अमरेशलाई शिक्षामन्त्रीको अग्रीम बधाई
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १८ । सदरमुकाम मलंगवामा मंगलबार अपरान्ह भएको एक कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सभासद् डा. अमरेश कुमार सिंहलाई आगामी सरकारमा शिक्षामन्त्रीको लागि अग्रीम बधाई दिईएको छ ।
नेपाल शिक्षक संघले सर्लाहीबाट कांग्रेसकोतर्फबाट निर्वाचित भएका दुईजना सभासद्को सम्मानमा आयोजित कार्यक्रमका वक्ताहरुले डा. सिंहलाई शिक्षा मन्त्री बन्न आग्रह गर्दै
त्यसका लागि अग्रीम बधाई समेत दिएका हुन् । ‘‘क्षेत्रको विकास निर्माणमा सकृय भएपछि उहाँले भर्खरै सम्पन्न भएको संविधान सभा निर्वाचनमा क्षेत्र नं. ६ बाट विजय हाँसिल गर्नुभयो ।’’ कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उमावि बलराका प्रअ रामकुमार शर्माले भने–‘‘अब जिल्ला सहित समग्र शिक्षा क्षेत्रको विकासका लागि उहाँले शिक्षा मन्त्री बन्नु पर्दछ र त्यसका लागि अग्रीम बधाई पनि दिन चाहन्छु ।’’
सम्मान थापेपछि सभासद् डा. सिंहले जिल्लाको शिक्षा, स्थानीय निकाय एवं स्वास्थ्य क्षेत्र सुधारका लागि पहल गर्ने र आफूले जितेको क्षेत्र सहित समग्र सर्लाहीको विकास निर्माणमा आफु सकृय रहने उद्घोष गरे । ‘‘कांग्रेसको नेतृत्वमा सरकार बनेपछि म मन्त्री भएपनि नभएपनि शिक्षा क्षेत्रको विकास र सुधार मात्र हैन सर्लाहीको समग्र विकासका लागि अहोरात्र लागि पर्नेछु ।’’ उनले प्रतिबद्धता जनाए–‘‘तपाईहरु सबैले सहयोग गर्नुस्, म मुख्य गरी शिक्षा, स्वास्थ्य र स्थानीय निकायको सुधार र विकास एवं सुधारमा कुनै कसर बाँकी राख्ने छैन ।’’
राष्ट्रिय राजनीतिमा सकृय देखिने सिंहले २०६४ को निर्वाचनमा सुन्यको अवस्थामा रहेको कांग्रेस २०७० सालमा २ क्षेत्रमा जीत हाँसिल गरेको उल्लेख गर्दै सबै नेता कार्यकर्ताहरुबीच एकरुपता र समन्वय भए आगामी निर्वाचनमा ६ वटै क्षेत्रमा कांग्रेसको चारतारे झण्डा फहराउने दावी गरे । कांग्रेस जिल्ला पार्टी कार्यालय मलंगवा प्राङ्गणमा आयोजित एक समारोहबीच क्षेत्र नं. ६ बाट निर्वाचित डा. अमरेस कुमार सिंह तथा क्षेत्र नं. २ बाट निर्वाचित रामचन्द्र चौधरीलाई सम्मान गरेको हो । संघका अध्यक्ष कौशल किशोर रायले दोसल्ला ओढाएर निर्वाचित सभासद्द्वयलाई सम्मान गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथी कांग्रेस जिल्ला सभापति लक्ष्मण राय, संघका उपाध्यक्ष यमनाथ उप्रेतीले माला लगाएर नवनिर्वाचित सभासद्द्वयलाई सम्मान गरेका थिए ।
संघका जिल्ला अध्यक्ष कौशल किशोर रायको सभापतित्वमा सञ्चालित कार्यक्रममा सहसचिव भाग्यनारायण मिश्रले स्वागत गरेका थिए । कार्यक्रममा संघकी महिला उपाध्यक्ष विश्वलक्ष्मी उप्रेती, उमावि बलराका प्रअ रामकुमार शर्मा, विद्यालय श्रोत व्यक्ति संमाज नेपालका केन्द्रिय अध्यक्ष नरेन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै क्षेत्र नं. २ बाट निर्वाचित सभासद् चौधरीले आफूलाई निर्वाचित हुनका लागि सहयोग गर्ने एवं सम्मान गर्ने आयोजकलाई समेत धन्यवाद दिदै आफु संविधान निर्माणका लागि सक्रिय रहने बताए ।
कार्यक्रममा विभिन्न वक्ताहरुले सिंहलाइ क्रान्तिकारी र चौधरीलाई गान्धीवादीको रुपमा चित्रण गरेका थिए ।
No comments:
Post a Comment