मलंगवाका ‘लज’हरु यौन व्यवसायको थलो
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २२ । सदरमुकाम मलंगवा स्थित विभिन्न लजमा चारदिन अघि दुईदिनसम्म एक किशोरीमाथि सामुहिक रुपमा जबर्जस्ती करणी भएको चर्चाले हाल व्यापक रुप लिएको छ । ती किशोरीमाथि नेपाल प्रहरीका तीनजना जवानले समेत लजमा नै धम्काएर जबर्जस्ती करणी गरेको बताईएको छ । हाल उक्त घटनामा संलग्न भएको आरोपमा तीनजना प्रहरी सहित १२ जना विरुद्ध किटानी जाहेरी समेत परेको छ । सर्वसाधारण त परै जाओस् अवैध क्रियाकलाप नियन्त्रण गर्नुपर्ने नेपाल प्रहरीका सुरक्षाकर्मी स्वयं नै लजमा यौन सम्पर्क गरेको समाचार बाहिर आएपछि मलंगवाका लजहरु यौन व्यवसायको उर्बर थलो बन्दै गएको पुष्टी भएको छ । जुन सदरमुकाम मलंगवा स्थित होटल एण्ड लजहरुले खुल्ला रुपमा अपनाईरहेको यौन व्यवसाय सञ्चालनका कारण निम्तिएको घटनाको एक रुप मात्र हो ।
नागरिक समाजका अगूवा उग्रकान्त झाले मलंगवा स्थित कतिपय लजहरु यौन व्यवसायको रुपमा फस्टाईरहेको बताए । ‘‘मलंगवाका अधिकांश लजहरुमा यौन व्यवसाय फस्टाईरहेको छ ।’’ उनले भने–‘‘प्रहरी प्रशासनले त्यसप्रति कुनै चासो दिएको देखिदैन, जसका कारण त्यस्ता सामाजिक विसंगती एवं विकृत्ति बढ्दो छ ।’’ प्रहरी प्रशासनका जिम्मेवार अधिकारीहरुले समयमै यस्ता कुराहरुलाई नियन्त्रणमा गरेर अगाडी नबढे विकराल रुप लिन सक्ने झाको कथन छ ।
सदरमुकाम मलंगवा स्थित होटल एण्ड लजहरु यौन व्यवसायको लागि उर्वर थलोको रुपमा परिचित बन्दै गईरहेको स्थानीय बासिन्दाले समेत गुनासो गरेका छन् । विशेषगरी समय अभावका कारण वा अफ्ठ्यारोमा परेका बेला रात्री बास बस्नका लागि प्रयोग हुने लजमा दिनभर समेत यौन व्यवसाय हुने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । ‘‘विहानैदेखि दिनभर युवती लिएर लजमा पस्नेको हुल हुन्छ ।’’ एक सदरमुकामबासीले भने–‘‘राती पनि त्यतिकै भिड हुन्छ ।’’
विशेषगरी हिमालय लज र नेपाल भारत लजमा बढी यौन व्यवसाय हुने गरेको स्थानीय बासिन्दाहरु बताउँछन् । प्रहरी सहितको संलग्नतामा जबर्जस्ती करणीको घटना पनि यी दुईवटै लजहरुमा भएको ती किशोरीले बताएकी छिन् । पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट हरेक दिन साँझ परेपछि आउने आधा दर्जन भन्दा बढी युवतीहरुले सदरमुकाम मलंगवा स्थित लजमै रात विताएर विहान फर्कने गरेको एक प्रत्यक्षदर्शीले बताए ।
सानो बजार भएपनि आधा दर्जन भन्दा बढी लजहरु निरन्तर सञ्चालनमा रहनुले यौन व्यवसाय नै प्रमुख आम्दानीको स्रोतको रुपमा रहेको पुष्टी भएको एक स्थानीय बासिन्दा दावी गर्छन् । सदरमुकाम मलंगवाका लजमा बस्दा कुनै परिचय दिनुपर्ने नियम नभएको र जस्ता सुकै व्यक्तिहरु निर्धक्कसँग अवैध क्रियाकलापमा संलग्न हुन पनि कुनै रोकतोक नरहेको जानकारहरु बताउँछन् । स्थानीय प्रहरी प्रशासनको वेवास्ताका कारण लजहरु यौन व्यवसायमा संलग्नहरुको मात्र नभई आपराधिक क्रियाक्लापमा संलग्नहरुको आश्रय स्थल बन्न सक्नेमा समेत स्थानीय बासिन्दा चिन्तित बनेका छन् । त्यस्तै पूर्व–पश्चिम राजमार्ग स्थित हरिवन, लालबन्दी, नवलपुर, रानीगंज, नयाँरोड लगायतका केही लजहरुमा समेत यौन व्यवसाय चल्ने गरेको जानकारहरु बताउँछन् ।
प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले लजहरुमा यौन व्यवसाय भएको पाईएमा कडा कार्वाही गर्ने बताए । ‘‘अब हाँमी थप प्रभावकारी ढंगले छापा मार्नेछौं ।’’ प्रहरी उपरीक्षक धानुकले सर्लाही दैनिकसँग भने–‘‘गैरकानूनी काम गर्नेहरुमाथि कडा कार्वाही हुन्छ ।’’ निश्चित मापदण्डका आधारमा लज सञ्चालन गर्ने व्यवस्था मिलाउने प्रयास भईरहेको समेत प्रहरी उपरिक्षक धानुकले बताए ।
No comments:
Post a Comment