एमाओवादी विवाद मिलेको दावी
सर्लाही समाचारदाता
रानीगंज, असोज २० । एकिकृत नेकपा माओवादीका पूर्व सर्लाही इन्चार्ज एवं राज्य समिति सदस्य लुमणी धिमाल (लोचन) ले पार्टीका कार्यकर्ताबीच पछिल्लो समय चुनावको उम्मेद्वारका विषयमा देखिएका अन्तरविरोधहरु मिलेको दावि गरेका छन् ।
आइतबार रानीगंजमा बसेको क्षेत्र नं. १ को विस्तारित बैठकले अन्तरविरोधहरु मिलाउँदै निर्वाचन परिचालन मूल समिति समेत गठन गरेको लोचनले दावी गरे । बैठकले लोचनकै संयोजकत्वमा पाँचसय १ सदस्यीय मूल समिति गठन गरेको हो ।
‘‘हामी आज दिनभर रानीगंजमा बैठक बसेर छलफल ग¥यौं, अन्तरविरोधहरु मिलाउन धेरै गाह्रो भएपनि समाधान गरेरै छाड्यौं ।’’ लोचनले आइतबार राती सर्लाही दैनिकसँग भने–‘‘नयाँ र पुरानाका कुराहरु आएपनि चुनावको समयमा मिलेरै जानुपर्ने सबै नेता कार्यकर्ताहरुको विचार आएपछि मूल समिति नै गठन गरेर सशक्त ढंगले अगाडी बढ्ने निर्णय भयो ।’’ लोचनले चुनावको समय भएकाले तत्काल सबै मिलेर जाने र असन्तुष्टि एवं अन्तरविरोधहरु भए, पछि पार्टी भित्रै अन्तरसंघर्ष गर्ने नेता कार्यकर्ताहरुबीच सहमति भएको दावी गरे ।
बैठकले इन्द्रबहादुर योजञ्जनको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, मनिष माझिको संयोजकत्वमा वार्ता उपसमिति, ज्ञानु थापाको संयोजकत्वमा व्यवस्थापन उपसमिति, केशर कार्कीको संयोजकत्वमा युवा परिचालन उपसमिति र सावित्रि बुढाथोकीको संयोजकत्वमा महिला परिचालन उपसमिति गठन गरेको लोचनले बताए । बैठकले आर्थिक उपसमितिको संयोजकको जिम्मेवारी भने मूल समितिका संयोजक लोचनलाई नै दिएको बताईएको छ ।
क्षेत्र नं. १ का कार्यबाहक इन्चार्ज धु्रव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज अच्युतम काÇलेको पनि उपस्थिती रहेको थियो । विहान ८ बजेदेखि बसेको बैठक साँझ मात्र सकिएको थियो । पार्टीले गलत व्यक्तिलाइ उम्मेद्वार बनाएको भन्दै गत बुधबार लोचनकै नेतृत्वमा हरिपुरमा बसेको एनेकपा माओवादीको जिल्ला स्तरीय नेता कार्यकर्ताहरुको भेलाले पार्टी छाड्ने र बागी उम्मेद्वार खडा गर्ने सम्मको धम्की दिएको थियो । क्षेत्र नं. ३ मा भने पार्टीका सहइन्चार्ज केदार खत्रीले बागी उम्मेद्वारी मनोनयन गराईसकेका छन् । लोचनले क्षेत्र नं. ३ मा पनि मिलाउने प्रयास भईरहेको बताए ।
कतिपय असन्तुष्ट नेता कार्यकर्ताहरुले भने लोचनले पहिला आफुहरुलाई उचालेर पछि धोका दिएको दावी गरेका छन् ।
No comments:
Post a Comment