आजबाट उम्मेद्वारको तामझाम
सर्लाही समाचारदातामलंगवा, असोज १६ । संविधान सभा–२ को चुनाव अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात प्रत्यक्षतर्फ उठ्ने उम्मेद्वारहरुले विहिबार मनोनयन पत्र दर्ता गराउँदै छन् ।
निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार चुनावमा भाग लिने दलका उम्मेद्वारहरुले विहिबार सदरमुकाम मलंगवा स्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराउनु पर्नेछ । मनोनय पत्र दर्ता विहीबार विहान १० बजे देखि साँझ ५ बजेसम्म हुनेछ । उम्मेद्वारी दर्ताका लागि सद्भावनाका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो बुधबार साँझ सदरमुकाम मलंगवामा आईसकेका छन् भने तराई मधेश सद्भावना पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महेन्द्र प्रसाद यादव बुधबार राती काठमाण्डौ बाट सर्लाहीतर्फ हिडिसकेका छन् । उनीहरु दुवैजना क्षेत्र नं. ४ बाट उठ्नेछन् ।
हरेक निर्वाचनमा उम्मेद्वारहरुको लावा लस्करसहित पार्टीहरुले झाँकी एवं नाराबाजीका साथ जुलुस नै आएर निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराउने हुनाले सदरमुकाम मलंगवामा विहिबार दिनभर पनि विशेष तामझाम देख्न पाईनेछ । उम्मेदवार्हरुलाई रंगी विरंगी एवं माला पहि¥याएर मनोनय दर्ता गराउन ल्याउने प्रचलन छ । विशेषगरी सद्भावना अध्यक्ष महतो र तमसपा नेपाल अध्यक्ष रायको मनोनयन पत्र दर्तामा झाँकी र जुलुस सहितको तामझाम प्रस्तुत हुने गरेको जानकारहरु बताउँछन् ।
त्यस्तै तराई मधेशलोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर भने उम्मेद्वारी दर्ताका लागि आफै उपस्थित हुने नहुनेबारे राती अवेरसम्म तय भएको छैन । ठाकुर स्वयं उपस्थित भए तमलोपाले पनि मनोनय पत्र दर्ता गर्ने क्रममा विशेष तामझाम देखाउने उक्त पार्टी निकट एक कार्यकर्ताले बताए । उम्मेद्वार स्वयं उपस्थित हुन नसकेपनि वारेसनामा मार्फत मनोनयन पत्र दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।
मनोनयन पत्र दर्ता गराउने अघिल्लो दिन बुधबारसम्म एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जन अधिकार फोरम नेपाल, मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक), तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सद्भावना पार्टी नेपाल, संघीय समाजवादी पार्टी, मधेश तराई फोरम लगायतले उम्मेद्वार छनौटको काम सम्पन्न गरिसकेको जानकारी गराएका छन् ।
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट क्षेत्र नं. ३ र ६ को बुधबार राती ११ बजेसम्म निश्चित भईसकेको थिएन । राष्ट्रिय अध्यक्ष महतोको उपस्थितीमा सदरमुकाम मलंगवामा सद्भावनाको बैठक बसिरहेको थियो । अन्य विभिन्न साना दलहरुले विहिबार विहानसम्म उम्मेद्वार तय गर्ने बताएका छन् । कतिपय साना दलहरु उपयुक्त व्यक्तित्वकै खोजीमा रहेको बताईन्छ ।
मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ताका लागि संपूर्ण तयारी पूरा गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment