उपराष्ट्रपतिको लागि सुरक्षा व्यवस्था कडा
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०२ । सदरमुकाम मलंगवा स्थित स्वर्णिम एफएमको उदघाटन् गर्न उपराष्ट्रपति परमानन्द झा आएका कारण शुक्रबार विहानैबाट सर्लाहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
शुक्रबार मध्यान्हतिर सर्लाही प्रवेश गरेका उपराष्ट्रपति झालाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे, नेपाल प्रहरीका सर्लाही प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल लगायत सुरक्षा निकाय प्रमुखहरु कर्मैया पुगेका थिए । कर्मैयादेखि सदरमुकाम मलंगवासम्म नै सडकको दायाँबायाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी छ्याप्छ्याप्ती खटाईएको थियो ।
‘‘भिभिआईपी आउँदा स्वभाविक रुपमा सुरक्षाकर्मी खटाउनुपर्छ ।’’ एक सुरक्षा अधिकारीले भने–‘‘छिस्रिक्क केही भईहाल्यो भने जागिर धरापमा पर्छ ।’’ उपराष्ट्रपति झा कर्मैयाबाट मलंगवा आउने क्रममा राजमार्गभरि सुरक्षाकर्मीको लर्को जस्तै थियो । पथ्थरकोट प्रहरी चौकीदेखि इलाका प्रहरी कार्यालय लालबन्दी, इलाका प्रहरी कार्यालय नवलपुर, इलाका प्रहरी कार्यालय हरिवन, इलाका प्रहरी कार्यालय कर्मैया सहित कर्मैयाबाट सदरमुकाम मलंगवा जाँदा पर्ने सबै नेपाल प्रहरी र सशस्त्र प्रहरी इकाईका सुरक्षाकर्मीलाई बाटोमा खटाईएको एक सुरक्षा अधिकृतले बताए । उपराष्ट्रपति झाको सुरक्षामा नेपाली सेनाको समेत एक टोली कार्यक्रम स्थलमा खटिएको थियो भने उनको सवारी हुँदा सेनाको एक टोली पछूवाको रुपमा सँगै रहेको थियो ।
दिउँसो १ बजे एफएम उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि आयोजकबाट कार्यक्रमको तयारी पूरा नभएको र उपराष्ट्रपति झाले खाना खाने र केहीबेर आराम गर्नुपर्ने भएपछि उद्घाटन् कार्यक्रम दिउँसो ३ बजेतिर मात्र सुरु भएको थियो । उपराष्ट्रपति झा शुक्रबार साँझ सदरमुकाम मलंगवा स्थित आशिर्वाद होटलमा बास बसेका छन् भने शनिबार विहान १० बजेतिर उनी काठमाण्डौतर्फ फर्कने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ । शनिबार विहान ८ बजे स्थानीय उपराष्ट्रपतिले पत्रकारहरुसँग भेटघाट एवं कुराकानी गर्ने बताईएको छ ।
No comments:
Post a Comment