Tuesday, January 14, 2014

हरिवन व्यापारी नेतामा पूनः प्रधान

हरिवन व्यापारी नेतामा पूनः प्रधान
सर्लाही समाचारदाता
हरिवन, पुस २८ । हरिवन उद्योग वाणिज्य संघको प्रथम साधारण सभाले पूनः रामभक्त प्रधानको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत रुपले चयन गरिएको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रामनरेश चौधरी तथा उपाध्यक्ष द्वय मोहन श्रेष्ठ र राजन केसी रहेका छन् ।
त्यसैगरी महासचिवमा रामप्रसाद घिमिरे, सचिवमा प्रयागराज पोते र कोषाध्यक्षमा कृष्णओम पोते रहेका छन् । त्यस्तै सदस्यहरुमा नवराज घिमिरे, रोशन श्रेष्ठ, टोपराज लुईटेल, बालकुमार पोते, कृष्णप्रसाद श्रेष्ठ र अशोक साह रहेका छन् ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले निजी क्षेत्रको अर्थलाई सरकारले बैधानिकता प्रदान गर्ने भएकाले मूलुकको अर्थतन्त्र विकासका लागि विभिन्न संघ संगठनको महत्वपूर्ण भूमिका रहने बताए । प्रजिअ घिमिरेले संघ–संस्था लगायत सामाजिक संगठनलाई राजनीतिबाट टाढा राख्न आग्रह गर्दै संघले सम्पूर्ण सदस्यलाई एकजुट गरेर अगाडी बढाउन सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । व्यवसायीको करले नै राज्यमा विभिन्न विकासका कार्य हुने भएकाले भ्याट छलि गर्नुलाई जघन्य अपराध मानिएको छ । भ्याट छल्ने व्यापारी सडकमा आउन सक्ने समेत प्रजिअ घिमिरेले उल्लेख गरे ।
संघका महासचिव रामप्रसाद घिमिरेद्वारा संचालन गरिएको कार्यक्रममा सदस्य टोपराज लुइटेलले आ.व. ०६९÷०७० को एकलाख पाँचहजार रुपैयाको आय–व्यय विवरण प्रस्तुत गरेका थिए । साधारण सभामा हरिवन बजार स्थित बाबा सू सेन्टरका संचालक उत्तर मैनालीले चियापानको व्यवस्था मिलाएका थिए ।
वि.सं. २०६२ सालदेखि हरिवन उद्योग वाणिज्य संघ मलंगवाको उपशाखाको रुपमा रहेको संघका सदस्य टोपराज लुइटेलले बताए । हरिवन शाखाले २०६८ सालमा स्वायत्तता प्राप्त गरेको थियो । संघमा ३२ जना पुराना र शनिबार थपिएका नयाँ सदस्य गरी कुल एकसय सदस्य भएका र ६० जना आजिवन तथा ४० जना साधारण सदस्य रहेका बताइएको छ । संघको नियमानुसार आजिवन सदस्यका लागि १५ हजार एकसय र साधारण सदस्यका लागि एकहजार एकसय (वार्षिक नविकरण)  सदस्यता शुल्क रहेको बताइएको छ ।

No comments:

Post a Comment