महत परिवारको मृत्युले दनुवारी शोकमग्न
सर्लाही समाचारदाता
हरिवन, फागुन १६ । डिभी परेर अमेरिका जाने तयारीमा काठमाण्डौ पुगेका हरिवन गाविस–४ दनुवारीका एकै परिवारका तीन सदस्य शुक्रबार विहान रहस्यमय अवस्थामा मृत फेला परेको घटनाले आफन्त त भावविव्हल छन् नै छिमेकी र हरिवन क्षेत्रका अगूवाहरु समेत शोकमग्न बनेका छन् ।
हरिवन गाविस–४, दनुवारी निवासी ३५ वर्षिया श्यामध्वज महत, उनकी श्रीमती सुनिता कार्की (महत) र ४ वर्षिया छोरी नानुको भक्तपुरको मध्यपुर नगरपालिका–१७, मगरगाउँस्थित आफु सुतेको कोठामा रहस्यम ढंगले मृत फेला परेका थिए । मृतक सुनिताका बुबा रणबहादुर कार्कीको घरमा तीनैजना मृत फेला परेका हुन् । सुनिता र नानु खाटमा सुतिरहेको अवस्थामा र श्याम ढोकाको माथिल्लोमा भागमा रहेको भेन्टिलेसनको ग्रीलमा सलको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
‘‘विश्वास नै नलाग्ने खालको घटना भएको छ ।’’ हरिवन गाविसका निवर्तमान अध्यक्ष डिल्लीप्रसाद उप्रेतीले भने–‘‘त्यतिको मिजासिलो र भलाद्मिपनयुक्त मान्छे र उसका परिवार नै मृत फेला परेको घटनाले साह्रै दुःखीत बनाएको छ ।’’ मृतक श्यामको बुबा कृष्णबहादुर मिल्ने दौंतरी सरह भएकाले र उक्त घर परिवारको बारेमा नजिकबाट परिचित भएकाले पनि उप्रेती उक्त घटनाबाट आफू बढी नै दुःखीत भएको बताउँछन् । ‘‘घरपरिवारमा पनि कुनै विवाद देखिएको थिएन ।’’ उप्रेतीले भने–‘‘हरेक हिसावले सुखी र सम्पन्न परिवार थियो, कसरी त्यत्रो घटना भयो अचम्म लागिरहेको छ ।’’
श्याम आफैले श्रीमती र छोरीको हत्या पश्चात आफूले आत्महत्या गरेको प्रारम्भिक अध्ययनका क्रममा आएको खबर आफूलाई पत्यार नै नलागेको समेत उप्रेतीले बताए । ‘‘मिलनसार र भलाद्मि मान्छे अनि ठूलालाई आदर र सानालाई सम्मान गर्ने बानी थियो श्यामको ।’’ उप्रेतीले भने–‘‘उसका उमेर समूहका यूवाहरु दुव्र्यसन र कुलतमा फसेका भएपनि उ भने त्यस्ता कुनै दुव्र्यसनमा फसेको थाहा थिएन ।’’
अमेरिकाका लागि परेको डिभि अन्तर्गत प्रकृयामा शुक्रबार (फागुन १६ गते) स्वास्थ्य परीक्षण र सोमबार (फागुन १९ गते) अन्तिम अन्तरवार्ता तय भएकाले श्यामको परिवार नै दुईसाता अघि काठमाडौंतर्फ लागेको थियो । परिवारका अन्य सदस्यका अनुसार मृतक महतले मेडिकल जाँचका लागि ६० हजार रुपैया समेत बुझाइसकेका थिए ।
मृतकहरुको शुक्रबार साँझ नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । मृतकका पिता कृष्णबहादुर महतले शुक्रबार नै घटनाको निश्पक्ष अनुसन्धानको माग राखेर भक्तपुर प्रहरीमा उजुरी दिएका छन् ।
हरिवन गाविस–४ निवासी कृष्णबहादुर महतका चार भाई छोरा मध्ये मृतक श्यामध्वज माइला हुन् । उनकी श्रीमती सुनिताको माईती सर्लाहीकै मूर्तिया हो । सुनिता हरिवन बजार स्थित न्यू हरिवन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत समेत थिइन् ।
No comments:
Post a Comment