फेरि चिसो बढ्यो
सर्लाही समाचारदाता
हरिवन, पुस १८ । दुईदिनदेखि चर्को घामको आनन्द लिईरहेका सर्वसाधारणहरुको दैनिकी विहिबारबाट एक्कासी बढेको चिसोका कारण प्रभावित बनेको छ ।
विहिबार विहानैबाट घाम नलागेको र चिसो हावा समेत चलेका कारण सर्वसाधारण चिसोबाट पीडित बनेका छन् । मंगलबार र बुधबार भने पारिलो घाम लागेका कारण सर्वसाधारणले केही राहत महसुस गरेका थिए ।
विहिबार रातीबाट बाक्लो हुस्सु समेत लागेपछि पूर्व–पश्चिम राजमार्गमा गुड्ने लामो दुरीका रात्री बस सहितका सवारी साधन प्रभावित बनेका छन् । बाक्लो हुस्सुका कारण बत्ती बाल्दा समेत राजमार्गमा नजिकैको दुरीमा पनि नदेखिने समस्याबाट सवारी चालकहरु पीडित बनेका छन् ।
बाक्लो हुस्सुका कारण सवारी दुर्घटना बढ्ने हुँदा सवारी चालक सहितका मजदुरहरु एवं सडकमा हिड्ने बटुवा तथा अन्य यात्रीले सचेत बन्नका लागि प्रहरीले अनुरोध गरेको छ ।
No comments:
Post a Comment