Saturday, October 5, 2013

जिविसका अधिकृतबाट खाता हटाइने

जिविसका अधिकृतबाट खाता हटाइने
सर्लाही समाचारदाता
मलंगवा, असोज १९ । जिल्ला विकास समितिको कार्यालयले गाविस कार्यालयको खाता सञ्चालनमा संयुक्त हस्ताक्षर गर्दै आएका अधिकृतलाई जिम्मेवारीबाट मुक्त गर्ने प्रकृया सुरु गरिएको जनाएको छ ।
गाविस कार्यालयको खाता सञ्चालनमा हाल एकजना स्वयं सचिवले र अर्को हस्ताक्षर जिविसका अधिकृतले गर्दै आएका छन् । स्थानीय विकास अधिकारी उमेश बस्नेतले मन्त्रालयको निर्देशनका कारण जिविसका अधिकृतहरुलाई गाविसको खाता सञ्चालनको जिम्मेवारीबाट हटाईन लागिएको बताए ।
हाल लालबन्दी गाविसको कार्यालय बाहेक जिल्ला स्थित ९८ वटा गाविसको खाता सञ्चालनमा जिविसका ४ जना अधिकृतहरुको हस्ताक्षर चल्ने गरेको छ । जिविसका योजना अधिकृत होमबहादुर थापा, कार्यक्रम अधिकृतहरु पुस्करमणि घिमिरे, इन्जिनियर रमेश यादव, कार्यक्रम नगिना रायले गाविसको खाता सञ्चालनमा हस्ताक्षर गरिरहेका छन् । लालबन्दी गाविसमा भने आÇनै लेखापाल भएकाले गाविस सचिव र लेखापालको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन भईरहेको छ ।
‘‘अनुगमन गर्ने, निर्देशन दिने माथिल्लो निकायकै अधिकृतले गाविसको खाता सञ्चालन गर्दा गाविस कार्यालयबाट हुने आर्थिक कारोबार लगायतको नियमनमा समस्या देखियो ।’’ स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘मन्त्रालयबाट पनि पटक–पटक गाविसको खाता सञ्चालन प्रकृया परिवर्तन गर्न ताकेता आईरहेको छ ।’’ आफैले लेखापाल नियुक्त गरेका गाविसमा भने गाविस सचिव र लेखापालबाट तथा अन्य गाविसमा भने पायक पर्ने नजिकका सरकारी कार्यालयका लेखापाल वा निजामति कर्मचारीको संयुक्त दस्तखतबाट गाविसको खाता सञ्चालनको तयारी भईरहेको स्थानीय विकास अधिकारी बस्नेतले बताए ।
यसअघि गाविसकै प्राविधिक सहायकबाट पनि संयुक्त खाता सञ्चालन भएको थियो भने पछि मन्त्रालयको परिपत्र अनुसार पूनः जिविसका अधिकृतको भागमा दस्तखतको जिम्मेवारी आएको थियो । विगत केही वर्षअघि त गाविसको खातामा जिविसका खरिदार, सुब्बा, लेखापाल लगायतले गाविसको खाता सञ्चालनमा हस्ताक्षर गर्ने गर्दथे । आम्दानी धेरै भएका गाविसको त स्थानीय विकास अधिकारी आफैले खाता सञ्चालनमा दस्तखत राखेका थिए ।

No comments:

Post a Comment