Monday, March 31, 2014

नवलपुरका घर–घरमा स्काभेटर कुदाइयो

नवलपुर स्थित एक स्थानीयको घर भत्काउँदै स्काभेटर ।
सर्लाही समाचारदाता
नवलपुर, चैत १५ । नेत्रगंज गाविसमा पर्ने नवलपुर बजार स्थित राजमार्गमा भएको अतिक्रमण हटाउन सोमबारबाट स्काभेटर लगाइएको छ । सोमबार विहानैबाट नवलपुर बजार स्थित पूर्व–पश्चिम राजमार्गको दायाँबायाँमा रहेको अतिक्रमणहरु हटाउन सुरु गरेको गाविसको कार्यालय नेत्रगंजले जनाएको छ । अतिक्रमण हटाउने क्रममा स्काभेटरले एकदर्जन भन्दा बढी घरहरु भत्काउनुका साथै टहरा, निर्माण सामग्री, साइन बोर्ड लगायत राजमार्ग अतिक्रमण गरेर राखिएका सामग्रीहरु पन्छाएको छ । सडक अतिक्रमण हटाउन सुरु गरेसँगै नवलपुर बजार निकै सफा समेत देखिएको छ ।
गत शनिबार बसेको स्थानीय सर्वपक्षीय बैठकको निर्णय अनुसार नवलपुर बजार स्थित पूर्व–पश्चिम राजमार्ग र नवलपुर–मलंगवा सडकखण्ड दायाँबायाँको अतिक्रमण सोमबारबाट हटाउन सुरु गरिएको हो । सर्वपक्षीय बैठकले सडकको अतिक्रमण हटाउन स्थानीय इस्किलाल पासवानको संयोजकत्वमा नौ सदस्यीय समिति समेत चयन गरेको थियो । सोही समितिको अगुवाइमा सोमबार विहानबाट अतिक्रमण खाली गराउन सुरु भएको हो । नियमानुसार सडक दायाँबायाँको अतिक्रमण हटाउन सुरु गरिएको समितिका संयोजक पासवानले बताए । ‘‘सडक दायाँबायाँ रहेका अतिक्रमणहरु हटाउन हिजोसम्मको अन्तिम म्याद दिएर सम्बन्धितलाई यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गरिसकेका थियौं ।’’ पासवानले सोमबार भने–‘‘ज–जसले सूचनाका आधारमा अतिक्रमण खाली गरेनन्, उनीहरुको स्काभेटरले खाली गराउन सुरु गरिएको छ ।’’
सोमबार साँझसम्म समितिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालयदेखि लखन्देही पूलसम्म उत्तरी क्षेत्रको अतिक्रमण खाली गराएको छ । त्यस्तै लखन्देही पुलबाट पूर्व–पश्चिम राजमार्गको दक्षिण भागमा समेत अतिक्रमण खाली गराउन सुरु गरिएको र नियमानुसार सडकको जग्गा भित्र पर्ने सबैखाले अतिक्रमण खाली गराइने संयोजक पासवानले बताए ।
नेत्रगंज गाविसका सचिव गोपाल थापाले शनिबार विहान जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आगामी सोमबारबाट स्काभेटर लगाएर अतिक्रमण हटाउने निर्णय गरेको बताए । सर्वपक्षीय बैठकले पूर्व–पश्चिम राजमार्गको केन्द्र भागबाट साँढे ८२ फिट तथा नवलपुर–मलंगवा सडकखण्डको केन्द्रभागबाट दायाँबायाँ ५० फिट क्षेत्रफलमा रहेका अतिक्रमण खाली गराइने निर्णय गरेको गाविस सचिव थापाले बताए । समितिले नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत भने दक्षिण लर्डब्राइट बोर्डिङ स्कुलसम्म दायाँबायाँका अतिक्रमण खाली गराउने निर्णय गरेको छ ।
हरिवन र लालबन्दी बजारमा यसअघि नै नियमानुसार पूर्व–पश्चिम राजमार्गमा राखिएका अतिक्रमण हटाएर केहि व्यवस्थित गरिएको भएपनि नवलपुर बजारमा भने अतिक्रमणका कारण बजारको स्वरुप नै विग्रेको भन्दै स्थानीय अगूवाहरु अतिक्रमण हटाउने अभियानका लागि जुर्मुराएका हुन् । सोमबार विहान केहीबेर स्थानीयले अतिक्रमण हटाउने अभियानको विरोध गरेपछि सशस्त्र प्रहरी बल हरिवन बेस क्याम्पका सुरक्षाकर्मीहरु समेतको उपस्थितीमा स्काभेटर लगाउन सुरु गरिएको हो ।

लालबन्दी र हरिवन उस्तै

अव्यवस्थित देखिएको लालबन्दी बजार ।
सर्लाही समाचारदाता
हरिवन, चैत १७ । केही समयअघि पूर्व–पश्चिम राजमार्गको अतिक्रमण खाली गराइएका लालबन्दी र हरिवन बजार पुन अतिक्रमणको चपेटामा पर्न थालेका छन् ।
दुवै बजारमा राजमार्गको दायाँबायाँ ७५–७५ फिटका दरले अतिक्रमणहरु खाली गराइएपनि हाल पुनः अतिक्रमण सुरु भएको स्थानीय व्यापारीहरुले गुनासो गरेका छन् । स्थानीय बजार व्यवस्थापन समिति, गाउँ विकास समितिको कार्यालय, उद्योग वाणिज्य संघ लगायत सरोकारवाला निकायले उचित ध्यान नदिँदा बजारको स्वरुप विग्रदै गएको स्थानीय व्यापारीहरुको गुनासो छ । लालबन्दीमा केही वर्षअघि र हरिवन बजारमा गत कात्तिकमा पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ डोजर लगाएर अतिक्रमण खाली गराइएको थियो । अतिक्रमण खाली गराउने क्रममा ७५–७५ फिटभन्दा भित्र कुनैपनि खाले टहरा निर्माण हुन नदिने, साइनबोर्डहरु राख्न नदिने, निर्माण सामग्री राख्न नदिने लगायत भनिएपनि हाल पुन बजार क्षेत्र अव्यवस्थित बन्दै गएको छ ।
पूर्व–पश्चिम राजमार्गसँगै सटाएर राखिने निर्माण सामग्री, टहरा, सवारी साधन पार्किङ लगायतले दुर्घटनाको जोखिम मात्र हैन बजारकै स्वरुप समेत विग्रेको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बाबुकाजी प्रधानले बताए । ‘‘अतिक्रमण खाली गराएपछि बजार समिति, गाविसको कार्यालय लगायत सरोकारवाला निकायहरुबाट नियमित अनुगमन नहुँदा बजारहरु पूनः ‘कुरुप’ बन्न थालेका छन् ।’’ प्रधानले भने–‘‘सटरमा व्यापार थालेका पसले आफैले अगाडीपट्टी सडकको जग्गामा निश्चित भाडा लिएर ठेला, टहरा आदिमा पसल राख्न दिने प्रवृत्तिले अव्यवस्थितको समस्या बढेको छ, तरकारी बजारका कारण तत्काल लालबन्दीको अव्यवस्था समाधान गर्न समस्या भइरहेको छ ।’’
लालबन्दीको एकिकृत बजार व्यवस्थापन समितिका अध्यक्ष गोविन्द महतले तरकारी बजार सार्नका लागि पहल भईरहेको र उक्त बजार नसारेसम्म लालबन्दी स्थित पूर्व–पश्चिम राजमार्गको सबैखाले अतिक्रमण एवं अव्यवस्थित बजारको समाधान नहुने बताए । उद्योग वाणिज्य संघ लालबन्दीका उपाध्यक्ष एवं स्थानीय व्यापारी नवराज मिश्रले पूर्व–पश्चिम राजमार्ग क्षेत्र स्थित सटर भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीहरु स्वयंले आÇनो अगाडी ठेलागाढा, टहरा राख्न लगाएर मासिक भाडा उठाउने प्रचलनले बजार अव्यवस्थित बन्दै गइरहेको बताए । उक्त समस्या लालबन्दी, हरिवन, नवलपुर सहित जिल्लाका मुख्य सबै व्यापारिक केन्द्रहरुमा कायम रहेको जानकारहरु बताउँछन् ।

परिषद्मा विवाद

सर्लाही समाचारदाता
बगदह, चैत १७ । गाउँ परिषद् गर्ने क्रममा दुईपक्ष बीच विवाद भएपछि सोमबार बगदह गाविसको परिषद् हुन सकेन ।
गाविस कार्यालयमा गाउँ परिषद गर्नेक्रममा बकैनियाका स्थानीयले आफुहरुको क्षेत्रमा परिषद् गर्न माग गरेपछि बिवाद भएको हो । परिषद् गर्न जिल्ला विकास समितिका योजना अधिकृत होमबहादुर थापा र गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्तलाल कर्ण दिँउसो बगदह गाविसमा पुगेका थिए । परिषद्मा दुई पक्षबीच बिवाद उत्पन्न भएपछि आफुहरु त्यहाँबाटै त्यसै फर्किएको कर्णले जानकारी दिए ।
बगदह गाविसका सविच सुनिललाल श्रीवास्तको अध्यक्षतामा गाउँ परिषद् गर्ने तयारी गरिहेको बेला गाविस कार्यालयलमा गाउँ परिषद् गरेको भन्दै अन्य वडाका सर्वसाधरणले बिरोध जनाएका हुन् । सोमबार विवाद भएपछि हुन नसकेको गाउँ परिषद् मंगलबार पुन बोलाईएको गाविस कार्यालयले जनाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुस मसान्त भित्र गाविस कार्यालयहरुको गाउँ परिषद् गर्नुपर्ने तोकिएको भएपनि जिल्ला स्थित सातवटा गाविसको हुन सकेको थिएन । जसमध्ये मोहनपुर र रामवनको केही दिनअघि परिषद् सम्पन्न भइसकेको छ भने बहादुरपुर, सलेमपुर, मोतिपुर, सुदामा गाविसको परिषद् हुन बाँकी छ । वगदह गाविसको भने सोमबार हुने भनिएको परिषद् विवादका कारण हुन सकेन । राजनैतिक विवादका कारण र स्वयं गाविस सचिवको अक्षमताका कारण सर्लाहीमा कतिपय गाविसको गाउँ परिषद् हुन नसक्ने गरेको जानकारहरु बताउँछन् ।

सिडिओलाई तीनथरी ज्ञापन पत्र

सर्लाही समाचारदाता
मलंगवा, चैत १७ । प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेलाई सोमबार मात्र विभिन्न संघ संगठनले तीनवटा छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन् ।
सद्भावना पार्टी, एकिकृत (माओवादी) सम्बद्ध किसान संगठन र सदरमुकाम मलंगवा स्थित जनसागर बजारमा पसल गरिरहेका व्यापारीहरुले छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका हुन् । सद्भावनाले आÇना राष्ट्रिय उपाध्यक्ष एवं सभासद् संजय साहलाई सुनियोजित ढंगले फसाउन खोजिएको र साह निर्दोष रहेको दावी गर्दै प्रजिअ घिमिरे मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापत्र पत्र पठाएर ध्यानाकर्षण गराएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार सद्भावना अध्यक्ष प्रमोद साह नेतृत्वको टोलीले सभासद् साहलाई जनकपुर स्थित रामानन्द चोकमा भएको बम विष्फोट घटनामा सुनियोजित ढंगले खडा गरिएका व्यक्तिको बयानका आधारमा फसाउन खोजिएको भन्दै ध्यानाकर्षण सहितको ज्ञापन पत्र दिएको हो ।
त्यस्तै एकिकृत           (माओवादी) सम्बद्ध किसान संगठनले कृषि क्षेत्रको विकासका लागि उचित ध्यान दिन माग गर्दै प्रजिअ घिमिरेमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाएको छ । एमाओवादी इन्चार्ज अच्युतम काÇले समेतको उपस्थिती रहेको टोलीले उखु मुल्य निर्धारण लगायत कृषि क्षेत्रमा उचित ध्यान दिन समेत आग्रह सहितको ज्ञापन पत्र बुझाएको हो ।
त्यस्तै मलंगवा नगरपालिका कार्यालयले जनसागर बजार स्थित व्यापारीहरको टहरा केही दिनअघि खाली गराएर उक्त स्थानमा पक्की भवन निर्माण सुरु गरेपछि सोही विषयमा सम्बन्धित व्यापारीहरुले प्रजिअ घिमिरे समक्ष ज्ञापन पत्र बुझाएका छन् । पक्की भवन निर्माण सम्पन्न भएपछि आफूहरुलाइ नै व्यापारका लागि कोठा उपलब्ध गराउन माग गर्दै व्यापारीहरुले ज्ञापन पत्र बुझाएको प्रजिअ घिमिरेले बताए ।

लागुऔषध सहित तीनजना पक्राउ

सर्लाही समाचारदाता
मलंगवा, चैत १७ । लागूऔषध सहित सोमबार सदरमुकाम मलंगवाबाट तीनजना पक्राउ परेका छन् ।
मलंगवा नगरपालिका–८ बाट साँझ ४ बजेतिर तीनजनालाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नरेश सिंहले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार  हरिवन गाविस–८ निवासी शेष समिर, शेष अरसद् र महम्मद् हुसैनलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई लागूऔषधको रुपमा प्रयोग हुने ट्याब्लेट सहित पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताए । ‘‘तीनजना लागूऔषध सहित पक्राउ परेका छन् ।’’ प्रहरी निरीक्षक सिंहले भने–‘‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’’

गाउँ–गाउँमा सुधारिएको चुलो

सुनिल ठाकुर÷सर्लाही दैनिक
औरही, चैत्र १७ । अव्यवस्थित चुलोको प्रयोग गर्दा लाग्ने विभिन्न प्रकारको श्वासप्रश्वास सम्बन्धी रोगलाई न्युनीकरण गर्नका लागि सर्लाहीको विभिन्न गाविसमा अहिले सुधारिएको चुलो निर्माण सम्बन्धि तालिम संचालन गरिएको छ ।
नविकरणिय उर्जा खानेपानी तथा सरसफाई प्रवद्र्धन केन्द्र चन्द्रनिगाहपुरले हालै सर्लाहीको औरहीमा सुधारिएको चुलो निर्माण सम्बन्धि ७ दिने तालिम संचालन गरेको छ । १० गाविसका ३२ जना महिलालाई चुलो निर्माण सम्बन्धि तालिम सुरु गरिएको कार्यक्रमका प्रशिक्षक जितेन्द्र प्रसाद सिंहले जानकारी दिए ।
श्री जनता माध्यमिक विद्यालय औरही ४ मा संचालन गरिएको तालिममा औहरी, खोरिया, सुन्दरपुर, मोतीपुर, सेखौना, पडरिया, सिसौटिया, बेल्ही, सहोडवा तथा धनगढा गाविसका महिलाहरुको सहभागिता रहेको छ । प्रशिक्षणमा महिलाहरुलाई कसरी चुलो बनाउने भन्ने बारेमा जानकारी दिई, प्रशिक्षण स्थलमै बनाउन समेत लगाउने गरिएको छ । प्रत्येक गाविसबाट आएका महिलाले तालिम लिई आफ्नो गाउँघरमा अन्यलाई प्रशिक्षण दिने उदेश्य राखिएको प्रशिक्षक सिंहको कथन छ । तालिम निःशुल्क रुपमा दिइएको सिंहले बताए । सुधारिएको चुलो निर्माणले निमोनिया, दम, क्षयरोग तथा विभिन्न श्वासप्रश्वासको रोगबाट बच्नुको साथै दाउराको बचत र छिटो खाना पाक्ने भएकोले तालिम संचालन गरिएको हो । यस कार्यक्रम अन्तर्गत जिल्लाको ९९ गाविसमा चुलो निर्माण सम्बन्धि तालिम दिने संस्थाको योजना रहेको सिंहले बताए । कार्यक्रममा सिंहका साथै बच्चु पासवानले पनि प्रशिक्षण दिने गरेका छन् ।

वन अतिक्रमित घर भत्काईयो

सर्लाही समाचारदाता
कालिन्जोर, चैत १७ । कालिन्जोरको घारिबथान क्षेत्रमा पर्ने फूलजोर बाबा साझेदारी वन क्षेत्रमा बनाईएको दुई वटा घर सोमबार बिहान भत्काईएको छ ।
सहायक जिल्ला वन अधिकृत केदारबहादुर कार्कीको नेतृत्वमा गएको कर्मचारीहरुको टोलीले वनक्षेत्रको जग्गामा अतिक्रमण गरेर बनाइएको घर भत्काएको हो । घर बनाउँदै गरेको अवस्थामा कालिन्जोर गाविस–५ का नीरबहादुर वाइवालाई पनि आफुहरुले नियन्त्रणमा लिएको बाँके ईलाका वन कार्यालयले बताए । वन क्षेत्रमा घर नबनाउन आग्रह गरेको भएपनि अटेर गरेकाले वाईवालाई नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय सर्लाहीले जनाएको छ ।
घारिबथानको अन्य क्षेत्रमा पनि वनको जग्गा अतिक्रमण गरेर बनाईएको घरहरु हटाउन आग्रह गरिसकिएकाले अटेर गरेमा भत्काईने वन कार्यालयको भनाई छ । वन क्षेत्रमा भएको अतिक्रमण निरीक्षण गर्नका लागी दैनिक हेरालुहरु खटाएको कार्यालयले जनाएको छ ।

हुरी बतासका कारण विद्युत अवरुद्ध

सर्लाही समाचारदाता
हरिवन, चैत १७ । केहि दिनयता चलेको हुरी बतासका कारण सर्लाहीको विभिन्न गाविसहरुमा विद्युत अवरुद्ध भएको छ ।
हुरी बतासले केहि ठाउँमा तारहरु चुटिएकाले विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत अवरुद्ध हुँदा सेवाग्राहीहरुलाई भने विद्युतीय समाग्री सञ्चालन गर्न निकै समस्या भएको छ । विद्युत अवरुद्ध हुँदा कुटानपीसान, मोवाईल चार्ज, सिँचाई लगायत विद्युतीय उपकरण चलाउन समस्या भएको उपभोक्ताहरुले बताएका छन् । पूर्व पश्चिम राजमार्गको लालबन्दी देखि हरिवन सम्म बिच्छेद भएका तारहरु मर्मत गरिसकेको नेपाल विद्यूत प्राधिकरण शाखा लालबन्दीका प्रमुख जयानन्द झाले जानकारी दिए । अन्य क्षेत्रको विद्युत पनि छिटै मर्मत गर्ने काम भैरहेको झाले बताए ।
गत शनिबारदेखि दिउँसो–दिउँसो हुरी बतास चल्ने गरेका कारण सर्वसाधारणहरु अत्यन्त मारमा पर्दै आएका छन् । हुरी बतासले उडाउने धुलोका कारण समेत सर्वसाधारणको जनजिवन अत्यन्त प्रभावित बनेको छ ।

जिल्ला स्तरीय परीक्षा सुरु

सर्लाही समाचारदाता
मलंगवा, चैत १७ । सर्लाहीमा सोमबारबाट जिल्ला स्तरीय अर्थात कक्षा ८ को परीक्षा सुरु भएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार परीक्षामा सामुदायिक विद्यालयहरुबाट ८ हजार ४ सय ८० र संस्थागत विद्यालयहरुबाट १७ सय ७४ परीक्षार्थीहरु सहभागी भएका छन् । परीक्षालाई मयार्दित बनाउन यस वर्ष पनि सबै विद्यालयहरुको लागी प्रश्नपत्र जिल्ला शिक्षा कार्यालय आफैले छपाएको छ ।
परीक्षामा निरीक्षण गर्नका लागी जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्मा र परीक्षा शाखाका अधिकृत कवीराज उपे्रती नेतृत्वमा टोली खटिने भएको बताइएको छ । परीक्षा सञ्चालन गर्नका लागी प्रत्येक विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी तोकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । परीक्षा अन्तर्गत सोमबार पहिलो दिन अनिवार्य अंगे्रजी विषयको परीक्षा सम्पन्न भएको छ ।

Sunday, March 30, 2014

सुधारको बाटोमा मलंगवा नगरपालिका

–टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, चैत १६ । विकास भन्दा पनि क्रमशः विनासतर्फ उन्मुख अनि आर्थिक रुपले जर्जर बन्दै गएको मलंगवा नगरपालिका पछिल्लो समय उन्नतीको बाटोमा लम्किन थालेको छ । ०४७ सालमा स्थापना भएको मलंगवा नगरपालिका गत जेठ ११ गतेबाट २८औं कार्यकारी अधिकृतको रुपमा रामचरित्र मेहताले प्रमुखको रुपमा जिम्मेवारी सम्हालेपछि क्रमशः सुधारको बाटोमा अगाडी बढिरहेको छ । राजनैतिक हस्तक्षेप, नगरपालिका क्षेत्रका सिमित समूहको स्वार्थ, स्थानीय कर्मचारीहरुको जिम्मेवारी विहिनता लगायत कारणले मलंगवा नगरपालिका ग्रसित हुँदै आइरहेको थियो । तर पछिल्लो समय कार्यकारी अधिकृतको रुपमा मेहता आएपछि मलंगवा नगरपालिका विकास र उन्नती अनि सुधारको बाटोमा लम्किरहेको चौतर्फी रुपमा देखिएको प्रशंसाले पुष्टि गरिसकेको छ ।
गत जेठमा कार्यकारी अधिकृतको रुपमा मेहता आएपछि मलंगवा नगरपालिकामा विकासको लहर सुरु भएको स्वयं राजनैतिक दलका नेताहरु बताउँछन् । ‘‘रामचरित्र सर आएपछि मलंगवा नगरपालिकाले विकास पाटोमा ह्वातै फड्को मारेको छ ।’’ विगतमा मलंगवा नगरपालिकामा एमालेका तर्फबाट प्रतिनिधिको रुप्मा समेत जिम्मेवारी सम्हालेका र हाल एमालेका जिल्ला कमिटि सदस्य समेत रहेका देवेन्द्र रायले भने–‘‘इमान्दारिताका साथ कसैको भनाईमा नलागेर नगर क्षेत्रको हितमा लाग्यो भने सकिन्छ भन्ने स्पष्ट उदाहरण दिनुभएको छ, रामचरित्र सरले ।’’
सँधै विवादको अखडा, तिर्नुपर्ने वक्यौताको चाङ अनि कर्मचारीको तलब दिन नसक्ने नगरपालिकाको रुपमा परिचित मलंगवा पछिल्लो समय सुधारको बाटोमा उन्मुख हुँदै गएको आभास नगरबासी सहित आम सरोकारवालाहरुले महसुस गरेका छन् । मलंगवा नगरपालिका अन्तर्गत जनसागर बजारमा डिपार्टमेन्टर स्टोर निर्माण कार्य, भारतीय सरकारको सहयोग रहेको पक्की नाला सहितको सडक निर्माण, पक्की ढलान सडक निर्माण लगायत कार्यहरुले द्रुत गतिमात्र पाएका छैनन्, कर्मचारीहरुको तलब भत्ता वितरणमा समेत केही सुधार सुरु भएको छ । मलंगवाका राजेश साहले कार्यकारी अधिकृतको रुपमा रामचरित्र मेहता आएपछि मलंगवा नगरपािलकाले निकै फड्को मारेको बताए ।
कार्यकारी अधिकृत मेहताले पछिल्लो समय मलंगवा बसपार्क नजिक जनसागर बजारमा डिपार्टमेन्टल स्टोर निर्माणको काम अगाडी बढाएका छन् । सडक र बजारको जग्गा अतिक्रमण गरेर बनाइएका व्यापारिक टहराहरु हटाएर नगरपालिकाले तत्कालका लागि २३ कोठाको पक्की भवन निर्माण सुरु गरेको कार्यकारी अधिकृत मेहताले बताए । कार्यकारी अधिकृत मेहताका अनुसार कुल ७० लाख लागतमा सुरु भएको उक्त भवन निर्माण कार्यमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ६० प्रतिशत तथा नगरपालिकाले ४० प्रतिशत बेहोर्ने छ । आगामी असार मसान्त भित्र निर्माण कार्य सम्पन्न गरि २३ वटै सटर सहितको कोठाहरु साउन १ गतेबाट भाडामा लगाइने कार्यकारी अधिकृत मेहताको दावी थियो । आगामी वर्षहरुमा उक्त भवनको माथिल्लो तलामा समेत कोठाहरु थप गरिने र क्रमशः उक्त भवनलाई डिपार्टमेन्टल स्टोरको रुपमा विस्तार गर्ने कार्यकारी अधिकृत मेहताले बताए ।
त्यस्तै विगत ४ वर्षअघि नै भारतीय सरकारबाट बजेट छुट्टयाइएपनि कार्यकारी अधिकृतको अक्षमता, राजनैतिक खिचातानी लगायत कारणले काम सुरु हुन नसकेको पक्की नाला सहितको सडक निर्माण कार्य समेत मेहताको नेतृत्वमा सुरु भएको छ । भारतीय सरकारको चारकरोड २८ लाख सहयोग रहेको उक्त योजना सडक अतिक्रमण हटाउने सहितका कामहरु सम्पन्न गर्न नसक्दा नगरपालिकाले अगाडी बढाउन सकेको थिएन । तर कार्यकारी अधिकृतको रुपमा मेहता आउने वितिकै खानेपानी ट्यांकीदेखि मलंगवा नगरपालिका कार्यालय नजिक हुँदै बालमन्दिरबाट श्रीमति कृष्णादेवी माविको पछाडीबाट रिंगरोड जोड्नका लागि पक्की नाला सहितको ढलान सडक निर्माण कार्य सुरु भईसकेको कार्यकारी अधिकृत मेहताले बताए । त्यस्तै मलंगवा नगरपालिकाले पछिल्लो समय जिल्ला प्रहरी कार्यालय अगाडी, कृष्ण चोक र नगरपालिका चोकबाट उत्तरको सडकमा पक्की ढलान समेत गरिसकेको छ ।
त्यसैगरी पछिल्लो समय कर्मचारीहरुलाई तलब भत्ता खुवाउने काममा समेत सुधार भएको कार्यकारी अधिकृत मेहताले बताए । मेहताका अनुसार नगरपालिकाले कर्मचारीलाई मंसिरसम्मको तलब भत्ता खुवाइसकेको तथा पुस र माघको तलब भत्ता आगामी चैत मसान्त भित्र खुवाइने छ । हाल बढेको तलब अनुसार कर्मचारीलाई तलबभत्तामा मलंगवा नगरपालिकाले वार्षिक एककरोड ५६ लाख बहन गर्नुपर्नेछ । नगरपालिकामा हाल ५८ जना कर्मचारी कार्यरत छन् । विगतमा ६–७ महिनासम्म कर्मचारीहरुले तलबभत्ता नपाएर कार्यालयमा काम बन्द लगायत आन्दोलन समेत गर्ने गर्दथे ।
विगत केही समय पहिलासम्म प्राय ठप्प रहने नगरपालिकाको दमकल सेवा हाल सुचारु भएको छ । स्वयं नगरपालिका कार्यालयको रुप रंग समेत परिवर्तन भएको मात्र छैन नगर क्षेत्रको सरसफाई, नगरबासीलाई कार्यालयबाट दिइने सेवा सुविधामा चुस्ततामा समेत निकै सुधार भएको जानकारहरु बताउँछन् । एकवर्ष अघिसम्म नगरबासी सहित आम सरोकारवालाहरुले ‘नरकपालिका’ को रुपमा चरितार्थ गर्दै आएका मलंगवा नगरपालिका हाल सुधारको बाटोमा अगाडी बढेको आभास आम सरोकारवालाले महसुस गरेका छन्

‘श्रोत र साधनको सहि परिचालन हुनुपर्छ’

कार्यकारी अधिकृत रामचरित्र मेहता ।

सर्लाही समाचारदाता
मलंगवा, चैत १६ । मलंगवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताले सिमित स्रोत र साधन भएपनि सहि रुपमा परिचालन गरिए सार्थक रुप दिने बताएका छन् ।
‘‘उपलब्ध स्रोत र साधनलाई सहि ढंगले परिचालन गरिए पक्कै सुधार हुन्छ ।’’ आइतबार सर्लाही दैनिकसँग कुरा गर्दै कार्यकारी अधिकृत मेहताले भने–‘‘गलत मनसाय राखेमा जतिसुकै स्रोत र साधन भएपनि केही हुँदैन ।’’ वर्षौंदेखि आर्थिक रुपले जर्जर बनेको मलंगवा नगरपालिकामा तत्काल कुनै भयावह अवस्था नरहेको समेत कार्यकारी अधिकृत मेहताले दावी गरे ।
स्थानीय राजनैतिक दलका नेता, विभिन्न समूह, स्वयं नगरबासीहरुको हेलचक्र्याई, स्वार्थ, गैर जिम्मेवारीपन लगायत कारणले मलंगवा नगरपालिकाको विकास निर्माण कार्यले गति लिन नसकेको उल्लेख गर्दै कार्यकारी अधिकृत मेहताले हाल आफूले सबै पक्ष, तह र तप्काबाट उचित सहयोग समेत पाइरहेको दावी गरे । ‘‘मलंगवा नगरपालिकाका स्वयं कार्यकारी अधिकृतले इमान्दारीताका साथ नगर क्षेत्रको हक हितका लागि अगाडी बढ्नु पर्दछ ।’’ उनले भने–‘‘त्यसमा स्थानीय राजनैतिक दल, नगरबासी लगायत सरोकारवाला सबैले साथ दिनु पर्दछ, अनि मात्र नगर क्षेत्रको उन्नती सम्भव छ ।’’ विगतमा कार्यकारी अधिकृत सहित सम्बन्धित सबै पक्ष, तह र तप्काबाट इमान्दारिता एवं जिम्मेवारी बोध नहुँदा मलंगवा नगरपालिकाको जर्जर अवस्था भएको समेत मेहताले बताए ।
बजार ठेक्का, पोखरी ठेक्का, सवारी कर लगायतबाट आउने आन्तरिक आम्दानी बापतको झण्डै एककरोड, स्थानीय विकास शुल्क बापत मन्त्रालयबाट आउने एककरोड १० लाख, कृषि सडकको १५ लाख, सडक बोर्डको १८ लाख, जगेडा कोषको सशर्त अनुदान एककरोड २० लाख सहित चारकरोड भन्दा बढी बजेट खेलाउने नगरपालिकामा बजेटको सहि सदुपयोग हुने हो भने विकास निर्माणले निकै फड्को मार्ने समेत कार्यकारी अधिकृत मेहताले बताए । ‘‘जिम्मेवार अधिकारीले इमान्दारिताका साथ दृढ इच्छाशक्ति राखेर अगाडी बढ्नुपर्छ र त्यसमा सबैले साथ दिए उन्नतीको बाटोमा लम्कनका लागि कसैले रोक्न सक्दैन ।’’ उनले दावी गरे–‘‘म मलंगवा नगरपालिकालाई उन्नतीको बाटोमा लम्काउन त्यसैगरी अगाडी बढिरहेको छु, त्यसमा सबैले साथ दिनु आवश्यक छ ।’’
०६२÷०६३ को जन आन्दोलन तथा मधेश आन्दोलन पश्चात स्थानीय राजनैतिक खिचातानी, भूमिगत समूहको धम्की, कर्मचारीको असहयोग, विभिन्न समूहहरुको दवाव लगायत कारणले भरसक मलंगवा नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा कोही अधिकृत पनि आउन मान्दैन थे । आइहालेपनि यावत समस्याका कारण कार्यालयमै बस्न नसक्ने, निस्वार्थ ढंगले काम गर्न नसक्ने र गर्न खोजे व्यापक धम्की, दवाव लगायतको सामना गर्नुपर्ने अवस्थाका कारण कोही कार्यकारी अधिकृतपनि टिक्न सकेका थिएनन् । तर गत जेठ ११ गते हाँजिर भएका मेहताले भने जिम्मेवारी अनुसार इमान्दारिताका साथ नगरपालिकाको विकास निर्माणमा गति मात्र दिएका छैनन्, मुहार परिवर्तनको दिशामा नै अगाडी बढेका छन् ।

बन्दुक सहित पाँच जना पक्राउ

सर्लाही समाचारदाता
हजरिया, चैत १६ ।  हजरिया गाविस ३ बाट प्रहरीले भरुवा बन्दुक सहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले गस्तीको क्रममा बाग्मती खोलाको किनारमा शंका लागी चेकजाँच गर्ने क्रममा युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हजरिया ३ का २७ वर्षीय रमा लामा, १८ वर्षीय आकाश लामा, १९ वर्षीय विशाल लामा, १६ वर्षीय सुमन लामा र हजरिय १ का ३० वर्षीय जगत मोक्तान रहेका छन् ।
गोली लोड गरेर तयारी अवस्थामा रहेको भरुवा बन्दु भने बाग्मती खोलाको किनारमा लुगाई छोपेर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । युवाहरुको साथमा एन्जेशील नामक विषादी समेत बरामत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेको पाँचै जना युवाहरुलाई  ईलाका प्रहरी कार्यालय बरहथवाले म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

आप्रवासनको अन्तरक्रिया

सर्लाही समाचारदाता
मलंगवा, चैत १६ । सुरक्षित आप्रवासन परियोजनाले आइतबार जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहेका सहायक प्रमुख जिल्ला अधिकार प्रकाशचन्द्र अधिकारीले वैदेशिक रोजगारका क्रममा सर्लाहीबाट बढी ठगिमा परेको गुनासो आउन थालेपछि परियोजनाले अझ प्रभावकारी ढंगबाट कार्यक्रम संचालन गर्न आग्रह गरे ।
उनले भने ‘नेपाल सरकारले बैदेशिक रोजगारीमा जानेलाई बार्षिक २० हजार व्यक्तिलाई शिपमुलक तालिम दिने भएतापनि दैनिक एकहजार भन्दा बढी बैदेशिक रोजगारमा जाने गरेकाले शिप सिक्न सरकारको मात्र आशा नगरी स्वयं जागरुक हुनुपर्ने बताए ।
कार्यक्रममा जिविसका सूचना अधिकृत पुस्कमणि घिमिरेले सूचनाबाट नै सबैलाई जागृत
गर्नुपर्ने भएकाले बैदेशिक रोजगार
बारे गाविस स्तरिय बडा नागरिक मञ्च मार्फत पनि शिक्षा प्रदान गरिनुपर्ने बताए ।
कार्यक्रममा परियोजना जिल्ला संयोजक विजय ठाकुर, आप्रवासी संजाल हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष रामनाथ साह लगायत गाविस सचिव, संचारकर्मी, स्थानिय समाजसेवी तथा बैदेशिक रोजगारबाट पीडित भई परियोजनाको सहयोगमा उद्धार भएका व्यक्तिहरुको उपस्थिति थियो ।
‘सकेसम्म स्वदेशमै रोजगार गरौं, विदेश जाने नै भए सिप सिकेर सूचना लिएर मात्र जाऔं’ भन्ने मूलनाराका साथ संचालनभएको कार्यक्रममा बैदेशिक रोजगारमा जानु अघि गरिनुपर्ने कार्यको भिडियो दृश्य र पीडितका आफन्तको कथन र पिडा प्रदर्शन गरिएको थियो ।
सामी हेल्भेटासको सहयोगमा स्थानिय गैर सरकारी संस्था ग्रामीण नारी उत्थान संघ, सहयोगी समाज र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले परियोजना संचालन गरेका छन् ।

कृष्णादेवीको प्रधानाध्यापकमा शर्मा

सर्लाही समाचारदाता
मलंगवा, चैत १६ । सदरमुकाम मलंगवा स्थित श्रीमती कृष्णादेवी उमाविको प्रधानाध्यापकमा रामकुमार शर्माले जिम्मेवारी सम्हालेका छन् ।
आईतबारबाट शर्माले कृष्णादेवीको प्रधानाध्यापकको कार्यभार सम्हालेका हुन् । उमावि बलराका प्रधानाध्यापक रहेका शर्मालाई जिल्ला शिक्षा कार्यालयले कृष्णादेवी उमाविमा प्रअको रुपमा सरुवा गरेको हो । उक्त उमाविमा प्रअको विषयमा विभिन्न शिक्षक संघ संगठनबीच तिब्र होडबाजी रहेपनि नेपाल शिक्षक संघसँग आवद्ध शर्माले बाजी मारेका छन् । क्षेत्रिय शिक्षा निर्देशनालयको सहमति अनुसार चैत १४ गतेको निर्णय अनुसार जिल्ला शिक्षा कार्यालयले शर्मालाई कृष्णादेवी उमाविको प्रअमा सरुवा गरेको शिक्षा कार्यालय स्रोतले जनाएको छ ।
तत्कालिन प्रधानाध्यापक गोविन्दलाल कर्णले अवकाश पाएपछि उक्त उमाविमा प्रअ पद खालि रहेको थियो । अवकाश अघि तत्कालिन प्रअ कर्णले सोही उमाविका शिक्षक जितेन्द्रलाल कर्णलाई निमित्त दिएका थिए । तर सोही उमाविका शिक्षक रामनिवास साहले पुनरावेदन अदालतमा मुद्धा दायर गरेपछि अदालतले वरिष्ठ शिक्षकलाई निमित्तको जिम्मेवारी दिन आदेश दिएको र सोही आदेश अनुसार साह नै निमित्त प्रअ भएका थिए । उक्त उमाविमा प्रअका लागि विभिन्न राजनैतिक दल, शिक्षक संघ संगठन, सदरमुकाबासी र अभिभावकहरुबीच नै व्यापक होडबाजी चलेको थियो । शर्मा उक्त उमाविमा कार्यरत शिक्षकहरु मध्ये सबैभन्दा वरिष्ठ रहेको समेत बताइएको छ ।

शिक्षकहरुलाई चारलाख ५५ हजार जरिवाना

सर्लाही समाचारदाता
मलंगवा, चैत १६ । समयमा नै सम्पत्ति बिबरण नबुझाउने सर्लाहीका ९१ शिक्षकहरुबाट चार लाख ५५ हजार जरिवाना संकलन भएको छ । समयमा नै सम्पत्ति बिबरण नबुझाउने प्रत्येक शिक्षकहरुलाई ५ हजारको दरले कारबाही गरि सो जरिवाना रकम संकलन भएको हो ।
फागुन मसान्त भित्रै सम्पत्ति बिबरण नबुझाउने दुई सय ४५ शिक्षहरुलाई ५ हजार जरिवाना सहित जिल्ला शिक्षा कार्यालयमा सम्पत्ति बिबरण बुझाउन ताकेता गरेको भएपनि अझै एक सय ५४ शिक्षकहरुले सम्पत्ति बिबरण बुझाएका छैनन् । सम्पत्ति बिबरण बुझाउन बाँकी रहेका शिक्षकहरुलाई अझै पनि जरिवाना सहित बिबरण बुझाउन ताकेका गरिरहेको कार्यालयका प्राविधिक सहायक सुनिलकुमार कुशवाहले जानकारी दिए । जिल्ला शिक्षा कार्यालयले केहि महिना अघि सुचना जारी गरि शिक्षकहरुलाई फागुन मसान्त भित्रै सम्पत्ति बिबरण बुझाउन आग्रह गरेको भएपनि अधिकांश शिक्षकहरुले अटेर गरेका छन् । केहि सरुवा भएका शिक्षकहरुको नाममा सम्पत्ति बिवरण नबुझाएको भन्ने सुचना पठाएकाले त्यस्ता शिक्षकहरुको तथ्याङ्क काठमाण्डौमा रहेको विद्यालय शिक्षक खानामा पठाउने जिल्ला शिक्षा कार्यालय सर्लाहीले जनाएको छ ।

परीक्षाकेन्द्रको विषयमा विरोध

सर्लाही समाचारदाता
मलंगवा, चैत १६ । सदरमुकाम मलंगवमा रहेको सर्लाही क्याम्पसले मनोमानी परीक्षा केन्द्र तोकेको भन्दै मलंगवामा नै रहेको अर्को क्याम्पसले विरोध जनाएको छ । सर्लाही क्याम्पसले त्रिभुवन विश्व विद्यालयबाट मन्यता प्राप्त नभएको विद्यालयमा परीक्षा तोकेको भन्दै पदम रत्न विद्या मन्दिर क्याम्पसले विरोध जनाएको हो । त्रिवीबाट मान्यता प्राप्त नभएको क्याम्पसमा सर्लाही क्याम्पसको परीक्षा केन्द्र कायम गरिएको भन्दै पदम रत्नले जिल्ला प्रशासन क्याम्पसमा ज्ञापन पत्र समेत बुझाएको छ । गत वर्ष देखि स्नातक तहको परीक्षामा ‘होम’ सेन्टर खारेज गरिएकाले सर्लाही क्याम्पसको परिक्षा केन्द्र मान्यता प्राप्त पदम रत्न कलेजमा नदिएर मलंगवाकै मोडर्न साइन्स कलेजमा राखेको भन्दै पदम रत्नका प्राचार्य पुष्प रंजितकारले प्रेस विज्ञप्ती जारी गरी विरोध गरेका थिए । रंजितकारद्धारा जारी गरिएको विज्ञप्तीमा त्रिविद्धारा मन्यता प्राप्त आफ्नो कलेज अथवा लालबन्दीमा रहेको जनज्योति क्याम्पसमा केन्दै सार्नमाग गरिएको छ ।

चार स्थानमा आगलागी, लाखौँको क्षति

सर्लाही समाचारदाता
मलंगवा, चैत १६ ।  जिल्लाका चार छुट्टा–छेट्टै स्थानमा आइतवार भएको आगलागीबाट लाखौँ रुपैयाँको क्षति भएको छ । त्रिभुवननगर, महिनाथपुर, पत्थरकोट र अत्रौली गाविसमा आगलागी भएको हो ।
त्रिभुवननगर गाविसमा आगालागीमा परि दुईजना व्यक्ति समेत घाईते भएका छन् । त्रिभुवननगर वडानम्वर १ स्थित मठमा भएको आगलागी परी दुई जना घाईते भएका हुन् । आगलागीमा परि गुठीका पुजारी भारत दरभंगाका ५५ वर्षीय रामसागर दास र ३५ वर्षीय प्रल्हाद सुनार सक्त घाईते भएका हुन् । घाईते दुबैको भारतमा उपचार भैरहेको प्रहरी चौकी त्रिभुवननगरले जनाएको छ ।
आगालागीबाट गुठीमा ५० हजार रुपैँया बराबरको क्षति भएको छ । आगलागीको कारण खुल्न नसकेपनि स्थानीय र प्रहरीले आगो  नियन्त्रणमा लिएका थिए ।  त्यस्तै महिनाथपुर गाविस वडा नम्वर ८ मा  आगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ । स्थानीय शम्भुप्रसाद यादवको घरमा खाना पकाउने क्रममा चुलोबाट सल्किएको आगलागीबाट दुई वटा घर जलेर ध्वस्त भएको हो । आगालागीबाट यादवको फुसको घर जलेर नष्ट हुँदा एक लाख पचास हजार बराबरको क्षति भएको छ । आगलागीबाट छिमेकी कामेश्वर रायको पनि खपडाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । रायको घरमा आगलागी हँुँदा तीन लाख ५० हजार भन्दा बढी क्षति भएको छ ।  ईलाका प्रहरी कार्यालय हरकठ्वा  र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश सिंहले जानकारी दिए ।
त्यस्तै अत्रौली वडा नम्वर ९ मा आगलागी हँुदा कुशवीर माझीको घर जलेर नष्ट भएको स्थानीय मानव भण्डारीले जानकारी दिए । यता पत्थरकोट गाविसको लखन्देही नदी किनारमा रहेको चरिचरण निषेधित क्षेत्रमा पनि भिषण आगलागी भएको छ । चरिचरण निषेधित समितिका अध्यक्ष भोला भुजेलले आफ्नो निजी बाँस झ्याँङमा आगो लगाउँदा  हावाहुरीले चरिचरण क्षेत्रमा आगो फैलिएको हो । आगालागीबाट वडा नम्वर ५ र ६ मा पर्ने चरिचरण निषेधित क्षेत्रमा लगाएको खयर, मसला, सिसौ लगायत सयौँ साना बोटबिरुवा जलेको छ ।

हरिवनमा सन्त समागम

सर्लाही समाचारदाता
हरिवन, चैत १६ ।  हरिवनमा आइतवार  सन्त समागम सम्पन्न भएको छ । नेपाल मानव धर्मसेवा समिति जनकपुरको आयोजनामा केन्द्रीय स्तरको महान सन्त समागम सम्पन्न भएको हो ।
नेपाल मानव धर्मका प्रणेता परमपुज्य सदगुरुदेव श्री सतपाल जी महाराजको आत्मानुरागी पुजनीय सन्तमहात्मा ज्यूहरुबाट प्रवचन प्रस्तुत गरिएको थियो । प्रवचन दिन भारत तथा काठमाण्डौ, पोखरा, इटहरी, हेटौडा, वीरगंज लगायत स्थानहरुबाट सन्तमहात्माहरु आएका आयोजकले जनाएको छ ।
मूलुकका विभिन्न स्थानमा प्रचार–प्रसारको क्रममा जनकपुरमा दुई दिवशीय प्रवचन सकेर  हरिवनमा प्रवचन सम्पन्न गरिएको हो । प्रवचनाको अध्यक्षता समितिका केन्द्रीय प्रभारी पुजनीय पुनित बाईजीले गरेका थिए भने महात्मा सज्जन बाईजी प्रमुख अतिथी रहेका थिए ।

क्याम्पसमा चोरी

सर्लाही समाचारदाता
लालबन्दी, चैत १६ । जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा शनिवार राती चोरी भएको छ । क्याम्पसको लेखाशाखामा ढोका फोडेर ३० हजार नगद, एउटा क्यामेरा लगायत सामाग्री चोरी भएको क्याम्पसले जनाएको छ ।
  लेखाशाखामा रहेको एउटा कम्प्यूटर समेत फुटाएको अवस्थामा फेला पारिएको र कार्यालय खोल्ने क्रममा भवनको छत र कोठाको ढोका फोडेर चोरी भएको थाहा पाएको क्याम्पसले जनाएको छ । चोरीको घटनामा बारेमा  प्रहरीले  अनुसन्धान अगाडि बढाएको छ ।

नवलपुरको अतिक्रमण हटाउन डोजर लगाइने

सर्लाही समाचारदाता
नवलपुर, चैत १५ । नवलपुर बजारमा राजमार्गमा भएको अतिक्रमण हटाउन आगामी सोमबार (चैत १७) गतेबाट डोजर लगाइने भएको छ । शनिबार बसेको सर्वपक्षीय बैठकले नवलपुर बजार स्थित पूर्व–पश्चिम राजमार्ग र नवलपुर–मलंगवा सडकखण्ड दायाँबायाँ आगामी सोमबारबाट नियमानुसार सरसफाई गर्ने निर्णय गरेको हो । सर्वपक्षीय बैठकले सडकको अतिक्रमण हटाउन स्थानीय इस्किलाल पासवानको संयोजकत्वमा नौ सदस्यीय समिति समेत चयन गरेको छ । नियमानुसार सडक दायाँबायाँको अतिक्रमण हटाइने समितिका संयोजक पासवानले बताए । ‘‘सडक दायाँबायाँ रहेका अतिक्रमणहरु हटाउन सम्बन्धितलाई यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गरिसकेका छौं ।’’ शनिबार उनले भने–‘‘भोली साँझसम्म सम्बन्धितले नियम विपरितका अतिक्रमण खाली नगराए पर्सीबाट डोजर लगाएर खाली गराउँछौं र डोजरको खर्च समेत सम्बन्धित घरधनी वा अतिक्रमणकारीबाट असुल गर्नेछौं ।’’
नेत्रगंज गाविसका सचिव गोपाल थापाले शनिबार विहान जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आगामी सोमबारबाट डोजर लगाएर अतिक्रमण हटाउने निर्णय गरेको बताए । ‘‘गाविसको कार्यालयका तर्फबाट यसअघि पटक–पटक पत्र पत्रिका, रेडियोमा सार्वजनिक सूचना एवं मौखिक रुपमा समेत जानकारी गराइसकेको छौं ।’’ सचिव थापाले भने–‘‘अझैपनि सडकको अतिक्रमण नहटाइएकाले सर्वपक्षीय भेला राखेर डोजर लगाउने निर्णय गरेका हौं ।’’
हरिवन र लालबन्दी बजारमा यसअघि नै नियमानुसार पूर्व–पश्चिम राजमार्गमा राखिएका अतिक्रमण हटाएर केहि व्यवस्थित गरिएको भएपनि नवलपुर बजारमा भने अतिक्रमणका कारण बजारको स्वरुप नै विग्रेको भन्दै स्थानीय अगूवाहरु अतिक्रमण हटाउने अभियानका लागि जुर्मुराएका हुन् । पूर्व–पश्चिम राजमार्गको मध्य भागबाट दायाँबायाँ साँढे ८२ फिट तथा नवलपुर मलंगवा सडकखण्डको मध्य भागबाट दायाँ बायाँ ५० फिट भित्र निर्माण
भएका घर, टहरा, घुम्ति पसल एवं राखिएका निर्माण सामग्री, होर्डिङ बोर्ड लगायत सामग्रीहरु डोजर लगाएर खाली गराउने शनिबारको सर्वपक्षीय बैठकले निर्णय गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्व तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालयदेखि पश्चिम लखन्देही पुलसम्म र नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत लर्डब्राइट बोर्डीङ स्कुलसम्म अतिक्रमण हटाइने छ । त्यस्तै उत्तरतर्फ जनता उमावि नवलपुरसम्म बाटोको नक्शा बमोजिम अतिक्रमण हटाइने समेत समितिका संयोजक पासवानले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर परिसरमा शनिबार विहान भएको सर्वपक्षीय बैठकमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कमल खत्री, इलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख संजीव दुलाल, नेत्रगंज गाविसका सचिव गोपाल थापा, विभिन्न राजनैतिक दलका नेताहरु, नवलपुर व्यापार कल्याणकारी समितिका अध्यक्ष शुशिल चालिसे सहित विभिन्न व्यापारीहरु, स्थानीय नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

ठक्करबाट वृद्धको मृत्यु

सर्लाही समाचारदाता
हरिवन, चैत १५ । पूर्व–पश्चिम राजमार्ग स्थित हरिवनको बाँसाटोलमा शनिबार मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. २७ प ५८५७ नम्बरको मोटरसाइकलले विहान पौने ११ बजे ठक्कर दिँदा हरिवन गाविस–९ निवासी वीरबहादुर घिसिङको मृत्यु भएको हो । हरिवन गाविस–९ स्थित बाँसाटोल नजिक पूर्व–पश्चिम राजमार्गमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट घाइते ८० वर्षिय घिसिङको स्थानीय नमूना अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक सर्लाहीकै गौरिशंकर गाविस–५ का विरेन्द्र चौधरीलाई नियन्त्रणमा लिइएको समेत प्रहरीले जनाएको छ ।

स्थापना दिवसमा पत्रकारको कार्यक्रम

सर्लाही समाचारदाता
मलंगवा, चैत १५ । नेपाल पत्रकार महासंघको ५९औं स्थापना दिवसका अवसरमा आइतबार सर्लाहीमा पनि संचारकर्मीहरुले विविध कार्यक्रम गर्ने भएका छन् ।
विहान सदरमुकाम मलंगवामा प्रभातफेरि तथा अन्तरक्रिया कार्यक्रम गरिने नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष अमन कोइरालाले बताए । अध्यक्ष कोइरालाका अनुसार सदरमुकाम मलंगवा परिक्रमा गर्ने प्रभातफेरि अन्तरक्रिया कार्यक्रममा परिणत हुनेछ ।
महासंघले आÇनो स्थापना दिवसको अवसरमा निर्माण हुने नयाँ संविधानमा पत्रकारिता क्षेत्रको हक अधिकार सुनिश्चितताको विषयमा वकालत गर्ने भएको बताइएको छ ।

कालिन्जोरलाई खुल्ला दिशामुक्त घोषणा गर्न समिति

सर्लाही समाचारदाता
कालिन्जोर, चैत १५ । कालिन्जोर गाविसमा खुला दिसा मुक्त घोषणा गर्ने विषयमा शनिबार सर्वपक्षीय भेला सम्पन्न भएको छ ।
भेलाले कालिन्जोर गाविस भित्रका नागरिकहरुले २०७१ साल मंसिर मसान्त भित्रमा आ–आÇनो घरमा शौचालय निमार्ण गर्नुपर्ने निर्णय गरेको छ । घरमा शौचालय निमार्ण नगरेमा गाविसबाट पाउने सबै सेवासुधिवा रोक्का गर्ने निर्णय समेत गरेको छ । बैठकले गाविस सचिव गोबिन्दप्रसाद ढुंगेलको संयोजकत्वमा गाविसलाई खुल्ला दिशामुक्त घोषणा गर्नका लागि ३७ सदस्यीय समन्वय समिति समेत गठन गरेको छ । समितिमा गाविसका ९ वटै वडाका प्रतिनिधिहरु रहेको गाविसले जनाएको छ । घरमा शौचालय निमार्ण गर्न नसक्ने बिपन्न, असहाय, अपाङ्गहरुलाई दुई हजार आर्थिक सहयोग गर्ने निर्णय समेत भएको बताइएको छ । सबैभन्दा पहिला खुल्ला दिशामुक्त घोषणा हुने तीन वडालाई २०७१÷०७२ को अनुदानबाट पुरस्कृत गर्ने समेत भेलाले निर्णय गरेको छ ।

Friday, March 28, 2014

विवादित गाविसमा धमाधम गाउँ परिषद हुँदै

सर्लाही समाचारदाता
मोहनपुर, चैत १४ । तोकिएको समय भित्र परिषद हुन नसकेका जिल्ला स्थित विभिन्न गाविसहरुको धमाधम गाउँ परिषद हुन थालेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकेको  नियमानुसार पुस मसान्त भित्र गाविसहरुको तथा फागुन मसान्त भित्र जिल्ला विकास समितिको परिषद सम्पन्न भईसक्नुपर्ने हुन्छ । तर जिल्ला स्थित ९९ वटा गाविस मध्ये जिल्ला विकास समितिको कार्यालयको तथ्यांक अनुसार सातवटा गाविसको गाउँ परिषद पुस मसान्त भित्र हुन सकेको थिएन । जसमध्ये शुक्रबारसम्म दुईवटा गाविसमा गाउँ परिषद भएका छन् । दुईदर्जन भन्दा बढी गाविसहरुको पुस मसान्त भित्र परिषद हुन नसकेको भएपनि कतिपय गाविसहरुको ‘व्याक डेट’ मा परिषद सम्पन्न गरि कागजात मिलाइएको जानकारहरु बताउँछन् ।
शुक्रबार मोहनपुर गाविसको र बुधबार रामवन गाविसको गाउँ परिषद सम्पन्न भएको हो । शुक्रबार गाविस सचिव गोपाल सिंह आलेको सभापतित्व एवं जिल्ला विकास समितिको कार्यालयका योजना अधिकृत होमबहादुर थापाको प्रमुख आतिथ्यतामा मोहनपुर गाविसको परिषद सम्पन्न भएको छ । कार्यक्रममा गाविस सचिव हक हित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्तलाल कर्ण लगायत स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
गाविस भवन बनाउने विषयमा विवाद हुँदा तोकिएको समयमा परिषद हुन नसकेको र शुक्रबार अधिकाशं राजनैतिक दलहरुबीच सहमति गराएर गाउँ परिषद सम्पन्न गरिएको योजना अधिकृत थापाले बताए । थापाका अनुसार यसअघि मोहनपुरमा गाविस भवन निर्माण सुरु गरिएको भएपनि केही राजनैतिक दलका नेताहरुले पोखरीयामा गाविस भवन बनाउनु पर्ने भन्दै विवाद झिकेपछि मोहनपुर गाविसको परिषद तोकिएको समयमा हुन नसकेको हो ।
निर्माण सुरु भईसकेकै स्थानमा भवनको काम थाल्ने लगायत विविध विषयहरुमा सहमति गर्दै उक्त गाविसको शुक्रबार परिषद सम्पन्न भएको हो । नेकपा एमाले र सद्भावना पार्टी बाहेक अन्य नौवटा राजनैतिक दलका प्रतिनिधिले मोहनपुरमै गाविस भवन निर्माण गर्ने सहमति गरेको थापाले बताए ।
थापाका अनुसार परिषदले आर्थिक वर्ष ०७१÷०७२ का लागि अनुमानित बजेट पारित समेत गरेको छ । त्यस्तै रामवन गाविसको पनि गत बुधबार परिषद सम्पन्न भएको स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए । बस्नेतका अनुसार बगदह र बहादुरपुरको आगामी सोमबार        (चैत १७ गते) तथा सुदामा गाविसको आगामी बुधबार (चैत १९ गते) गाउँ परिषदका लागि समय तोकिएको छ । स्थानीय राजनैतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि सहित सरोकारवालाहरुको स्थानीय गाविस परिसरमै छलफल राखेर परिषद्को मिति तोकिएको स्थानीय विकास अधिकारी बस्नेतले बताए । विवादति गाविसहरुमा सहमतिको प्रयास गर्दै परिषद सम्पन्न गर्न र यावत विषयमा गाविस कार्यालयहरुको स्थलगत अनुगमन गर्न आफू क्षेत्र नं. ६ तथा जिविसका अन्य अधिकृतहरुलाई क्षेत्र–क्षेत्रमा खटाइएको समेत बस्नेतले बताए । गाविसहरुले आर्थिक वर्ष ०७०÷०७१ को परिषद् पुस मसान्त भित्र सक्नुपर्ने भएपनि सर्लाहीका सातवटा गाविसले भने गरेका थिएनन् । मोहनपुर, बहादुरपुर, सलेमपुर, मोतिपुर, सुदामा, बगदह र रामवन गाविसको पुस मसान्त भित्र परिषद् हुन नसकेको जिविस कार्यालयले जनाएको छ । राजनैतिक दलहरुबीचको हानाथाप एवं होडबाजीका कारण यी गाविसहरुमा तोकिएको समयभित्र परिषद हुन नसकेको जिविसले जनाएको छ । सलेमपुर र मोतिपुरमा पनि निकट भविष्यमै गाउँ परिषद् सम्पन्न गर्नका लागि जिविसबाट प्रयासहरु भईरहेको स्थानीय विकास अधिकारी बस्नेतले बताए । पुस मसान्तभित्र दुई दर्जनभन्दा बढी गाविसहरुको परिषद् सम्पन्न नभएपनि कतिपय गाविसहरुको भने ‘व्याक डेट’ मा परिषद गरेको कागजात मिलाइएको स्रोतले दावी गरेको छ ।
पुस मसान्त भित्र परिषद नहुने गाविसहरुको न्यूनतम शर्त मापनमा अंक घट्ने र थप अनुदान लगायत कटौती हुने जानकारहरु बताउँछन् । अधिकांश गाविसमा राजनैतिक हानाथाप एवं तानातानका कारण तथा केहीमा स्वयं गाविस सचिवको कमजोरीका कारण सर्लाहीमा तोकिएको समय भित्र गाविसहरुको गाउँ परिषद् हुन नसक्ने विकृति वर्षौदेखि कायम छ ।

दुर्घटनामा एकको मृत्यु, सात घाइते

सर्लाही समाचारदाता
कर्मैया, चैत १४ । भारतीय नम्बरको छुवा बोक्ने ट्यांकरको ठक्करबाट ढुंग्रेखोला निवासी एक वृद्धको मृत्यु भएको छ ।
ध्द्य घढ(ठद्दठज्ञ नम्बरको ट्यांकरको ठक्करबाट ढुंग्रेखोला गाविस–४ निवासी ७० वर्षिय रामबहादुर भुजेलको मृत्यु भएको हो । विहिबार राती ७ बजे पूर्वबाट पश्चिमतर्फ आइरहेको सो ट्यांकरले ठक्कर दिएपछि उपचारको लागि वीरगंजतर्फ लैजादै गर्दा भुजेलको बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्यांकर र त्यसका चालकलाई नियन्त्रणमा लिएर कार्वाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ । उक्त ट्यांकरलाई इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले नियन्त्रणमा लिएर हरिवन प्रहरीको जिम्मा लगाएको थियो ।
त्यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फूलजोरमा शुक्रबार विहान यात्रुबस पल्टदा सातजना घाइते भएका छन् ।
जनकपुरबाट वीरगंजतर्फ आइरहेको ना. ४ ख ५९२४ नम्बरको यात्रुबस विहान सबा ११ बजे पल्टँदा सातजना यात्र घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि सिन्धुपाल्चोक घर भई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हबल्दार यादव खड्का गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगंजतर्फ लगिएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परि जनकपुरका हरिनारायण चौधरी, सकिल अहमद्, सप्तरीका अम्बेश कुमार सिंह, सर्लाहीका राजन कार्की, धनुषा शान्तिपुरका छवी लामा र रौतहटका कर्ण सहनी सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रहरुमा उपचार भएको छ । दुर्घटनाग्रस्त बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।

८६ परीक्षार्थी र १० निरीक्षक निष्काशित

सर्लाही समाचारदाता
मलंगवा, चैत १४ । एसएलसी    (प्रवेशिका) परीक्षा–२०७० का क्रममा सर्लाहीबाट ८६ जना परिक्षार्थी एवं १० जना निरीक्षक    (गार्ड) कार्वाहीमा परेका छन् । अमर्यादित एवं अनियमित क्रियाक्लाप गरेको आरोपमा उनीहरुलाई परीक्षाको बीचबाटै निष्काशन गरिएको हो ।
गत विहिबार एसएलसीको पहिलो दिन नै विभिन्न परीक्षा केन्द्रबाट ४८ जना परीक्षार्थी निष्काशनमा परेका थिए भने अनिवार्य गणितको दिन सोमबार २३ जना परीक्षार्थी कार्वाहीमा परेका थिए । प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरे लगायत विभिन्न अनुगमन टोलीले ‘चिट’ चोरिरहेको अवस्थामा परीक्षार्थीलाई तथा चिट चोराईरहेको अवस्थामा निरीक्षकलाई फेला पारेपछि निष्काशन गरेको हो ।
पछिल्लो पटक परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जिल्ला शिक्षा कार्यालयमा पठाएको विवरण अनुसार एसएलसी परीक्षामा सर्लाहीबाट नियमिततर्फ ६ हजार आठसय १३ र एक्जाम्टेडतर्फ दुईहजार सातसय १४ गरी नौहजार पाँचसय २७ जना परीक्षार्थी रहेका थिए ।
३३ संस्थागत (निजी) विद्यालय, प्राइभेट १, दुईवटा खुला विद्यालय, गृहिणी मावि सहित जम्मा एकसय १२ वटा शैक्षीक संस्थाका विद्यार्थीहरुको ३१ वटा केन्द्रमा परीक्षा शुक्रबार लिखित परीक्षा सम्पन्न भएको हो । परीक्षा समन्वय समितिका अध्यक्ष समेत रहेका प्रजिअ घिमिरेले एसएलसी परीक्षा तुलनात्मक रुपमा शान्तिपूर्ण एवं मर्यादित रुपमा सम्पन्न भएको बताए । ‘‘परीक्षा शान्तिपूर्ण रुपमै सम्पन्न भयो ।’’ प्रजिअ घिमिरेले भने–‘‘कडाई गर्दा केही विरोधहरु आएपनि मर्यादित परीक्षाका लागि कुनै कसर बाँकी राखिएको थिएन ।’’
जिल्ला स्थित राजनैतिक, शैक्षिक लगायत विविध क्षेत्रका अगुवाहरुले एसएलसी परीक्षाका बारेमा मानसिक रुपमै परिवर्तन हुनुपर्ने खाँचो रहेको समेत प्रजिअ घिमिरेले आग्रह गरे । परीक्षामा कडाइका साथै अध्ययन अध्यापनको स्तर वृद्धिमा समेत ख्याल गरिनुपर्ने आवश्यकता रहेको प्रजिअ घिमिरेले प्रश्ट्याए । ‘‘कतिपय केन्द्राध्यक्षहरुले समेत जिम्मेवारी अनुसार भूमिका निर्वाह नगरेको देखियो ।’’ प्रजिअ घिमिरेले भने–‘‘सबै क्षेत्र, तह र तप्काबाट एसएलसी परीक्षालाई मर्यादित बनाउन सकृयता देखाउनुपर्छ ।’’ जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले अपवादमा बाहेक सर्लाहीमा एसएलसी परीक्षा शान्तिपूर्ण एवं मर्यादित रुपमा सम्पन्न भएको दावी गरे । ‘‘गत विगत वर्षहरुको तुलनामा एसएलसी परीक्षा यसवर्ष थप मर्यादित रुपमा सम्पन्न भएको छ ।’’ जिशिअ विश्वकर्माले भने–‘‘कडाई गरिएको बारे कोही कसैले कडा विरोध पनि गरे, तर परीक्षालाई मर्यादित बनाउने काममा हामी पछि हटेनौं, गलत गरेको भेट्नेलाई कार्वाही नै ग¥यौं ।’’
शनिबार र आइतबार दुई दिनसम्म भने एसएलसी परीक्षा अन्तर्गत प्रयोगात्मक परीक्षा हुँदैछ । विभिन्न १३ वटा विद्यालयहरुमा अंग्रेजी र कम्प्युटर विषयको प्रयोगात्मक हुने जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक कविराज उप्रेतीले बताए । उप्रेतीका अनुसार श्रीमति कृष्णादेवी मलंगवा, पब्लिक मावि मलंगवा, सरस्वती मावि भक्तिपुर, जनज्योती उमावि लालबन्दी, नारायण उमावि केशरगंज, महाविर उमावि हरिपुर, चज उमावि सुखेपोखरी, उमावि कर्मैया, उमावि बरहथवा, उमावि सितापुर, उमावि गोडैता, उमावि गढैयामा अंग्रेजी विषयको तथा बौद्यीदेवी मावि मुसैली र जनज्योती उमावि लालबन्दीमा कम्प्युटर विषयको प्रयोगात्मक हुनेछ ।

अभिभावकको पत्रकार सम्मेलन

सर्लाही समाचारदाता
हरिवन, चैत १४ । एसएलसी परीक्षा दिइरहेका विद्यार्थीहरुका अभिभावकले शुक्रबार पत्रकार सम्मेलन गरी परिक्षार्थी माथि पक्षपातपूर्ण व्यवहार भएको जनाएका छन् । परीक्षा संचालित चतुर्भुजेश्वर जनाता उ.मा.वि. सुखेपोखरीमा केन्द्राध्यक्ष नरेन्द्रराज सुवेदीले परिक्षार्थीमाथि भेदभाव गरेका अभिभावकले जनाएका छन् ।
परिक्षार्थीका अभिभावकले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी केन्द्रमा आफ्ना बाल बालिका माथि अत्यन्त अमर्यादित व्यवहार गरेको उल्लेख गरेका छन् ।
विहिबार भएको ऐच्छिक प्रथम विषयमा ज्ञानज्योती आवासिय विद्यालयका परिक्षार्थीलाई निरीक्षकहरुले समयमै थप उत्तर पुस्तिका नदिएको, परिक्षार्थीलाई मानसिक यातना दिएको, परिक्षार्थीको मनोबल कमजोर पार्ने विभिन्न क्रियाकलाप गरिएको अभिभावकले आरोप लगाएका छन् । परिक्षार्थीका अभिभावकहरु क्रमशः गोमा विष्ट, रामहरि प्रसाई, सञ्जु घिमिरे लगायतले केन्द्राध्यक्षले शिक्षाको व्यापार गर्ने मनसायले परिक्षामा बालबालिकालाई असर पु¥याएको जनाएका छन् ।
यता ज्ञानज्योति आवासिय विद्यालयका संस्थापक हरिकृष्ण बोहराले भने ‘‘केन्द्राध्यक्ष सुवेदीलाई थाहा छैन होला तर प्लान अनुसार आफ्नो परिक्षार्थीलाई भेदभावपूर्ण व्यवहार भएको छ ।’’ केन्द्राध्यक्ष नरेन्द्रराज सुवेदीले भने–‘‘परीक्षा एकदम मर्यादित छ । परीक्षा परीक्षाजस्तो मर्यादित बनाउन खोज्दा आरोप लागेको हो । एक पटक हैन परीक्षार्थीले १० पटकसम्म थप उत्तर पुस्तिका माग्दा समेत दिइएको छ ।’’ सुवेदीले अगाडी भने –‘‘परीक्षा हो, पढाई हैन, परीक्षामा परीक्षाकै नियम हुन्छ ।’’

एचआइभी संक्रमित बालबालिकालाई भत्ता

सर्लाही समाचारदाता
मलंगवा, चैत १४ । एचआइभी एड्सबाट सङ्क्रमित बालबालिकालाई मासिक रूपमा भत्ता दिइने भएको छ । सङ्क्रमित बालबालिकालाई जीवनयापन र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक रूपमा एक हजार रुपैयाँ भत्ता दिन लागिएको हो । सङ्क्रमित १८ वर्षभन्दा मुनिका बालबालिकाले अनुदान पाउनेछन् ।
एचआइभी सङ्क्रमित बालबालिकाका लागि संरक्षण तथा स्याहार गर्न र उनीहरूको क्षमता विकासका लागि अनुदान दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक प्रभाकर झाले  बताए । ‘अनुदान पाएपछि सङ्क्रमित बालबालिकाको दैनिक जीवनयापन सहज हुनेछ’ उनले भने–’यस्तो अनुदानको निरन्तरता हुन आवश्यक छ ।’ एचआइभी सङ्क्रमित बालबालिकाका धेरैको अभिभावकको मृत्यु भइसकेको हुनाले शिक्षा आर्जन र दैनिक जीवनयापन समेत कठिन हुँदै आएको छ ।
‘ग्लोबल फन्ड’को सहयोगमा ‘सेभ द चिल्डे«न’मार्फत ‘कम्युनिटी सपोर्ट ग्रुपले अनुदान वितरण गर्ने जिम्मा पाएको छ । एचआइभी सङ्क्रमित बालबालिकाको लगत लिनका लागि जिल्लाका सञ्चारमाध्यमबाट सार्वजनिक सूचनाबाट आव्हान गरिने र त्यसकै आधारमा अनुदान वितरण गरिने झाले बताए  ।

Thursday, March 27, 2014

मह सिवसमा ¥याली र प्रदर्शनी

कार्यक्रम स्थलमा राखिएको मह एवं मह उत्पादन सम्बन्धि सामानहरुको प्रदर्शनी ।

सर्लाही समाचारदाता
नवलपुर, चैत १३ । नेपाल मौरी पालक संघ सर्लाहीको आयोजनामा बुधबार नवलपुरमा विविध कार्यक्रमहरु सम्पन्न भएको छ ।
मह दिवस एवं मौरी प्रदर्शनी नाम दिईएको सो कार्यक्रममा मौरी पालन क्षेत्रका विज्ञ, सरकारी अधिकारी, मौरी पालन व्यवसाय गर्ने किसान लगायतको सहभागिता रहेको थियो । मौरी पालन क्षेत्रमा आवद्ध उल्लेख्य महिलाहरु सहित सर्वसाधारणको सहभागितामा मौरी पालन एवं मह सम्बन्धी विभिन्न नाराबाजीका साथ सुरु भएको ¥यालीले नवलपुर बजार परिक्रमा गरेको थियो । नवलपुर बजार परिक्रमा पश्चात ¥याली सभामा परिणत भएको थियो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख युगल किशोर तिवारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल सरकार मौरी विकास शाखा ललितपुर गोदावरीकी प्रमुख सावित्री बराल प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा नेपाल मौरी पालक महासंघका महासचिव हेमराज देवकोटाले मौरी पालन व्यवसायका अवसर, चुनौती, कठिनाई, फाइदा लगायत विविध पक्षहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
सरकारको नीति र मौरीपालक किसानहरुको लागी अनुदान रकमको व्यवस्था नभएको हुँदा मौरीपालन व्यवसाय खस्कँदै गएको औल्याएको कार्यपत्रमा मौरी व्यवसाय दीगोपनका लागी अनुदानको आवश्यकता भएको हुँदा सरकारले मौरीपालक किसानको लागी दीगोपना नीति कार्यान्वयन गरी अघि बढ्नु पर्ने सुझाव दिइएको छ । मौरीपालन व्यवसायबारे अझै पनि जनमानसमा भ्रम रहेको भएता भने त्यस्तो नभई आम फूल्यजन्य बनस्पतीमा परागसेचन गर्ने ८० प्रतिशत काम मौरीबाटै हुने भएकाले त्यसतर्फ सचेतना बढाइनु जरुरी रहेको कार्यपत्रले औंल्याएको छ । परागसेचन हुँदा उत्पादनमा समेत बृद्धि हुन गई गरीबी न्यूनिकरण, बन संरक्षण हुनुका साथै स्थानीय बेरोजगार युवाहरुलाई रोजगार बनाई आत्मनिर्भर बनाउन सकिने समेत देवकोटाको कार्यपत्रमा उल्लेख छ ।
कार्यक्रममा चितवनको भण्डारा स्थित मौरी विकास शाखा प्रमुख शिव रिजाल, राष्ट्रिय तेल बाली अनुसन्धान केन्द्र नवलपुरका पिताम्बर ठाकुर, उष्ण प्रदेशीय बागवानी केन्द्रका प्रमुख राकेश ओझा, नेपाल मौरीपालक संघका जिल्ला अध्यक्ष डम्वरदेव पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष मनोज देवकोटा, सागरनाथ वन विकास परियोजनाका अधिकृत अशोककुमार कर्ण लगायतले मन्तव्य राखेका थिए । मौरी पालक संघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेद्वारा स्वागत गरिएको कार्यक्रम संघका सचिव विष्णुप्रसाद मैनालीले सञ्चालन गरेका थिए । नेपाल मौरी पालक संघ सर्लाही, जिल्ला कृषि विकास कार्यालय र चक्रेश्वर तरकारी कृषक समूह नेत्रगंजको संयुक्त आयोजनामा भएको कार्यक्रममा मह, मौरी पालनमा आवश्यक पर्ने विभिन्न सामग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो । २०५५ साल चैत १३ गते नेपाल मौरी पालक महासंघ गठन भएको दिनलाई हरेक वर्ष मह दिवसको रुपमा मनाउने गरिएको महासचिव देवकोटाले बताए ।

घरेलु मदिरा नष्ट

सर्लाही समाचारदाता
ढुंग्रेखोला, चैत १३ । इलाका प्रहरी कार्यालय हरिवनको टोलीले ढुंगे्रखोला गाविस–४ डाबरीबाट बरामद गरिएको एक सय २० लिटर घरेलु मदिरा बुधबार दिउँसो नष्ट गरिएको छ ।
नहरको किनारबाट २० लिटरको ६ वटा भाँडामा हालिएको अवस्थामा बरामद गरिएको घरेलु मदिरा नष्ट गरिएको हो । गस्तीको क्रममा बरामद गरिएको घरेलु मदिरा सरोकारवाहरुको रोहवरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक महेश थापाले दिए । मदिरा बिक्रीका लागी तयार पार्ने व्यक्तिहरु भने प्रहरीलाई देख्नासाथ फरार भएका थिए ।

संकल्प सहकारी संस्थामा चोरी

सर्लाही समाचारदाता
मलंगवा, चैत १३ । सदरमुकाम मलंगवा स्थित संकल्प बचत तथा ऋण सहकारी संस्थामा बुधबार राती चोरी भएको छ ।
मलंगवा नगरपालिका–१० स्थित कार्यालयबाट नगद ५० हजार, कम्प्यूटर एकथान र विभिन्न रजिष्टर एवं कागजात चोरी भएको प्रहरीले जनायो । प्रहरीका अनुसार बिहान ११ बजे कर्मचारीले कार्यालय खोल्ने क्रममा चोरी भएको बारे थाहा लागेको हो ।
संस्थाको पछाडि पट्टी रहेको झ्यालको ग्रिल फोडेर भित्र पसेका चोरहरुले सेफ फोडेर ५० हजार नगद एवं कम्प्युटर तथा केही कागजात लगेको संस्थाका कर्मचारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । गएराती चोरी भएको भएपनि बिहान कार्यालय खोल्ने क्रममा भित्र रहेको सम्पूर्ण सामानहरु छरिएका र दराज फोडेर चोरी भएको फेला पारिएको कर्मचारीहरुको भनाई छ ।
प्रहरीले संस्थाको चोरी भएको रजिष्टर एवं कागजात मुुसैली गाविस–३ स्थित एक पोखरिमा फालिएको अवस्थामा फेला पारेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले बुधबार नै तीन जनालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भईरहेको र पक्राउ परेकाहरुसँग सोधपुछ भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्त पृथ्वीनारायण ओलीले बताए ।

बाख्रापाठालाई भ्याक्सीन लगाउन सुरु

सर्लाही समाचारदाता
मलंगवा, चैत १३ । बाख्रापाठालाई पीपीआर रोग बिरुद्धको निशुल्क भ्याक्सीन लगाउन सुरु गरिएको छ ।
जिल्ला पशु सेवा कार्यालयले जिल्लाको विभिन्न गाविसहरुमा ७५ हजार डोज पीपीआर भ्याक्सीन लगाउनका लागी विहिबारदेखि २६ जना पशुस्वास्थ्य कार्यकर्ता खटाएको छ । पीपीआर रोगको उच्च जोखिम रहेको क्षेत्र, बाख्रापाठाको धेरै आवात जावत हुने हाटबजार र भारतीय सीमा क्षेत्रका गाविसहरुलाई लक्षित गरेर भ्याक्सीन लगाईने कार्यालयका पशु चिकित्सक कृष्णभुषण महतोले जानकारी दिए । वर्षेनी ३० हजार डोज मात्र भ्याक्सीन आउने गरेको भएपनी गत वर्ष धेरै बाख्रापाठा सर्लाहीमा पीपीआर रोगका कारण मरेपछि यस रोग बिरुद्धको थप डोज भ्याक्सीन आएको महतोले बताए । बिरामी, ६ महिना भन्दा कम र गर्भीणी बाख्रालाई भ्याक्सीन लगाउन नहुने पशु चिकित्सकहरुको भनाई छ ।

एसएलसी शान्तिपूर्ण रुपमा सम्पन्न

सर्लाही समाचारदाता
मलंगवा, चैत १३ । एसएलसी (प्रवेशिका) परीक्षा–२०७० अन्तर्गत हरेक दिन निरीक्षक (गार्ड) र परीक्षार्थीहरु निष्काशनमा पर्दै आएका भएपनि बुधबार भने शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको छ ।
बुधबार ऐच्छिक अर्थशास्त्र र ऐच्छिक गणित विषयको परीक्षा रहेको थियो । बुधबार कुनै परीक्षा केन्द्रमा परीक्षार्थी र निरीक्षहरु निष्काशित नभएका जिल्ला शिक्षा कार्यालय सर्लाहीले जनाएको छ । हरिवनमा रहेको एक परीक्षा केन्द्रमा केहि परीक्षार्थीहरु केहि बेर बेहोस भएपनि कुनै किसिमको अर्मयादित गतिविधि नभएको विद्यालय निरीक्षक कवीराज उपे्रतीले जानकारी दिए । चैत्र ६ गतेबाट शुरु भएको एसएलसी परीक्षा विहिबार सकिदैछ ।

धनकौल चिनिमिलमा सर्वपक्षीय छानवीन गरिने

सर्लाही समाचारदाता
मलंगवा, चैत १२ । सर्लाहीको धनकौल प. स्थित अन्नपूर्ण सुगर मिलमा दुईदिन अघि भएको झडपबारे बुधबार भएको छलफलले विभिन्न निर्णयहरु गरेको छ । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले उद्योग र किसानको पक्षबाट देखिएका कमि कमजोरीलाई तत्काल सच्याएर अगाडी बढ्ने सहमति गरेको हो ।
किसानको तर्फबाट देखिएको कमजोरी एवं उद्योगको तर्फबाट चलान पूर्जी वितरण, आन्तरिक व्यवस्थापन र उखुको भुक्तानीमा देखिएको समस्याबारे तत्काल समाधान गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए । ‘‘आज दिनभर भएको छलफलले किसानको पक्ष र उद्योगको तर्फबाट भएक कमि कमजोरी सुधार गर्ने सहमति भएको छ ।’’ प्रजिअ घिमिरेले भने–‘‘किसान र उद्योगीकोतर्फबाट संयुक्त छानवीन गरि दोषि देखिएकालाई कार्वाही गर्ने सहमति समेत भएको छ ।’’
प्रजिअ घिमिरेका अनुसार बैठकले गत सोमबार भएको झडपका क्रममा क्षतिग्रस्त बनेको सशस्त्र प्रहरीको जीप तत्काल उद्योग पक्षले मर्मत संभार गर्ने र छानवीन गरि दोषि देखिएकाबाट भराउने सहमति गरेको छ । किसानहरुले उद्योगले अनियमित ढंगले चलानपूर्जी वितरण गरेको, उखुको भुक्तानी अन्धाधुन्ध वितरण गरेको लगायत आरोप बैठकमा लगाएका थिए ।
बैठकमा किसान प्रतिनिधिहरुले एकमाथि अर्को प्रश्न अनि आक्रोश व्यक्त गरेपछि अन्नपूर्ण मिलका प्रबन्ध निर्देशक (मालिक) राकेश कुमार अग्रवाल निकै भावुक बनेका थिए । ‘‘किसान मेरो लागि देवता हो ।’’ जवाफ दिने क्रममा अग्रवालले भावुक हुँदै भने–‘‘कर्मचारी नियुक्त र चलान वितरणमा बाहिरी हस्तक्षेपले हामी चुकेका छौ ।’’
उद्योगपति आभुक भएपछि उद्योगका महाप्रबन्धक ज्ञानप्रसाद भट्टराई किसान प्रतिनिधिबाट आएको प्रश्नहरुको जवाफ दिएका थिए । राजनीतिक दवावकै कारण उद्योग अलपत्र बनेकोले किसानको सहयोग चाहिएको उनले बताए ।
चलान वितरण, उखुको भुक्तानी लगायतमा सिस्टम अनुसार गर्ने र उद्योगको व्यवस्थापन सुधार गर्ने सहमति भएको महाप्रबन्धक भट्टराइले बताए । ‘‘यसवर्ष हामीले पूर्ण रुपमा उखु क्रसिङ गर्छौ भन्ने सोचेका पनि थिएनौं ।’’ भट्टराइले सर्लाही दैनिकसँग बुधबार साँझ भने–‘‘अब हामी स्थानीय किसानको उखु क्रसिङ नसकि उद्योग बन्द गर्दैनौं ।’’
ट्रायलको रुपमा उद्योग सञ्चालन गरिएकाले चलान वितरण, उखुको रकम भुक्तानी आदिमा समस्या देखिएको र आगामी वर्ष तालिका बनाएरै काम गरिने भट्टराइले बताए । ‘‘ट्रायलकै रुपमा उद्योग सञ्चालन गरिएकाले किसानको उखु सर्भे नगरिएकाले चलान वितरणमा समेत समस्या देखिएको छ ।’’ महाप्रबन्धक भट्टराइले भने–‘‘आगामी वर्षबाट सर्भे गरेर सिस्टममा उद्योग सञ्चालन हुनेछ, जसले गर्दा देखिएका यावत समस्याहरु आउँदैनन् ।’’ गत सोमबारको घटना उद्योगका कर्मचारीको काम गर्ने प्रवृत्ति, किसानको ढाँट्ने समस्याले लगायतले गर्दा निम्तिएको समेत महाप्रबन्धक भट्टराइले दावी गरे ।
गत सोमबार धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगमा किसानहरुले विभिन्न माग राख्दै प्रदर्शन गरेपछि स्थितीलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी र किसानहरु बीचमा झडप भएको थियो । झडपका क्रममा इलाका प्रहरी कार्यालय गढैयाका प्रहरी निरीक्षक रुद्र चुँडाल सहित सुरक्षाकर्मीहरु एवं  आधा दर्जनभन्दा बढी किसान घाइते भएका थिए । बैठकले घटनामा संलग्नहरुको खोजी कार्य गरि कारवाही गर्ने समेत निर्णय गरेको छ ।
उद्योग व्यवस्थापकले उखु हुदै नभएकालाई चलना पुर्जी दिएको, राजनीति पहुचबलाले मात्रै चलान पाउने गरेको र होली पर्वको अवसरमा किसानलाई भुक्तानि नगरेको भन्दै गत सोमबार स्थानीय किसानहरु सयौं टायरगाढामा उखु लिएर उद्योगमा पुगेका थिए । उद्योगले तालिका नबनाइ आसेपासेलाई मात्र चलान बिक्रि गर्दा किसान मारमा परेको हथियौलका उखु कृषक अभय सिंहले बताए । हथियौल, बलरा र छटौलमा एक महिना यता कसैले चलनापुर्जी नपाएको उनले बताए । किसानको उन्नती गर्न स्थापना भएको चिनी उद्योग व्यक्तिको लाभमा मात्रै सिमित भएको डुमरीयाका कृषक राजेश सिंहले बताए । उद्योगबाट निस्केको दुर्गन्धित पानीले सिचाइका लागि प्रयोग हुने मनुषमारा सिचाइमा अर्को समस्या उत्पन्न भएको उनले बताए ।
उखु वार्डमा चलान र उखु खरिद विक्रि गर्ने दलालका कारण किसना मार्कामा परेको उखु कृषक पप्पु चौधरीले बताए । एक ट्रयाक्टर उखु उद्योगलाइ दिन दलालबाट २ हजारमा चलानपुर्जी किन्नु परेका उखु कृषक नविन अधिकारीले बताए ।

भैंसी र राँगा बरामद्

सर्लाही समाचारदाता
पर्सा, चैत १२ । सशस्त्र प्रहरीले पर्सा नाँकाबाट बुधबार १५ वटा भैँसी र ४ वटा राँगा बरामद गरेको छ ।
भारतीय सीमा क्षेत्रमा पर्ने पर्सा गाविसको खुल्ला नाकाबाट भन्सार छलेर भारत तर्फ लैंजादै गरेको अवस्थामा राँगा भैसी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको करिव एक लाख ९२ हजार बरावरको राँगा भैसी बुधबार नै जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । व्यापारीहरु भने प्रहरीलाई देख्नासाथ फरार भएका सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प सागरनाथले जनाएको छ । सशस्त्र प्रहरीका हवल्दार सत्यदेव यादवको नेतृत्वमा गएको प्रहरीले राँगाभैसी बरामद गरेको हो ।

एसएलसीमा दुई निरीक्षक निष्काशित

सर्लाही समाचारदाता
मलंगवा, चैत १२ । एसएलसी परीक्षा–२०७० का क्रममा बुधबार भएको छैठौं दिन बुधबार सदरमुकाम मलंगवा स्थित जेसिज बोर्डिङ् स्कुल सेन्टरबाट दुई निरीक्षकलाई निष्काशित गरिएको छ ।
एसएलसी परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै निरीक्षकहरु बिजय राम र उपेन्द्र साहलाई निष्काशित गरिएको हो । सो केन्द्रका केन्दाध्यक्षलाई पनि सचेत गराईएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक कवीराज उपे्रतीले जानकारी दिए । एसएलसी परीक्षा अन्तर्गत बुधबार भएको स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयमा सर्लाहीको ३१ वटै परीक्षा केन्द्रमा परीक्षार्थीहरु भने निष्काशित नभएका बताईएको छ । चैत्र ६ गतेबाट शुरु भएको एसएलसी परीक्षा आगामी शुक्रबार सकिदै छ ।

माईक्रोबस दुर्घटनामा दुई जना घाईते


सर्लाही समाचारदाता
मूर्तिया, चैत १२ । नयाँरोड–बरहथवा सडकखण्ड अन्तर्गत मुर्तियामा बुधबार भएको माइक्रोबस दुर्घटनामा दुईजना घाइते भएका छन् ।
मूर्तिया गाविस–३ सोल्टी मोडमा बुधबार बिहान माईक्रोबस दुर्घटना हुँदा दुई जना घाईते भएका हुन् । बरहथवाबाट नयाँरोड तर्फ आउँदै गरेको बा. १ ज ६५९८ नम्वरको माईक्रोबसको स्टेरिङ लक भएर दुर्घटना भएको हो । दुर्घटनामा परी मकवानपुर कमानेभोर्ले गाविस–६ की २० वर्षीय वीणा थिङ् र सोही ठाउँ निवासी १८ वर्षकी सुजिता गोले घाईते भएका ईलाका प्रहरी कार्यालय मुर्तियाले जनाएको छ । उनीहरुको हरिवन अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनापछि माईक्रोबसका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ । स्टेरिङ् लक भएका कारण एक्कासी माईक्रो पल्टिएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

आगलागीबाट पाँच लाख बराबरको क्षति

सर्लाही समाचारदाता
घुर्कौली, चैत १२ । घुर्कौली गाविस–५ स्थित उखु बारीमा बुधबार आगलागी हुँदा एक बिगाहा क्षेत्रफलमा लगाएको उखु जलेर नष्ट भएको छ ।
स्थानीय ईन्द्रमणि मैनालीको खाली जमिनमा रहेको पत्कर जलाउन बालिएको आगोका कारण अर्का स्थानीय कृष्णप्रसाद उपे्रतीको एक बिहागा क्षेत्रफलमा लगाएको उखु जलेर नष्ट भएको हो । आगलागीबाट करिव पाँच लाख बराबरको उखु जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । बिहान सबा ११ बजेतिर भएको आगालागी प्रहरी र स्थानियको सहयोगमा करिव एक घण्टापछि नियन्त्रणमा लिईएको थियो । समयमा नै आगो नियन्त्रणमा लिएका कारण थप क्षति हुन नपाएको स्थानीयले बताएका छन् । आगलागीबाट एक बिगाह जमिनमा लगाएको सम्पूर्ण उखु जलेर नष्ट भएपछि उपे्रती परिवार चिन्तित भएको छ ।

एकलाखको माछा मरे

एकलाखको माछा मरे
सर्लाही समाचारदाता
जानकीनगर, चैत १२ । जानकीनगर गाविस–२ मा रहेको एक पोखरीमा मंगलबार राती अज्ञात व्यक्तिले विष हालेपछि एक लाख बराबरको माछा मरेको छ ।
हरीहर मावी जानकीनगरको नाममा रहको पोखरीमा अपरिचित व्यक्तिले विष हालिदिएपछि पोखरी भित्र रहेका माछाहरु मरेका हुन् । ठेक्का मार्फत पोखरिमा माछा हालेको भएपनि अपरिचित व्यक्तिले विष हालेर माछा मरेपछि स्थानीय चिन्तित भएका छन् । विष हालेपछि पोखरी भित्र रहका सयौँ साना ठुला माछा मरेका जानकीनगरका स्थानीयले बताएका छन् ।

Tuesday, March 25, 2014

उखु चलानका लागि इन्दुशंकरमा किसानको मारामार

उखु चलानका लागि इन्दुशंकरमा किसानको मारामार
सर्लाही समाचारदाता
हरिवन, चैत ११ । उद्योगमा उखु ल्याउनका लागि चलानपूर्जी माग्दै हाल हरिवन स्थित इन्दुशंकर चिनी उद्योगमा दैनिक सयौं किसानहरुको भिड लाग्न थालेको छ । जिल्ला स्थित धनकौल प. मा रहेको अन्नपूर्ण सुगर मिलले अपेक्षाकृत उखु क्रसिङ गर्न नसकेको र महोत्तरीको रामनगर स्थित एभरेष्ट सुगर मिल्स र रौतहटको गरुडा स्थित श्रीराम सुगर मिलले उखु लिन छाडेपछि सर्लाहीका सम्पूर्ण किसानहरुको भिड इन्दुशंकर चिनी उद्योगमा लागेको हो । चैत दोस्रा साता वित्न लाग्दा समेत खेतको उखु ‘जतिको तती’ रहेको भन्दै किसानहरुले चिन्ता व्यक्त गरेका छन् । दैनिक सयौं किसानहरुको चाप बढेपछि उद्योगका उखु प्रबन्धक योगनारायण रजक कार्यालय आउनै छाडेका छन् ।
चार विगाहमा उखु खेती गरेको भएपनि हालसम्म एउटा टायरको मात्र चलान पाएको र उखु खेतमै सुक्न लागेको जानकीनगर गाविस–२ का किसान शंकर लामाले गुनासो गरे । ‘‘अहिलेसम्म एउटामात्र चलान पाइएको छ ।’’ मंगलबार उद्योग परिसरमा भेटिएका लामाले गुनासो गरे–‘‘ठूलाबडा एवं नेताहरुको सोर्स लगाउन सक्नेहरुले भटाभट चलान पाईरहेको छन् र उखु ल्याईरहेका छन्, हामीजस्ता बोल्न नसक्नेहरुको उखु खेतमै सुक्ने भो ।’’
सलेमपुर निवासी तराई मधेश सद्भावना पार्टी नेपालका केन्द्रीय सदस्य कौशलकिशोर यादवले उद्योगले चलान वितरणमा राजनैतिक हिसावले पक्षपात गरेको आरोप लगाए । ‘‘उद्योगले राजनैतिक पूर्वाग्रहका हिसाबले चलान वितरण गरिरहेको छ ।’’ मंगलबार उद्योग परिसरमै भेटिएका यादवले भने–‘‘यस्तो हुँदा टाठाबाठा, ठेकेदार लगायतले बढी फाइदा लिन्छन् र वास्तविक किसान मारमा पर्छन् ।’’ यसअघि पालो सिस्टममा चलान वितरण हुँदै आएको भएपनि विगत केहीवर्ष अघिदेखि त्यस्तो सिस्टम पूर्ण रुपमा हटेको र पहुँच पु¥याउन सक्नेहरुले मात्र चलान पाउँदै आएकाले समस्या देखिएको यादवले गुनासो गरे । ‘‘सिस्टममा हिड्ने हो भने कुनै समस्या हुँदैन ।’’ यादवको कथन थियो–‘‘निकट भविष्यमै मुसुरो, गहुँ लगायत विभिन्न बालीहरु भित्र्याउनका लागि ट्रयाक्टरहरु थ्रेसर चलाउँदै हिड्ने भएकाले उखु ओसार्न साधन नपाएर किसानहरु थप मारमा पर्ने निश्चित छ ।’’ किसानहरुलाई कहिले चलान त कहिले साधनको समस्याले गाँजिरहेको यादवको कथन छ ।
दक्षिणी क्षेत्रका गाउँहरुमा खटिएका जेटिएले अनियमित ढंगले ठेकेदारी प्रथामा चलान वितरण गरेको समेत किसानहरुको आरोप छ । ‘‘जेटिएले पालो सिस्टममा भन्दा पनि ठेकेदार मार्फत चलान बाँडेर अनुचित कमाई गरिरहेका छन्, अर्को उनीहरुलाई गाउँमा किसानले भेट्नै सक्दैनन् ।’’ यादवको दावी थियो–‘‘त्यसतर्फ उद्योग व्यवस्थापनले बेलैमा ध्यान दिनुपर्ने जरुरी छ ।’’ समयमै किसानहरुको समस्या समाधान एवं सिस्टम अनुसार काम अगाडी नबढाए आक्रोशित किसानहरुले जे पनि गर्न सक्ने यादवले चेतावनी दिए ।
चैत्र महिनाको हावाले खेतको चिस्यान संगै उखु पनि सुक्न थालेपनि चलान नपाएका कारण किसानहरु पीडित बनेका छन् । २० दिन देखि लगातार चिनी उद्योग धाउँदा पनि चलान नपाएको २ बिघा १० कठ्ठाको खडा उखु सुक्न थालेको सलेमपुरका उखु कृषक रामकैलास रायले चिन्ता व्यक्त गरे ।  सबै काम छोडेर चलानका लागि एक महिना देखि दैनिक चिनी मिल आउनु परेको पिडारी गाविस–५ का फेकु रायले गुनासो गरे ।
चलान लिन उद्योगमा किसानको दवाव बढन थाले पछि उखु प्रबन्धक योगनारायण रजक सहित उच्च तहका कर्मचारी कार्यालय छोडेर बाहिर बस्न थालेका छन् । पछिल्लो समय उखु प्रबन्धक सहित जेटिएहरुको मोबाइल फोन प्रायजसो स्वीचअफ रहने र घण्टी गएपनि नउठ्ने गरेको किसानहरुको गुनासो छ । नेपालमा सबै भन्दा बढी उखु खेति हुने सर्लाहीमा इन्दशंकर र यसै वर्ष क्रसिङ शुरु गरेको अन्नपुर्ण गरी दुई चिनी उद्योग सञ्चलनमा छन् । धनकौल स्थित अन्नपुर्ण चिनी उद्योगमा चलान वितरणमा अनियमितता भएको भन्दै किसान र प्रहरी बिच सोमबार झडप भएको थियो । झडपमा परि प्रहरी निरीक्षक रुद्र चुडाल सहित आधा दर्जन सुरक्षाकर्मी एवं किसानहरु घाइते भएका थिए भने सशस्त्र प्रहरीको जीपमा समेत तोडफोड भएको छ । बुुधबार जिल्ला प्रशासन कार्यालयमा वार्ता गरी समस्या समाधान गर्ने सहमतिमा विवाद तत्कालका लागि मथ्थर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले उद्योग व्यवस्थापनमा रहेका अधिकारीहरुले जिल्लाको दक्षिणी क्षेत्र स्थित गाउँ–गाउँमा दलाल मार्फत कम मूल्यमा उखु किनेर उद्योगमा उखु ल्याउने गरेका कारण किसानहरुले चलानका लागि पीडा बेहोर्नु परेको दावी गरे । ‘‘किसानहरुको यस्तो अवस्था आउनुमा उद्योगपतिहरुको पनि ठूलो हात छ ।’’ मैनालीले भने–‘‘मंसिरमै उद्योग चलाए, अहिले चलानका लागि यस्तो समस्या हुँदैन, यहाँ त उद्योग ढिला सञ्चालन गर्ने अनि व्यवस्थापनले गाउँ–गाउँमा दलालमार्फत कम मुल्यमा उखु खरिद गरेर किसानहरुलाई चलान नदिई कम मुल्यमा विक्री गर्न बाध्य पार्ने प्रपञ्च रचिएको छ ।’’ इन्दुशंकर चिनी उद्योगका महाप्रबन्धक विजयकान्त झाले यसअघि महोत्तरीको रामनगर र रौतहटको गरुडामा ठेकेदार मार्फत उखु लैजाने किसानहरुकै उद्योगमा चलानका लागि बढी भिड देखिएको दावी गरे । ‘‘गतवर्षहरुमा रामनगर र गरुडा उखु दिने किसानहरु यसवर्ष ती उद्योगले केही समय अघि हात झिकेपछि हाम्रो उद्योगमा चलानका लागि आएका हुन् ।’’ महाप्रबन्धक झाले दावी गरे–‘‘ती दुवै उद्योग र धनकौलको उद्योगमा उखु दिन भनेर सिजन अघि हाम्रो सर्भेमा नपरेका किसानहरुको मात्र अहिले बढी भिड लागेको हो ।’’
सर्लाहीको दक्षिणी क्षेत्रबाट गतवर्ष रामनगर स्थित एभरेष्टले साँढे १६ लाख क्वीन्टल एवं गरुढा स्थित श्रीरामले पाँचलाख क्वीन्टल उखु लगेको भएपनि यसवर्ष ती दुवै उद्योगले पछिल्लो समय हात झिकेपछि उक्त उद्योगहरुमा उखु दिदै आएका किसानहरु बाध्य भएर हाम्रोमा चलानका लागि मेरो छुट भयो भन्दै पूनः सर्भे गराउन र चलान माग्न आएको महाप्रबन्धक झाको दावी छ ।  दैनिक ४० हजार क्वीन्टलका दरले ४० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्यका साथ पुषको दोश्रो साताबाट सञ्चालनमा आएको इन्दुशंकरले हालसम्म २२ लाख क्वीन्टल उखु क्रसिङ गरेको छ ।
उद्योगको मिलगेट क्षेत्रमा अझै ९–१० लाख क्वीन्टल उखु बाँकी रहेको र जिल्लाभर थप १८ लाख क्वीन्टल उखु सर्भे भएकाले उद्योगमा चलानका लागि चाप बढ्नु स्वभाविकै भएको झाको कथन छ । जिल्लामा ७० लाख क्वीन्टलभन्दा बढी उखु उत्पादन हुने अनुमान गरिएको महाप्रबन्धक झाले बताए ।

मुल्यमा आ–आफ्नै अडान

मुल्यमा आ–आफ्नै अडान
सर्लाही समाचारदाता
हरिवन, चैत ११ । उखु मुल्य तय गर्ने विषयमा गठित त्रिपक्षीय कार्यदलको मंगलबार काठमाडौंमा बसेको बैठकले पनि कुनै टुंगो लगाउन सकेन ।
उद्योग मन्त्रालयमा अपरान्ह बसेको बैठकमा चिनी उद्योगपतिहरुले गतवर्षको जति मूल्य दिन नसकिने अडान राखेकाले कुनै टुंगो लाग्न नसकेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । ‘‘सरकारका विभिन्न मन्त्रालयका सहसचिवहरुसँग हामी किसानहरु र उद्योगपतिहरुले छुट्टाछुट्टै तथा संयुक्त रुपमा मुल्यका विषयमा छलफल ग¥यौं ।’’ अध्यक्ष मैनालीले मंगलबार साँझ सर्लाही दैनिकसँग टेलिफोनमा भने–‘‘तर कुनै टुंगो लाग्न सकेन र अर्को बैठक कहिल्य बस्ने भन्ने पनि तय हुन सकेन ।’’
उद्योगपतिहरुले प्रति क्वीन्टल भ्याट सहित चारसय ६० रुपैयाभन्दा बढी दिन नसक्ने तथा आफूहरुले कम्तिमा गतवर्षको जति अर्थात चारसय ८१ रुपैया मुल्य हुनुपर्ने अडान राखेपछि बैठक विना निश्कर्ष टुंगिएको मैनालीले बताए । बैठकमा उद्योग मन्त्रालय, अर्थ मन्त्रालय, कृषि मन्त्रालय, आपूर्ति मन्त्रालय लगायतका सहसचिवहरु तथा उद्योगपतिहरु शशिकान्त अग्रवाल, राजेश केडिया र राजकुमार अग्रवाल एवं किसान नेताहरुको सहभागिता रहेको थियो ।
किसान नेता र उद्योगपतिहरुबीच चौथो चरणको वार्तामा समेत मुल्यका विषयमा कुनै सहमति हुन नसकेपछि सरकारलाई मध्यस्थताका लागि आग्रह गरेका थिए । दुवैपक्षबाट आएको आग्रह पश्चात बसेको त्रिपक्षीय बैठकले मुल्य तय गर्न कार्यदल गठन गरेको थियो । आगामी चैत १५ गते शनिबार भित्र मुल्यका विषयमा टुंगो लगाउने वा आवश्यक प्रतिवेदन सरकारलाई बुझाउने सहमतिका साथ केही समयअघि त्रिपक्षीय कार्यदल गठन भएको थियो ।
कार्यदलको यसअघि चैत ७ गते पनि बैठक बसेको र आगामी बैठक बस्ने बारेमा कुनै सहमति हुन नसकेको मैनालीले बताए ।  ‘‘उद्योग मन्त्रालयका सहसचिवज्यूले सचिव र मन्त्रीज्यूसँग छलफल गरेर आगामी बैठकको बारेमा जानकारी गराउने भन्नु भएको छ ।’’ मैनालीले भने । सुन्य मूल्य लेखिएको नेटपूर्जीका आधारमा उद्योगलाई उखु दिईरहेको किसानहरुले हाल प्रति क्वीन्टल चारसय रुपैयाका दरले पेश्कि रकम लिइरहेका छन् ।

एसएलसी दिँदा दिँदै चार छात्रा बेहोस

एसएलसी दिँदा दिँदै चार छात्रा बेहोस
सर्लाही समाचारदाता
जब्दी, चैत ११ । एसएलसी परीक्षाका क्रममा मंगलबार दुई छुट्टाछुट्टै केन्द्रमा चारजना छात्राहरु परीक्षा दिदा दिदै एक्कासी बेहोस भएका छन् ।
एभरेष्ट उमावी परीक्षा केन्द्र जब्दीमा मंगलबार अनिवार्य सामाजिक विषयको परीक्षा सुचारु भएको केहि बेरमा तीनजना छात्रा एक्कासी बेहोस भएका हुन् । परीक्षा सुरु भएको करिव १० मिनेट पछि तीन जना छात्राहरु एक्कासी बेहोस भएका सहायक केन्दाध्यक्ष ललिन्द्र चौधरीले जानकारी दिए । बेहोस भएका छात्राहरु मध्ये दुई जनाले केहि बेरपछि होसमा आएर परीक्षा दिएको भएपनि एक छात्रा भने परीक्षाको अवधी भरी बेहोस भएका चौधरीले बताए ।
उनीहरुले परीक्षा दिन आउँदा केहि पनि नखाएका र अन्य दिनको तुलनामा आज गर्मी पनि बढी भएका कारण छात्राहरु बेहोस भएका हुन सक्ने आशंका गरिएको छ । बेहोस हुने तीनै जना छात्रा नेपाल राष्ट्रिय जनता उमावी कालिन्जोर घारिबथानका रहेका चौधरीले बताए । परीक्षामा अन्य केहि परीक्षार्थीहरुले पनि एक्कासी पेट दुख्यो भनेपछि कक्षा भित्रै प्राथमिक उपचार गरेर परीक्षा दिन लगाएको जनाईएको छ ।
त्यस्तै सर्लाहीको बरहथाव स्रोत केन्द्रमा पनि आज एसएलसी परीक्षा दिँदा दिँदै एक छात्रा एक्कासी बेहोस भएकी छन् ।
त्यस्तै परीक्षामा होहल्ला गरिएको भन्दै पब्लिक मावि पर्सा परीक्षा केन्द्रमा आज ३० परक्षार्थीहरुको आधा घण्टा उत्तरीपुस्तिका खोसिएको जिल्ला शिक्षा कार्यालयका कवीराज उपे्रतीले जानकारी दिए । सो परीक्षा केन्द्रमा केन्द्राध्यक्षलाई पनि सचेत गराईएको उप्रतीले बताए । त्यस्तै सर्लाहीको ढुंगे्रखोला परीक्षा केन्द्रमा एक र बबरगंज परीक्षा केन्द्रमा दुई परीक्षार्थीहरुको बीचैमा उत्तरीपुस्तिका खोसिएको जिल्ला शिक्षा कार्यालय सर्लाहीले जनाएको छ । अन्य दिन विभिन्न परीक्षा केन्द्रमा परीक्षार्थीहरु र निरीक्षक निष्काशति हुने गरेका भएपनि आज भने ३१ वटै परीक्षा केन्द्रामा कोही पनि निष्काशनमा नपरेका बताईएको छ ।

पन्ध्रसय चल्ला बरामद

पन्ध्रसय चल्ला बरामद
सर्लाही समाचारदाता
मलंगवा, चैत ११ । सशस्त्र प्रहरी बल संग्रामपुर बेस क्याम्पले मंगलबार साँझ भारतबाट आयात भईरहेको एकहजार पाँचसय ब्रोइलर कुखुराका चल्ला बरामद् गरेको छ ।
संग्रामपुर नाकाबाट नेपालतर्फ भित्रिरहेको अवस्थामा उक्त चल्ला बरामद् भएको सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डलले बताए । सप्रअ मण्डलका अनुसार सशस्त्र प्रहरी निरीक्षक जनक उपाध्याय नेतृत्वको टोलीले उक्त चल्ला बरामद् गरेको हो ।
टाउकामा चल्लाका कार्टुन राखेर भारतबाट नेपाल भित्र्याईरहेको अवस्थामा सशस्त्र प्रहरीको टोली पुगेपछि चल्ला बोक्नेहरु भने भागेको बताइएको छ । बरामद् चल्ला मंगलबार साँझ नै पशु क्वारेन्टाइन चेक पोष्टको जिम्मा लगाइएको र नष्ट गरिएको सशस्त्र प्रहरीले जनायो ।

ईश्वरपुर र जब्दीमा सरसफाई सम्मेलन

ईश्वरपुर र जब्दीमा सरसफाई सम्मेलन
सर्लाही समाचारदाता
ईश्वरपुर, चैत ११ । गाविस क्षेत्रलाई खुला दिसामुक्त बनाउनका लागि नगरोन्मुख गाविसको कार्यालय ईश्वरपुरले मंगलबार १६ बुँदे घोषणापत्र जारी गरेको छ ।
२०७१ चैत मसान्त भित्र गाविसका विभिन्न सरकारी कार्यालयका कर्मचारी, राजनीतिक दलका प्रतिनिधी, शिक्षक लगायतले आ–आÇनो घरमा सौचालय निर्मार्ण गरिसक्नु पर्ने लगायत १६ बुँदे घोषणापत्र जारी भएको हो । २०७१ साल चैत मसान्त भित्र खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने गरि काम कार्वाही अगाडी बढाउने गरि घोषणा पत्र जारि गरिएको गाविस सचिव मदन थिङले बताए । थिङका अनुसार घोषणा सफल बनाउन विभिन्न कार्यतालिका समेत बनाइएको छ ।
घोषणापत्रमा उल्लेखित कुराहरु पुरा नगर्नेलाई २०७२ साल जेठ १ गतेबाट गाविसबाट पाउने सेवा सुविधामा रोक लगाइने बताईएको छ । विपन्न परिवारलाई शौचालय निमार्णका लागी गाविसले सहयोग गर्ने समेत घोषणापत्रमा उल्लेख गरिएको छ ।
गाविस सचिव मदन बहादुर थिङ्को अध्यक्षता तथा जिल्ला विकास समितिका योजना अधिकृत होमबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर शिवशंकर रौनियार, नेपाली काँग्रेस गाउँ सभापति बेचुप्रसाद तिमल्सिना, ईलाका प्रहरी कार्यालय केशरगंजका प्रमुख यज्ञबहादुर भट्राई, लालबन्दी गाविसका सचिव शम्भु ठाकुर, मनकामना बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष पद्मकुमारी खरेल लगायत अतिथी रहेका थिए ।
त्यस्तै जब्दी गाविसमा पनि मंगलबार गाविस स्तरिय सरसफाई सम्मेलन सम्पन्न भएको छ । गाविसको वडा नम्वर ६ हरिभवनमा भएको सम्मेलनले प्रमिला न्यौपानेको संयोजकत्वमा १५ सदस्यीय वडा सुधार समिति गठन गरेको छ । गाविस सचिव सोम प्रसाद न्यौपानेको अध्यक्षता तथा नेपाली कांग्रेस गाउँ सभापति कमल चौधरीको उपस्थितिमा सरसफाई सम्मेलन सम्पन्न गरिएको गाविस कार्यालयले जनाएको छ । सरसफाई सम्मेलनमा जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नु पुर्व सबै स्थानीयले आफुहरुलाई झुल वितरण गर्नुपर्ने माग गरेका छन् । साथै कार्यक्रममा नेपाली कांग्रेस गाउँ सभापति कमल चौधरीले विपन्न परिवारलाई शौचालयको लागि गाविसले ७० प्रतिशत रकम दिन सक्ने बताएका छन् । त्यस्तै चैत अन्तिम सम्ममा सबैले शौचालय बनाउनु पर्ने र नबनाएको खण्डमा गाविस बाट पाउने सबै सेवा सुविधाबाट बन्चित हुने गाविस सचिव न्यौपानेले बताएका छन् । विपन्न परिवारलाई शौचालय निमार्णका लागी सहयोग गर्ने समेत निर्णय भएको छ ।
सर्लाहीलाई २०७२ साल सम्ममा खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नका लागी हाल विभिन्न गाविसहरुमा सरसफाई सम्मेलन भैरहेको छ । गत माघ अन्तिम साता भएको जिल्ला सरसफाई सम्मेलनले सर्लाहीलाई वि.सं. २०७२ सालसम्म खुला दिसामुक्त जिल्लाको रुपमा घोषणा गर्ने घोषणापत्र जारी गरेको थियो ।

स्वंयम सेविकालाई एड्स सम्बन्धी प्रशिक्षण

स्वंयम सेविकालाई एड्स सम्बन्धी प्रशिक्षण
–सुनिल ठाकुर÷सर्लाही दैनिक
मलंगवा, चैत ११ । प्रवाशी कामदार तथा तिनका परिवारका लागि एचआईभी एड्स सम्बन्धी विस्तृत जानकारी मगंलवार औहरीका सम्पूर्ण महिला स्वयंम सेविकालाई प्रशिक्षण दिइएको छ ।
औरही गाविसका सम्पूर्ण महिला स्वयंम सेविकालाई मोप्प नेपाल संस्थाका प्रशिक्षक विरेन्द्र गुप्ताले प्रशिक्षण दिएका छन् । मोप्प नेपाल संस्थाका आयोजना, नेपाल सरकार राष्ट्रिय एड्स तथा योग रोग नियन्त्रण केन्द्र्रको सहयोग तथा आम्दा नेपाल हामी परियोजनाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
प्रशिक्षण कार्यक्रममा एचआईभी एड्स सर्ने तरिका, बच्ने उपायका बारेमा सहभागिहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा औरही उपस्वास्थ्य चौकीका इन्चार्ज राशनारायण साह, सुन्दरपुरका नन्दलाल साह, औरही विद्यालयका शिक्षक मखन प्रसाद यादव, दिप कुमार यादव, रामप्रवेश यादव लगायतको समेत उपस्थिति रहेको थियो ।

युवा संघको बैठक सम्पन्न

युवा संघको बैठक सम्पन्न
सर्लाही समाचारदाता
हरिवन, चैत ११ । नेकपा एमाले समर्थित युवा संघ नेपाल सर्लाहीको नवनिवार्चित कार्य समितिको मंगलबार हरिवनमा पहिलो बैठक सम्पन्न भएको छ ।
एमालेका जिल्ला अध्यक्ष मनोज देवकोटाको प्रमुख आतिथ्यतामा भएको बैठकले सर्लाहीको ६ वटै क्षेत्रमा ईन्चार्ज तोकिएको छ । बैठकले युवा संघ सर्लाहीका अध्यक्ष रमेश चौँलागाईको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सचिवालय समिति सदस्य गठन गरेको छ । त्यस्तै संगठन, प्रचार, महिला लगायत समिति पनि गठन गरिएको युवा संघ सर्लाहीले जनाएको छ । युवा संघ नेपालको केहि साता पहिला हरिवनमा भएको जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको थियो ।

ल्यान्डलाईन टेलिफोन सुचारु

ल्यान्डलाईन टेलिफोन सुचारु
सर्लाही समाचारदाता
हरिवन, चैत ११ । सोमबार मध्यान्हबाट जिल्लाभर अबरुद्ध भएको ल्यान्डलाईन टेलिफोन सेवा मंगलबार बिहानबाट सुचारु भएको छ ।
धनुषाको लालगढमा अप्टिकल फाईबरको तार काटिएको र मर्मत गरेर आज बिहान ११ बजेबाट टेलिफोन सञ्चालनमा ल्याईएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमको आÇनै एक्स्चेन्ज भित्र फोन लागेपनि अन्य मोवाईल र फोनहरुमा सम्पर्क हुन सकेको थिएन । सोमबारदेखि टेलिफोन अवरुद्ध हुँदा सर्लाही सदरमुकाम मलंगवा सहित लालबन्दी, हरिवन, बरहथवा, लगायत क्षेत्रका सर्वसाधारण समस्या परेका थिए ।

Monday, March 24, 2014

सर्लाहीमा भित्रियो ‘थोपा सिंचाई’ प्रविधि

सर्लाहीमा भित्रियो ‘थोपा सिंचाई’ प्रविधि
सासापुर–३, पटौनामा तराकारी खेतीका लागि अपनाइएको थोपा सिंचाई प्रविधि । 

–टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
सासापुर, चैत १० । सिंचाईको लागि पानी अभाव हुने क्षेत्रमा तरकारी खेतीका लागि नयाँ सिंचाई प्रविधि भित्रिएको छ । विरुवामा मात्र पानी सिंचाई हुने र अनावश्यक पानी खर्च नहुने ‘थोपा सिंचाई’ प्रविधि सुरु भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत जिल्ला कृषि विकास कार्यालयको सहयोगमा हाम्रो कृषि सहकारी संस्था सासापुरले समूहमार्फत उक्त प्रविधिबाट विभिन्न तरकारी खेती सुरु गरेको हो । पानीको अभाव भएका स्थानमा थोपा सिचाई प्रविधि मार्फत तरकारी खेती सुरु गरिएको कृषि विकास कार्यालयका प्रमुख युगल किशोर तिवारीले बताए । कृषि प्रमुख तिवारीका अनुसार हाल सासापुर, अत्रौली, पत्थरकोट र लालबन्दीमा उक्त प्रविधिबाट नमूनाका रुपमा तरकारी खेती सुरु गरिएको छ । ‘‘यो सिंचाई प्रविधि विदेशतिर बढी प्रचलित छ ।’’ उनले भने–‘‘यहाँ पनि पानीको अभाव भएका स्थानहरुमा हामीले नमूनाका रुपमा सुरु गरेका छौं ।’’
हाम्रो कृषि सहकारी संस्थाका अध्यक्ष केशबराज थापा (बाबु) ले ४ वटा समूहमार्फत थोपा सिचाई प्रविधिबाट १० कठ्ठा क्षेत्रफलमा बोडी, काँक्रा, चाइनिज साग, भिण्डी, करेला, खुर्सानी, गोलभेँडा लगायत तरकारी खेती सुरु गरिएको बताए । वैदेशिक रोजगारीमा गई गाउँ फर्केर आएका स्थानीय सोमबहादुर महत, तिलक खड्का, रामकृष्ण बस्नेत लगायत स्थानीय यूवा एवं महिलाहरुको सहभागितामा तरकारी खेती सुरु गरिएको सहकारी संस्थाका अध्यक्ष थापाले बताए । ‘‘तरकारी खेती गर्न पानीकै समस्याले चिन्तित थियौं ।’’ थापाले भने–‘‘तर थोपा सिंचाई प्रविधिबाट हामी अत्यन्त खुसी भएका छौं र यो प्रविधि अत्यन्त प्रभावकारी समेत लागेको छ ।’’
ट्याँकीमा पानी हालेर पाइप मार्फत तरकारीको विरुवाको फेदमा मात्र पानीको थोपाहरु झार्दै सिंचित गर्ने प्रविधिलाई ‘थोपा सिंचाई’ भन्ने गरिन्छ । उक्त प्रविधि अन्तर्गत सय लिटर पानीले ३ कठ्ठा जग्गामा गरिएको तरकारी खेतीलाई सिंचाई गर्न पुग्ने गरेको सहकारी संस्थाका अध्यक्ष थापाले बताए ।
नहर, डिप बोरिङ वा पम्प्सेटबाट पानी पटाउँदा अनावश्यक रुपमा पानीको खर्च हुने, पानीको बहावले विरुवालाई हानी पु¥याउने लगायत विभिन्न नकारात्मक पक्ष भएपनि ‘थोपा सिंचाई’ प्रविधिबाट सिंचाई गर्दा पानीको बचतका साथै विरुवालाई थप फाईदा समेत पुग्ने कृषि अधिकारीहरुले बताएका छन् । यो प्रविधि पूर्व–पश्चिम राजमार्ग सहित सिंचाईको सुविधा नभएका स्थानहरुमा बढी लाभदायी र प्रभावकारी हुने किसानहरुले बताए ।
जानकारहरुका अनुसार उक्त प्रविधिबाट पानी पटाउँदा (सिंचाई गर्दा) विरुवाको फेदमा मात्र पानी खर्च हुने र जग्गाको अन्य क्षेत्रमा खर्च नहुने भएकाले गाग्रो वा बाल्टिनमा ओसारिएको पानीले नै सिंचाई गर्न पर्याप्त रुपमा पुग्ने गर्दछ । एक कठ्ठा जग्गामा थोपा सिचाई प्रविधि अपनाउन पाईप एवं ट्यांकी खरिद गर्दा ६ हजार हाराहारी लागत लाग्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
नमूनाको रुपमा चारवटा गाविसमा सुरु गरिएको यो प्रविधि सफल भएमा थप गाविसहरुमा समेत कार्यालयले सहयोग पु¥याउने कृषि कार्यालय प्रमुख तिवारीले बताए ।

चिनी उद्योगको विवादमा सुरक्षाकर्मी घाइते

चिनी उद्योगको विवादमा सुरक्षाकर्मी घाइते
सर्लाही समाचारदाता
धनकौल प., चैत १० । उखु विक्री गर्ने चलानपूर्जीको विषयमा भएको विवादका कारण सोमबार धनकौल प. स्थित चिनी उद्योग परिसरमा भएको झडपमा सुरक्षाकर्मी सहित आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।
धनकौल प. स्थित अन्नपूर्ण सुगर मिलमा किसान र प्रहरी विच झडप हुँदा आधा दर्जनभन्दा बढी घाइते भएका हुन् । मिलले स्थानीयलाई चलान नदिएको, जिल्ला वाहिरको उखु ल्याएको, ठेकदारलाई चलान बेचेको, नेताको सिफारीसमा चलान वितरण गरेको लगायतको आरोप लगाउँदै उद्योग परिसरमा विरोध प्रदर्शन गरेपछि स्थिती नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी र स्थानीय सर्वसाधारण घाइते भएका थिए । किसानले प्रहरीको दुईवटा जिप ढुंगा हानेर तोडफोड गरेका छन् । मिलले विना चलानका उखु क्रसिङ गर्न नसक्ने भन्दै फिर्ता गर्न खोजेपछि किसानले विरोध प्रदर्शन गरेका थिए ।
भिड तितरवितर पार्न प्रहरीले करिब दुई दर्जन हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले घटनामा परि इलाका प्रहरी कार्यालय गढैयाका प्रहरी निरीक्षक रुद्र चुँडाल सहित केही सुरक्षाकर्मी घाइते भएको बताए । सशस्त्र प्रहरीको जिप जलाउने प्रयास गरेपछि हवाई फायर र अश्रु ग्यास प्रहार गरेर भिड तितर वितर पारिएको उनले बताए । आक्रोसित सयौं किसान मिल वाहिर दुईघण्टा भन्दा बढीसम्म नारावाजी गरेर बसेका थिए । विरोधमा उत्रिएका किसानको ढुंगा प्रहारबाट सुरक्षाकर्मीहरु घाइते भएका हुन् । उखु खेतमै खडा भएपनि मिलले क्रसिङका लागि चलान नदिएर ठेकेदार मार्फत उखु खरिद गर्न थालेपछि विना चलानपूर्जी करिब ५० ट्रयाक्टर उखु लिएर किसान पुगेका थिए । मध्यान्ह १२ बजेदेखि सुरु भएको तनाव अपरान्ह ३ बजे वार्ता गरि समस्याको समाधान निकाल्ने सहमतपिछि मथ्थर भएको छ । प्रहरी प्रवक्ता ओलीले आगामी बुधबार जिल्ला प्रशासन कार्यालयमा उद्योग, किसान सहितका सरोकारवाला पक्षहरुबीच वार्ता हुने गरि तत्काललाई समस्या समाधान भएको बताए । बुधबार वार्ता हुनेभएपछि घटना नियन्त्रणका क्रममा पक्राउ परेका एकजनालाई पनि प्रहरीले छाडेको छ ।

मोटरसाईकलको ठक्करबाट घाईते

मोटरसाईकलको ठक्करबाट घाईते
सर्लाही समाचारदाता
नवलपुर, चैत १० ।   पूर्व पश्चिम राजमार्ग अन्तर्गत नेत्रगंजमा स्थित उष्ण प्रदेशिय बागवानी केन्द्र नजिक मोटरसाईकले  ठक्कर दिँदा दुई जना घाईते भएका छन् । नवलपुरबाट आउँदै गरेको साईकललाई सोही दिशाबाट आईरहेको बा ३८ प ७२८८ नम्वरको मोटसाईकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाईकल चालक खोटाङ् च्यानडाँडा ४ का ३० वर्षिय नवीन गुरुङ र साईकलमा सवार  भक्तिपुर ९ मियाखोर ९ बस्ने ५२ वर्षीय भोला खड्का घाईते भएका ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरीक्षक सन्दीप कुमार दुलालले जानकारी दिए ।
घाईते दुवैको लालबन्दी स्थित मोडल अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ  । घाईते साईकल चालक खडकको टाउकोमा गम्भिर चोट लागेकाले ६ वटा टाका लगाईएको छ भने मोटरसाईकल चालक गुरुङ्को खुट्टामा चोट लागेको छ ।

‘घोगामा दाना नलाग्नु किसानकै कमजोरी’

‘घोगामा दाना नलाग्नु किसानकै कमजोरी’
सर्लाही समाचारदाता
लालबन्दी, चैत १० । जिल्लाको उत्तरी क्षेत्र स्थित विभिन्न स्थानमा गरिएको मकै खेतीमा घोगामा दाना नलाग्नुमा किसानकै कमजोरी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
सोमबार स्थलगत रुपमा अवलोकन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख युगलकिशोर तिवारी नेतृत्वमा कृषि अधिकृतहरुको टोलीले त्यस्तो निष्कर्श निकालेको हो । ‘‘किसानहरुले देखाएको मकैको प्याकेट अनुसार डेट एक्स्पायर भेटियो ।’’ जिल्ला कृषि विकास कार्यालय प्रमुख तिवारीले भने–‘‘प्याकेट भित्र रहेका मकैका दाना साना र सदाभन्दा फरक खाले हुँदा पनि फिर्ता नगरि रोपिएको रहेछ ।’’ किसानहरुले वेवास्ता गर्दा यस्तो स्थिती आएको समेत कृषि प्रमुख तिवारीले बताए । सोमबार पत्थरकोट गाविस–९ नयाँगाउँमा स्थानीय किसानहरुले छरेको मकैका प्याकेट देखाउँदा अधिकांश डेट एक्स्पायर फेला परेको समेत कृषि प्रमुख तिवारीले बताए ।
मकैको घोगामा दाना नलागेको भन्दै किसानहरुले आइतबार पूर्व–पश्चिम अन्तर्गत लालबन्दीमा प्रदर्शन गरेका थिए । काट्ने बेला भएका मकैमा दाना नलागेपछि ‘थोता’ मकैका घोघा बोकेर पत्थरकोट र अत्रौलीका किसानहरुले लालबन्दीमा प्रदर्शन गरेका हुन् । लालबन्दीका प्रत्येक विउ बिक्रेता पसलमा समेत पुगेर किसानहरुले विरोध प्रदर्शन गरेका थिए ।
विशेषगरि उक्त क्षेत्रमा छरिएको राजकुमार जातको हाइब्रीड मकैको बोटमा घोगामा दाना नलागेको स्थानीय किसानहरुले गुनासो गरे । अत्रौली, पत्थरकोट, परवानीपुर गाविस लगायतको करिब २० हेक्टर क्षेत्रफलमा गरिएको मकै खेती अन्तर्गत घोगामा दाना नलागेको किसानहरुले बताएका छन् । बाली भित्र्याउने समयमा बोटमा दाना नै नलागे पछि मकै खेती गर्ने किसानहरु चिन्तीत बनेका छन् । आफूले १५ कठ्ठामा लगाएको मकै खेती अन्तर्गत घोगामा दाना नलागेको पत्थरकोट गाविस–९ का दुर्गाबहादुर माझीले बताए । “ठेक्कामा लिएर १५ कठ्ठामा गरेको मकै खेती घोगामा दाना नलागेका कारण विजोग भएको छ ।’’ माझीले भने–‘‘रोप्दाखेरी प्याकेट भित्रका दाना केही साना देखिएपनि हतार भएकाले छरियो, म्याद सकिए नसकिएको हेर्ने तिर ध्यान नै गएन ।’’
उक्त गाउँका अधिकांश किसानले जग्गा ठेक्कामा लिएर मकै खेती गरेकाले घोगामा दाना नलाग्दा उनीहरु अत्यन्त मर्कामा परेका छन् । २ वर्ष अगाडीसम्म राजुकमार जातको बीउबाट प्रति कठ्ठा ३ क्वीन्टल सम्म मकै फल्ने गरेपनि हाल भने अधिकांश बोटका घोगामा दाना नलागेको स्थानीय किसान मसिना परियारले बताइन् । उनले १० कठ्ठा जग्गा ठेक्कामा लिएर मकै खेती गरेकी थिइन् । किसानहरुले लालबन्दी बजार स्थित विभिन्न पसलबाट बीउ, बिजन आदी खरिद गर्ने गरेका छन् । लालबन्दी स्थित विभिन्न पसलबाट राजकुमार जातका तीनहजार एकसय २५ केजी मकैको विउ विक्री भएको सोधपुछबाट थाहा भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिवारीले बताए । उक्त विउले कम्तिमा तीनसय ४५ विगाह क्षेत्रफल जग्गामा मकै खेती गर्न पुग्दछ । किसानहरुले मकैको विउ विक्रेता वा सरकारबाट क्षतिपूर्ति भराउनुपर्ने माग समेत गरेका छन् । केही वर्षअघि शंकरपुर, राजघाट, हजरिया लगायत विभिन्न गाविसमा समेत मकैका घोगामा दाना नलाग्दा किसानहरु पीडित बनेका थिए । पछि सरकारले पीडित किसानहरुले विभिन्न किसिमले राहत उपलब्ध गराएको थियो ।

दुई निरीक्षक र एक परीक्षार्थी निष्काशित

दुई निरीक्षक र एक परीक्षार्थी निष्काशित
सर्लाही समाचारदाता
मलंगवा, चैत १० । एसएलसी     (प्रवेशिका) परीक्षा–२०७० अन्तर्गत चौथो दिन सोमबार भएको परीक्षामा सर्लाहीमा दुई निरीक्षक र एक परीक्षार्थीलाई निष्काशित गरिएको छ ।
अमर्यादित गतिविधि गरेको भन्दै रामवन उमावी स्रोत केन्द्र र जेसिस बोडिङ स्कुल मलंगवाका निरीक्षक निष्काशित गरिएको जिल्ला शिक्षा कार्यालयले जनायो । परीक्षार्थीलाई चिट चोराउँदै गरेको भेटिएपछि उनीहरुलाई निष्काशित गरिएको हो ।
त्यस्तै हरिवनमा रहेको महादेव जनता उमावी स्रोत केन्द्रमा अमर्यादित गतिविधि गरेको भन्दै एक परीक्षार्थीलाई निष्काशित गरिएको जिल्ला शिक्षा कार्यालय सर्लाहीले जनाएको छ । हालसम्म सर्लाहीमा एसएलसी परीक्षा अन्तर्गत ८६ जना परीक्षार्थी र ८ जना निरीक्षक कार्वाहीमा परेका छन् ।
अमर्यादित एवं अनियमित क्रियाकलाप गर्ने केन्द्राध्यक्ष, निरीक्षक, परीक्षार्थी एवं आम सर्वसाधारणलाई नियमानुसार तुरुन्त कार्वाही गरिने एसएलसी परीक्षा समन्वय समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए ।
एसएलसी परीक्षामा चिट चोराउने र प्रश्नपत्र बाहिर पठाउने गरेको भन्दै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सर्लाही सहित तराईका ८ जिल्लालाई संवेदनशील जिल्लाको सुचिमा राखेको छ ।

जनज्योतिमा विद्यार्थीलाई विदाई

जनज्योतिमा विद्यार्थीलाई विदाई
सर्लाही समाचारदाता
लालबन्दी, चैत्र १० । जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा स्नातक तह तेस्रो वर्षको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई सोमाबर विदाई गरिएको छ ।
नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एक कार्यक्रमका बीच उनीहरुलाई विदाई गरेको हो । क्याम्पस ईकाई कमिटीका अध्यक्ष टेष्टराज भण्डारीको अध्यक्षता तथा व्यवस्थापन समितिका उपाध्यक्ष डिल्ली अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख वीरेन्द्र चौधरी, सहायक क्याम्पस प्रमुख दीपक पोखरेल, प्रध्यापक संघका जिल्ला अध्यक्ष बाबुराम दहाल, प्राध्यापक सुनिल चौधरी, बिद्यार्थी नेता उतम परियार, संगठन विभाग प्रमुख उज्वल कार्की  लगायतको उपस्थिती रहेको अनेरास्ववियु जिल्ला अध्यक्ष मोहन भण्डारीले बताए ।
विदाई कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो । साँस्कृतिक कार्यक्रममा भाग लिने विद्यार्थीहरुलाई सोही कार्यक्रममा शैक्षिक सामाग्री समेत प्रदान गरिएको बताइएको छ ।

प्याब्सनको बैठक सम्पन्न

प्याब्सनको बैठक सम्पन्न
सर्लाही समाचारदाता
लालबन्दी, चैत्र १० । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सर्लाहीको बैठक लालबन्दीमा सोमबार सम्पन्न भएको छ ।
प्याब्सन सर्लाहीका अध्यक्ष गोपाल पञ्जियारको सभापतित्व एवं राष्ट्रिय उपाध्यक्ष आशिष श्रेष्ठको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । प्याब्सनको क्षेत्रीय समिति गठन तयारीका लागि बैठकमा छलफल भएको बताइएको छ ।
राष्ट्रिय उपाध्यक्ष धनुषा, महोत्तरी लगायत जिल्लाहरुमा छलफल सकेर सर्लाही आइपुगेको अवसरमा बैठक बसेको हो । बैठकमा निजी तथा आवासीय विद्यालयहरुको शुल्क निर्धारण, बुक लिष्ट लगायत बारेमा समेत छलफल भएको थियो । केही दिनभित्रै हुने क्षेत्रीय समिति चयनका क्रममा शुल्क र बुक लिष्टका बारेमा निर्धारण गर्ने बैठकले निर्णय गरेको प्याब्सन सर्लाहीका सल्लाहकार मनोज थापाले बताए ।

मकैका घोगामा दाना लागेन, किसान चिन्तित्

मकैका घोगामा दाना लागेन, किसान चिन्तित्

लालबन्दीमा दाना नलागेका मकैका घोगा प्रदर्शन गर्दै किसानहरु । (तस्वीर ः शशी देवकोटा÷सर्लाही दैनिक) 

सर्लाही समाचारदाता
लालबन्दी, चैत ०९ । मकैको घोगामा दाना नलागेको भन्दै किसानहरुले आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीमा प्रदर्शन गरेका छन् । काट्ने बेला भएका मकैमा दाना नलागेपछि ‘थोता’ मकैका घोगा बोकेर पत्थरकोट र अत्रौलीका किसानहरुले लालबन्दीमा प्रदर्शन गरेका हुन् । लालबन्दीका प्रत्येक विउ बिक्रेता पसलमा समेत पुगेर किसानहरुले विरोध प्रदर्शन गरेका थिए ।
जिल्लाको उत्तरी क्षेत्र स्थित अत्रौली, पत्थरकोट, परवानीपुर गाविस लगायतको करिब २० हेक्टर क्षेत्रफलमा खेती गरिएको मकैको घोगामा दाना नलागेको किसानहरुले बताएका छन् । बाली भित्र्याउने समयमा बोटमा दाना नै नलागे पछि मकै खेती गर्ने किसानहरु चिन्तीत बनेका छन् ।
आफूले दुई बिघामा लगाएको मकैको घोगामा दाना नलागेको पत्थरकोट गाविस–९ जियाजोरका राजेन्द्र थापाले बताए । “दुई बिघा जमिनमा ६० हजार भन्दा बढी खर्च गरेर मकै खेती गरीयो तर बाली भित्र्याउने समयमा बोटमा दाना नै छैन ।” उनले सर्लाही दैनिकसँग भने–“साह्रै मर्कामा परियो, नाफाको त कुरै छोडौं आफुले गरेको लगानी समेत डुब्ने भयो ।”
विशेषगरि ‘राजकुमार’ जातको मकैको घोगामा दाना नलागेको थापाले बताए । गतबर्ष देखी यो जातको बालीमा गुणस्तर घट्दै गएको र यसपाली दाना नै नलागेको उनले गुनासो गरे । ‘‘राजकुमार जातको मकै खेती गरीएको क्षेत्रमा सबै मकैका बोटमा घोगा लागेको छ, तर दाना भने छैन ।’’ थापाले भने–‘‘२ वर्ष अगाडीसम्म त्यो जातको बीउबाट प्रति कठ्ठा ३ क्वीन्टलसम्म मकै फल्ने गरेको थियो ।’’ अघिल्लो वर्षसम्म उक्त जातको मकैको खोया रातो हुने गरेपनि यो पटक भने खोया पनि सेतो भएको र दाना पनि नलागेको किसानहरु बताउँछन् ।
किसानहरुले स्थानीय बजारको कृषी सेवाबाट बीउ, बिजन आदी खरिद गर्ने गरेका छन् । लालबन्दी स्थित गौतम कृषी सेवा केन्द्रका संचालक दिलिप गौतमले आफुले सरकारले सिफारीस गरेको जातको बीउहरु मात्र बेच्ने गरेको दाबी गर्दै किसानहरुले क्षतीपूर्ती पाउनु पर्ने बताए । “सरकारले सिफारीस गरेको मकैको बिउ बेचेको हो, गुणस्तरको बारेमा त सरकारले ध्यान दिनु पर्ने हो नि, त्यसैले किसानहरुले क्षतीपूर्ती पाउनु पर्छ ।”
अत्रौलीका बृद्ध किसान गोपाल गिरीले डेढ बिघा जमिन भाडामा लिएर राजकुमार जातको मकै मात्र लगाएको र घोगामा दाना नलाग्दा ऋणले डुब्ने अवस्था आएको गुनासो गरे । ‘‘भाडा वापतको ९० हजार जमिन धनीलाई तिर्नुपर्ने छ । ब्याजमा ऋण लिएर खेतीमा खर्च गरेको ५० हजार छुट्टै छ ।’’ उनले चिन्ता व्यक्त गरे–‘‘अब त घरबास नै उठ्ने भयो ।’’ अधिकांश किसानले सयकडा ३ रुपैयाँ          (बार्षिक ३६ प्रतिशत) मा ऋण लिएर मकै खेती गर्ने गरेका छन् । पीडित किसानहरुले उचित क्षतिपूर्तिका माग गरेका छन् । क्षतिपूर्ति नपाए कडा आन्दोलन गर्ने चेतावनी समेत किसानहरुले दिएको छन् ।
विउ बिक्रेता दिलीप गौतमले पहिलो पटक राजकुमार जातको विउमा दाना नलाग्ने समस्या आएको वताए । उनले सिफारीस जातकै विउ भएको उल्लेख गर्दै किसानलाई परेको मर्काका वारेमा विउ उत्पादक कम्पनीलाई सुचित गर्ने प्रतिवद्धता जनाए ।
जिल्ला कृषी कार्यालयका कार्यालय प्रमुख युगल किसोर तिवारीले मकैमा दाना नलागेको विषयमा अनुसन्धान भईरहेको बताए । कार्यालयबाट बाली विकास अधिकृत, कृषि प्रसार अधिकृत सहितको तीन सदस्यीय टोलीले आइतबार नै किसानहरुको खेतमा स्थलगत अवलोकन गरेको र आफू पनि सोमबार उक्त क्षेत्रमा स्थलगत अवलोकनका लागि जाने तिवारीले जानकारी दिए । ‘‘प्रारम्भिक रुपमा हेर्दा ‘डेट एक्स्पायर’ भएका मकैको विउ छरेको भेटिएको छ ।’’ तिवारीले आइतबार सर्लाही दैनिकसँग भने–‘‘भोली स्थलगत रुपमा हेरेपछि विस्तृतमा भन्न सकिन्छ ।’’
केही वर्षअघि शंकरपुर, राजघाट, हजरिया लगायत विभिन्न गाविसमा समेत मकैका घोगामा दाना नलाग्दा किसानहरु पीडित बनेका थिए । पछि सरकारले पीडित किसानहरुलाई विभिन्न किसिमले राहत उपलब्ध गराएको थियो ।

एसएलसीमा ८५ परीक्षार्थी नष्काशित

एसएलसीमा ८५ परीक्षार्थी नष्काशित
सर्लाही समाचारदाता
मलंगवा, चैत ०९ । एसएलसी     (प्रवेशिका) परीक्षा–२०७० अन्तर्गत आइतबार तेस्रो दिनको परीक्षासम्म ८५ जना परीक्षार्थी तथा ६ जना निरीक्षक (गार्ड) कार्वाहीमा परेका छन् ।
अमर्यादित एवं अनियमित क्रियाकलाप गर्ने परीक्षार्थी एवं निरीक्षकलाई निष्काशन गरिएको हो । तेस्रो दिन आइतबार अनिवार्य गणित विषयका परीक्षाका क्रममा २३ जना परीक्षार्थीलाई निष्कासन गरिएको छ । शुक्रबार दोस्रो दिन नेपाली विषयको परीक्षाका क्रममा तीनजना निरीक्षक (गार्ड) र २३ जना परीक्षार्थी निष्काशित भएका छन् । श्रीमति माइरानी मिक्चन मावि सासापुर केन्द्रबाट १३, महेन्द्र आदर्श मावी कर्मैयाबाट चार, जनता उमावी रामवन केन्द्रबाट तीन, चतुर्भूजेश्वर जनता उमावी सुकेपोखरी केन्द्रबाट दुई र उमावी गोडैता केन्द्रबाट एकजना परीक्षार्थीलाई निष्काशन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
त्यस्तै अमर्यादित गतिविधि गरेको आरोपमा अनुगमन समितिले उमावि बरहथवा परीक्षा केन्द्रबाट एक निरीक्षकलाई सोमबारबाट काममा नआउने गरि निष्काशन गरिएको छ । सासापुर, सुखेपोखरी र कर्मैयामा प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेको टोलीले साथमा ‘चिट’ फेला परेका परीक्षार्थीहरुलाई निष्कासन गरेको हो ।
परीक्षाको पहिलो दिन विभिन्न केन्द्रबाट ४८ जना परीक्षार्थी एवं दुईजना निरीक्षक तथा दोस्रो दिन १४ जना परीक्षार्थी एवं एकजना निरीक्षक निष्काशनमा परेका थिए । परीक्षा केन्द्र भित्र एवं बाहिर अमर्यादित एवं अनियमित क्रियाक्लाप गर्ने निरीक्षक, परीक्षार्थी र अन्य सर्वसाधारणलाई तुरुन्त कार्वाही गरिने प्रअिज घिमिरेले बताए ।

मलंगवाका अतिक्रमित पसल हटाइयो

मलंगवाका अतिक्रमित पसल हटाइयो
सर्लाही समाचारदाता
मलंगवा, चैत ०९ । मलंगवा नगरपालिका कार्यालयले बसपार्क नजिक साप्ताहिक रुपमा हाट        (बजार) लाग्ने जनसागर बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरि टहरामा राखिएका पसलहरु हटाएको छ ।
जनसागर बजारमा वर्षौ देखि अतिक्रमण गरेर निर्माण गरिएका व्यापारिक टहराका पसलहरु हटाइएको मलंगवा नगरपालिका प्रमुख रामचरित्र मेहताले बताए । ‘‘बजारलाई अझ व्यवस्थित बनाउनका लागि पसलहरु हटाइएको हो ।’’ प्रमुख मेहताले भने–‘‘क्रमशः नगरपालिकाका अन्य क्षेत्रमा रहेका अतिक्रमहरु पनि हटाइने छ ।’’
नगरपालिकको स्वामित्वमा रहेको सार्वजनिक जग्गा बर्षौदेखि अतिक्रमण गरेर निर्मित टहराहरुमा सञ्चालन गरिँदै आएको कपडा लगायत विभिन्न पसलहरु हटाइएको मेहताले जानकारी दिए । रेडक्रश भवनदेखि सार्वजनिक बसपार्कको शौचालय सम्म अतिक्रमण गरेर बनाईएको २० वटा पसल तीन दिन लगाएर खाली गराइएको हो । खाली गराइएको सो स्थानमा अब नगरपालिकाले भवन निमार्ण गरेर भाडामा लगाउने समेत मेहताले बताए ।
हाल हटाईएको पसल व्यवसायहरुलाई नजिकै रहेको जनसागर पोखरिको किनारमा सारिएको छ । सो पोखरिको किनारमा पनि व्यापार व्यवसाय सञ्चालन गर्न छुट्टै अर्को २४ कोठाको सटर निमार्ण गरिने मलंगवा नगरपालिकाले जनाएको छ । यता व्यापारीहरुले भने बिना कारण आफुहरुलाई हटाएको भन्दै नवल रायको संयोजकत्वमा संघर्ष समिति गठन गरेको बताइएको छ ।