Friday, January 3, 2014

उखुबारीमा कोरेक्सका सयौं बोतल

उखुबारीमा कोरेक्सका सयौं बोतल
सर्लाही समाचारदाता
मूर्तिया, पुस १९ । प्रहरीले शुक्रबार दिउँसो मूर्तिया गाविस स्थित उखुबारीबाट लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधी ठूलोमात्रामा बरामद् गरेको छ ।
नेपालमा प्रतिबन्धित तर भारतमा सहज उपलब्ध हुने गरेको ‘कोरेक्स’ नामक औषधी बरामद् भएको हो । मूर्तिया गाविस–६ स्थित उखुबारीमा पहेलो बोरामा बाँधेर राखेको अवस्थामा १ सय ४० वटा कोरेक्सका बोतल बरामद् गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले दावी गरे ।
इलाका प्रहरी कार्यालय मूर्तियाका प्रमुखको नेतृत्वमा रहेको प्रहरी टोलीले उक्त बोतलहरु बरामद् गरेको बताईएको छ । बरामद् कोरेक्सका बोतलहरु इलाका प्रहरी कार्यालय बरहथवामा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कोरेक्सका उक्त बोतलहरु लागूऔषधका कारोबारीहरुले भारतबाट जिल्लाको उत्तरी क्षेत्रतर्फ लैजाने क्रममा लुकाएर राखेको अनुमान प्रहरीले गरेको छ ।
जानकारहरुका अनुसार खोकी लाग्दा प्रयोग गरिने उक्त ‘कफसिरप’ लागूऔषध प्रयोगकर्ताहरुले एकैचोटी खाएर लागूऔषधको रुपमा प्रयोग गर्दछन् । नेपालमा भने उक्त औषधी प्रतिबन्धित रहेको छ ।

No comments:

Post a Comment