अधिकारवादीको फोस्रा नारा ः पीडित महिलाको रोदन
मलंगवा स्थित जिल्ला अदालत आएकी रिंकु तीन छारीका साथ । |
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
सर्लाही, मङ्सिर २५ । लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान मंगलबारबाट सकिएको छ । अभियानका क्रममा सर्लाहीमा पनि महिला तथा बालबालिका कार्यालय सहित सरोकारवाला अन्य सरकारी तथा गैर सरकारी संघ संस्थाले सदरमुकाम मलंगवा सहित गाउँ–गाउँमा लैंगिक हिंसा विरुद्धका चर्का–चर्का नारा घन्काए । १६ दिने अभियान अन्तर्गत महिला अधिकारवादीहरुलाई लैंगिक एवं घरेलु हिंसा विरुद्ध तथा महिला अधिकारका पक्षमा भाषण गर्न र चर्का–चर्का नारा उराल्न भ्याई नभ्याई थियो । यसबीच छोरा नजन्माएको भन्दै घरबाट निकालिएकी अर्नाहा गाविस–७ की करिब २२ वर्षिया रिंकु देवी तेलीलाई भने १६ दिने अभियान लगायत महिला अधिकारवादीहरुको ‘फोस्रा’ नाराले छुन सकेन । रिंकु देवी त एउटा उदाहरण मात्र हुन् गाउँ गाउँमा घरेलु हिंसा पीडित महिलाहरु कि त हिंसा सहेरै बस्न बाध्य छन्, जुन् महिला अधिकारवादी ठान्नेहरुको अभियान अनि ‘फोस्रा’ भाषणबाजीले छुनै सकेको छैन ।
गत कात्तिक २८ गते पहिलो पेशी भएपनि न्यायाधिशहरु संविधान सभाको निर्वाचनमा खटिएका कारण उनको पेशी गत आईतबारका लागि सरेको थियो । घर निकाला गर्ने श्रीमान् विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरेकी उनले पैसा अभावमा गत आईतबार विपक्षीबाट अदालतमा पेश भएको प्रतिउतरको प्रतिलिपि लिन समेत सकिनन् । ‘‘रिंकु देवीले अदालतमा विपक्षीबाट पेश भएको प्रतिउत्तर पैसा नभएर लिन सकिनन् ।’’ उनको मुद्धा हेरिरहेका अधिवक्ता वालकृष्ण कर्णले भने–‘‘अब केही दिनपछि आएर लान्छिन् होला ।’’ आईतबार पनि न्यायाधिशहरु नभएकाले उनको पेशी पूनः अर्को दिनलाई तोकिएको छ ।
पहिलो छोरी जन्मेको दुई वर्ष पछि पूनः जुमल्यहा छोरी जन्मेका कारण आफूलाई श्रीमान् गौरीशंकर साहले घरबाट निकाला गरेको भन्दै रिंकु देवीले केही महिना अघि जिल्ला अदालतमा मुद्धा दायर गरेकी थिईन् । सासु र श्रीमान्ले तीन काँखे छोरी सहित घर निकाला गरे पछि रिंकु अधिकार माग्न न्यायालय पुगेकी हुन् । स्थानीय स्तरमा जतिसुकै हारगुहार गरेपनि कुनै सुनुवाई नभएपछि आफू अदालतमा मुद्धा हाल्न बाध्य भएको उनले बताईन् । रिंकुले दायर गरेको घरेलु हिंसा विरुद्धको मुद्धा सर्लाही जिल्ला अदालतकै इतिहाँसमा पहिलो भएको समेत मुद्धा फाँटले जनाएको छ ।
भारतको सितामढी माइती रहेकी रिंकु घरबाट निकालिएपछि सिसौट स्थित हजुरबुवा नाता पर्नेको घरमा आश्रय लिएर अदालत धाईरहेकी छिन् । दुईवर्ष अघि एक छोरी जन्मिएकी र पूनः जुम्ल्याहा छोरी जन्माएको भन्दै श्रीमान र सासुले कुटपिट गरी घरबाट निकाला गरेका उनले दावी गरिन् । ‘‘पहिलो पटक छोरी भएकाले छोरा जन्माउन पति गौरीशंकर साह र सासु सुनैना देवीले दवाव दिंदै कुटपिट गर्थे ।’’ रिंकुले भनिन्–‘‘दोश्रो पटक जुम्ल्याहा छोरी जन्मे पछि कुटपिट गरी घरबाट मलाई निकालिएको हो ।’’
घरबाट निकालिएका दुई वर्षिय एक र एकवर्षिय दुई नाबालिका सहित पीडित रिंकु देवी हाल न्यायका लागि मलंगवा ओहर दोहर गर्दै छिन । उचित पौष्टिक आहारको अभावमा तीन वटै बच्चाहरु दुब्ला रहेकाले जो कोहिले देख्दा समेत करुणा जाग्ने जिल्ला अदालतका नायब सुब्बा भरतप्रसाद घिमिरेले बताए । तराई मधेश क्षेत्रमा छोरा नजन्माएको बहानामा पटक–पटक महिलाहरु दुव्र्यवहार एवं यातना झेल्न बाध्य भए पनि सम्बनिधत निकाय कुनै ठोस पहल गर्न सकेको छैन ।
No comments:
Post a Comment