बरहथवामा ५५ लाखको पुस्तकालय भवन
सर्लाही समाचारदाता
बरहथवा, माघ ०२ । सर्भिस फर पिस नेपालको आयोजनामा विहिबार बरहथवामा पुस्तकालय भवन निर्माण सम्पन्न तथा स्वयं सेवा महोत्सव २०७० को आयोजना भएको छ ।
बरहथवा बजार स्थित महाकवि देवकोटा पुस्तकालयको ५५ लाख हाराहारी लागतमा भवन निर्माण सम्पन्न भएको छ । दक्षिण कोरियाको सरकारी संस्था कोइकाको ५० लाख तथा जिल्ला विकास समितिको २ लाख र स्थानीय बासिन्दाको बाँकी सहयोगमा पुस्तकालय भवन निर्माण सम्पन्न भएको सर्भिस फर पिस नेपालका महासचिव एवं निर्देशक सरोज खनालले बताए । खनालका अनुसार केही समयपछि नै भवनमा पुस्तकहरु राखेर पुस्तकालय सञ्चालनमा ल्याईने छ । वातानुकुलित भवनमा विद्युतीय सुविधा सहित पुस्तकहरु पढन पाईने छ । निर्माण सम्पन्न भएकाले भवनको मात्र विहिबार सर्लाहीको क्षेत्र नं. ३ बाट संविधान सभामा सभासद् चयन भएका प्रत्यक्षतर्फका हरि उप्रेती एवं समानुपातिकतर्फका हरेस महतो र नरेन्द्र साह तथा ग्लोबल पिस एशोसियशनका अध्यक्ष डा. किशोर राज भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
त्यस्तै सर्भिस फर पिस नेपालको आयोजनामा पुस्तकालय भवन परिसरमै स्वयं सेवक हरुको समेत भेला आयोजना गरिएको थियो । सर्भिस फर पिसका निर्देशक सरोज खनालको सभापतित्व एवं तीनजना सभासद्हरु हरि उप्रेती, हरेश महतो र नरेन्द्र साहको प्रमुख आतिथ्यतामा स्वयं सेवक महोत्सव भएको हो ।
कार्यक्रममा डा. किशोर राजभण्डारी, विनोद खनाल, रामकैलास राय यादव, देवानन्द महतो, कल्पना कटुवालले लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सविन खनालको सञ्चालनमा भएको थियो । कार्यक्रममा दक्षिण कोरिया लगायत विभिन्न देशबाट विदेशी नागरिकहरुको समेत सहभागित रहेको थियो ।
कार्यक्रममा सर्भिस फर पिस नेपालको संयोजनमा सर्लाही एवं महोतरी जिल्लामा भईरहेका काममा स्वयं सेवा दिईरहेका स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो । सर्लाहीका जानकीनगर, हजरिया, घुर्कौली, कर्मैया, हरिव तथा महोत्तरीका भरतपुर, खयरमारा लगायत गाविसबाट स्वयं सेवकहरुको कार्यक्रममा सहभागिता रहेको निर्देशक खनालले बताए । कार्यक्रममा कोरियाका ६ जना र नेपाली स्वयं सेवक ६ जना महिलाहरुले मितेरी चिनो एकआपसमा आदानप्रदान समेत गरेका थिए ।
No comments:
Post a Comment