उम्मेद्वार मनोनयन दर्तामै उर्लियो जनसागर
-डुकुप्रसाद कोइराला/सर्लाही दैनिकमलंगवा, असोज १७ । संविधान सभा निर्वाचन २०७० का लागि सर्लाहीबाट ४ वटा पार्टीका राष्ट्रिय अध्यक्षहरु सहित ३० वटा भन्दा बढी राजनैतिक दलका २ सय ६४ जनाले विहिबार उम्मेद्वारी मनोनयन पत्र दर्ता गराएका छन् । उच्च स्तरीय राजनीति संयन्त्रमा प्रतिनिधित्व गर्ने दलहरु नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र प्रसाद यादवले सर्लाहीका विभिन्न क्षेत्रबाट उम्मेद्वारी दर्ता गराएका हुन् । सर्लाहीबाट उम्मेद्वारी दिनेमा १ जना पूर्व प्रधानमन्त्री तथा १० जना पूर्व मन्त्री/राज्य मन्त्री/सहायक मन्त्री रहेका छन् । उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रममा राजनैतिक दलहरुले निकालेको जुलुस, झााकी, नाचगान र नाराबाजीका कारण सदरमुकाम मलंगवा दिनभर गुञ्जायमान रह्यो । सदरमुकाम मलंगवामा विहीबार उर्लिएको जनसागरले निर्वाचन विरोधी दलहरुलाई ठुलो चुनौती समेत दिएको विश्लेषकहरु बताउाछन् ।
एमाले अध्यक्ष खनालले क्षेत्र नं. १ मा, तमलोपा अध्यक्ष ठाकुरले क्षेत्र नं. ६ बाट उम्मेद्वारी दिएका छन् भने सद्भावना अध्यक्ष महतो र तमसपा नेपाल अध्यक्ष यादवले क्षेत्र नं. ४ बाट उम्मेद्वारी दिएका छन् । त्यस्तै चुरेभावर राष्ट्रय एकता पार्टीका अध्यक्ष बदि्र न्यौपानेले पनि क्षेत्र नं. २ बाट उम्मेद्वारी दिएका छन् । एमाले अध्यक्ष खनाल र तमलोपा अध्यक्ष ठाकुरले क्रमशः ध्रुव गौतम र केदारनन्दन चौधरीलाई प्रतिनिधि बनाएर वारेस मार्फत उम्मेदवारी थिएका थिए ।
सद्भावनाका अध्यक्ष महतो र तमसपा नेपालका अध्यक्ष यादव भने हजारौं कार्यकर्तालाई पछि लगाएर विभिन्न झााकी, रामलिला प्रस्तुत गर्दै नाराबाजीका साथ उम्मेद्वारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा आफै पुगेका थिए । तमसपा नेपालका अध्यक्ष यादव त आफ्नो पार्टीको चुनाव चिन्ह फेटा गुथेर लौरो टेकेको मान्छेको स्वरुपमै उम्मेद्वारी दर्ता गराउन गएका थिए । महतो र यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, मधेशी जन अधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक, तमलोपा, मधेश तराई फोरम लगायत पार्टीका उम्मेद्वारहरु पनि तामझाम सहित एकसाथ निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । ठूलो पार्टी भईकन एमाओवादी र एमालेका भने उम्मेद्वारहरु छुट्टाछुट्टै रुपमा मनोनयन दर्ता गराउन गएका थिए । उनीहरुको कुनै तामझाम थिएन । पार्टी भित्रको विवादका कारण पनि उनीहरुको उम्मेद्वारी दर्तामा कुनै तामझाम नभएको जानकारहरुले बताए । अन्य विभिन्न दलहरुबाट पनि उम्मेद्वारी दर्ताका लागि कार्यकर्ताहरुको जुलुस सहित निर्वाचन अधिकृतको कार्यालयमा गएको थियो ।
६ वटै क्षेत्रमा उम्मेद्वारी दिने दलहरुमा एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जन अधिकार फोरम नेपाल -लोकतान्त्रिक), मधेशी जन अधिकार फोरम नेपाल, तराई मधेश सद्भावना पार्टी नेपाल, सद्भावना पार्टी, संघीय समाजवादी पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी लगायत रहेका छन् । त्यस्तै राप्रपा नेपाल, राप्रपा, राष्ट्रिय जनशक्ति पार्टी, नेसपा आनन्दीदेवी, नेसपा गजेन्द्रवादी, नेमकिपा, चुरे भावर राष्ट्रिय एकता पार्टी, चुरे भावर राष्ट्रिय पार्टी, राष्ट्रिय चुरे भावर पार्टी, जनजागरण पार्टी नेपाल, ताम्सालिङ राष्ट्रिय पार्टी, मातृभूमि नेपाल दल, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, जनयुनिटी कोअपरेटिभ पार्टी, नेपाल कम्यूनिष्ट पार्टी, जनता पार्टी नेपाल, नेपाल परिवार दल, तराई मधेश पहाड हिमाल एकता पार्टी, नेसपा सरिता गिरी, राष्ट्रिय स्वाभिमान नेपाल पार्टी लगायतबाट पनि उम्मेद्वारी परेको छ ।
६ क्षेत्र रहेको सर्लाहीमा क्षेत्र नं. १ मा ३६, क्षेत्र नं. २ मा ४५, क्षेत्र नं. ३ मा ४७, क्षेत्र नं. ४ मा ३९, क्षेत्र नं. ५ मा ४६ र क्षेत्र नं. ६ मा ५१ जनाले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्ण कमल अधिकारीले बताए ।
No comments:
Post a Comment