Friday, January 17, 2014

पूर्व–पश्चिम राजमार्ग सुरक्षामा कार्यदल

पूर्व–पश्चिम राजमार्ग सुरक्षामा कार्यदल
सर्लाही समाचारदाता
मलंगवा, माघ ०२ । लुटेरा समूहले पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधनका यात्रुमाथि लुटपाट गर्न फरक–फरक शैली अपनाएपछि सुरक्षा व्यवस्थाबारे स्थानीय प्रशासनले चासो लिएको छ ।
गत मंगलबार विहान काठमाण्डौबाट सिन्धुलीतर्फ जाँदै गरेको यात्रुबसलाई सोही बसमा यात्रारत ९ जनाले सर्लाहीको फूलजोरदेखि महोत्तरीको बर्दिबास नजिकसम्म नियन्त्रणमा लिएर फिल्मी शैलीमा लुटपाट गरेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्थाबारे आवश्यक रणनीति बनाउन चासो लिएको हो । यसक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले राजमार्ग सुरक्षा व्यवस्थाबारे आवश्यक गृहकार्य गर्न कार्यदल गठन गरेका छन् ।
प्रजिअ घिमिरेले इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख मदनप्रसाद पराजुलीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदलमा महोत्तरी स्थित इलाका प्रशासन कार्यालय बर्दिबासका शाखा अधिकृत सदस्य सचिव छन् भने सशस्त्र प्रहरी छिन्नमस्ता गण बर्दिबासका सशस्त्र प्रहरी नायव उपरीक्षक, इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक, सर्लाही स्थित सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय मलंगवाका निरीक्षक, इलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक र राष्ट्रिय अनुसन्धान मलंगवाका प्रहरी निरीक्षक सदस्य रहेका छन् ।
कार्यदलले राजमार्गमा हुने लुटपाटका कारण र निराकरणका उपाय सहित १५ दिन भित्र प्रजिअ घिमिरे समक्ष प्रतिवेदन बुझाउने छ । पूर्व–पश्चिम राजमार्गमा पटक–पटक यात्रुबसका यात्रुहरु लुटपाटमा पर्दै आएका छन् । बाक्लै संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरको गस्ती खटाईएपनि लुटेरा समूहले फरक–फरक शैलीमा लुटपाट मच्चाउँदै आएका छन् ।

No comments:

Post a Comment