उपभोक्ता हित अन्तरक्रिया
सर्लाही समाचारदाताहरिवन, असोज १८ । नजिकिदो चाडवाड सँगै उपभोक्तालाई जागरुक तथा बजार अनुगमनका लागि तिब्रता दिने उद्देश्यका साथ आइतबार हरिवनमा अन्तरक्रिया गरिएको छ ।
वाणिज्य कार्यालय विरगंज पर्साद्वारा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरुले दशैं, तिहार, छठ एवं बकरइदका समयमा बजारमा उपभोक्ताको अधिक चाप हुने भएकाले गुणस्तर हिन सामग्री खपत गर्न व्यापारी अग्रसर हुने भएकोले सो नियन्त्रण हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक शंकर सिंह रावल, सशस्त्र प्रहरी हरिवन वेसका प्रहरी निरीक्षक रिवाज दहालले उपभोक्ता सचेत हुनुपर्ने तथा चाडवाडको समय भन्दा अधिपछि पनि बजार अनुगमन हुनुपर्ने उल्लेख गर्दै चाडवाडका नाममा अत्याधिक मदिरा सेवन गरेर सवारी नचलाउन आव्हान गरेका थिए ।
हरिवन गाविस सचिव राजकुमार थापाको संचालकत्वमा भएको कार्यक्रममा पत्रकार चुडामणि वाग्ले, उद्योग वाणिज्य संघ लालबन्दीका बाबुकाजी प्रधान, हरिवनका रामभक्त प्रधान, उपभोक्ता मञ्च जिल्ला अध्यक्ष शशि देवकोटा, बरहथवाका गाविस सचिव कमलप्रसाद पौडेल लगायतका व्यक्तिहरुले अनुगमन पश्चात हुने कारवाहीमा कडाई गरिए मात्र अनुगमन प्रभावकारी हुने बताएका थिए ।
कार्यक्रममा वाणिज्य कार्यालय विरगंजका प्रमुख श्रीधर केसीले उपभोक्ता हित संरक्षणमा कार्यालयको भूमिका बारे प्रष्ट पारेका थिए ।
हरिवन गाविस कार्यालयको सभाकक्षमा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख छविलाल विश्वकर्मा, घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख मधुकर प्रसाद साह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment