Wednesday, October 2, 2013

लाख पुरस्कारको हरिवन गोल्डकप आजबाट

लाख पुरस्कारको हरिवन गोल्डकप आजबाट
सर्लाही समाचारदाता
हरिवन, असोज १६ । एकलाख पुरस्कार राशीको प्रथम हरिवन गोल्डकप फूटबल प्रतियोगिता विहिबारबाट हरिवनमा सुरु हुँदैछ ।
प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको आयोजक न्यू हरिवन यूवा क्लबका उपाध्यक्ष युवराज भण्डारीले बताए । उनका अनुसार प्रतियोगिताका लागि अखिल नेपाल फुटवल संघ (एन्फा) बाट चारजना निर्णायकहरु बुधबार नै हरिवन आईसकेका छन् ।
विहिबारको उद्घाटन खेल दिउँसो ३ बजे आयोजक न्यू हरिवन यूवा क्लव रातो र सिराहा–११ टिमबीच हुने छ । हरिवनबाट राष्ट्रिय टोलीका मुख्य स्ट्राइकर जुमानु राई सहितको टोलीले खेल्ने भण्डारीले दावी गरे । उनका अनुसार आयोजक क्लबबाट जुमानु सहित भोलाराज सिलवाल, रविन श्रेष्ठ, सुमन सुवेदी, नेपाल आर्मीका टेकबहादुर बुढाथोकी सहित ८ जना खेलाडीहरु खेल्नेछन् ।
असोज २४ गते विहिबारसम्म चल्ने प्रतियोगिता अन्तर्गत १८ गते शुक्रबार ब्वाईज युनियन क्लब काठमाण्डौ र आयोजक न्यू हरिवन यूवा क्लब निलोबीच हुनेछ । १९ गते सनिबार हरैचा स्पोर्टस क्लब मोरंग र एफसी इन्टरनेट हेटौंडाबीच हुनेछ । त्यस्तै २० आईतबार सिम्रिक सरस्वती युवा क्लब काठमाण्डौ र एनएफसी यूवा क्लब नारायणघात भिड्नेछन् ।
२१ गते सोमबार भने १८ गते शुक्रबार र २० गते आईतबार हुने खेलका विजेता टिमहरुबीच पहिलो सेमिफाईनल खेल हुनेछ । २२ गते मंगलबार भने १७ गते विहिबार र १९ गते सनिबारको खेलमा विजेता हुने टिमहरुबीच दोस्रो सेमिफाईनल प्रतिष्पर्धा हुनेछ । २४ गते विहिबार दुवै सेमिफाईनल खेलका विजेता टिमबीच १ लाख नगद सहित प्रथम उपाधीका लागि भिडन्त हुनेछ । दोस्रो हुने टिमले भने ५० हजार नगद पाउनेछ ।
प्रतियोगिता हेर्नका लागि दर्शकहरुसँग टिकटबापत ३० रुपैया लिईने आयोजकले बताएका छन् । टिकटबाट उठेको शुल्क र अन्य सहयोग संकलनबाट  पुरस्कारको व्यवस्था मिलाईने आयोजक क्लबका अध्यक्ष निरोज कार्कीले बताए । जुमानु राई, भोलाराज सिलवाल लगायत राष्ट्रिय स्तरका खेलाडीहरु एवं विराटनगर, नारायणघाट, हेटौडा लगायत शहरका टिमबाट खेल्ने खेलाडीहरुको खेल ७ दिनसम्म हेर्न पाउने भएपछि स्थानीय फुटवल प्रेमीहरु हर्षित बनेका छन् ।

No comments:

Post a Comment