Tuesday, October 1, 2013

म्यादीमा तीनगुणा बढी आवेदन

म्यादीमा तीनगुणा बढी आवेदन

सर्लाही समाचारदाता
मलंगवा, असोज १४ । आगामी संविधान सभाको निर्वाचनमा सुरक्षाको लागि खटाईने म्यादी प्रहरीको लागि सर्लाहीमा माग गरेभन्दा तीन गुणा बढी आवेदन परेको छ ।
म्यादी प्रहरीको लागि फारम भर्ने अन्तिम दिन सोमबार सम्म ५ हजार १ सय ७४ जनाले आवेदन दर्ता गराएका छन् । जसमा २ सय ६६ जना त महिला मात्र रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले १ हजार ४ सय ६५ जनाका लागि भर्ना खोलेको हो । माग गरेभन्दा निकै बढी आवेदन पर्नुले बेरोजगारीको विकराल रुप झल्किएको छ ।
बेरोजगार भएकै कारण महिलाले पनि उलेख्य मात्रामा म्यादी प्रहरीमा आवेदन दिएका छन् । आवेदन दिन आएकी हरिवन गाविस-१ की गीता खड्काले बेरोजगार भएर बस्नु भन्दा म्यादीमा भर्ना भए आम्दानी पनि हुने र अनुभव बढ्नुका साथै देशको सेवा पनि हुने मनसायले आवेदन दिन आएको बताइन् । ग्रामीण भेकका मधेशी समुदायका महिलाहरुको समेत आवेदन दिनेमा उल्लेख्य सहभागिता रहेको थियो ।
आवेदनबाट छनोट भएका म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाईपाई आएको २ महिना बराबारको तलब, भत्ता, राशन र पोशाक सुविधा प्राप्त गर्ने जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । आगामी असोज २२ गते नियुक्ति पाएपछि निर्वाचनको मतपरिणाम घोषणा सम्पन्न भएको ७ दिनपछि सम्म उनीहरुले काम गर्नुपर्नेछ । उनीहरुको आगामी असोज १७ गते विहिबार अञ्चल प्रहरी कार्यालयमा छनौट हुनेछ ।

No comments:

Post a Comment