डेढसय बढी सहकारी खारेजीमा पर्ने
सर्लाही समाचारदाता
मलंगवा, माघ ०८ । डिभिजन सहकारी कार्यालय मलंगवाले दर्ता भई सर्लाहीमा कायम रहेका तर निष्कृय रहेका सहकारी संस्थाहरुको दर्ता खारेज प्रकृया अगाडी बढाएको छ । जिल्लामा हाल आठसय ६ वटा सहकारी संस्थाहरु कायम छन् । जसमध्ये एकसय ५० वटा भन्दाबढी सहकारी संस्थाहरु खारेजीमा पर्ने डिभिजन सहकारी कार्यालयले जनाएको छ । हालसम्म सर्लाहीमा आठसय ९५ वटा विभिन्न सहकारी संस्थाहरु दर्ता भएकामा ८९ वटा सहकारी संस्थाहरुको दर्ता भने गतवर्ष नै खारेजी भईसकेको छ ।
सहकारी विभागबाट निष्कृय सहकारी संस्थाको दर्ता खारेजी प्रकृया अगाडी बढाउन परिपत्र आएको र सोही अनुसार कार्वाही अगाडी बढाईएको डिभिजन सहकारी कार्यालय मलंगवाका प्रमुख रामलक्ष्ण रायले बताए । ‘‘नियमित मासिक प्रतिवेदन नबुझाउने, वार्षिक लेखापरिक्षण प्रतिवेदन नबुझाउने गरेका सहकारी संस्थाहरुलाई खारेज गरिनेछ ।’’ रायले भने– ‘‘गाउँघरमा राम्रैसँग चलिरहेका तर डिभिजन सहकारी कार्यालयमा नियमित प्रतिवेदनहरु नबुझाउने संस्था पनि कार्वाहीमा पर्नेछन् ।’’
एकदुईदिन भित्रै कार्यालयबाट अनुगमनका लागि दुईजनाको टोली गाउँ–गाउँमा खटिने र त्यसको प्रतिवेदनका आधारमा खारेजी प्रकृया अगाडी बढाईने रायले जानकारी दिए । ‘‘हालसम्मको प्रारम्भिक जानकारी अनुसार एकसय ५० वटा भन्दा बढी सहकारी संस्थाहरु खारेजीमा पर्ने देखिएको छ ।’’ उनले भने–‘‘अनुगमन टोलीले गाउँ–गाउँमा गएर बुझेपछि पेश गर्ने प्रतिवेदनबाट केही तलमाथि पनि हुनसक्छ ।’’ नियमित संचालनमा रहेका तर कार्यालयमा प्रतिवेदन नबुझाउने गरेको सहकारीहरुलाई भने अन्तिम पटक मौका दिईने र केही दिनभित्र प्रतिवेदन नबुझाए डेढसय.........
त्यस्ता सहकारी संस्थाहरुलाई पनि खारेजी प्रकृया अगाडी बढाईने प्रमुख रायले बताए ।
अनुगमन पश्चात आगामी चैत मसान्त भित्र खारेजीको सूचना प्रकाशित गर्ने र असार मसान्त भित्र त्यस्ता सहकारी संस्थालाई खारेज गर्ने डिभिजन सहकारी कार्यालयले जनाएको छ । विशेषगरी दुग्ध उत्पादन सहकारी संस्थाहरु निष्कृय देखिएको रायले बताए । ‘‘दुग्ध उत्पादन सहकारी संस्थाहरु बढी संख्यामा निष्कृय देखिएका छन् ।’’ उनले भने–‘‘बचत तथा ऋण सहित अन्य केही सहकारी संस्थाहरु पनि निष्कृय नै देखिएका छन् ।’’ विभिन्न दातृ निकायबाट रकम भित्र्याउनैका लागि भनेर सहकारी संस्था दर्ता गर्ने तर नियमित संचालन नगर्ने एवं कार्यालयमा नियमित प्रतिवेदन पेश नगर्ने प्रचलन बढेकाले खारेजी प्रकृया अगाडी बढाईएको डिभिजन प्रमुख रायले बताए । रायका अनुसार सहकारी संस्थाहरुले हरेक महिनाको ७ गते भित्र मासिक प्रतिवेदन र साधारण सभा सम्पन्न गरि वार्षिक लेखापरिक्षण प्रतिवेदन वर्षको एकपटक पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
जिल्ला स्थित बहादुरपुर गाविस बाहेक ९८ वटा गाविस र मलंगवा नगरपलिकामा हाल आठसय ६ वटा विभिन्न सहकारी संस्था कायम छन् । जसमा बचत तथा ऋण सहकारी संस्था दुईसय ४५, कृषि सहकारी एकसय ८३, दुग्ध उत्पादक सहकारी एकसय ५२, सानाकिसान कृषि सहकारी ६६, बहुउद्देशिय सहकारी ६१, उपभोक्ता सहकारी ५० र बाँकी विद्युत, संचार लगायत अन्य सहकारी संस्था रहका छन् ।
No comments:
Post a Comment