Friday, January 17, 2014

यात्रुबसमा ११ किलो गाँजा बरामद्

यात्रुबसमा ११ किलो गाँजा बरामद्
सर्लाही समाचारदाता
गैर, माघ ०२ । काठमाडौबाट सदरमुकाम मलंगवा जाँदै गरेको यात्रुवाहक बसबाट विहिबार ११ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले गाँजा सहित एकजनालाई पक्राउ समेत गरेको छ । भारततर्फ लैजादै गर्दा जिल्लाका विभिन्न स्थानबाट यसअघि पनि ठूलो तथा स–साना परिमाणका गाँजाहरु पटक–पटक बरामद् हुनुले सर्लाही भारततर्फ गाँजा तस्करीको ‘ट्रान्जिट’ बन्दै गएको जानकारहरु बताउँछन् ।
काठमाण्डौबाट मलंगवा जाँदै गरेको ना.४ ख ४२०३ नम्बरको गोल्डेन सयपत्री बसबाट विहिबार विहान ११ बजे ११ किलो गाँजा बरामद् भएको हो । फरहदवा वेस क्याम्प स्थित सशस्त्र प्रहरीले चेकजाचको क्रममा नवलपुर–मलंगवा सडक खण्ड अन्र्तगत गैर चोकमा गाँजा बरामद् गरेको हो । बसको डिकिमा राखिएको अवस्थामा गाँजा बरामद् भएको सशस्त्र प्रहरीले जनाएको छ ।
हेटौडाबाट बसमा गाँजा ल्याउने गरेको सुराकी प्राप्त भएपछि चेकजाँच गर्दा गाँजा बरामद भएको फरहद्वा वेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक हरिसिंह विष्टले बताए । बसबाट बरामद भएको गाँजा हेटौडा प्रवेश गर्नु अघि पर्ने राप्ती खोला नजिकबाट बसमा राखिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले गाँजा लिएर आउदै गरेका सर्लाही लक्ष्मिपुर सुखचैना गाविस–८ का ३७ वर्षिय चन्द्रकिशोर साहलाई पक्राउ गरिएको जनाएको छ । बसका चालक र कन्डकटरको मिलोमतोमा गाँजा सर्लाही आउने गरेकोले सम्बन्धित बसका चालक र कण्डक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । पक्राउ परेका अभियुक्तले आफूले ५ हजार लिएर गाँजा ओसार्ने गरेको बताएका छन् ।
यसअघि पनि १० किलो गाँजा सहित ३ जना महिलालाई प्रहरीले ढुंग्रेखोलाबाटपक्राउ गरेको थियो । त्यसअघि पनि पटक–पटक सर्लाहीमा ठूलो एवं साना परिमाणमा गाँजा बरामद् भईरहेको छ । लागूऔषधको रुपमा प्रयोग हुने गाँजा नेपालका विभिन्न भूभागबाट भारततर्फ लैजानका लागि सर्लाही ‘ट्रान्जिट’ हुँदै गएको जानकारहरु बताउँछन् । गाँजा ओसारपसार एवं खेती गर्नका लागि सरकारी प्रतिबन्ध रहेको छ ।

No comments:

Post a Comment