‘मिस म्याच’बाट व्यापारी रुष्ट
सर्लाही समाचारदाता
लालबन्दी, पुस २९ । मिस म्याचको नाममा सरकारले जथाभावी कर लिएको प्रति उद्योग वाणिज्य संघ शाखा लालबन्दीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार संघका अध्यक्ष बाबुकाजी प्रधानले पत्रकार सम्मेलन गरेर सरकारी कदमप्रति आपत्ती जनाएका हुन् । अध्यक्ष प्रधानले प्रेस विज्ञप्ति मार्फत मिस म्याचको नाममा सरकारले थप जरिवान लिएको प्रति गम्भिर ध्यानाकर्षण भएको र उक्त नीतिले साना उद्योगी व्यापारीहरु मारमा परेको दावी गरे । उद्योगी व्यापारीले गलत विवरण बुझाएको देखिए तत्काल उचित कदम चाल्नुपर्नेमा वर्षौपछि ‘मिस म्याच’ को नाममा सरकारले आतंक मच्चाएको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका उपाध्यक्ष नवराज मिश्रले राज्य आफू अपडेट नहुने तर अनेक बहानामा साना उद्योगी व्यापारीहरुले त्यसको मार व्यहोर्नुपर्ने अवस्था आएको बताए । ‘‘मिस म्याचको नाममा ५० हजारको कारोबार गर्ने व्यापारीहरुले ६ लाखसम्म कर तिर्नुपर्ने आन्तरिक राजश्व कार्यालयको पत्र आएको छ ।’’ उनले भने–‘‘यो सरासर साना उद्योगी व्यवसायीलाई विस्थापीत गर्ने षडयन्त्र हो ।’’
संघले मिस म्याचको विरोधमा छिमेकी जिल्ला रौतहट, वारा, पर्साका व्यवसायीहरुले जनाएको विरोधमा समेत ऐक्यवद्धता जनाउँदै जरिवाना असुली गर्ने कार्य यथाशिघ्र नरोकिए उद्योग वाणिज्य संघ मलंगवा, हरिवन, बरहथवा र इश्वरपुरसँग सहकार्य गरेर आन्दोलनमा होमिने समेत चेतावनी दिएको छ ।
No comments:
Post a Comment