बलात्कृत किशोरी तीन दिनदेखि अलपत्र
प्रहरी र महिला अधिकारवादी मौन
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २१ । सदरमुकाम मलंगवामा सामुहिक बलात्कारको शिकार बनेकी एक किशोरी तीनदिनदेखि अभिभावक विहिन बनेकी छिन् । घरका अभिाभावक नआएकाले करिब १६ वर्षिया उनी तीनदिनदेखि महिला तथा बालबालिका कार्यालयमा अलपत्र अवस्थामा छिन् ।
‘‘उद्धार हुने वितिकै बुधबार नै खबर गरिएपनि उनका अभिभावक आएका छैनन् ।’’ शुक्रबार महिला विकास कार्यालयद्वारा सञ्चालित शान्ति महिला सेवा केन्द्रकी बनिता कार्कीले सर्लाही दैनिकसँग भनिन्–‘‘दुई दिनदेखि आउँछु भनेका उनका अभिभावक अहिलेसम्म पनि आएका छैनन् ।’’ सिन्धुपाल्चोकको पातलेपानी गाविसकी ती किशोरीलाई गत मंगलबार विहान, दिउँसो र राती समेत प्रहरी एवं केही स्थानीय सहित ८–९ जनाले आÇनो कब्जामा लिएर पटक–पटक जबर्जस्ती करणी गरेको बताईएको छ । पीडित किशोरीका आफन्त आईनसकेकाले उनको तर्फबाट शुक्रबार साँझ करिब ८ बजे यो समाचार तयार पार्दासम्म जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी नपरेको हुँदा त्यसबारे आधिकारिक पुष्टी एवं जानकारी भने बाहिर आईसकेको छैन ।
जबर्जस्ती करणीमा संलग्न भएको आशंकामा जिल्ला प्रहरी कार्यालयले भने तीनजना प्रहरी जवानलाई आन्तरिक कार्वाही सुरु गरिसकेको स्रोतले जनाएको छ । ‘‘विदा सकेर म त भर्खरै जिल्ला आईपुगेको छु ।’’ शुक्रबार दिउँसो प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले भने–‘‘विस्तृतमा बुझेर मात्र थप कुरा भन्न सकिन्छ ।’’ जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार संजीव कार्की, अरवीन्द महतो र कुमाल थरका एक गरी तीनजना प्रहरी जवानलाई युवतीलाई जबर्जस्ती करणी गरेको आशंकामा नियन्त्रणमा लिई आन्तरिक रुपमा सोधपुछ एवं कार्वाहीको प्रकृया जारी रहेको छ ।
प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले घटनाबारे अनौपचारिक चर्चा परिचर्चा सुनिएपनि उजुरी नपरेकाले आधिकारिक रुपमा कार्वाही प्रकृया अगाडी बढाउन नसकिएको र अनुसन्धान प्रकृया अगाडी बढाउन नपाउँदा विस्तृतमा थाहा हुन नसकेको बताए । उनले पीडित पक्षबाट उजुरी आए दोषि जो सुकै भएपनि अनुसन्धानका क्रममा देखिए कार्वाहीको दायरामा ल्याईने समेत प्रतिबद्धता जनाए । ‘‘ताप्के नताती विँड तात्ने कुरो भएन ।’’ एक प्रहरीले भने–‘‘पीडित पक्षबाट उजुरी आए त कार्वाही प्रकृया अगाडी नबढाई सुखै छैन ।’’
स्रोतका अनुसार अनौपचारिक रुपमा ती किशोरीको जिल्ला अस्पतालमा दुईपटक स्वास्थ्य परिक्षण समेत भईसकेको छ । ‘‘एकपटक प्रहरीको समूहले परिक्षणका लागि ल्याएको थियो, एकपटक महिला तथा बालबालिका कार्यालयका कर्मचारीहरुको समूहले ल्याएर परिक्षण गराएको थियो ।’’ जिल्ला अस्पतालमा कार्यरत एक कर्मचारीले भने–‘‘बलात्कार जस्तो जघन्य अपराध जोडिएको ‘केस’मा जिल्ला प्रहरी कार्यालयको आधिकारिक पत्रबाहेक कतैबाट स्वास्थ्य परिक्षण नहुने भएपनि ती किशोरीको भने दुईपटक अनौपचारिक ढंगले स्वास्थ्य परिक्षण भईसकेको छ ।’’
हाल महिला तथा बालबालिका कार्यालय मलंगवा अन्तर्गत शान्ति महिला सेवा केन्द्रको संरक्षणमा रहेकी ती किशोरीलाई शुक्रबार विहान भेट्न गएका स्थानीय संचारकर्मीहरुको
समूहलाई पनि भेट गर्न दिईएन । ‘‘उनका अभिभावकको स्वीकृती नलिई हामीले भेट गर्न दिन मिल्दैन ।’’ सेवा केन्द्रकी बनिता कार्कीले संचारकर्मीको समूह समक्ष शुक्रबार भनिन्–‘‘उनका दाजु आज विहानै आउने कुरा थियो, तर फेरी के भएर हो आउनु भएन, भोली विहान आउने कुरा छ ।’’ साँझ कार्कीसँग सम्पर्क गर्दा भने पीडित किशोरीका दाजुले पूनः गाडी विग्रीएका कारण शनिबार विहान आइपुग्ने बारे पनि अन्यौल रहेको बताएको प्रश्ट्याईन् । कार्कीसँग सम्पर्क नम्बर लिएर फोन गर्दा पटक–पटकको प्रयास पछि मात्र पीडित किशोरीका दाजुसँग राती सम्पर्क भयो । सम्पर्कका क्रममा यस पंक्तिकारले आÇनो परिचय दिने वितिकै उनले भने–‘‘ए, म ऐले अलि विजी छु, एक छिनपछि गर्नुहोला ।’’ त्यसपछि पटक–पटक प्रयास गर्दा पनि उनीसँग फोनमा कुरा हुन सकेन ।
श्रोतका अनुसार काठमाण्डौ–मलंगवा चल्ने सृष्टी नामक रात्रीबसका सहचालक (खलाँसी) ले ती किशोरीलाई गत सोमबार राती काठमाण्डौबाट मलंगवा ल्याएका थिए । मंगलबार विहान मलंगवा आईपुगेकी ती किशोरीलाई सहचालकले मलंगवा स्थित नेपाल भारत लजमा राखेर करणी गरेको र पछि उनले ती किशोरीलाई भारतको सोनवर्षासम्म लगेको बताईएको छ । मोटरसाईकलमा फर्कने क्रममा सिमा क्षेत्रमा प्रहरीले उनीहरुलाई रोकेर सोधपुछ गरेको थियो । ‘‘सोधपुछ गर्ने सादा पोशाकका प्रहरीहरुले जिल्ला प्रहरी कार्यालयमा जानुपर्छ भन्दै किशोरीलाई मात्र लिएर हिडेको र किशोरीलाई ल्याउने बसका सहचालकलाई छाडे ।’’ स्रोतले भन्यो । किशोरीलाई नियन्त्रणमा लिएपछि ती प्रहरीले जिल्ला प्रहरी कार्यालय लैजानुको सट्टा लजमा लगी पूनः जबर्जजस्ती करणी गरेको स्रोतले बतायो ।
राती पूनः बसका सहचालक लगायत अन्य केही युवाहरुले समेत हिमालय लजमा राखेर ती किशोरीमाथि सामुहिक रुपमा जबर्जस्ती करणी गरेको बताईएको छ । बुधबार विहान ८ बजेतिर स्थानीय कलेजमा पढने विद्यार्थीहरुले साना हातहरु नेपाल नामक संस्थाका मलंगवा स्थित कर्मचारी विनोद रामलाई खबर गरेपछि उनको उद्धार भएको थियो ।
‘‘मलाई बुधबार विहान चिनेका कलेज पढ्ने विद्यार्थीहरुले खबर गरे ।’’ विनोदले भने–‘‘त्यसपछि म हिमालय लजमा पुगेर उनलाई साथमा लिएर आएँ ।’’ लगतै ती किशोरीलाई विनोदले महिला तथा बालबालिका कार्यालयमा बुझाईदिएका थिए । लजमा ती किशोरीको अघिपछि आधादर्जन भन्दा बढी चरित्रहिन युवकहरुको समूहले घेरा हालेको देखेपछि विद्यार्थीहरुले विनोदलाई खबर गरेको स्रोतले बतायो ।
काठमाण्डौ स्थित तिलगंगा आँखा अस्पतालमा आँखा परिक्षण गराउन आएकी ती किशोरीलाई अस्पतालले दुईदिनपछि आउनु भनेपछि बसका सहचालकले सोही मौका छोपेर मलंगवातर्फ फकाएर ल्याएको बताईएको छ । ‘‘अस्पतालमा आँखा परिक्षण गराउने क्रममा टिकट काट्ने लगायत काममा बसका ती मजदुरले सहयोग गरेछन् ।’’ पीडितको भनाई उद्धृत गर्दै स्रोतले भन्यो–‘‘टिकट काटेर भित्र पस्दा लामो लाईन भएकाले किशोरीलाई दुईदिनपछि आउनु भनेर अस्पतालले भनेपछि किशोरी अलमल्ल परेको मौका छोपी ती मजदुरले मलंगवातर्फ ल्याएछन् ।’’ काठमाण्डौ मलंगवा चल्ने अधिकांश रात्रीबसहरु तिलगंगा आँखा अस्पताल पछाडीको खाली जग्गामा पार्किङ गरेर राख्ने गरिन्छ । किशोरीले सिन्धुपाल्चोक पुगेर दुईदिनपछि फेरी फर्कन समस्या हुने बताएपछि बसका ती मजदुरले मलंगवा बसेर फर्कन आग्रह गर्दै फकाएको बताईएको छ । उद्धार गर्ने समयमा पीडित भनिएकी किशोरीले एक्लै बरबराउने व्यवहार प्रस्तुत गरेको बताईएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकै अवस्थामा १६ वर्षिया किशोरीमाथि सामुहिक रुपमा जबर्जस्ती करणी भएको घटना चर्चामा आएको हो । सिन्धुपाल्चोक घर भएकी किशोरी एक्लै अपरिचित व्यक्तिसँग मलंगवा आईपुग्नुले उनको चरित्रमाथि नै शंका उब्जेको केही व्यक्तिहरुले बताउने गरेपनि सामुहिक रुपमा जबर्जजस्ती करणी जस्तो जघन्य घटनाको चर्चा हुँदा समेत सानो भन्दा पनि सानो अपराधीक घटना नियन्त्रण र संलग्नहरुलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने राज्यको निकाय जिल्ला प्रहरी कार्यालय एवं महिला अधिकारको पक्षमा फोस्रा नारा लगाउने र आफूलाई अधिकारवादी ठान्ने गैर सरकारी संघ संस्थाहरु मौन देखिएका छन् ।
No comments:
Post a Comment