को–को भए सर्लाहीबाट सभासद् ?
सर्लाही समाचारदाता
हरिवन, पुस १६ । निर्वाचन आयोगमा विभिन्न २८ राजनैतिक दलहरुले बुझाएको नामावली अनुसार सर्लाहीबाट ९ जना समानुपातिक सभासद्मा चयन भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, तराई मधेश सद्भावना पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीले सर्लाहीबाट समेत समानुपातिकमा सभासद् चयन गरेका छन् । जसअनुसार प्रत्यक्षबाट निर्वाचित ६ जनासहित हालसम्म समानुपातिकमा सिफारिस भएका समेत गरी सर्लाहीबाट १५ जना सभासद् चयन भएका छन् । मधेशी जन अधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीले समानुपातिक सभासद्को नामावली बुझाउन बाँकी रहेकाले ती दुईदलबाट समेत सर्लाहीका नेताकार्यकर्ता पर्न सक्ने सम्भावना रहेको ती पार्टी निकटले बताउँदै आएका छन् ।
सोमबार बुझाएको सूची अनुसार नेपाली कांग्रेसबाट हरेश महतो, एमाओवादीबाट शम्भु पासवान हजारी, तराई मधेश लोकतान्त्रिक पार्टीबाट केदारनन्दन चौधरी, सद्भावना पार्टीबाट सहिलदेवी महतो परेका छन् । तराई मधेश सद्भावना पार्टी नेपालबाट नरेन्द्र साह र अमृका कुमारी समानुपातिक सभासद्मा चयन भएका छन् । त्यस्तै एमालेबाट यसअघि नै कमलादेवी महतो, रञ्जना सरकार र दुलारी देवी समानुपातिक सभासद्मा परिसकेका छन् ।
कांग्रेस बाट समानुपातिक सभासद्मा परेका महतोको घर बरहथवा हो । उनी २०६४ को संविधान सभा निर्वाचनमा क्षेत्र नं. ३ बाट कांग्रेसको तर्फबाट उम्मेद्वार रहेका थिए । यसपटकको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रत्यक्षमा उम्मेद्वार हुने प्रयासमा रहेका महतोलाई समानुपातिक सभासद्मा पार्ने आश्वासन सहित महिला नेतृ मिना पाण्डेलाई काँग्रेस नेतृत्वले प्रत्यक्षतर्फ उम्मेद्वार बनाएको थियो ।
त्यस्तै एमाओवादीबाट समानुपातिक सभासद्मा परेका शम्भु पासवान हजारी बग्दह गाविस निवासी हुन् । उनी एमाओवादीका ६ नं. क्षेत्रीय संयोजक समेत हुन् । त्यस्तै तमलोपाबाट समानुपातिकमा परेका केदारनन्दन् चौधरीको घर अचलगढ गाविसमा पर्दछ । उनी तमलोपा अध्यक्ष महन्थ ठाकुरका विश्वासपात्र एवं केन्द्रीय प्रतिनिधि हुन् ।
त्यसैगरी तमसपा नेपालबाट समानुपातिक सभासद्मा परेका नरेन्द्र साह हिरापुर घर भएका र हाल काठमाण्डौ बस्दै आएका व्यापारिक पृष्ठभूमिका व्यक्ति हुन् । उनका बाबुआमा लगायत आफन्तहरु हालपनि हिरापुरमै बस्दै आएको बताईएको छ । त्यस्तै सोही पार्टीबाट समानुपातिक सभासद्मा परेकी अमृका कुमारीको घर गढैया गाविस–१ मा पर्दछ । उनी क्षेत्र नं. ६ का उम्मेद्वार शिवपुजन रायकी सहोदर भाउजु एवं रामसिंहासन रायकी पत्नी हुन् । त्यस्तै सद्भावना पार्टीबाट समानुपातिकमा परेकी सहिलदेवी महतो बबरगंज गाविस–८ निवासी हुन् । उनी सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोकी श्रीमती हुन् ।
यसैप्रकार केही दिनअघि नै नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको सूची अनुसार सर्लाहीबाट कमलादेवी महतो, रञ्जना सरकार र दुलारी देवी समानुपातिक सभासद्मा चयन भएका छन् । सिमरा भगवतीपुर निवासी महतो एमालेकी वैकल्पीक केन्द्रीय सदस्य समेत हुन् । त्यस्तै हरिपुर निवासी सरकार पार्टीको यूवा क्षेत्रमा सकृय र ब्रम्हपुरी निवासी दुलारी दलित अगूवा हुन् ।
संविधान सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट एमाओवादीका शम्भुलाल श्रेष्ठ, २ बाट काँग्रेसका रामचन्द्र चौधरी, ३ बाट एमालेका हरि उप्रेती, ४ बाट तमसपा नेपालका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव, ५ बाट तमलोपाका जिल्ला अध्यक्ष जंगीलाल राय र ६ बाट काँग्रेसका चर्चित नेता अमरेश सिंह निर्वाचित भईसकेका छन् । २०६४ को निर्वाचनबाट प्रत्यक्षमा ६ सहित सर्लाहीमा १७ जना सभासद् पुगेका थिए ।
No comments:
Post a Comment