Tuesday, January 21, 2014

ईन्जिनियरिङ पढ्न चन्दा उठाउँदै यादव

ईन्जिनियरिङ पढ्न चन्दा उठाउँदै यादव


सुनिल ठाकुर÷सर्लाही दैनिक
मलंगवा, माघ ०७ । दृढ इच्छाशक्ति भए मानिसका लागि कुनै पनि लक्ष्य हासिल गर्न कठिनाई हुदैन् । यसको ज्वलन्त उदहारण हुन् कविलासी गाविस–९ गैरका कौशल किशोर यादव ।
अति विपन्न परिवारका यादव विभिन्न सरकारी कार्यालय तथा विद्यालयहरुमा चन्दा मागेर मेकानिकल ईन्जिनियरिङ गर्दैछन् । उनी अहिले भारतको बैंगलोरमा विजया भिटला ईन्जिनियरिङ कलेजमा अध्ययनरत छन् । पहिलो सिमेष्टरको परीक्षा दिएर १ महिनाको विदामा आएका यादव अहिले विभिन्न विद्यालय तथा सरकारी कार्यालयमा गई चन्दा संकलन गरिरहेका छन् ।
ईन्जिनियरिङका लागि ८ लाख भारतीय रुपैया खर्च लाग्ने भएपनि जेहेन्दार देखेपछि कलेजबाट यादवले ५० प्रतिशत छात्रवृत्ति पाएका छन् । जसअनुसार उनले ४ लाख जुटाउनुपर्ने हुन्छ । उनको पारिवारिक हैसियत अनुसार त्यो खर्च जुटाउन पनि ‘आकाशको फल’ जतिकै छ ।
घर परिवारको सहयोग बिना नै पहिलो सिमेष्टर पास गरेका यादवले पढाई जसरी पनि पुरा गर्ने लक्ष्य राखेका छन् । ४ लाख भारतीय रुपैयामा नै पढाई तथा गाँसबासको समेत व्यवस्था रहेकाले जसरी पनि पढाई पुरा गर्ने यादवको अठोट छ ।
‘केही व्यक्तिको सहयोगमा आÇनो भविष्य उज्जवल हुने’ भन्दै यादव हाल आफ्नो कलेजको छात्रवृत्तिको कागजात तथा विभिन्न विद्यालय एवं सरकारी कार्यालयका कर्मचारीबाट सहयोग पाएको लिखित पत्र लिएर विभिन्न स्थानमा सहयोग माग्दै हिडेका छन् । आगामी माघ १२ गते आइतबार कलेज जाने योजना रहेकोले सहयोग माग्दै हिडेको यादवले बताए ।
नम्र तथा भद्र स्वभाव रहेका यादवलाई सोमवार श्री जनता माध्यमिक विद्यालय औहरीले २ हजार ४ सय २५ रुपैया सहयोग गरेको थियो । विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त रायको पहल तथा विद्यालयको सम्पूर्ण शिक्षकको सहयोगमा यादवलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । रकम बुझ्दै यादवले यसरी नै अन्य संघ संस्थाले आफुलाई सहयोग गरे आफ्नो पढाई पुरा हुने बताएका थिए । विभिन्न सरकारी कार्यालयमा सहयोग मागे पनि कार्यालय प्रमुख तथा कर्मचारीहरुबाट व्यक्तिगत सहयोग पाएको र संस्थागत रुपमा हालसम्म कसैले सहयोग नगरेको उनको भनाई छ । कतिपय शिक्षकले त बार्षिकरुपमा नै यादवलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
यादवले २०६६ सालमा अर्गवा माविका शिक्षक एवंम पिपरिया निवासी विजय साहको सहयोगमा एसएलसी पास गरेका थिए भने शिक्षक साह र हाल काठ्माण्डौमा बस्दै आएका जमुनिया गाविस बिनंग्रा निवासी डा. सचिन कुमार यादवको सहयोगमा विज्ञान विषय लिएर १२ पास गरेका थिए । शिक्षक साहकै सहयोगमा यादव ईन्जिनियरिङ अध्ययन गर्न बैंगलोर लागेका थिए । तर शिक्षक साह अवकाश पाई अमेरिका लागेपछि उनी साहार विहिन बन्दै चन्दा संकलनमा लागेका छन् ।

No comments:

Post a Comment