Wednesday, December 4, 2013

निर्वाचनका कारण अदालतमा मुद्धाको चाङ

निर्वाचनका कारण अदालतमा मुद्धाको चाङ
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १८ । जिल्ला न्यायाधिसहरु संविधान सभा निर्वाचन २०७० मा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको रुपमा खट्नु परेका कारण जिल्ला अदालतमा मुद्धाको चाङ लागेको छ । गत भदौ दोस्रो सातादेखि मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको जिम्मेवारी पाएका जिल्ला न्यायाधिसहरुले निर्वाचन अन्तर्गत मतगणना एवं निर्वाचन सामग्री बरबुझारथ् सम्पन्न भएपछि गत साताबाट मात्र फुर्सद पाएका थिए । ‘‘दैनिक ३० देखि ३५ वटा हाराहारीमा मुद्धा हेरिन्थ्यो, निर्वाचनमा खटिनु परेकाले पेशी चढ्ने कुनैपनि मुद्धा हेर्न भ्याईएन ।’’ एक नम्बर जिल्ला न्यायाधिस कृष्ण कमल अधिकारीले सर्लाही दैनिकसँग मंगलबार भने–‘‘त्यसैले अहिले मुद्धाको फैसला वा आदेशका लागि चाप बढेको छ ।’’
गत साउनमा सरुवा भएर आएका जिल्ला न्यायाधिस अधिकारी, मुरारीबाबु श्रेष्ठ, शंकरराज बराल र दलबहादुर केसीले भदौ दोस्रो साताबाटै क्रमशः मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको जिम्मेवारी पाएका थिए । त्यसयता फाट्टफुट्ट रुपमा केही दिन पेशी चढ्ने मुद्धा हेर्न भ्याईएको र असोज १५ गतेदेखि भने पेशी चढ्ने मुद्धाको कामकारवाही पुरै ठप्प भएको जिल्ला न्यायाधिश अधिकारीले बताए । ‘‘असोज १५ गते यता दैनिक कार्य सञ्चालन अवरोध नहुने खालका थुनछेक बहस, मिलापत्र, अधिकृत वारेस लगायत मात्र सुचारु भयो ।’’ न्यायाधिस अधिकारीले भने–‘‘गत आईतबारबाट मात्र पेशी चढ्ने मुद्धा हेर्न थालिएको छ ।’’
निर्वाचनको जिम्मेवारी सकिएलगतै अदालतका तीनजना न्यायाधिसहरु श्रेष्ठ, बराल र केसी घरविदामा गएका छन् । त्यसैले हाल एक नं. न्यायाधिश अधिकारीले मात्र दैनिक ८ देखि १० वटा मुद्धा हेरिरहेको अदालत प्रशासनले जनाएको छ ।
‘‘दुईमहिना भन्दा बढी समयदेखि मुद्धा फछ्र्यौट नहुँदा स्वभाविक रुपमा त्यसको चाप बढेको छ ।’’ न्यायाधिस अधिकारीले भने–‘‘अब अलि सकृयताका साथ कामकार्वाही अगाडी बढाएर सहज बनाउने प्रयासमा छौं ।’’ फैसला वा आदेश अभावमा दुईमहिना भन्दा बढी समयदेखि दर्ता भएर थन्किएका, त्यस अगाडी दर्ता भएका र नयाँ दर्ता हुने मुद्धाका कारण अदालतमा एकसाथ चाप बढेको मुद्धा फाँटका भरत घिमिरेले बताए । ‘‘श्रीमानहरु निर्वाचनमा खटिनु परेका कारण मुद्धा फछ्र्यौट नभएकाले अहिले चाप बढेको छ ।’’ घिमिरेले भने ।
अधिवक्ता शिवराम श्रेष्ठले न्यायाधिसहरु निर्वाचनमा खटिएका कारण अदालतमा मुद्धाको चाप बढेको र सेवाग्राहीहरु केही पीडित भएको बताए । ‘‘श्रीमान (न्यायाधिस) हरु निर्वाचनमा खटिँदा मुद्धा फछ्र्यौट भएन ।’’ अधिवक्ता श्रेष्ठले भने–‘‘मुद्धाका पक्षहरुले हामी वकिलहरुलाई पो ‘खै त अहिल्यै सम्म काम भएन’ भनेर गुनासो गरिरहेका छन् ।’’
दुईमहिनादेखि मुद्धा पेशी नचढ्दा दैनिक ३० देखि ३५ वटाका दरले विदाको समय कटाउँदा पनि ४५ दिनको कम्तिमा एकहजार तीनसय ५० वटा मुद्धा फछ्र्यौट हुन नसकेको देखिन्छ ।

No comments:

Post a Comment