मलंगवा नगरपालिकाको बजेट साँढे ९ करोड
सर्लाही समाचारदाता
मलंगवा, पुस २७ । मलंगवा नगरपालिका कार्यालयले नगरक्षेत्रका विभिन्न कार्यक्रम एवं कार्यालय संचालनका लागि नौ करोड ५१ लाख १९ हजार ७० रुपैया ७० पैसाको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेको छ । गणतन्त्र पश्चातको पाँचौ नगरपरिषद्का अवसरमा शनिबार सो बजेट विवरण प्रस्तुत गरिएको हो । आर्थिक वर्ष ०७०÷०७१ को पूँजीगततर्फ ६ करोड ६३ लाख ६१ हजार नौ सय ७० रुपैया ७० पैसा र चालु तर्फ २ करोड ८७ लाख ४० हजार रुपैयाको अनुमानित आय व्यय विवरणका साथ मलंगवा नगरपालिकाले नगरपरिषद् सम्पन्न गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेद्वारा उद्घाटन गरिएको सो नगरपारिषद्मा नगरका विभिन्न विकास निर्माणका कार्यलाई प्राथमिकता दिदै नगरपालिका कार्यालयमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई समेत पुरस्कृत गरिएको थियो । भारतीय दुतावासको सहयोगमा सबै वडामा नाला निर्माण, व्यवसायीक भवन निर्माण लगायत नगरपालिकाले सीसी टिभी क्यामरा जडान गर्नेदेखि लिएर नगरका दुईवटा नाकामा प्रवेशद्वार निर्माण गर्ने कार्यक्रम समेत प्रस्तुत गरेको छ ।
परिषद्मा जनाइए अनुसार आव ०७१÷०७२ मा दक्षिणतर्फ गोरखकाली प्रहरी चौकी र उत्तर तर्फ वंशल फ्युल सेन्टर नजिक गरी दुईवटा स्वागत गेट निर्माणका लागि दशलाख रुपैया छुट्याईएको छ ।
त्यसैगरी ईलेक्ट्रीक माध्यमद्वारा कर्मचारी हाजिरीका लागि एकलाख ५० हजार, नगर ट्राफिक व्यवस्थापनका लागि एकलाख ५० हजार, नगरमा सीसी टिभी क्यामरा जडानका लागि तीनलाख, ढल तथा फोहर व्यवस्थापनका लागि पाँचलाख, शिवसागर र जनसागर बजारमा कृषी सेड निर्माणका लागि आवश्यक रकम छुट्याईएको छ ।
त्यसैगरी मोहरसिंह धर्मशालामा शौचालय निर्माणका लागि ७५ हजार, जिविस चोकदेखि टावरचोक सम्म सडक ढलानका लागि ३० लाख, रि·रोड मर्मत तथा व्यवस्थापनका लागि १० लाख र कृष्णचोकदेखि राजश्री चोकसम्मका नालाका लागि ३० लाख रुपैया छुट्याइएको छ ।
त्यस्तै तालिमतर्फ ५० जना यूवा यूवतीलाई मोबाईल मर्मत तालिमका लागि दुईलाख, प्लाष्टीक नियन्त्रणका लागि पाँचहजार थान कागजका झोला वितरणका कार्यक्रमका लागि दुईलाख, उत्कृष्ट विद्यालय र क्याम्पसका लागि एकलाख, सरुवा रोग नियन्त्रणका र सुरक्षित मातृत्वतर्फ पाँचलाख (दुईलाख नगरपालिका र तीनलाख यूएनडीपी) तथा सबै वडामा सिलाईकटाई लगायतका सीपमुलक कार्यका लागि पाँचलाख रुपैया विनियोजन गरिएको छ ।
परिषद्मा नगरविकास उत्थानका लागि नगरका यूवा यूवतीलाई लोकसेवा तयारी कक्षा संचालनका लागि एकलाख, बालबालिका विकास, खेलकुद लगायत फर्निचर, बालक्लव, शिक्षाका लागि प्रत्येक वडामा ८० हजार रुपैयाका दरले जम्मा ८ लाख रुपैया विनियोजन गरिएको छ । त्यस्तै महिलाहरुलाई विभिन्न तालिमका लागि ८ लाख रुपैया समेत विनियोजन गरिएको छ ।
गणतन्त्र पश्चातको पाँचौ नगर परिषद्का अवसरमा सबैभन्दा बढी कर तिर्ने एकिकृत सम्पत्ती कर तर्फ मो. जलाल जनकपुर, व्यवसाय करतर्फ सितादेवी, विनोद कलवार मलंगवा–८, जग्गादाता रामकविर मठ मलंगवा–२ का महन्त रामनारायण दास बैरागीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट कार्य गरेका नगरपालिकाका कर्मचारीहरु क्रमशः राजकपुर महतो, उपेन्द्र प्रसाद साह, राजकुमार अधिकारी, जमसैद आलम, हरिओम कुमार श्रेष्ठ, उपेन्द्र राय, रामनारायण वैल्दारलाई नगद दुईहजार पाँचसय सहित प्रोत्साहन पत्रका साथ सम्मान गरिएको थियो ।
नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रामचरित्र मेहताको सभापतित्व एवं राजकुमार अधिकारीको संचालनकत्वमा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी उमेश वस्नेत, डा. अब्दुल रहिम मिकरानी, निर्वाचन कार्यालय प्रमुख प्रकाश अधिकारी लगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधी, संचारकर्मी, नागरिक समाजका प्रतिनिधी तथा नगरपालिकाद्वारा गठित नागरिक वडामञ्च सचेतना केन्द्र लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment