कार्यकारी अधिकृत रामचरित्र मेहता । |
सर्लाही समाचारदाता
मलंगवा, चैत १६ । मलंगवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताले सिमित स्रोत र साधन भएपनि सहि रुपमा परिचालन गरिए सार्थक रुप दिने बताएका छन् ।
‘‘उपलब्ध स्रोत र साधनलाई सहि ढंगले परिचालन गरिए पक्कै सुधार हुन्छ ।’’ आइतबार सर्लाही दैनिकसँग कुरा गर्दै कार्यकारी अधिकृत मेहताले भने–‘‘गलत मनसाय राखेमा जतिसुकै स्रोत र साधन भएपनि केही हुँदैन ।’’ वर्षौंदेखि आर्थिक रुपले जर्जर बनेको मलंगवा नगरपालिकामा तत्काल कुनै भयावह अवस्था नरहेको समेत कार्यकारी अधिकृत मेहताले दावी गरे ।
स्थानीय राजनैतिक दलका नेता, विभिन्न समूह, स्वयं नगरबासीहरुको हेलचक्र्याई, स्वार्थ, गैर जिम्मेवारीपन लगायत कारणले मलंगवा नगरपालिकाको विकास निर्माण कार्यले गति लिन नसकेको उल्लेख गर्दै कार्यकारी अधिकृत मेहताले हाल आफूले सबै पक्ष, तह र तप्काबाट उचित सहयोग समेत पाइरहेको दावी गरे । ‘‘मलंगवा नगरपालिकाका स्वयं कार्यकारी अधिकृतले इमान्दारीताका साथ नगर क्षेत्रको हक हितका लागि अगाडी बढ्नु पर्दछ ।’’ उनले भने–‘‘त्यसमा स्थानीय राजनैतिक दल, नगरबासी लगायत सरोकारवाला सबैले साथ दिनु पर्दछ, अनि मात्र नगर क्षेत्रको उन्नती सम्भव छ ।’’ विगतमा कार्यकारी अधिकृत सहित सम्बन्धित सबै पक्ष, तह र तप्काबाट इमान्दारिता एवं जिम्मेवारी बोध नहुँदा मलंगवा नगरपालिकाको जर्जर अवस्था भएको समेत मेहताले बताए ।
बजार ठेक्का, पोखरी ठेक्का, सवारी कर लगायतबाट आउने आन्तरिक आम्दानी बापतको झण्डै एककरोड, स्थानीय विकास शुल्क बापत मन्त्रालयबाट आउने एककरोड १० लाख, कृषि सडकको १५ लाख, सडक बोर्डको १८ लाख, जगेडा कोषको सशर्त अनुदान एककरोड २० लाख सहित चारकरोड भन्दा बढी बजेट खेलाउने नगरपालिकामा बजेटको सहि सदुपयोग हुने हो भने विकास निर्माणले निकै फड्को मार्ने समेत कार्यकारी अधिकृत मेहताले बताए । ‘‘जिम्मेवार अधिकारीले इमान्दारिताका साथ दृढ इच्छाशक्ति राखेर अगाडी बढ्नुपर्छ र त्यसमा सबैले साथ दिए उन्नतीको बाटोमा लम्कनका लागि कसैले रोक्न सक्दैन ।’’ उनले दावी गरे–‘‘म मलंगवा नगरपालिकालाई उन्नतीको बाटोमा लम्काउन त्यसैगरी अगाडी बढिरहेको छु, त्यसमा सबैले साथ दिनु आवश्यक छ ।’’
०६२÷०६३ को जन आन्दोलन तथा मधेश आन्दोलन पश्चात स्थानीय राजनैतिक खिचातानी, भूमिगत समूहको धम्की, कर्मचारीको असहयोग, विभिन्न समूहहरुको दवाव लगायत कारणले भरसक मलंगवा नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा कोही अधिकृत पनि आउन मान्दैन थे । आइहालेपनि यावत समस्याका कारण कार्यालयमै बस्न नसक्ने, निस्वार्थ ढंगले काम गर्न नसक्ने र गर्न खोजे व्यापक धम्की, दवाव लगायतको सामना गर्नुपर्ने अवस्थाका कारण कोही कार्यकारी अधिकृतपनि टिक्न सकेका थिएनन् । तर गत जेठ ११ गते हाँजिर भएका मेहताले भने जिम्मेवारी अनुसार इमान्दारिताका साथ नगरपालिकाको विकास निर्माणमा गति मात्र दिएका छैनन्, मुहार परिवर्तनको दिशामा नै अगाडी बढेका छन् ।
No comments:
Post a Comment