Tuesday, April 1, 2014

हरिवनका तीनजनालाई म्याद थप

सर्लाही समाचारदाता
मलंगवा, चैत १८। लागूऔषध सहित पक्राउ परेका हरिवनका तीनजना युवालाई मंगलबार जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट म्याद लिएर कार्वाही प्रकृया अगाडी बढाएको छ ।
हरिवन गाविस–८ निवासी शेष समिर, शेष अरसद् र महम्मद् हुसैनलाई गत सोमबार साँझ सदरमुकाम मलंगवाबाट लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश सिंहले बताए । प्रहरीले पक्राउ परेका तीनैजनालाई लागूपदार्थ नियन्त्रण ऐन अनुसार जिल्ला अदालतबाट पाँच दिने म्याद लिई कार्वाही प्रकृया अगाडी बढाएको छ । मलंगवा नगरपालिका–८ बाट साँझ ४ बजेतिर लागूऔषधको रुपमा प्रयोग हुने ३० थान नाइट्रोजेपाम नामक ट्याब्लेट सहित तीनजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनायो । पछिल्लो समय लागूऔषध प्रयोग, कारोबार लगायतमा प्रहरीले व्यापक कडाइ गर्दै आएको छ । भारतसँगको खुला सिमाका कारण सरकारले प्रतिबन्धित लगाएपनि लागूऔषधको रुपमा प्रयोग हुने औषधीहरु सदरमुकाम मलंगवा सहित जिल्लाका विभिन्न नाकाबाट नेपालतर्फ भित्रिने गरेको जानकारहरु बताउँछन् ।

No comments:

Post a Comment