किन हारे तीन राष्ट्रिय अध्यक्षले ?
–टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
हरिवन, मङ्सिर १७ । भर्खरै सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा सर्लाहीका विभिन्न क्षेत्रबाट उम्मेद्वारी दिएका तीनवटा दलका राष्ट्रिय अध्यक्षहरुले पराजय व्यहोरेका छन् । यसअघि जितेका १ जना तथा राम्रो जनाधार एवं पार्टीको राम्रो पकड भएको ठानिएको क्षेत्रमा दुईजना राष्ट्रिय अध्यक्षले हार व्योहर्न बाध्य बने । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अकल्पनीय ढंगले हार व्यहोर्नु प¥यो । आफू उम्मेद्वार भएको क्षेत्र अनि मुलुकमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा चिर परिचितको छवी बनाएका र राष्ट्रिय राजनीतिका हस्तीहरुले पराजयको सामना गर्नुपर्दा राष्ट्रिय स्तरमै चर्चाको विषय बनिरहेको छ । किन हार व्यहोर्नु प¥यो त यस्ता हस्तीहरुले ? अहिले पराजीत अध्यक्षहरुको दलका नेता कार्यकर्ता अनि आम सर्वसाधारणबीच चासोको विषय बनेको छ । क्षेत्रको स्थलगत भ्रमणका क्रममा भेटिएका स्थानिय अधिकांशले सामान्य मतदातासँग सामिप्यता नहुने र स–साना विषयमा पनि विपक्षीबाट आईपर्ने चुनौतीको सामनामा संरक्षण नहुने भएकाले राष्ट्रिय अध्यक्षहरुले हार्नुपरेको प्रमुख कारण बताउँछन् । नागरिक समाजका अगूवा उग्रकान्त झा पनि सचेत समुदायको बाहुल्यता नभएसम्म राष्ट्रिय स्तरका व्यक्तित्वहरुले नाम र ओझले मात्रै विजयी हुन गाह्रो पर्ने बताउँछन् । ‘‘सामान्य मतदातालाई राष्ट्रिय स्तरको व्यक्तित्व वा उसले दिन सक्ने ठूला खालका योगदानको बारेमा मतलब नै हुँदैन, उनीहरु त आफूले जे भन्न पनि मिल्ने, जहाँ बोेलाउँदा पनि आउने, स–साना समस्या आईपर्दा पनि संरक्षणमा सरिक हुने नेता खोज्छन्, जुन् अपेक्षा राष्ट्रिय अध्यक्षहरुबाट पुरा हुन सक्दैन ।’’ झाले सर्लाही दैनिकसँग भने–‘‘राष्ट्रिय अध्यक्षहरुले हार्नुमा मुख्य कारण यही हो, अन्य विविध कारणहरु पनि चर्चामा आएका छन् ।’’
मुलुकव्यापी रुपमा आÇना उम्मेद्वारलाई विजयी बनाउदै दोस्रो ठूलो दलको स्थान बनाएको नेकपा एमालेका अध्यक्ष खनाल स्वयंले चाँही सर्लाही क्षेत्र नं. १ बाट हार व्यहोरे । इलामबाट नजितेको भएत उनको लागि संविधान सभाको ढोका नै बन्द हुने रहेछ । लामो समय कांग्रेसको राजनीति गरेर निर्वाचनको पूर्वसन्ध्यामा एकिकृत नेकपा माओवादी प्रवेश गरी उम्मेद्वारको रुपमा खडा भएका शम्भुलाल श्रेष्ठसँग एमाले अध्यक्ष खनालले ६ सय ८५ मतान्तरले हार व्यहोर्नु प¥यो ।
२०६४ को निर्वाचनमा एमालेका प्रकाश पाख्रीन विजयी भएको क्षेत्रमा एमाओवादीका श्रेष्ठले ९ हजार ४ सय ६७ मत ल्याएर सोही दलका राष्ट्रिय अध्यक्ष खनाललाई नै पराजीत गरे । एमालेले सुरक्षित क्षेत्र ठानेर राष्ट्रिय अध्यक्ष खनाललाई त्यहाँ उम्मेद्वार बनाएको थियो । खनाल हार्नुमा घरदैलो कार्यक्रमहरुमा उनीद्वारा देखाईएको शालिनता, औपचारिकता लगायत कारणहरुले समेत भूमिका निर्वाह गरेको नेकपा एमालेका पूर्व जिल्ला संयोजक रेवती पन्तले बताए । ‘‘अध्यक्ष ज्यू मतदातासँग नजिकबाट घुलमिल हुन नसक्नु भएको र आम मतदाताले पनि राष्ट्रिय स्तरका व्यक्तित्व भएकाले उहाँसग नजिकबाट घुलमिल हुने आँट नै गर्न सकेनन् ।’’ पन्तले भने–‘‘विपक्षी उम्मेद्वारबाट अपनाईएको साम–दाम–दण्ड–भेद जस्ता नीतिका अगाडी अध्यक्षज्यूको शालिनता अनि भद्रताका कारण हार व्यहोर्न बाध्य भयौं ।’’
स्थानीय रुपमा लोकप्रिय र सहज पहुँचमा रहेका कारण पनि एमाओवादी उम्मेद्वार श्रेष्ठलाई मतदाताले रोजेको केही स्वतन्त्र विश्लेषकहरु बताउँछन् । एक जानकारका अनुसार श्रेष्ठलाई कांग्रेसका केही कार्यकर्ता सहितका समर्थहरुले समेत मत दिएका थिए । अध्यक्ष खनालले आÇनो हारको कारण छानवीन गर्न पार्टीको अञ्चल, जिल्ला र क्षेत्रीय नेतृत्वलाई निर्देशन समेत दिइसकेका छन् ।
त्यस्तै क्षेत्र नं. ६ मा उम्मेद्वारी दिएका तमलोपाका अध्यक्ष ठाकुरले पनि दोस्रो पटक उक्त क्षेत्रबाट हार व्यहोर्नु परेको छ । उक्त क्षेत्रबाट नेपाली कांग्रेसका नेता डा. अमरेस कुमार सिंहले जित हाँसिल गरे । सिंहले १७ हजार ४ सय मत ल्याएर विजयी हुँदा अध्यक्ष ठाकुरले भने तेस्रो स्थानमा रही ७ हजार ३२ मतमा मत्र चित्त बुझाउनु प¥यो । यसअघि सोही क्षेत्रबाट मधेशी जन अधिकार फोरम नेपालबाट विजयी भएका र हाल तराई मधेश सद्भावना पार्टी नेपालका उम्मेद्वार शिवपुजन राय १० हजार ३ सय ६५ मत ल्याएर दोस्रो स्थानमा झरे ।
जानकारहरुका अनुसार अचेल स–साना घटनामा प्रहरी प्रशासनको फन्दामा परिए भोट दिएका उम्मेद्वार वा सम्बन्धित दलले आÇनो पक्षमा बोलिदिने वा प्रहरी प्रशासन प्रमुखलाई फोन मार्फत भनिदिने आशा आम मतादाताले गरेका हुन्छन् । तर राष्ट्रिय अध्यक्ष ठाकुरसँग सामान्य मतदाताको सहज पहुँच नहुने गरेको गुनासो धेरै पहिलादेखि चल्दै आएको हो । ‘‘विभिन्न घटनामा फसेका हाम्रा कार्यकर्ता वा समर्थकलाई संरक्षण दिनका लागि प्रहरी प्रशासनमा फोन गरिदिनु प¥यो भनेर ठाकुरजीलाई भन्यो भने ‘यो त प्रहरी प्रशासनले हेरिहाल्छ नी, हाम्रो काम हैन’ भन्नुहुन्छ ।’’ तमलोपाका एक कार्यकर्ताले भने–‘‘कार्यकर्तादेखि समर्थकहरु सबैले सम्मानका साथ नमस्कार ग¥यो भने, त्यसको आदर समेत गर्दैनन्, अनि सामान्य कार्यकर्ता समर्थक टाढिदै जान्छन्, अचेल त निष्ठा र भद्र एवं शालिन राजनीति गरेर चुनाव जित्नै सकिदैन ।’’
उक्त क्षेत्रमा विजयी भएका कांग्रेस नेता सिंहले भने आÇना कार्यकर्ता अनि समर्थकका लागि जहाँसुकै फोन गर्ने, चासो देखाउने र विकास निर्माणमा समेत सकृय बन्दै गएका कारण पनि राष्ट्रिय अध्यक्ष ठाकुरबाट मतदाता टाढिदै गएको तमलोपाका कार्यकर्ताहरु नै अनौपचारिक कुराकानीमा स्वीकार गर्छन् । गत निर्वाचनका विजयी तमसपा नेपालका राय आफै पासपोर्ट काण्ड लगायतका कारण प्रहरी प्रशासनको चंगुलमा परेकाले उनीभन्दा राष्ट्रिय राजनीति एवं प्रहरी प्रशासनको उपल्लो तहमा समेत पहुँच देखाईरहेका कांग्रेसका सिंहबाट संरक्षण हुने बुझाई सामान्य मतदातामा बढ्दै गएको देखिन्छ ।
त्यस्तै २०६४ सालको निर्वाचनमा मुख्य प्रतिस्पर्धीभन्दा फराकिलो अन्तरले विजयी सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले पनि क्षेत्र नं. ४ बाट पराजयको नमिठो चाख व्यहोरे । उनलाई चुनौति दिदै खडा भएका तराई मधेश सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले २ हजार ३ सय २१ मतान्तरले पराजीत गरे । तमसपा नेपालका अध्यक्ष यादवले ११ हजार ५ सय ३४ मत ल्याएर विजयीको पगरी गुथे ।
विशेषगरी गाउँ–गाउँमा हिड्ने क्रममा सामान्य मतदाताको घरमा पनि सुतिदिने, जहाँ जे पाईन्छ सोही खाने र आÇना नेता कार्यकता अनि समर्थकका लागि लडिभिडी गर्ने गुणका कारण तमसपा नेपालका अध्यक्ष यादवको लोकप्रीयता बढेको सो क्षेत्रका अधिकांश जानकारहरु बताउँछन् । केही समय पहिला उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष रंगलाल अग्रवालको शंकास्पद् मृत्युको घटनामा उनी स्वयं लामो समयसम्म जिल्लामै रहेर छानवीन गर्न दिएको दवाव, एउटा बलियो प्रमाणको रुपमा बुभ्mन सकिन्छ । तमसपा अध्यक्ष यादवका यस्ता गुणहरुको कारणहरुले गर्दा पनि विगतमा मुख्य प्रतिस्पर्धी उम्मेद्वार भन्दा झण्डै दोब्बर मतान्तरले विजयी भएका सद्भावना अध्यक्ष महतोले नमिठो पराजय व्यहोनु प¥यो । तर सद्भावना अध्यक्ष महतोसँग भने तमसपा अध्यक्ष यादवको ठिक विपरित गुणहरु रहेको गत निर्वाचन यता आम मतदाताले महसुस गरे । सद्भावना अध्यक्ष महतोसँग उनकै पार्टीका सामान्य कार्यकर्ता अनि आम मतदाताको पहुँच सहज नभएको र कुनै घटनामा आग्रह गरिहाले पनि संरक्षणका लागि उचित चासो नदिने गरेको गुनासो बढेको देखिन्छ । महतोसँग नजिक अधिकांश जिल्ला स्तरमा चर्चित नेता कार्यकर्ताले यो चुनावमा सद्भावना छाडेर तमसपा नेपाल प्रवेश गरे, जसले गर्दा उनको हारमा केही मलजल ग¥यो ।
समग्रमा भन्दा सामान्य मतदाता आफुसँग सामिप्यता देखाउने, आवश्यक पर्दा संरक्षण गर्न अग्रसर हुने अनि विकास निर्माणमा सकृयता देखाउने उम्मेद्वार रोज्न थालेको यो चुनावको परिणामले स्पष्ट रुपमा कोरेको नक्शा हो । हार व्यहोरेका दलका नेता कार्यकर्ता अनि कतिपय उम्मेद्वार स्वयंले पनि निर्वाचनका क्रममा विजयी उम्मेद्वारले धाँधली गरेको समेत दावी गरिरहेका छन् । तर त्यसको स्वतन्त्र रुपले पुष्टी हुन सकेको छैन ।
No comments:
Post a Comment