Friday, January 3, 2014

अनियमित विद्युतबाट आजित छन् उपभोक्ता

अनियमित विद्युतबाट आजित छन् उपभोक्ता
सर्लाही समाचारदाता
लालबन्दी, पुस १९ । अनियमित विद्युतका कारण जिल्लाको जनजिवन अत्यन्त प्रभावित भएको छ । राष्ट्रव्यापी रुपमा दैनिक ९ घण्टा विद्युत कटौतीको तालिका भएपनि सर्लाहीमा भने केहीदिनदेखि दैनिक ९ घण्टा पनि विद्युत नआउने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । शुक्रबार दिनभरपनि विद्युतको मुख देख्न नपाएको उपभोक्ताहरुको गुनासो छ । राती अवेरसम्म यो समाचार तयारपार्दा पनि विद्युत सुचारु भएको थिएन । अनियमित विद्युतको विरोधमा उपभोक्ताहरुले पटक पटक राजमार्गमा चक्काजाम गर्ने एवं विद्युत कार्यालयमा तालाबन्दी जस्ता विरोधका कार्यक्रमहरु गरेपनि सर्लाहीको अनियमित विद्युत तालिकामा वर्षाैदेखि कुनै फेर बदल हुन सकेको छैन । जसबाट उपभोक्ताहरु आजित छन् ।
राष्ट्रिय लोडसेडिङ तालिका अनुसार शुक्रबार विहान ४ बजेदेखि ७ बजेसम्म, १० बजेदेखि दिउँसो २ बजेसम्म र ४ बजेदेखि राती ७ बजेसम्म विद्युत कटौती हुने तालिका रहेको थियो । जसमा विहान र दिउँसोको समयमा १–१ घण्टा चुहावट विरुद्धको आन्तरिक थप लोडसेडिङका कारण नआउँदा पनि विहान २ घण्टा र दिउँसो २ घण्टा अनि साँझ ७ बजेपछि विद्युत सुचारु हुनुपर्ने हो । तर दिनभर र राती अवेरसम्म विद्युत नआएको हरिवनका उपभोक्ता दिनेस केसीले बताए ।
निजी विद्यालय तथा अन्य विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुको नजिकिदो परीक्षा दिनका लागि अध्ययनमा समेत नियमित विद्युत सुचारु नहुँदा असरपुगेको विद्यार्थीहरुले गुनासो गरेका छन् । अधिकांश समय विद्युत नुहँदा साइबर सञ्चालक, उद्योग कलकारखाना, स्थानीय संचारमाध्यम तथा राष्ट्रिय संचार माध्यममा कार्यरत संचारकर्मीहरु प्रभावित बनेका छन् । विद्युत किन नआएको भन्ने प्रश्न राख्यो भने कहिले फल्ट भएको त कहिले जम्पर विग्रेको अनि कहिले फिडरमा समस्या आएको लगायत विभिन्न बहाना देखाएर प्राधिकरणका कर्मचारी उम्कने गर्दछन् । ‘काग कराउँदै गर्छ पिना सुक्दै जान्छ’ भन्ने उखान जस्तै उपभोक्ताले जतिसुकै हार गुहार गरेपनि प्राधिकरणका कर्मचारी कानमा तेल हालेर बसे सरह छन् । हाल राष्ट्रव्यापी रुपमा दैनिक ९ घण्टा लोडसेडि· हुँदा त सर्लाहीको विद्युतमा यस्तो अवस्था छ भने आइतबारदेखि झन दैनिक १२ घण्टा लोडसेडि· हुने भएपछि जिल्लाका उपभोक्ताको अवस्था के होला ?
नियमित विद्युत नहुँदा उद्योग व्यवसाय क्षेत्र संकटको अवस्थामा पुगेको लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुकाजी प्रधानले बताए । ‘‘विद्युत नियमित नहुँदा राईसमिलमा १२ जना कार्यरत मजदुरलाई त्यसै तलब दिन बाध्य छु ।’’ उनले गुनासो गरे–‘‘नियमित विद्युत उपयोग गर्न नपाएपनि मासिक न्यूनतम १२ हजार त्यसै तिर्नु परिरहेको छ, यो घाटा कसले वेहोर्ने ?’’ लोडसेडिङ तोकिएको बाहेकको समयमा विद्युत नआउँदा सारा चौपट भएको समेत उनले दुःखेसो व्यक्त गरे । ‘‘एक–दुई घण्टा हैन, लोडसेडिङ बाहेक पनि पाँच–छ घण्टासम्म निरन्तर विद्युत आउँदैन ।’’ उनले भने–‘‘प्राधिकरणले चुहावटको नाममा आम जिल्लाबासीलाई होलसेलमा दण्डित गरिरहेको छ, जुन गलत छ ।’’ उनले चुहावटमा संलग्नहरुलाई कडा कार्वाही गर्नका लागि जस्तो सुकै सहयोग गर्न समेत आफूहरु तयार रहेको प्रतिबद्धता जनाए ।
विद्युत प्राधिकरण सर्लाहीले भने ढल्केबर सबस्टेशनको मुख्य ट्रान्सफर्म जलेका कारण विद्युत अनियमितता बढी भईरहेको दावी गर्दै आएको छ । प्राधिकरण सर्लाहीका प्रमुख द्विवेदीले ढल्केबर सबस्टेशनको ट्रान्सफर्मर जलेकाले तत्कालिन समस्या देखिएको बताउँदै उक्त ट्रान्सफर्मर बनेपछि केहीहदसम्म अतिरिक्त लोडसेडिङको समस्या नदेखिने बताए । ‘‘ढल्केबरको ट्रान्सफर्मर विग्रेका कारण चुहावट बाहेकको थप लोडसेडिङ हुँदै आएको छ ।’’ उनले भने–‘‘ढल्केबरको बनेपछि र बरहथवामा पनि बन्दै गरेको सबस्टेशन चालु भएपछि धेरै हदसम्म अतिरिक्त लोडसेडिङको मार घट्ने छ ।’’
प्राधिकरण सर्लाहीका प्रमुख द्विवेदीले गाउँगाउँमा चुहावट नियन्त्रण अभियान सञ्चालन गरेर विद्युत चोरी विरुद्ध कार्वाही चलाईने प्रतिबद्धता समेत जनाए । ‘‘हामीले कार्ययोजना बनाएरै माथिल्लो निकायमा पेश गरिसकेका छौं ।’’ उनले भने–‘‘सबै पक्ष, तह र तप्काको सहयोगमा चुहावट नियन्त्रण अभियान चलाउँछौं र सँगसँगै विद्युत पोल, तार लगायत सामग्रीहरुको मर्मत संभारको काम पनि सुरु गर्नेछौं ।’’ सिमित स्रोत र साधन एवं जनशक्ति हुँदा समेत विद्युत चोरी नियन्त्रणमा प्रभावकारी कदम चाल्न कठिनाई भईरहेको प्राधिकरण सर्लाहीका प्रमुख द्विवेदीले बताए ।
३५ प्रतिशतभन्दा बढी र ४० प्रतिशतभन्दा कम चुहावट भएमा १ घण्टामात्र अतिरिक्त लोडसेडिङ गर्ने विद्युत प्राधिकरणले नियम राखेको छ । सर्लाहीमा हाल विद्युत प्राधिकरणका ५० हजारभन्दा बढी प्रत्यक्ष ग्राहक रहेका छन् भने त्यहीबाट आम जिल्लाबासीका अनगिन्ती कामहरु सुचारु हुने गर्दछ ।

No comments:

Post a Comment