घटस्थापना सँगै विजया दशमीको सुरुवात
| शनिबार घटस्थापनाको अवसरमा मलंगवा निकालिएको कलश यात्रा । |
मलंगवा, असोज १९ । नेपाली हरूको महान चाड विजयादशमीको पहिलो दिनको रुपमा शनिबार हिन्दुधर्मीहरुले घर–घरमा घटस्थापना गरेका छन् ।
सदरमुकाम मलंगवा सहित जिल्लाका विभिन्न स्थानमा कलशयात्रा गरेर देवी दुर्गाको मण्डप एवं घर–घरमा घटस्थापना गरेका छन् । सासापुरको डाबरीमा पनि १ सय ५१ जना कन्यालाई पाँचकुमारी सम्म कलशयात्रा गरेर जल ल्याईएको स्थानीय रामप्रमोद महतोले बताए । आगामी असोज २७, २८ र २९ गते मेला समेत आयोजना गरिने महतोले जानकारी दिए ।
जिल्लाका इश्वरपुर, लालबन्दी, नवलपुर, हरिपुर, गैर, सलेमपुर, अगर्वा, गम्हरिया, सिर्सिया, लक्ष्मीपुर को., हरिवन, नयाँरोड, बरहथवा, कर्मैया लगायत विभिन्न स्थानहरुमा दुर्गादेवीको सामुहिक पूजाआजा गर्नका लागि मण्डप नै तयार गरिएका छन् । उक्त मण्डप एवं आ–आप्mना घरमा घटस्थापना गरिएको स्थानमा आईतबारबाट दैनिक विहान दुर्गादेवीको पुजा आजा गर्ने गरिन्छ । घटस्थापनाको साइत शनिबार बिहान ९ बजेर ५१ मिनेटमा रहेको थियो । विजयदशमीको पहिलो दिनको रुपमा लिईने घटस्थापनामा दुई महत्वपूर्ण कार्य गर्ने गरिन्छ ।
पहिलो घरघरमा जमरा राखिन्छ भने दोस्रो घटकलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ । असोज शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यस दिनदेखि नवरात्री आरम्भ हुन्छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्व अन्र्तगत नवरात्रीको उपलक्ष्यमा शनिबारदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैँघरमा प्रत्येक दिन पूजाअर्चना सहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
No comments:
Post a Comment