्यै देखेको थिइन ।’’ उनले भने–‘‘कसैको खप्पर छैन त कसैको हातखुट्टा, क्षतविक्षत छन् ।’’ दुर्घटनाबाट ट्रयाक्टरको इन्जिन र टेलर समेत क्षतविक्षत भएकाले नम्बर समेत खुल्न सकेको छैन । लु. १ त बाहेक नम्बर देख्न नसकिने भएको ट्राफिक प्रहरी हबल्दार घिसिङले बताए । टेलरमा रहेका सामानहरु पनि यत्रतत्र छरिएका छन् । ढुंगामा बजारिएर र ट्रयाक्टरको इन्जिन एवं टेलरले चेपेका कारण मृतकको शव क्षतविक्षत अवस्थामा रहेको बताईएको छ ।
केही वर्षअघिदेखि ‘ट्रयाक’ खोलेर सञ्चालनमा ल्याईएको कच्ची सडकमा गुड्ने सवारी साधनले कोचि–कोची यात्रु र सामानहरु बोक्ने गरेका कारण उक्त सडकखण्डमा पटक–पटक दुर्घटना हुने गरेको छ । मर्मतको काम गरेर सडकको स्तरमा केही सुधार गरिएको भएपनि क्षमताभन्दा बढी यात्रु र सामान राखेर रातीसमेत उक्त सडकखण्डमा सवारी साधन गुड्ने गरेका कारण दुर्घटनाको जोखिम बढिरहेको जानकारहरु बताउँछन् । हरिवनको नारायण मार्गबाट क्यानेश्वरको क्वाटर बजारसम्म रहेको उक्त सडकखण्डको दुरी १३ किलोमिटर रहेको छ ।
No comments:
Post a Comment