Monday, October 7, 2013

तमलोपाले सबैलाई जिल्यायो

तमलोपाले सबैलाई जिल्यायो
सर्लाही समाचारदाता
मलंगवा, असोज २० । तराई मधेश लोकतान्त्रिक पार्टीले क्षेत्र नं. ४ मा उम्मेद्वारी दर्ता गराएको खुलेको छ । पार्टीले क्षेत्र नं. ४ मा उम्मेद्वारी दर्ता नगराउने व्यापक चर्चा गरेको भएपनि अन्तमा उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयको तथ्यांकमा देखिएको छ ।
तमलोपा क्षेत्र नं. ४ मा उम्मेद्वारी नदिने चर्चासँगै केही मधेशवादी दल उत्साहित भएपनि उम्मेद्वारी दर्ता देखिए पश्चात खिसिक्क भएका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक नेताले भने –‘मधेशवादी राष्ट्रिय अध्यक्ष उठेको स्थानमा आफ्नो उम्मेद्वार नराखी समन्वय गरे जस्तो लागेको थियो तर त्यो नभएको पाइयो ।’
क्षेत्र नं. ४ का निर्वाचन अधिकृतको कार्यालय तथ्यांकमा भाडसर–५ का मोहमद नसिम मिकरानीले तमलोपाबाट उम्मेद्वारी दर्ता गराएको भेटिएको छ । नोकैल्वा–६ का मनोजकुमार यादव प्रस्तावक बनेर उम्मेद्वारी दर्ता भएको थियो ।
यसअघि क्षेत्र नं. ४ मा आफ्नो पार्टीको तर्फबाट उम्मेद्वारी नदिने बताउदै आएका जिल्ला अध्यक्ष जंगिलाल रायले पनि मिकरानी तमलोपाकै उम्मेद्वार भएको बताए । क्षेत्र नं. ६ मा आफ्ना राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर का विरुद्ध अन्य मधेशवादी दलले उम्मेद्वारी नदेलान भन्ने आशामा तमलोपा सर्लाहीले यसअघि क्षेत्र नं. ४ मा उम्मेद्वारी नदिने बताउदै आएको र तर क्षेत्र नं. ६ मा मधेश वादी दलहरुको उम्मेद्वारी परेपछि उसले पनि एकाएक क्षेत्र नं. ४ मा उम्मेद्वार खडा गरेको श्रोतले बताएको छ ।

No comments:

Post a Comment