भन्सार प्रमुखलाई कुटेको आरोपमा पक्राउ
सर्लाही समाचारदाता
मलंगवा, माघ १० । सर्लाही भन्सार कार्यालय प्रमुख टिकाराम भुसालमाथि कुटपीट गरेको आरोपमा प्रहरीले शुक्रबार एकजनालाई पक्राउ गरेको छ ।
मलंगवा नगरपालिका–२ निवासी करिब ३० वर्षिय नागेन्द्र ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले बताए । ठाकुरलाई अपरान्ह मलंगवाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुटपीटमा संलग्न अन्यको पनि खोजी कार्य तिब्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालयले जनायो । पक्राउ परेका ठाकुरमाथि आवश्यक सोधपुछ सहित घटनाबारे गम्भिर ढंगले अनुसन्धान भईरहेको जिला प्रहरी कार्यालयले जनायो ।
आप्mनो कार्यकक्षमा बसिरहेको अवस्थामा गत सोमबार दिउँसो १ बजे १८÷२० जनाको समूहले भन्सार प्रमुख भुसालमाथि हातपात सहित दुव्र्यवहार गरेको भन्दै भन्सारका कर्मचारीहरु विरोधमा उत्रिएका थिए । कार्यालय प्रमुखमाथि हातपात गर्ने दोषिमाथि कार्वाही नभएसम्म अनिश्चित कालका लागि काम बन्द गरिएको सूचना कार्यालयको मूलगेटमा टाँस गरेर भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । कर्मचारी आन्दोलनका कारण चारदिनसम्म ठप्प रहेको भन्सार विहिबार साँझ ४ बजेबाट सुचारु भएको थियो । गृह सचिव, अर्थ सचिव, भन्सार विभागका महानिर्देशक, सर्लाही भन्सार प्रमुख भुषाल, भन्सार कार्यालय सम्बद्ध कर्मचारी ट्रेड युनियन सम्बद्ध नेताहरु लगायतको संयुक्त बैठकमा कुटपीटमा संलग्न दोषिहरु नियन्त्रणमा लिएर कार्वाही गर्ने प्रतिवद्धता आएपछि आन्दोलन तत्कालका लागि स्थगीत भएको हो ।
आईतबार राति जिल्ला भन्सार कार्यालयको गस्ति टोलीले त्रिभुवन नगर स्थीत छोटी भन्सार ईलाकाबाट लुकाई छिपाई नेपाल भित्र्याईदै गरेको ४ पोका कपडा पक्राउ गरेको थियो । उक्त पोकाहरु छाड्नका लागि दवाव दिन आएको समूहले भुसालमाथि दुव्र्यबहार गर्नुको साथै कुटपिट समेत गरेको बताईएको छ । कुटपीटमा अवैध ढंगले भारतबाट सामानहरु भित्र्याउने ‘तस्कर’ हरुकै समूह रहेको भन्सारका कर्मचारीहरु बताउँछन् ।
भन्सार प्रमुख भुषालले आप्mनै माथिल्लो निकायमा दिएको नामका आधारमा ठाकुरलाई अपरान्ह पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । भुषालले भन्सार विभागका महानिर्देशकलाई दिएको नामका आधारमा गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयबाट आएको निर्देशन अनुसार ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो । भुषालले सर्लाही स्थित प्रहरी प्रशासनलाई भने सामान्य हुलिया बाहेक कुटपीटमा संलग्नहरुको नामावली दिएका थिएनन् ।
ठाकुर भारतबाट नेपालतर्फ सामान तस्करी गर्ने काममै संलग्न रहेको प्रहरी स्रोतले दावी गरेको छ । ‘‘उनी त्रिभुवननगरमा भन्सार प्रमुखज्यूले बरामद् गरेका सामानधनीकै मुख्य कामदार हुन् ।’’ प्रहरी स्रोतले भन्यो–‘‘कुटपीटमा पनि उनी सहितका तस्करीमा संलग्न हुनेहरु थिए ।’’ नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु उपस्थित रहेकै अवस्थामा भन्सार प्रमुख भुषालमाथि कुटपीट भएको खबर बाहिर आईरहेको अवस्थामा ठाकुरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले घटनाप्रति सकृयता देखाएको महसुस सरोकारवालाहरुले गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले कुटपीटमा संलग्नहरुको खोजीकार्यका लागि प्रहरीलाई आवश्यक निर्देशन दिईएको बताए । ‘‘कार्यकक्षमै कार्यरत कर्मचारीमाथि कुटपीट गरिनु गलत हो ।’’ प्रजिअ घिमिरेले भने–‘‘घटनामा संलग्न दोषिहरु तुरुन्त नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरेका छौं ।’’ दोषि देखिएकाहरुमाथि कडा कार्वाही गरिने समेत प्रजिअ घिमिरेले बताए ।
No comments:
Post a Comment