नवलपुर–मलंगवा सडकखण्ड पूनर्निर्माण
आशैआशमा समयावधीसकियो ः ठेकेदार वेपत्ता
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २४ । नवलपुर–मलंगवा सडकखण्ड सहित सर्लाहीको नयाँरोड–मधुवनी र फूलजोर–इश्वरपुर लगायत सडकहरुको पूनर्निर्माण गर्ने जिम्मेवारी पाएर सम्झौता अनुसार निर्माण कार्य हुनुपर्ने ३० महिने समयावधी नोभेम्बर १२ अर्थात गत कात्तिक २६ गते नै सकिई सकेको छ । भारत सरकारको अनुदान अन्तर्गत भारतीय ठेकेदार कम्पनी भिश्वा कन्स्ट्रक्शनले पूनर्निर्माणको जिम्मेवारी पाएको ती सडकखण्डहरु मध्ये नवलपुर–मलंगवा सडकखण्डमा २ प्रतिशत पनि काम भएको छैन भने नयाँरोड–मधुवनी र फूलजोर–इश्वरपुर सडकखण्डको अवस्था भने शुन्यमै रहेको छ । हाल निर्माणको काम गर्ने भारतीय ठेकेदार कम्पनीका प्रमुख एवं प्रतिनिधिहरु झण्डै दुईमहिना भन्दा बढी समयदेखि सम्पर्क विहिन अवस्थामा गायब रहेको सरोकारवाला सरकारी अधिकारीहरु बताउँछन् । तर उक्त सडकखण्ड पूनर्निर्माणको लागि सहजिकरण गर्न नेपाल सरकारको तर्फबाट मुख्य जिम्मेवारी पाएको हुलाकी राजमार्ग आयोजना अन्तर्गत योजना कार्यालय जनकपुरका प्रमुख तथा जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला सरकारी एवं अर्धसरकारी कार्यालयका प्रमुखहरु भने सडक निर्माणको लागि ३० महिने अवधी तोकिएलगतैको अवस्थामा काम गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले सोमबार सदरमुकाम मलंगवामा सर्वपक्षीय बैठक आयोजना गरी सडक निर्माणका लागि आवश्यक वातावरण तयार गर्ने काम ग¥यो । प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नवलपुरदेखि मलंगवा जिविस चोकसम्मको सडकखण्डको बीचभागबाट १४ देखि १५ मिटरको दुरीमा विद्युत पोल सार्ने, पोल सार्ने काममा अवरोध भए स्थानीय गाविस सचिवको पहलमा सर्वदलीय प्रतिनिधि, नागरिक समाज र स्थानीय निकायको सहयोग लिई समस्या समाधान गर्ने, निर्णयकर्तालाई निरन्तरता दिदै सडक विस्तारको क्रममा गाउँको प्रभावित जनता घरबाटै विस्थापीत हुने अवस्था आएमा उचित मुआब्जाको लागि सम्बन्धित निकायमा अनुरोध गर्ने र मलंगवा नगरपालिकाको हकमा हुलाकी राजमार्ग आयोजनाले मलंगवा नगरपालिका, नागरिक समाज, उद्योग वाणिज्य संघ, सर्वदलिय प्रतिनिधिहरु तथा सुरक्षा निकायको सहयोगमा ७ (सात) दिन भित्र नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमलाई रेखाङ्कन गरी प्रतिवेदन दिने निर्णय गरेको छ । जुन् काम २०११ अप्रील अर्थात २०६७ चैततिर गर्नुपर्ने थियो र सडक निर्माणको काम तदारुकताका साथ निरन्तर गराउनका लागि पहल गर्नुपर्ने थियो । सम्झौता अवधीभित्र काम सम्पन्न गर्नका लागि जतिसुकै ताकेता गर्दा पनि भारतीय ठेकेदार कम्पनीले काम नगरेपछि निर्माण कार्य त्यसै थन्कीएको र आगामी दिनमा भारतीय ठेकेदारले काम गर्न खोजेमा नेपाल सरकारकोतर्फबाट कुनै काम नभएको भन्ने गुनासो आउन नदिन सर्वपक्षीय बैठक राखेर समाधानको पहल गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले बताए । ‘‘भारतीय ठेकेदार कम्पनीका मान्छे हाल सम्पर्कमै छैनन् ।’’ प्रजिअ घिमिरेले भने–‘‘फेरिपनि काम होला की भन्ने आशामा सडक निर्माणका लागि सहजीकरण गर्ने प्रयास जारी छ, सडक निर्माणका लागि आवश्यक पर्ने जस्तो सुकै सहयोग गर्न हामी तत्पर छौं ।’’
नेपाल विद्युत प्राधिकरणका प्रमुख दिपेन्द्रराज द्विवेदीले नवलपुर चोक, गैर, अगर्वा, सलेमपुर, गम्हरिया र मलंगवा बजार क्षेत्रमा विद्युत पोल सार्न समस्या देखिएको र अधिकांश स्थानमा विद्युत पोल सार्नै नपर्ने बताए । उक्त सडकखण्डको झण्डै ७० प्रतिशत स्थानमा विद्युत पोल सार्नुपर्ने समस्या नै नरहेको उनले बताए । सडक छेउमा भएका घरहरुले गर्दा समस्या देखिएकाले केही स्थानमा पोल सार्ने काम हुन नसकेको द्विवेदिले बताए ।
बैठकमा बोल्दै हुलाकी राजमार्ग आयोजना अन्तर्गत योजना कार्यालय जनकपुरका प्रमुख किशोरी रायले भारतीय ठेकेदारको लापरवाहीका कारण तोकिएको समयमा काम नभएको बताए । ‘‘ठेकेदारले सडक निर्माणका लागि सडक क्षेत्र खाली नहुँदा काम गर्न नसकिएको बताउँदै सम्झौता अनुसार तोकिएको समय त्यसै खेर फालेको छ ।’’ उनले भने–‘‘तर नवलपुर–मलंगवा सडक खण्डमा हाम्रो तर्फबाट ८० प्रतिशत भन्दा बढी काम भईसक्दा पनि उसले निर्माणको काम अगाडी बढाएन, ठेकेदार कम्पनीले बहानाबाजी देखाएर काम नगर्ने मनशाय देखियो ।’’ अझैपनि नेपाल सरकारकोतर्फबाट गर्नुपर्ने काम सम्पन्न गरिदिए भारतीय सरकारबाट अनुदान मार्फत हुने सडक निर्माण कार्यले निरन्तरता पाउनेमा विश्वास रहेको आयोजना प्रमुख रायले बताए ।
भारतीय सरकारका तर्फबाट कन्सल्ट्यान्ट तोकिएका आई.ई. राइट्स लि. भारतका नरेश शर्माले भारतीय ठेकेदार कम्पनीले ३ महिना भन्दा बढी समयदेखि काम रोकेको बताए । ‘‘उसको आफ्नै समस्याका कारण काम रोकिएको हो ।’’ शर्माले भने–‘‘पैसा अभावका कारण ठेकेदार कम्पनीका प्रमुख सहितका प्रतिनिधि हाल भारतमै रहेको भन्ने बुझिएको छ ।’’
नवलपुर–मलंगवा सडकखण्डमा नाँपजाप एवं कतैकतै सडकखण्ड खोतलेर तथा माटो हुरेर केही काम गरेजस्तो गरेपनि नयाँरोड–मधुवनी र फूलजोर–इश्वरपुर सडकखण्डमा भने केही काम भएको छैन । नवलपुर–मलंगवा सडकखण्डमा बढीमा २ प्रतिशत काम भएको सरोकावाला सरकारी अधिकारीहरु बताउँछन् ।
नवलपुर–मलंगवा सडकखण्ड सहित प्याकेज नं. ४ अन्तर्गत सर्लाही र महोत्तरीका १ सय २१ किलोमिटर सडकखण्ड नोभेम्बर १२ भित्र निर्माण कार्य सक्नुपर्ने नेपाल सरकार र भारत सरकारबीच सम्झौता भएको हुलाकी राजमार्ग आयोजना अन्तर्गत योजना कार्यालय जनकपुरका प्रमुख रायले बताए । उनका अनुसार सडक निर्माण कार्यका लागि आवश्यक पर्ने गिट्टी, ढुंगा चाहियजती उपलब्ध गराईएको, नवलपुर–मलंगवा सडकखण्डमा रुख काट्ने काम सकिएको र अधिकांश स्थानमा विद्युत पोल हटाउनुपर्ने नभएपनि भारतीय ठेकेदारको बद्नियतका कारण काम सुरु नभएको हो ।
तोकिएको समयमै काम सम्पन्न नहुँदा विशेष गरी दैनिक सयौं सवारी साधन गुड्ने नवलपुर–मलंगवा सडकखण्ड दायाँबायाँका बासिन्दा, उक्त सडकमा यात्रा गर्ने यात्रु, गुड्ने सवारी साधन, बटुवा मारमा पर्दै आएका छन् । भत्किएर जीर्ण बनेका कारण २५ किलोमिटर सडकखण्ड पार गर्न झण्डै पौने दुईघण्टा सम्म लाग्ने गरेको छ । ठूला सवारी साधनले उडाएको धुलोका कारण स्थानीय बासिन्दा, बटुवा, साना सवारी साधनमा गुड्ने यात्रु अत्यन्त मारमा पर्दै आएका छन् ।
No comments:
Post a Comment