Wednesday, October 9, 2013

यसवर्ष धान उत्पादन घट्ने

यसवर्ष धान उत्पादन घट्ने
सर्लाही समाचारदाता
मलंगवा, असोज २३ । उचित वर्षा नभएका कारण यसवर्ष धान खेती पर्याप्त हुन नसकेकाले उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
असार, साउन महिनामा उचित वर्षा नभएका कारण २० प्रतिशत हाराहारी खेतमा धान रोपाई हुन नसकेको जिल्ला कृषि विकास कार्यालय मलंगवाका प्रमुख युगल किशोर तिवारीले बताए । ‘‘यसवर्ष २० प्रतिशत जमिनमा धान खेती हुन सकेन ।’’ वरिष्ठ कृषि विकास अधिकृत तिवारीले भने–‘‘त्यसैले धान उत्पादनको परिमाण पनि घट्ने निश्चित       छ ।’’
वागमति, मनुष्मारा सिचाई आयोजनाको सिंचीत क्षेत्र तथा स्थानीय स्तरमा निर्माण भएका सिंचाई आयोजनाको कमाण्ड क्षेत्रमा धान खेती भएको र सिंचाईको व्यवस्था नभएका क्षेत्रमा अधिकांश खेत बाँझै बसेको प्रमुख तिवारीले बताए । ‘‘सिंचाईको व्यवस्था भएका क्षेत्रमा मात्र पनि आलोपालो गर्दा केही कमि नै रोपाई भएका छन् ।’’ उनले भने–‘‘जिल्लाको पूर्वी दक्षीण र उत्तरी क्षेत्रका अधिकांश खेतमा रोपाई हुन सकेन ।’’
रोपाई गरिसके पछि पनि उचित पानी नपरेका कारण धानको बोट सोचे अनुसार मौलाउन नसकेको कृषि विकास कार्यालयले जनाएको छ । प्रमुख तिवारीका अनुसार खण्डे वर्षाका कारण चाहिने जति मात्रामा पानी नपुगेका कारण रोपाई गर्न र रोपाई भईसकेका धानको बोट मौलाउन समस्या भएको छ ।
धान रोपाई हुन नसकेपछि बाँझो रहेका खेतमा तरकारी खेती, तोरी लगायत खेती गर्ने सोचाईमा किसानहरु रहेको प्रमुख तिवारीले बताए । खेतमा रोपिएका धान पनि पानी अभावका कारण पहेलिन थालिसकेको किसानहरुले गुनासो गरेका छन् । उचित वर्षा नहुनु र रासायनिक मल समेत सुलभ ढंगले नपाउनुले धानखेती गर्ने कृषकहरु मारमा परेका छन् । सर्लाहीमा ४० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा धान खेती हुने गर्दछ ।

No comments:

Post a Comment