धमाधम पक्राउ परे लागूऔषध कारोबारी
–टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
हरिवन, माघ २९ । इलाका प्रहरी कार्यालय हरिवनको सकृयतामा लागूऔषधका कारोबारी नै धमाधम पक्राउ पर्न थालेका छन् । लागूऔषधसहित गत सोमबार दुईजना पक्राउ गरेको इलाका प्रहरी कार्यालय हरिवनले मंगलबार राती समेत थप दुईजनालाई सोही आरोपमा नियन्त्रणमा लिएको छ ।
जानकीनगरबाट घुर्कौलीतर्फ मोटरसाईकलमा बोरामा राखेर कोरेक्सका बोतलहरु ल्याउँदै गरेको अवस्थामा मंगलबार राती दुईजनालाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक महेश थापाले बताए । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–१० का २३ वर्षिय उदयकुमार यादव र जमुनिय गाविस–४ का २२ वर्षिय विजय यादव रहेका छन् । द्यच् घण्म् छण्द्दढ नम्बरको भारतीय मोटरसाईकलमा आउँदै गरेको अवस्थामा घुर्कौली गाविस–६ बाट राती ९ बजे दुईजनालाई कोरेक्सका ८० वटा बोतल सहित पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए ।
‘‘जानकीनगरतर्फ गईरहेको हाम्रो गस्ती टोली र घुर्कौलीतर्फ मोटरसाईकलमा आईरहेको उनीहरुबीच जम्काभेट भयो ।’’ प्रनी थापाले भने–‘‘उनीहरुको साथमा रहेको सेतो बोरा खोलेर हेर्दा कोरेक्सका बोतलहरु भेटियो ।’’ कारोबारीहरुले भारतबाट ठूला परिमाणमा लागूऔषध नेपालतर्फ भित्र्याई हरिवन सहित जिल्लाको उत्तरी क्षेत्रमा ल्याउने गरेको सूचनाका आधारमा त्यस्ता गैरकानूनी कार्य नियन्त्रणमा लागि व्यापक प्रहरी परिचालन समेत गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
पक्राउ परेका दुवैजना लागूऔषध कारोबारी नै रहेको प्रहरीले अनुमान गरेको छ । आवश्यक कार्वाही प्रकृयाका लागि पक्राउ परेका दुवैजनालाई बुधबार नै इलाका प्रहरी कार्यालय हरिपुर पठाईएको हरिवन प्रहरीले जनायो ।
गत सोमबार पनि हरिवन प्रहरीले ढुंग्रेखोला गाविस स्थित एक घरमा छापा मारी लागूऔषध एवं नगद सहित महिला समेत दुईजनालाई नियन्त्रणमा लिएको थियो । उक्त घरबाट कोरेक्स, प्रोक्सीभन लगायत लागूऔषध एवं ८५ हजारभन्दा बढी नगद बरामद् भएको थियो । लागूऔषध काराबोरी एवं दुव्र्यसनीबाट अपराधीक क्रियाकलाप वृद्धि हुने र सामाजिक विकृति एवं विसंगती समेत भित्रिने हुँदा त्यस्ता कार्य निरुत्साहिततर्फ जोड दिईने प्रहरी निरीक्षक थापाले बताए ।
यसैबीच लागूऔषध सहित गत सोमबार हरिवन प्रहरीको नियन्त्रणमा परेका दुईजनालाई लागूपदार्थ नियन्त्रण ऐन अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाईएको छ ।
इलाका प्रहरी कार्यालय हरिपुरले जिल्ला अदालतबाट पाँच दिने म्याद लिएर पक्राउ परेका दुईजनाविरुद्ध अनुसन्धान अगाडी बढाएको छ । हरिवन प्रहरीले ढुंग्रेखोला गाविस–२ घर भएकी ३५ बर्षिया आसामाया बल र महोत्तरी जिल्ला बलुवा गाविस–७ निवासी २६ बर्षिय जिवन महतोलाई पक्राउ गरी आवश्यक कार्वाही प्रकृयाका लागि हरिपुर प्रहरीको जिम्मा लगाएको थियो । उनीहरुको साथबाट नाईट्रो भ्याट ६९ वटा, कोरेक्स ११ थान, प्रोक्सीवन ४८ वटा, मोबाईल सेट २ थान र नगद ८५ हजार एकसय ४३ रुपैंया बरामद भएको थियो ।
सुराकीको आधारमा गएको प्रहरीले बलको घरमा खोजतलास गर्दा केही बाहिर र केही घर भित्र माटोमा गाडेर राखेको अवस्थामा लागूऔषध बरामद भएको प्रहरीले जनायो । पक्राउ परेकी महिला बलले आफूले लागूऔषधको कारोबार गर्ने गरेको स्वीकार गरेकी थिइन् । कोरेक्सको प्रतिबोतल ३ सय रुपैयामा विक्री गर्ने गरेको उनले बताईन् । उनले सँगै पक्राउ परेका महोत्तरीका जीवन महतोसँग अढाई बर्षदेखि चिनजान भएको समेत बताईन् ।
भारतीय बजारमा सहजै पाईने र लागूऔषधको रुपमा प्रयोग हुने कोरेक्स, नाइट्रोपाम, नाईट्रोभ्याट, प्रोक्सीभान लगायत औषधीहरु नेपालमा प्रतिबन्धित छन् । सर्लाहीका मलंगवा, त्रिभुवननगर, संग्रामपुर, खुटौना, बलरा, मधुवनी लगायत नाकाबाट लागूऔषध भित्रीने र जिल्लाका विभिन्न स्थान सहित मुलुकका विभिन्न शहरहरुमा समेत ओसारपसार हुने गरेको जानकारहरु बताउँछन् ।
त्यसैगरी इलाका प्रहरी कार्यालय लालबन्दीले भारतबाट भन्सार छलेर ल्याएको ठूलो परिमाणको कपडा सहित ट्रकलाई बुधबार नियन्त्रणमा लिएको छ । प्रहरीले कपडा बोक्ने ट्रक र त्यसका चालक एवं सहचालक सहितलाई पक्राउ गरेको हो । पक्राउ गरिएको चालक र सहचालक लगायत ना ४ ख १४३३ नम्वरको ट्रकलाई राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रिय ईकाई कार्यालय पथलैया पठाईएको छ । कुनै किसिमको कागज पत्र नभएको ट्रकलाई लालबन्दीमा सुराकीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
No comments:
Post a Comment