उखुका सवारीको अनियमित पार्किङले दुर्घटना
सर्लाही समाचारदाता
हरिवन, माघ १६ । इन्दु शंकर चिनी उद्योगमा उखु बोकेर आउने सवारी साधनहरु अनियमित रुपमा पार्किङ गरिदा पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको छ । विहिबार उखु बोकेर आएको ट्रयाक्टर र ट्रक पूर्व–पश्चिम राजमार्गमै अव्यवस्थित पार्किङ गरिदा विहिबार विहान ३ बजे सडक दुर्घटना भएको छ । दुर्घटनाबाट ३ जना घाईते भएका छन् ।
पोखराबाट सिन्धुलीतर्फ जाँदै गरेको ना. ३ ख ४७०१ नम्बरको यात्रुबसले ना. ३ ख १०८३ नम्बरको उखु बोकेको ट्रकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उक्त ट्रक पल्टिएको थियो भने बसमा यात्रारत ३ जना घाईते भएका छन् । राजमार्गमै रोकेर राखेको उखु बोकेको ट्रयाक्टरलाई छलेर अगाडी बढ्न खोज्दा सो बस गलत दिशामा नजिकै रोकेर राखेको उखु नै बोकेको ट्रकमा ठोक्किन पुगेको थियो ।
उखु बोक्ने सवारी साधनले अव्यवस्थित पार्किङ गर्दा सवारी दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ । इन्दु शंकर चिनी उद्योगको पार्किङ स्थलमा स्थान अभाव भएपछि उखु बोकेर आएका ट्रक र ट्रयाक्टरले पूर्व–पश्चिम राजमार्गमै ट्राफिक नियम विपरित पार्किङ गरेपछि दुर्घटना निम्तिने गरेको जानकारहरु बताउँछन् ।
ट्राफिक प्रहरी हरिवन पोष्टका इन्चार्ज इन्द्र घिसिङले उखु बोकेर आउने सवारी साधन व्यवसायी एवं मजदुरहरुलाई पटक–पटक सचेत गराउँदा पनि पूर्व–पश्चिम राजमार्गमै नियम विपरित पार्किङ गर्ने प्रचलन नछाड्दा दुर्घटनाको जोखिम बढ्ने लगायत विविध समस्या देखिएको बताए । ‘‘कुनै कारणले केहीबेर उद्योग बन्द हुने वितिकै उखु बोकेर आउने सवारी साधनहरुको लाईन पूर्व–पश्चिम राजमार्गमै आईपुग्दो रहेछ ।’’ उनले भने–‘‘त्यस्तो समयमा नजिकैको सुर्ती विकासको चौरमा पार्किङ गर्ने लगायतमा विकल्प खोजिदा उद्योग र स्थानीयबाट उचित सहयोग नपाउँदा अव्यवस्थित पार्किङको समस्या देखिएको छ ।’’ नियम विपरित राजमार्गमै रोकेर राख्ने ट्रयाक्टरको पछाडीपट्टी टेलरमा स्पष्ट देखिने गरि नम्बर प्लेट तथा ‘लाईट रिफ्लेक्टिङ’ नहुने गरेका कारण पनि र्दुघटना निम्तिने गरेको घिसिङले बताए ।
इन्दु शंकर चिनी उद्योगका महाप्रबन्धक विजयकान्त झाले उखु बोकेका सवारी साधनहरुको पूर्व–पश्चिम राजमार्गमै अव्यवस्थित पार्किङ नहोस् भनेर आफू सचेत रहेको बताए । ‘‘सुरु–सुरुमा उद्योगमा देखिएको प्राविधिक गड्बडीका कारण नियमित उखु क्रसिङ नहुँदा उखु बोकेर आएका सवारी साधनहरुको लाम पूर्व–पश्चिम राजमार्गसम्म पुगेको थियो ।’’ झाले दावी गरे–‘‘तर हाल त्यस्तो समस्या देखिएको छैन ।’’
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं प्रहरी निरीक्षक कमल खत्रीले नियम विपरित पार्किङ नगर्नका लागि सवारी साधन सम्बद्ध मजदुर एवं व्यवसायीलाई पटक–पटक सचेत गराईएको बताए । ‘‘उखु बोकेर आउने सवारी साधनलाई आÇनो उद्योग परिसरमै पार्किङ गराउनका लागि उचित व्यवस्था मिलाउन समेत इन्दु शंकर चिनी उद्योगलाई पटक–पटक आग्रह गरिरहेका छौं ।’’ ट्राफिक प्रमुख खत्रीले भने–‘‘सचेत गराउँदा गराउँदै पनि पूर्व–पश्चिम राजमार्गमै नियम विपरित पार्किङ गर्नेलाई कानून बमोजिम कडा कार्वाही गर्नेछौं ।’’
No comments:
Post a Comment