Monday, February 17, 2014

रकम नपाएको ठेकेदारको गुनासो

रकम नपाएको ठेकेदारको गुनासो
सर्लाही समाचारदाता
बलरा, फागुन ०५ । भवन निर्माणको बजेट नआउँदा रामसखि मोहित सिंह जनता उच्च माविको नयाँ भवन निर्माणका लागि आवश्यक बजेट निकासा नहुँदा काम अगाडी बढाउन समस्या परिरहेको ठेकेदार कम्पनीले जनाएको छ ।
मूल्य अभिवृद्धि कर      (भ्याट) बाहेक ३ करोड ४३ लाखमा ठेक्का सकारेर काम सुरु गरिएपनि नियमानुसार बजेट निकासा नहुँदा निर्माण कार्य निरन्तर अगाडी बढाउन समस्या भएको ठेकेदार कम्पनी डिएस÷पृथ्वी जेभी काठमाण्डौका सञ्चालक केशव दाहालले बताए । ‘‘जिविसबाट नियमानुसार पाउनुपर्ने रकम निकासा नहुँदा निर्माण कार्य ठप्प हुने अवस्था आएको छ ।’’ दाहालले भने–‘‘काम सुरु गर्ने अर्थात ‘मोबिलाईजेशन’ बापत कुल बजेटको २० प्रतिशत सुरुमै निकासा हुनुपर्नेमा ४४ लाखमात्र दिईएको छ ।’’
काम भएको आधारमा क्रमशः किस्ता अनुसार रकम निकासा गर्नुपर्नेमा उल्टै ‘मोबीलाईजेशन’ शिर्षककै रकम समेत नपाउँदा समस्या आएको दाहालले बताए । ‘‘कम्पाउण्ड पर्खालको ९० प्रतिशत काम सम्पन्न भईसकेको छ भने भवनको पनि डिपिसीसम्म भईसकेको छ ।’’ दाहालले दावी गरे–‘‘नियमानुसार भवन निर्माणको रकम निकासा माग्दा जिविसले बजेट छैन भन्दै दिएको छैन, जसले गर्दा साह्रै समस्या निम्तिएको छ ।’’ एककरोड १४ लाखको काम सम्पन्न भईसकेको बील पेश गरेको तर जिविसबाट बजेट छैन भन्दै फर्काईदिएको दाहालले गुनासो गरे ।
भारतीय दुतावासको सहयोगमा गत मंसिरबाट उक्त उमाविको नयाँ भवन निर्माणको काम सुरु भएको हो । भारतीय दुताबासको सहयोगमा निर्माण हुने भौतिक संरचनाको बजेट परिचालन, अनुगमन लगायत काम जिल्ला विकास समितिको कार्यालयले गर्ने गर्दछ ।
स्थानीय विकास अधिकारी उमेश बस्नेतले भने भारतीय दुतावासबाटै बजेट नआएकाले ठेकेदारलाई माग बमोजिम रकम दिन नसकिएको बताए । ‘‘दुताबासबाटै बजेट आएको छैन ।’’ स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘दुताबासबाट आएको भए त हामीले रोक्ने कुरै छैन ।’’

No comments:

Post a Comment