Thursday, January 2, 2014

जनज्योती शिक्षालयमा तनाव

जनज्योती शिक्षालयमा तनाव
सर्लाही समाचारदाता
लालबन्दी, पुस १८ । व्यवस्थापन पक्षले शैक्षिक भ्रमणका लागि आर्थिक सहयोग उपलब्ध नगराएको भन्दै विद्यार्थीहरुको एक समूहले जनज्योती प्राविधिक शिक्षालय लालबन्दीमा विहिबार ताला लगाएका छन् । शिक्षालय प्रशासनले भने विद्यार्थीहरुको माग ‘वेमौसमी बाजा’ भएको उल्लेख गर्दै तालाबन्दीले कुनै असर नगर्ने बताएको छ ।
शैक्षिक भ्रमणका लागि आर्थिक सहयोग माग गर्दा व्यवस्थापनपक्ष एकतर्फी ढंगले अगाडी बढेको भन्दै शिक्षालको प्रशासन सहित कक्षा कोठाहरुमा ताला लगाईएको नेकपा–माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका जिल्ला सदस्य कृष्ण सापकोटाले बताए । माग पूरा नभएसम्म तालाबन्दी जारी रहने समेत सापकोटाले चेतावनी दिए । अखिल क्रान्तिकारीको नेतृत्वमा दुईसाता भन्दा अगाडीदेखि विद्यार्थीहरुको एक समूहले शैक्षिक भ्रमणका लागि आर्थिक सहयोगको माग राख्दै आएको छ ।
शिक्षालयका प्रमुख संजीवकुमार पाण्डेले भने विद्यार्थीहरुको मागबारे व्यवस्थापन समितिको बैठक राखेर विहिबार नै जानकारी गराएको र व्यवस्थापन समितिका पदाधिकारीहरु सकारात्मक रहेको जानकारी दिए । ‘‘आगामी पुस २६ गतेदेखि परीक्षा छ ।’’ पाण्डेले भने–‘‘परीक्षाको समयमा शैक्षिक भ्रमणको माग राखेर केही विद्यार्थीहरुले वेमौसमी बाजा बजाईरहेका छन् ।’’ उनले अधिकांश अभिभावकहरुले समेत अहिले शैक्षिक भ्रमणभन्दा पनि विद्यार्थीको परीक्षाका लागि उचित ध्यान दिनुपर्नेमा जोड समेत दिएको बताए । ‘‘शुक्रबारबाट व्यवस्थापन समितिका पदाधिकारी सहित अभिभावहरु समेतको उपस्थितीमा शिक्षालय सञ्चालन हुन्छ ।’’ उनले भने ।

No comments:

Post a Comment