Wednesday, May 6, 2015

कविलासीमा शोक सभा सम्पन

सर्लाही समाचारदाता
कविलासी, वैशाख २२ । नेपालीहरु वैदेशिक रोजगारीमा, कोहि वाध्यताले त कोहि रहरले जाने गरेको पाईन्छ । तर सवैको राम्रै कमाई हुन्छ भन्ने छैन । कतिपय राम्रै कमाई गरि घर फर्किन्छन भने कसैको शव मात्र आउने   गर्दछ ।
यसै क्रममा सर्लाहीको कविलासी गाविसमा गत हप्ता मलेसियाबाट रामविश्वास मण्डलको शव मात्र घर      आईपुग्यो । मृतक मण्डलको घरमा मंगलबार सामी हेल्भेटासको सहयोगमा संचालित सुरक्षति आप्रवासन परियोजना अन्तर्गत सर्लाहीमा कार्यरत कर्मचारीहरु, जिल्ला आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकाहरु, स्थानियवासी एवम जिल्ला गाविस संघका अध्यक्ष विनय कर्ण समेतको उपस्थीतिमा मृतक शोक सभा सम्पन्न भएको छ ।
मृतक मण्डल गएको चैत्र महिना मलेशिया गएको र विसौ दिनमा राति सुतेको अवश्थामै मृत्यु भएको थियो । सो कार्यक्रममा मृतकको आत्माका चिरशान्तिको लागि १ मिनेटको लागि मौन धारण गर्नुका साथै उनको परिवारले पाउने क्षतिपुर्तिको लागि आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सर्लाही तथा सुचना केन्द्र मलंगवाले पहल गरिरहेको कुरा संरक्षण केन्द्रका अध्यक्ष रामनाथ साहले जानकारी दिएको सहयोगि समाज नेपालका अशोक सिंहले बताए ।
कार्यक्रममा मौनधारण गरिदैं ।

शान्ति समिति संयोजकमा दिनेश

सर्लाही समाचारदाता
मलंगवा, वैशाख २२ । स्थानीय शान्ति समिति सर्लाहीको संयोजकमा दिनेश राय चयन भएका छन् ।
शरद् सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता रायलाई मंगलबार बसेको समितिको बैठकले संयोजकमा चयन गरेको हो । स्रोतका अनुसार तीन महिना अघि नै नयाँ संयोजक चयन गर्नुपर्ने भएपनि एमाओवादीकी विनिता दाहाल, लालबाबु राय, दिनेश राय लगायत नेताहरुबीच हानाथापका कारण तीन महिनादेखि रोकिँदै आएको थियो ।  मंगलबार निवर्तमान संयोजक प्रमोद साहको अध्यक्षतामा बसेको समितिको बैठकले दिनेश रायलाई ६ महिनाका लागि संयोजकमा चयन गरेको हो । हरेक ६–६ महिनामा २३ सदस्यीय समितिको पालैपालौ संयोजक हुने व्यवस्था रहेको छ । १० वर्षे माओवादी द्वन्द्वका क्रममा मृत्यु, अपांग, वेपत्ता, घाईते, विस्थापित सहित क्षतिग्रस्त संरचनाहरुको बारेमा अध्ययन गर्ने एवं उचित क्षतिपूर्ति उपलब्ध गराउने लगायत शान्ति प्रकृयाका लागि समितिको महत्वपूर्ण भूमिका हुने गर्दछ ।

सरसफाई सम्वन्धि सांस्कृतिक कार्यक्रम

नाटक प्रस्तुत गर्दै गरेका कलाकार र हेर्दै गरेका स्थानीय बासिन्दा ।
सर्लाही समाचारदाता
हरिवन, वैशाख २२ । सर्लाहीलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न टेवा पुर्याउने उद्धेश्यले हाल जिल्लाभर विभिन्न सचेतनामूलक कार्यक्रमहरु भईरहेका छन् ।
यसैक्रममा यूएन हेविटाटको आर्थिक सहयोगमा स्टयाण्डस् नेपाल तथा ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजिकरणमा जिल्लाका त्रिभुवननगर, पर्सा, चन्द्रनगर, सग्रामपुर, जिगंडवा, लक्ष्मिपुर, ब्रम्हपुरी, बबरगंज तथा बेला गाविसमा सरसफाई सम्वन्धि विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न गरिएको छ । सरसफाई सम्बन्धी सचेतनामूलक खौजडी भजन तथा सडक नाटक प्रर्दशन गरिएको ग्रामीण नारी उत्थान संघका कार्यक्रम संयोजक मदन बर्माले जानकारी दिए । बर्माका अनुसार कलाकारहरु श्री नवराज दाहाल तथा सुर्य प्रसाद चालिसेको संयूक्त टोलीका सदस्यहरुले कार्यक्रम प्रस्तुत गरेका थिए भने यूएन हेविटाटका जिल्ला संयोजक काशिकान्त ठाकुरले सरसफाई सम्वन्धि गित प्रस्तुत गरेका      थिए । 
उक्त गाविसहरुमा लगभग ५ हजार स्थानीय बासिन्दा सहभागी भएको बताईएको छ । सन् २०१७ भित्र  मुलुकलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारी लक्ष्य अनुरुप सर्लाही जिल्लालाई भने विसं. २०७२ चैत्र मसान्त सम्ममा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य          राखिएको छ ।

Tuesday, May 5, 2015

मदिरा बेच्न नदिएको भन्दै प्रहरी चौकीमा आक्रमण

सर्लाही समाचारदाता
संग्रामपुर, वैशाख २२ । राती मदिरा पसल खोलेर विक्री वितरण गर्न नदिएको एवं पिउन नदिएको भन्दै सर्लाहीको संग्रामपुर स्थित प्रहरी चौकीमा स्थानीय बासिन्दाले आक्रमण गरेका छन् ।
मंगलबार विहान ९ बजेतिर ४०÷५० जनाको संख्यामा आएका गाउँलेहरुको ढुंगामुढाबाट प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक राजकुमार महतो र अर्का एकजना प्रहरी हबल्दार घाईते भएको प्रहरी उपरीक्षक सुरेश बस्नेतले जानकारी दिए । टाउकोमा चोट लागेर गम्भिर घाईते भएका प्रनानी महतोलाई मंगलबार दिउँसै थप उपचारका लागि भरतपुर मेडिकल कलेज पठाईएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
सोमबार राती ११ बजेसम्म मदिरा विक्री वितरण गरिरहेको पसल बन्द गराएको आक्रोशमा गाउँलेहरुले मंगलबार विहान प्रहरी चौकी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘स्थानीय एक घरमा विवाहको कार्यक्रम रहेको र राती ११–१२ बजेसम्म बजारको पसलमा मदिरा विक्री वितरण भईरहेपछि चौकीको टोलीले पसल बन्द गराएको थियो ।’ प्रहरी उपरीक्षक बस्नेतले भने, ‘राती पसल बन्द गराएको आक्रोशमा गाउँलेहरुले चौकीमा ढुंगामुढा गर्दा दुईजना सुरक्षाकर्मी घाईते भएका छन् ।’ घाईते हबल्दारको भने जिल्ला अस्पताल मलंगवामा उपचार भईरहेको छ ।
लगतै संग्रामपुर स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट र नेपाल प्रहरीको टोलीले आक्रमण गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । राती पसल खोलेर मदिरा विक्री एवं पिउने काम भईरहेको पाईएपछि संग्रामपुर प्रहरी चौकीको टोलीले पसल बन्द गर्न भनेपछि राती नै केही युवा र प्रहरी टोलीबीच विवाद भएको थियो । विवादका क्रममा प्रहरीले युवाहरुलाई उनीहरुको घरसम्मै लखेटेको थियो । सोही आक्रोशमा मंगलबार विहानै आएको समूहले कुनै कुरै नगरी एक्कासी चौकी वरीपरी रहेको ढुंगा उठाएर प्रहार गर्न सुरु गरेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए ।