Thursday, February 27, 2014

तस्करी हुँदै गरेको सुपारी बरामद्

तस्करी हुँदै गरेको सुपारी बरामद्
सर्लाही समाचारदाता
मलंगवा, फागुन १५ । भारततर्फ अवैध ढंगले निकासी हुँदै गरेको अवस्थामा प्रहरीले बुधबार मध्य राती तीन क्वीन्टल सुपारी बरामद् गरेको छ । सुपारी आयात एवं निर्यातमा तस्करी हुने गरेको भनेर मुकुककको सुदर पूर्वी काँकडभिट्टा नाका प्रचलित रहेपनि सर्लाहीको ग्रामीण नाकामा समेत तस्करी हुँदै गरेको अवस्थामा ठूलो परिमाणमा सुपारी बरामद् भएको हो । सर्लाहीका विभिन्न नाकाहरु समेत प्रयोग गरेर सुपारी भारततर्फ तस्करी हुने गरेको पछिल्लो घटनाले पुष्टी गरेको छ ।
बुधबार राती करिब एक बजे सदरमुकाम मलंगवाबाट पश्चिम पर्ने फेनहारा नाकाबाट भारत तर्फ तीन साइकलमा सुपारी लिएर जाँदै गरेको अवस्थामा प्रहरीले सुराकिको अधारमा पक्राउ गरेको हो । तीन वटा साइकलमा ५०÷५० किलो दरका बोरामा सुपारी निकासी हुँदै गरेको अवस्थामा प्रहरीले बरामद् गरेको थियो । फेनहारा नाकामा प्रहरीलाई देख्न साथ साइकल र सुपारी छोडेर सम्बद्ध अभियुक्तहरु फरार भएको प्रहरीले जनाएको छ । प्रमुख नाकाहरु प्रयोग गरेर ठुलो परिमाणमा सुपारी भारत लिएर जान नसके पछि सर्लाहीमा पुराना सइकलमा सुपारी तस्करी हुन थालेका जानकारहरुले बताएका छन् ।
सिमा नजिकको गाउमा गोदाम बनाएर साइकल, भरिया र कम परिमाणमा मध्यरतीमा सुपारी भारतीय भुमिमा ओसार्ने काम फस्टाएउदै गएको स्थानीय बासिन्दाले बताए । सुपारी तस्करीको सुचनाका अधारमा प्रहरीले ग्रामीण नाकामा निगरानि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायव निरीक्षक यज्ञनन्द साहको नेतृत्वमा खटिएको प्रहरीले सुपारी बरामद् गरेको थियोे ।
बुधबार मध्यराती पक्राउ परेको ५४ हजार मुल्य बराबरको ९ बोरा सुपारी र तीनवटा साइकल भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

चेस प्रतियोगिता सम्पन्न

चेस प्रतियोगिता सम्पन्न
सर्लाही समाचारदाता
हरिपुर, फागुन १५ । जिल्ला सदरमुकाम मलंगवामा विहिवार जील्ला स्तरीय चेस प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा सर्लाहीका १६ जना खेलाडीहरुले सहभागिता जनाएका समितिका जिल्ला सचिव अरुण भुजेलले जानकारी दिए । प्रतियोगितामा मलंगवाका कृष्णदास श्रेष्ठ प्रथम र मोहन श्रेष्ठ दोस्रो र सिसौटियाका शिवशंकर मिश्र तेस्रो भएका थिए । प्रतियोगिताका बिजेताहरुलाई समाजसेवी दिनेश रायले शील्ड, मेडलका साथ नगद पुरस्कार वितरण गरेका थिए । बुधवार देखी  प्रतियोगिता शुरु भएको थियो ।

डीआइजीले विरुवा रोपे

डीआइजीले विरुवा रोपे
सर्लाही समाचारदाता
कविलासी, फागुन १५ ।  पर्यावरण वातावरण सुधारका लागि विहिवार सशस्त्र प्रहरीले बृक्षारोपण गरेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल सर्लाहीले कविलासी स्थित आफ्नो जिल्ला कार्यालय मातहतमा रहेको खालि जग्गामा बृक्षारोपण गरेको हो ।
सशस्त्र प्रहरी बल मध्यक्षेत्र रुद्रवाहिनी गणका  प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक शैलेन्द्र खनालले आँपको बोट रोपेर बृक्षारोपण शुरु गरे । प्रहरी कर्यालयको अधिनमा रहेको २७ विग्हा जग्गामध्ये वरिपरि रहेको खालि क्षेत्रमा  आँप, कटहर, लिची र अनारको ५ सय दुइवटा बिरुवा रोपिएको सशस्त्र प्रहरी उपरीक्षक हृदय नरायण मण्डलले बताए ।
स–शस्त्र प्रहरीको जिल्ला कार्यालय स्थापनाकालागि केही वर्ष अगाडि कविलासीको जग्गा सरकारले उपलब्ध गराएको थियो ।

चितायन मेला शुरु

चितायन मेला शुरु
सर्लाही समाचारदाता
हरिपुर, फागुन १५ । माहाशिवरात्रीको अवशरमा विहिवारदेखि हरिपुर ५ मा ऐतिहासिक चितायन मेला शुरु भएको छ । जिल्लाकै ऐतिहासिक महत्व बोकेको चितायन माहादेव मन्दिरमा प्रत्येक वर्ष शिवरात्रीको अवसरमा  मेला लाग्दै आउने गरेको छ ।
चितायन महादेव मन्दिर विकास समितिको आयोजनामा शुरु भएको मेला २१ गतेसम्म सञ्चालन हुने आयोजकले  जनाएको छ  । मेलामा कृषिका साथै विभिन्न स्टलहरु राखिएको र यस वर्ष विभिन्न जातजातीको भेषभुषा झल्कने नृत्य प्रस्तुत गरिने स्थानीय लक्ष्मीनाथ युवा क्लबका अध्यक्ष नरहरि धामीले जानकारी दिए । विभिन्न खेलकुदका साथै अन्य स्टलहरु राखेको मेलामा विहिवार विहानैबाट भतmजनहरुको भिड लागेको आयोजकले जनाएको छ । मेला हेर्नका छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने गरेका छन् । मेला स्थलमा जिल्ला कृषि विकास कार्यालयले कृषि तथा उखु प्रदर्शनी समेत गरेको छ ।

संघको सम्मान

संघको सम्मान
सर्लाही समाचारदाता
सागरनाथ, फागुन १५ ।  मगर संघ सर्लाहीले आफ्नो ३२औँ स्थापना दिवसको अवसरमा विहिवार विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने ६ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संघले भक्तिपुर–१ सागरनाथमा एक कार्यक्रमको आयोजनागरी आफ्नो समुदायबाट विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउनेहरुलाई व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा नारायण खपाङ्गी, चेतबहादुर मगर, नीरबहादुर आले मगर, भरत पुलामी, अमित राना मगर र टेक बहादुर राना रहेका छन् । कार्यक्रमका प्रमुख अतिथी संघका केन्द्रीय सदस्य बेची लुंगेलीले प्रमाण पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । संघका जिल्ला अध्यक्ष लेखराम जर्गा मगरको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष मनोज देवकोटा, एमाले नेता सुरेन्द्र लामा, नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष गोबिन्द महत, एकीकृत माओवादीका नेता कमल सुस्लिङ् लगायते मन्तव्य राखेका थिए

विद्यालयले छात्रवृत्ती बाड्यो

विद्यालयले छात्रवृत्ती बाड्यो
सर्लाही समाचारदाता
ढुंग्रेखोला, फागुन १५ । जनता माध्यमिक विद्यालयलले आफ्ना विद्यार्थीलाई छात्रवृत्ती वितरण गरेको छ ।
जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध मध्ये बुधबार कक्षा १ देखि ५ सम्मका दलित, छात्रा र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मिन बहादुर श्रेष्ठले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिकुमार बुढाथोकीको अध्यक्षता तथा श्रोतकेन्द्र सुखेपोखरीका श्रोत व्यक्ति नारायण उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा छात्रवृत्ती वितरण गरिएको थियो ।
कुल दुईसय ७५ विद्यार्थीलाई छात्रवृत्ती वितरण गर्नुपर्नेमा कक्षा ६ देखि १० सम्मका लाई भने आगामी सोमबार छात्रवृत्ती उपलब्ध गराईने विद्यालयका सहायक प्रधानाध्यापक मनोज प्रसाद खनालले जानकारी दिए ।

‘हामी जस्ता गरिबका लागि खै प्रहरी ?’

‘हामी जस्ता गरिबका लागि खै प्रहरी ?’
सर्लाही समाचारदाता
बबरगंज, फागुन १४ । ‘‘गाउँमा सामान्य झै–झगडा हुँदा पनि घटनामा संलग्नहरुलाई प्रहरीले तुरुन्त नियन्त्रणमा लिएर आवश्यक कार्वाही अगाडी बढाउँछ, तर हाम्रो दाईको हत्या भएको महिना दिनभन्दा बढी भईसके पनि कुनै वास्ता गरिएको छैन ।’’ यो भनाई हो गत माघ १ गते अपहरणमा परेर १२ दिनपछि खाडलमा गाडिएको अवस्थामा शव फेला परेका बबरगंज गाविसका जगन्नाथ महतोका भाई विश्वनाथ महतोको । ‘‘खै के भनुँ के भनुँ मेरो त गला नै आउँदैन ।’’ सर्लाही दैनिकसँग कुरा गर्दै विश्वनाथले गुनासो गरे–‘‘ठुलाबडाको भए अहिलेसम्म के–के भइसक्थ्यो, हामी गरिब परिवारका मान्छे भएर होला केही हुन नसकेको ।’’ प्रहरीले घटनाको दोषिलाई पक्राउ गर्न नसक्दा हाल आफ्नो परिवारलाई गाउँमा थप धम्कीहरु आउन थालेको समेत महतोले दुःखेसो व्यक्त गरे ।
बबरगंज गाविस–८ निवासी करिब ४२ वर्षिय जगन्नाथ महतोको शव गाउँ नजिकै खेतमा गाडिएको अवस्थामा गत माघ १२ गते साँझ फेला परेको थियो । मृतक महतो माघ १ गते बुधबार राती साँढे ८ बजेबाट परिवारसँग सम्पर्क विहिन भएका थिए । माघ १ गते अपहरणमा परेका जगन्नाथको हत्या पश्चात शव गाडिएको कुरामा जिल्ला स्थित प्रहरी नेतृत्वले समेत स्वीकार गरिसकेको छ ।
घटना भएको झण्डै डेढमहिना वितिसक्दा समेत हत्यामा संलग्नहरु नियन्त्रणमा र कार्वाहीको दायरामा नआउनु दुःखद भएको पीडिति परिवारले बताएका छन् । गत माघ १२ गते गाउँ नजिकै अपहरण पश्चात हत्या गरिएका बबरगंज गाविसका जगन्नाथ महतोका परिवारले घटनाका दोषि एकमहिना वितिसक्दा समेत पक्राउ पर्न नसकेकामा दुःखेसो व्यक्त गरेका छन् ।
मृतकका आफन्त एवं जिल्ला अस्पतालका पूर्व कर्मचारी मेनीचन्द्र महतोले घटनाबारे प्रहरीले कुनै वास्ता नगरेको आरोप लगाए । ‘‘खै कति भन्दा पनि कुनै वास्ता हुँदैन ।’’उनले भने–‘‘अपहरणमा परेको केही दिनपछि नै घटनाबारे जानकारी गरायौं, न्याय पाउँछौं भनेको त, हामीले आÇनो मान्छेको लाश पो फेला पा¥यौं ।’’
मृतक जगन्नाथका भाई विश्वनाथले प्रहरीले कहिले यता त कहिले उता भनेर झुलाउन खोजेको समेत आरोप लगाए । ‘‘जिल्ला प्रहरी कार्यालय गयो, इलाका प्रहरी कार्यालय इश्वरपुर जा भन्छ, त्यहाँ गयो अनुसन्धान भईराको छ भन्छ ।’’ उनले भने–‘‘के गर्ने के नगर्ने अलमल्ल परेर बसेका छौं ।’’
गाउँका बालबालिका खेल्दै जाने क्रममा खाल्डो खनेर गाडिएको स्थानमा हात मात्र बाहिर निस्केको देखेपछि खनेर हेर्दा महतोको शव फेला परेको हो । खाल्डो खनेर माटोले पुरेको शवलाई स्यालले खनेपछि एउटा हात बाहिर निस्केको र बालबालिकाले देखेको बताईएको छ ।
मृतकका आफन्त मेनीचन्द्र महतोका अनुसार गाउँकै रामविर साह तेलीले फोन गरेर बोलाएपछि माघ १ गते बुधबार राती ८ बजेतिर जगन्नाथ घरबाट बाहिरिएको र त्यसपश्चात परिवारसँग सम्पर्क विहिन भएका थिए । ‘‘राती घरबाट बाहिरिएपछि लगातार उनको मोबाईलमा फोन ग¥यौं, कहिले घण्टी जाने र नउठ्ने त कहिले उठाएर केही पनि नबोल्ने हुन्थ्यो ।’’ मेनीचन्द्रले सर्लाही दैनिकसँग भने–‘‘फोन गरेर बोलाउने रामविर र मृतक जगन्नाथ दुवैजना एकसाथ गाउँबाट वेपत्ता भएका थिए ।’’ मृतकका भाई विश्वनाथका अनुसार पहिला आफन्त लगायत सम्भावित स्थानहरुमा खोजवीन गर्दापनि फेला नपरेपछि अपहरण भएको हुन सक्ने आशंकाका साथ घटनाबारे प्रहरीलाई खबर गरिएको थियो ।
जगन्नाथको शव फेला परेको भोलिपल्ट माघ १३ गते मृतकका भाई विश्वनाथले गाउँकै रामविर साह तेली विरुद्ध हत्यामा संलग्न भएको किटानी जाहेरी दिएका थिए । घटनाबारे सुक्ष्म ढंगले अनुन्धान भईरहेको र हत्यामा संलग्नहरुको खोजीकार्य व्यापक रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘‘अपहरण एवं हत्यामा संलग्नहरुको पहिचान भईसकेको छ ।’’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायाण ओलीले भने–‘‘सन्धिग्द अभियुक्तहरु लुकेको स्थानमा पटक–पटक छापा समेत मारिसकेका छौं, उनीहरु भागेर हिडिरहेका छन्, चाँडै नै हाम्रो नियन्त्रणमा आउने निश्चित छ ।’’ घटनामा किटानी जाहेरी परेका रामविरसँगै गाउँकै अर्का एकजना पनि फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले घटनामा संलग्न अभियुक्त पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय र घटना स्थल पर्ने इलाका प्रहरी कार्यालय इश्वरपुको टोली निरन्तर खटिएको बताए । ‘‘घटनामा संलग्न लुकेको हुन सक्ने सम्भावित काठमाडौं र भारतका विभिन्न स्थानहरुमा सादा पोशाकका प्रहरीले पटक–पटक छापा मारिसकेका छन् ।’’ प्रनाउ भट्टराइले भने–‘‘चाँडै नै उनीहरु हाम्रो नियन्त्रणमा आउनेछन् ।’’
एक श्रीमति सहित दुई छोराका पिता जगन्नाथ गाउँमा ट्रेक्टर व्यवसाय गर्थे भने केही वर्षअघिसम्म उनको गाउँमा धान कुट्ने सेलर मिल समेत रहेको थियो । उनका दुवै छोरा वैदेशिक रोजगारीमा छन्
परिवारजनका अनुसार रामवीरसँग जगन्नाथको जग्गा सम्बन्धी किचलो रहेको थियो । मेनीचन्द्रका अनुसार रामवीरले ऋण लिएबापत भारतका एक व्यापारीलाई पास गरिदिएको जग्गा जगन्नाथले किन्ने प्रकृया अगाडी बढाएपछि रामविर जगन्नाथसँग रिसाएका थिए । जगन्नाथ वेपत्ता हुनु १० दिनअघिदेखि रामविरले उनीसँग गहिरो हिमचिम बढाएको र सोही विश्वासमा राती फोनमा बोलाउने वितिकै उनी गएको परिवारजनले बताएका छन् ।

गाँजा ओसार्ने ११ जनालाई कैद

गाँजा ओसार्ने ११ जनालाई कैद
सर्लाही समाचारदाता
मलंगवा, फागुन १४ । गाँजा ओसार पसार गरिरहेको अवस्थामा पक्राउ परेका ११ जनालाई सर्लाही जिल्ला अदालतले ८÷८ वर्ष कैद सहित १५ हजारको दरले जरिवानाको फैसला सुनाएको      छ ।
४० क्वीन्टल गाँजा लिएर मकवानपुरको मनहरीबाट महोत्तरीको जलेश्वरतर्फ आउँदै गरेको ट्रक सहित पक्राउ परेका ११ जनालाई जिल्ला न्यायाधिश कृष्णकमल अधिकारीको इजलासले ८÷८ वर्ष कैद र जरिवाना सजाय तोकेको हो । गाँजा ओसारिरहेको अवस्थामा पक्राउ परेका ट्रकका चालक शंकर कार्की, सहचालक अनिल थापा र गाँजा ओसरपसार गर्ने गिरोहका लालु वाइवा, राजकुमार मोक्तान, दिपक कार्की, टिकाराम तमाङ, नविन लामा र चितवनका विर सिंह तमाङलाई पहरीले पक्राउ गरेको थियो । थप अनुसन्धानका क्रममा मकवानपुरका गोविन्द पुरी, कृष्ण गिरी, गणेश साह समेत जम्मा ११ जनालाई पक्राउ गरी प्रहरीले लागूऔषध ऐन अनुसार मुद्धा चलाएको थियो ।
प्रहरीले उनीहरुलाई २ लाख २५ हजार नगद सहित पक्राउ गरेको थियो । ना. ३ ख ४५८० नम्बरको कन्टेनरमा चाउचाउको कार्टुनले छोपेर ९० बोरामा लुकाएर ल्याउदै गरेको गाँजा इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक कृष्णप्रसाद(केपी) शर्माको नेतृत्वको टोलीले चेक जाँचको क्रममा बरामद् गरेको थियो । सर्लाही जिल्ला अदालतका मुख्य न्ययधिश कृष्णकमल अधिकारीको इजलासले बुधबार लागु औषध नियन्त्रण ऐन २०३३ दफा ४(क) को १४(१) बमोजिम ११ जना प्रतिवादीहरुलाई ८÷८ वर्ष कैद र १५ हजार रुपैयाका दरले फैसला भएको नासु दिनेश मिश्रले बताए । फौजदारी मुद्धा नं.१९० को गाँजा ढुवानि गर्न प्रयोग भएको ट्रक जफत हुने गरी गाँजा ओसारपसारमा संलग्न ११ जनालाई कैद र नगद जरिवनाका सजाय सुनाइएको नासु मिश्रले बताए ।

Wednesday, February 26, 2014

किर्ते नागरिकतामा जेल

किर्ते नागरिकतामा जेल
सर्लाही समाचारदाता
मलंगवा, फागुन १४ । झुठो विवरणबाट नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्दै रामवन गाविस–२ का महेश्वर साहलाई जिल्ला अदालतले कैद सजाय सुनाएको छ ।
स्थानीय अशोककुमार गुप्ताको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले दायर गरेको मुद्धाका आधारमा जिल्ला अदालतले साहलाई १ वर्ष कैद सजाय सुनाएको हो । झुठो विवरण दिएर नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्दै साहलाई अदालतले एकवर्षको कैद सजाय सुनाएको प्रहरीले जनाएको छ । ०६२÷०६३ सालको जनआन्दोलनपछि आएको टोली तथा त्यसपछि सर्लाहीमा अधिकांशले किर्ते नागरिकता बनाएको जानकारहरु बताउँछन् ।

खुला दिशाको विरोधमा मरणासन्न कुटपिट

खुला दिशाको विरोधमा मरणासन्न कुटपिट
सर्लाही समाचारदाता
गैर, फागुन १४ । सर्लाहीलाई खुला दिशामुक्त क्षेत्र बनाउनका लागि घोषणा पत्र सार्वजनिक भएको तीनसाता नबित्दै खुला दिशा गरेको विरोध गर्ने एकजनामाथि मरणासन्न कुटपीट भएको छ ।
जिल्लाको कविलासी गाविस–९ गैर बजारमा खुला दिशा गरेको विरोध गर्ने स्थानीय रामइश्वर महतोमाथि मरणासन्न हुनेगरि कुटपिट भएको हो । मंगलबार साँझ गैर बजारबाट पूर्वतर्फ रहेको घर जाने क्रममा सडकमै खुला दिशा गर्ने क्रममा गालि गलौज गरेको भन्दै महतोमाथि स्थानीय गणेश साह सहित उनको परिवारले मरणासन्न हुनेगरि कुटपिट गरेको गाविस सचिव हकहित संरक्षण केन्द्र सर्लाही अध्यक्ष समेत रहेका स्थानीय हरिकान्तलाल कर्णले बताए ।
साँझ ७ बजेतिर गैर बजारबाट घरतर्फ जाने क्रममा सडकमै दिशा गरेको देखेपछि महतोले ‘सडकमै किन दिशा गरेको’ भनेर गाली गर्दा साह परिवारबाट उनीमाथि निर्घात कुटपिट भएको हो । ‘‘महतोले सडकमै दिशा गरेको भनेर गाली गरेको केही बेरमै उनकै घरमा गएर साह परिवारले बाँसको भाटा सहितले आक्रमण गरे ।’’ कर्णले भने–‘‘घटना लगतै महतोलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा पु¥याईयो ।’’
आक्रमण गर्ने गणेश साहलाई प्रहरीले पक्राउ गरेको छ भने कुटपिटबाट घाइते भएका महतोलाई थप उपचारका लागि बुधबार दिउँसो वीरगंजतर्फ पठाईएको प्रहरीले जनाएको छ । कुटपिटबाट महतोको नाक, आँखा सहित शरिरका विभिन्न स्थानमा चोट लागेको छ ।
स्थानीय विकास अधिकारी उमेश बस्नेतको अध्यक्ष रहेको जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छन्दता समन्वय समितिको आयोजनामा सदरमुकाम मलंगवामा गत माघ २४ र २५ गते भएको दुईदिने जिल्ला सरसफाई सम्मेलनले सर्लाहीलाई वि.सं. २०७२ सालभित्र खुला दिशामुक्त क्षेत्र बनाउने गरि आवश्यक कामहरु अगाडी बढाउने घोषणापत्र सार्वजनिक गरेको थियो ।

आज महाशिवरात्रि

आज महाशिवरात्रि
हरिवन, फागुन १४
हिन्दु धर्मावलम्बीहरुले विहिबार शिवरात्रि पर्व मनाइँदै छन् । प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने सो पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरी उपासना समेत गर्ने प्रचलन रहेको छ ।
यस अवसरमा जिल्ला स्थित विभिन्न स्थानका शिवालयहरुमा समेत दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । हरिपुरको चितायन, मूर्तियाका मुक्तेश्वर, हरिवनको सुखेपोखरी स्थित चतुर्भूजेश्वर, लालबन्दीको डुमडुमे लगायत महादेव मन्दिरहरुमा विहिबार दिनभर पूजाआजाका साथै दर्शनार्थीहरुको भिड रहने स्थानीय बासिन्दाले बताएका छन् ।
वुद्धि र विवेकको अभाव तथा मोह र मायाको अन्धकारमा रही बन्धन वा पाशमा रहेकालाई पशुपतिको आराधना र उपासनाबाट मुक्ति मिल्ने विश्वास छ । विभिन्न १२ ज्योतिर्लिंग मध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले शिवरात्रिमा विशेष गरि सो मन्दिरमा दर्शन तथा पूजा गर्ने प्रचलन छ । महाशिवरात्रि मान्नका लागि पशुपतिमा भारत लगायत विभिन्न देश सहित मुलुकका विभिन्न स्थानबाट पाँचहजार भन्दा बढी साधुसन्तहरु भित्रिइसकेका छन् ।

वैदेशिक रोजगारमा पत्रकारलाई तालिम

वैदेशिक रोजगारमा पत्रकारलाई तालिम
सर्लाही समाचारदाता
लालबन्दी, फागुन १४ । सहयोगि समाज नेपाल हरिवनको आयोजनामा वैदेशिक रोजगार सम्बन्धि तालिम सुरु भएको छ ।
लालबन्दीमा सुरु भएको तालिममा सर्लाही, महोत्तरी र सिन्धुलीका संचारकर्मीहरु सहभागि छन् । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र ब्यवस्थित बनाउनका लागि स्थानिय संचारमाध्यमको भुमिका विषयक ३ दिने तालिम सुरु भएको आयोजकले जनाएका छन् । सुरक्षित आप्रवासन परियोजना सामी हेल्भेटास स्वीस ईन्टरको अपरेशन नेपालको सहयोगमा संचालित तालिममा वैदेशिक रोजगारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका संचारकर्मी दिनेश रेग्मी र मल्टिमिडियोको क्षेत्रमा काम गर्दै आएका रजनिश भण्डारीले तालिम दिने आयोजक संस्थाका अध्यक्ष हरि थापाले बताए ।
तालिम उद्घाटन समारोहमा ईलाका प्रशाशन कार्यालय हरिवनका अधिकृत छविलाल विश्कर्मा, हेल्भेटासका विजय ठाकुर, अरविन्द्र कुमार चौधरी लगायतको उपस्थित रहेको थियो । तालिम तीनदिनसम्म हुने आयोजकले बताएका छन् ।

क्षयरोगी फेला परे

क्षयरोगी फेला परे
सर्लाही समाचारदाता
ढुंग्रेखोला, फागुन १४ । क्षयरोगी पहिचान गर्ने उदेश्यले ढुंगे्रखोला गाविसमा भएको निःशुल्क शिविरमा एकजना क्षयरोगी फेला परेका छन् भने दुईजनामा लक्षण देखिएको छ ।
उपस्वास्थ्य चौकी ढुंग्रेखोलामा भएको निशुल्क दुई दिने क्षयरोग शिविरमा त्यस्तो भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । शिविरमा स्वास्थ्य परिक्षण गरिएका एक सय ५४ जनामध्ये एक जनामा रोग फेला परेको र दुई जनालाई थप परिक्षण गर्नुपर्ने भएको हो । स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लाको ९९ सय गाविसलाई नै पाएक पर्ने गरी पाँच गाविसमा शिविरको आयोजना गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म मधुवनगोठ र ढुंगे्रखोला गाविसमा शिविर भैसकेको तथा अब परवानीपुर, पर्सा र भक्तिपुर गाविसमा क्षयरोग परिक्षण शिविर आयोजना गरिने क्षय तथा कुष्ठ रोग अधिकृत शाहबुद्धिन मिकरानीले जानकारी दिए ।

Tuesday, February 25, 2014

विवरण नबुझाउने २ सय ४५ शिक्षक कार्वाहीमा

विवरण नबुझाउने २ सय ४५ शिक्षक कार्वाहीमा
सर्लाही समाचारदाता
मलंगवा, फागुन १३ । नियमानुसार सम्पति विवरण नबुझाउने सर्लाहीका दुईसय ४५ जना शिक्षकहरु कार्वाहीमा परेका छन् । हरेक वर्ष नयाँ आर्थिक वर्ष लागेको ६० दिन अर्थात भदौ मसान्तभित्र सरकारी सेवा सुविधा पाउने शिक्षक सहित कर्मचारीहरुले सम्पति विवरण बुझाउनुपर्ने नियम छ । यसवर्ष तोकिएको समय भित्र सम्पति विवरण नबुझाएका कारण सर्लाहीका दुईसय ४५ जना शिक्षकलाई पाँचहजार जरिवाना सहित फागुन मसान्त भित्र त्यस्तो विवरण बुझाउन निर्देशन दिईएको छ ।
शिक्षा मन्त्रालयले केही दिनअघि जिल्ला शिक्षा कार्यालयलाई सम्पति विवरण नबुझाउने शिक्षकहरुलाई पाँचहजार जरिवाना असूल गरि पूनः विवरण पठाउन निर्देशन सहितको पत्र पठाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार शिक्षा मन्त्रालयले सो पत्र जिल्ला शिक्षा कार्यालय पठाएको स्रोतले जनाएको छ ।
पहिलो पटक कार्वाही स्वरुप पाँचहजार जरिवाना गरिएको र पूनः तोकिएको समयमा सम्पति विवरण नबुझाउने शिक्षकहरुलाई थप कार्वाही हुने शिक्षा कार्यालय स्रोतले जनायो । सम्पत्ति विवरण नबुझाउने शिक्षकहरुले फागुन मसान्त भित्रमा पाँच हजार जरिवाना सहित बिवरण बुझाउन सुचना टाँस गरिएको  जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले जानकारी दिए ।
जिल्लामा हाल प्रावि तहमा एकहजार दुईसय २१, निमावि तहमा दुईसय ८७ र मावि तहमा एकसय ८५ गरि जम्मा एकहजार ६ सय ९३ जना शिक्षक कार्यरत छन् । जसमध्ये विभिन्न तहका २ सय ४५ जना शिक्षकले गत भदौ मसान्त भित्र सम्पति विवरण नबुझाएको शिक्षा कार्यालयले जनाएको छ ।
उनीहरुले फागुन मसान्त भित्र जिल्ला शिक्षा कार्यालय मार्फत विद्यालय शिक्षक कितावखानामा जरिवाना रकम र सम्पति विवरण पठाउनुपर्नेछ । जिल्ला शिक्षा कार्यालयमा प्रत्येक शिक्षकहरुले छुट्टाछुट्टै सम्पत्ति बिवरण बुझाउनु पर्ने भएपनि धेरैजसो विद्यालयका शिक्षकहरुले एउटै खाममा राखेर सम्पत्ति बुझाएका कारण पनि कतिपय शिक्षकहरुको नाम कार्वाही लिष्टमा परेको शिक्षा कार्यालय स्रोतले जनायो । सम्पत्ति बिवरण बुझाएरपनि कारवाहीमा नाम परेका शिक्षकहरुले भने कार्यालयमा निवेदन दिन सकिने जिल्ला शिक्षा कार्यालय अधिकारी राजकुमार विश्वकर्माले बताए ।

शिक्षकलाई अनिवार्य बैंक खाता

शिक्षकलाई अनिवार्य बैंक खाता
सर्लाही समाचारदाता
मलंगवा, फागुन १३ । जिल्ला स्थित कार्यरत शिक्षक एवं विद्यालय कर्मचारीलाई तुरुन्त आÇनो बैंक खाता खोल्न जिल्ला शिक्षा कार्यालयले अनुरोध गरेको छ ।
अबदेखि तलब, भत्ता लगायत विभिन्न सेवा सुविधा बैंक खातामार्फत हुने भएकाले आगामी फागुन मसान्त भित्र स्थायी, अस्थाई, राहत शिक्षक एवं विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगिले खाता खोल्नुपर्ने शिक्षा अधिकारी राजकुमार विश्वकर्माले बताए । जिल्ला स्थित नेपाल बैंक लिमिटेडमा खाता खोलेर फागुन मसान्त भित्र जानकारी नपठाउने शिक्षक एवं कर्मचारीहरुको तलब भत्ता सहितका सेवा सुविधा रोकिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
एउटा विद्यालयमा कार्यरत शिक्षक एवं कर्मचारीको खाता नेबैलीको एउटै शाखामा हुनुपर्ने समेत शिक्षा कार्यालयले जनाएको छ ।

प्रहरीलाई कुटेको आरोपमा नियन्त्रण

प्रहरीलाई कुटेको आरोपमा नियन्त्रण
सर्लाही समाचारदाता
हरिवन, फागुन १३ । सादा पोशाकका प्रहरीलाई कुटेको आरोपमा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले घुर्कौलीका एक युवालाई मंगलबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट जिल्ला प्रहरी कार्यालय मलंगवामा हाँजिर हुन आईरहेका प्रहरी हबल्दार मौसिलाल साहलाई कुटपीट गरेको आरोपमा राजकुमार लामालाई मंगलबार विहान उनको घरबाटै पक्राउ गरिएको हो । मलंगवाको दाईभाई बसमा आउँदै गरेका प्रहरी हबल्दार साहलाई सोमबार साँझ साँढे ५ बजेतिर बसभित्रै लामा सहितका तीनजनाले कुटपीट गरेको बताईएको छ । बसमा चढेको युवतीहरुलाई दुव्र्यवहार गरिरहेको समयमा प्रहरी हबल्दार साहले ‘किन त्यसो गरेको’ भनेर हप्काउँदा उनीमाथि कुटपीट भएको प्रहरी स्रोतले जनायो ।
पूर्वतर्फ आईरहेको बस नयाँरोड कट्ने वितिकै लामा सहित तीनजनाले आफूमाथि कुटपीट गरेको प्रहरी हबल्दार साहले बताएका छन् । आफूमाथि कुटपीट हुन सुरुभएपछि बसका चालकले केही दौडाउन खोजेपनि चालकलाई नै धम्क्याएर बस रोक्न लगाएर उक्त समूह सुखेपोखरीबाट दक्षिणतर्फ भागेको साहको भनाई उधृत गर्दै प्रहरी स्रोतले जनाएको छ ।
कुटपीटबाट घाईते साहलाई नमूना अस्पतालमा उपचार गरि राती हरिवन प्रहरीले आफैसँग राखेको थियो । बसमै यात्रारत अर्का एकजना यात्रुले राती नै चिनाएका आधारमा लामाको घर प्रहरीले पहिचान गरेको र मंगलबार विहान उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका लामालाई देखाउँदा प्रहरी हबल्दार साहले समेत कुटपीट गर्ने लामा नै रहेको ठोकुवा गरेका थिए । आवश्यक अनुसन्धानका लागि लामालाई जिल्ला प्रहरी कार्यालयमा पठाईएको हरिवन प्रहरीले जनाएको छ ।
यता पक्राउ परेका लामाका आफन्त एवं गाउँलेहरुले भने उनी निर्दोष रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । लामा सोमबार कतै नगएको र कुटपीट गर्ने स्वभावकै नभएको गाउँलेहरुको दावी रहेको हरिवन प्रहरी स्रोतले जनाएको छ । मंगलबार दिउँसो लामालाई छाड्न माग गर्दै इलाका प्रहरी कार्यालय हरिवनमा उल्लेख्य संख्यामा गाउँलेहरु आएका थिए ।

मोटरसाईकलमा काठ ओसार्ने पक्राउ

मोटरसाईकलमा काठ ओसार्ने पक्राउ
सर्लाही समाचारदाता
कर्मैया, फागुन १३ । मोटरसाईकलमा काठ तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार राती दुईजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले कर्मैयाका पूरानो चौकीदेखि केही दक्षिण नहरको बाटोहुँदै मोटरसाईकलमा सालका कडिहरु ओसारिरहेको अवस्थामा राती साँढे १० बजे दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ढुंग्रेखोला गाविस–५ का रमेश स्याङ्तान र चन्द्रमान लामा रहेका छन् ।
बा. ५२ प ७१३ नम्बरको २२० सीसीको निलो पल्सर मोटरसाइकलमा ६ वटा सालका कडी ओसारिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको बयानका आधारमा प्रहरीले पूनः कर्मैया स्थित वागमति नदि किनारमा लुकाएर राखिएको अवस्थामा ६ थान फेण्टा (फल्ली) समेत बरामद् गरेको छ ।
पक्राउ परकाहरु पेशेवर रुपमा काठ ओसारपसार गर्ने गरेको प्रहरीले दावी गरेको छ । पक्राउ परेका दुईजना र सँगै बरामद् भएको मोटरसाईकल एवं १२ थान फेण्टा÷कडी मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय हरिवनले आवश्यक कार्वाहीका लागि जिल्ला वन कार्यालयलाई बुझाएको छ ।
केही दिनअघि पनि इलाका प्रहरी कार्यालय हरिवनको टोलीले ढुंंग्रेखोला गाविसबाट एक ट्रेक्टर सखुवाका काठ बरामद् गरि जिल्ला वन कार्यालयलाई बुझाएको थियो । चोरी, तस्करी, लागूऔषध सहित अपराधीक कृयक्लाप नियन्त्रणमा कडाई गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक महेश थापाले बताए ।

आईटीएफ तेक्वान्दो सम्पन्न

आईटीएफ तेक्वान्दो सम्पन्न
सर्लाही समाचारदाता
ईश्वरपुर, फागुन १३ ।  ईश्वरपुर २ मा रहेको नारायण उमावीको खेल मैदानमा मंगलवार जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा १२ डोजाङ्का ६२ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विभिन्न तौल केजी अन्तर्गत प्रतिस्पर्धा सम्पन्न भएको थियो । प्रतिस्पर्धामा ३१ देखि ३५ केजी सम्म भक्तिपुरका प्रभाद कार्की, ३६ देखि ४० केजी सम्ममा जब्दीका अरुण बोहोरा, ४६ देखि ५० केजी सम्ममा भक्तिपुरका किरण कार्की, ४१ देखि ४५ केजी सम्ममा रानीगंजका विकल विक,  ५१ देखि ५५ केजी सम्ममा भक्तिपुरका किरण रसाईली, ५६ देखि ६० केजी सम्ममा रानीगंजका सुर्य बोम्जन र ६६ देखि ७० केजी सम्ममा जब्दीका मणिराज राई प्रथम भएका  आईटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष प्रभुनारायण सिवाकोटी (श्याम)ले जानकारी दिए ।
नवलपुर स्थित नेपाली सेना रिपुमर्दण गणका गणपती मनोज वैदवारद्धारा उद्घाटन गरिएको प्रतियोगितामा जिल्ला खेलकुद विकाससमितिका जिल्ला अध्यक्ष गणेश थापा, गाविस सचिव मदनबहादुर थिङ् , ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक यज्ञप्रसाद भट्राई , ईलाका स्वास्थ्य ईश्वरपुरका ईन्चार्ज सुर्य नारायण चौधरी, पे्रस चौतारी सर्लाही जिल्ला अध्यक्ष ईन्द्र न्यौपाने लगायतको सहभागिता रहेको थियो । प्रतियोगिताका बिजेताहरुलाई प्रमुख अतिथि तथा     अथितिद्धारा प्रमाण पत्र प्रदान गरिएको थियो ।

ईलाका स्तरीय गोष्ठी सम्पन्न

ईलाका स्तरीय गोष्ठी सम्पन्न
सर्लाही समाचारदाता
सासापुर, फागुन १३ ।  मंगलवार सासापुर गाविसमा जिविसको ४ नम्वरको ईलाका स्तरीय एक दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा जिल्लाका ४ नम्वर ईलाका अन्तर्गतपर्ने सासापुर, हरिवन, घुर्कौली, अत्रौली र नेत्रगंज गाविसका सचिवहरुको सहभागिता रहेको थियो ।
सासापुर गाविसका सचिव उद्धव नारायण श्रेष्ठको अध्यक्षमा भएको गोष्ठीमा क्षेत्र नम्वर ४ को ईलाका स्तरीय सरोकार समिति गठन गरिएको छ । गठित समितिको संयोजकमा इन्द्रबहादुर पाठक, सह संयोजक टमबहादुर घिसिङ्, सचिव धनबहादुर मिक्चन, कोषाध्यक्षमा गोपाल बहादुर थापा लगायत २१ सदस्यीय समिति गठन गरिएको हो ।
गोष्ठीमा ईलाका स्तरीय योजनामा छनोट गरेका योजनाहरुलाई एकीकृत योजना बनाई कार्यान्वयनका लागी जिल्ला विकास समितिमा डेलिगेसन जाने, पाँचै गाविसको स्थलगत अनुगमन गरी भावी योजना समेत बनाउने निर्णय भएको  संयोजक पाठकले बताए ।
समितिले नेत्रगंजमा शर्पदंश उपचार केन्द्रका लागी औजार तथा उपकरण, हरिवनमा खेलकुद रंगशाला, सासापुरको गणेशचोक हुँदै सिन्धुलीको क्यानेश्वर सम्मका लागी राजमार्गको व्यवस्था गर्ने, अत्रौलीको चुरे संरक्षण पर्यटन स्थलको विकास गर्ने लगायत माग लिएर डेलिगेसन जाने निर्णय भएको बताइएको       छ ।

क्षयरोगी पहिचानलाइ निशुल्क शिविर

क्षयरोगी पहिचानलाइ निशुल्क शिविर
सर्लाही समाचारदाता
मलंगवा, फागुन १३ । क्षयरोगी पहिचान गर्नका लागी जिल्लाका विभिन्न स्थानमा निशुल्क शिविर शुरु भएको छ ।
जिल्लाको ९९ सय गाविसलाई लक्षितगरी पाँच गासिवसमा शिविरको संचनलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ  ।
जिल्लाभरी एकहजार क्षयरोगीेको तथ्याङ्क रहेको र थप रोगीहरुको पहिचान गर्न शिविरको आयोजना गरेको क्षय तथा कुष्ठरोग अधिकृत शाहबुद्धिन मिकरानीले जानकारी दिए ।
मंगलवारदेखि ढुंग्रेखोला स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा बुभवारसम्म सहभागीहरुको निशुल्क खकार जाच्ने कार्य भएको स्वास्थ्य चौकीले जनाएको छ । विहिवारदेखि  भक्तिपुर, परवानीपुर र पर्सा गाविसमा शिविरको आयोजना गरिने बताईएको छ ।
श्वासप्रश्वासको माध्यमबाट सर्ने क्षयरोग भएका बिरामीहरुलाई दुई हप्ता सम्म निरन्तर खोकी लागिरहेने चिकित्सकहरुको कथन छ । सरुवा रोग भएपनि यसको औषधी सम्पूर्ण स्वास्थ्य संस्थामा निशुल्क पाईने बताईएको छ । कार्यालयले गत ११ र १२ गते जिल्लाको मधुवन गोठमा आयोजना गरिएको शिविरमा क्षयरोगको लक्षण देखा नपरेको कुष्ठरोग अधिकृत मिकरानीले बताए ।

शिवरात्रीमा सुरक्षा ब्यवस्था कडा

शिवरात्रीमा सुरक्षा ब्यवस्था कडा
सर्लाही समाचारदाता
सासापुर, फागुन १३ । नजिकिदो माहाशिवरात्रीलाई मध्यनजर गर्दै जिल्लाको शान्तिसुरक्षा व्यवस्था कडा पारिने भएको छ । शिवरात्रीको समयमा लागुपदार्थ सेवन उत्छृङ्खल गतिविधि गर्ने जो कसैलाई पनि कानून बमोजिम कडा कारवाही गर्ने प्रमुख अधिकारी दिनेशकुमार घिमिरेले बताए ।
शिवरात्रीको समयमा जिल्लाका विभिन्न स्थानहरुमा लाग्ने मेलाहरुलाई लक्षित गर्दै सुरक्षा रणनीति तयार गरिएको घिमिरले बताउनुभयो । कानून विपरित मदिरा बेच्ने देखि सेवन गर्ने सबैलाई कारवाही गरिने बताईएको छ । शिवरात्रीको समयमा भाङ, धतुरो, मदिरा खाएर होहल्लागरी र विकृती फैलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न सबैक्षेत्रमा प्रहरी परिचालन गरिने भएको जिल्लास्थित शुरक्षा समितिले जनाएको छ ।

महिला संघमा काफ्ले चयन

महिला संघमा काफ्ले चयन
सर्लाही समाचारदाता
सासापुर, फागुन १३ ।   अखिल नेपाल महिला संघ सर्लाही क्षेत्र नम्वर १ मा राजेश्वरी काफ्लेको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।  एमालेको भातृ संगठन संघको मंगलवार लालबन्दीमा भएको अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो ।
समितिकोे उपाध्यक्षमा राधिका मैनाली, सचिव हीरा लामा, सह सचिवमा वीणा कुमारी मैनाली, कोषाध्यक्ष ज्ञानु कार्की लगायत अन्य सदस्य रहेका छन् । सघंका पूर्व क्षेत्रिय अध्यक्ष लक्ष्मी पाख्रिनको अध्यक्षता तथा संघको अञ्चल सचिव गंगा विष्टको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेसनमा संघका जिल्ला अध्यक्ष कल्पना कट्वाल, नेताहरु सुशील थपलिया, मीनकुमार गौतम, रामबहादुर खड्का, नेतृहरु बेची लुंगेली, सीता थापा, मीरा कार्की लगायतको सहभागिता रहेको थियो ।

योजना छान्न विषयगत समितिको बैठक

योजना छान्न विषयगत समितिको बैठक
सर्लाही समाचारदाता
मलंगवा, फागुन १२ । सर्लाहीमा सञ्चालन हुने योजनाहरु छान्नका लागि जिल्ला विकास समितिको कार्यालयको आयोजनामा विकास सम्बन्धी सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका अधिकारीहरुको बैठक बसिरहेको छ । जिविसले तय गरेको पूर्वनिर्धारित कार्यक्रम अनुसार दुई दिनदेखि जारी विषयगत समितिको बैठक सोमबारपनि सम्पन्न हुन सकेन । केही समयअघि सम्पन्न इलाका स्तरीय योजना तर्जूमा गोष्ठीबाट माग भई आएका योजना कुन कार्यालयबाट सञ्चालन हुने भन्ने लगायत विषयमा निक्र्याैल गर्नका लागि विषयगत समितिको बैठक बसेको हो ।
जिविसले तय गरेको पूर्वनिर्धारित कार्यक्रम अनुसार आइतबार सामाजिक विकास समिति र वन तथा वातावरण समितिको बैठक सम्पन्न भएको छ । त्यस्तै सोमबार आर्थिक विकास समिति र भौतिक पूर्वाधार विकास समितिको बैठक बसेको थियो । जसमा डिभिजन सिचाई कार्यालय र डिभिजन सडक कार्यालयका प्रमुख तथा जिम्मेवार प्रतिनिधि उपस्थित नहुँदा उक्त समितिको बैठकले पूर्ण निर्णय गर्न सकेन । आगामी फागुन २० गते मंगलबार पूनः छलफल गर्नेगरी सोमबारको बैठक सकिएको छ ।
इलाका स्तरीय योजना तर्जूमा गोष्ठीबाट आएका विकासे मागहरु मध्ये कुन योजना कुन कार्यालय मातहतमा संचालन हुने भन्ने बारेमा निक्र्यौल गर्नका लागि विषयगत समितिको बैठक बसेको हो । सामाजिक विकास समितिमा मलंगवा नगरपालिका, महिला तथा बालबालिका कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, जिल्ला आर्यूवेद कार्यालय, स्थानीय शान्ति समितिको कार्यालय, बाल संरक्षण समिति तथा सम्बन्धित काम गर्ने गैर सरकारी संस्थाहरु रहेका छन् ।  त्यस्तै वन तथा वातावरण समितिमा मलंगवा नगरपालिका, जिल्ला वन कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, टिम्बर कर्पोरेशन, सामुदायिक वन उपभोक्ता समिति महासंघ एवं वन तथा वातावरणको क्षेत्रमा काम गर्ने गैर सरकारी क्षेत्रका प्रतिनिधि लगायत रहनेछन् । सामाजिक विकास समिति र वन तथा वातावरण समितिको बैठक आइतबार नै सम्पन्न भईसकेको छ ।
त्यसैगरी सोमबार आर्थिक विकास समिति तथा भौतिक पूर्वाधार विकास समितिको बैठक बसेको छ । आर्थिक विकास समितिको बैठक जिल्ला कृषि विकास कार्यालयका प्रमुख युगलकिशोर तिवारीको अध्यक्षतामा बसेको थियो । सो समितिमा मलंगवा नगरपालिका,  जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, वागवानी सेवा केन्द्र, उद्योग वाणिज्य संघहरु तथा सामाजिक विकास सम्बन्धी काम गर्ने विभिन्न गैर सरकारी कार्यालयहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै भौतिक पूर्वाधार विकास समितिको बैठक भने आगामी फागुन २० गते पूनः बस्ने गरि सोमबार टुंगीएको छ । डिभिजन सडक कार्यालय र डिभिजन सिचाई कार्यालयका प्रमुखहरु उपस्थिती नभएकाले पूर्ण निर्णय गर्नका लागि आगामी फागुन २० गते अर्को बैठक बस्नेगरि टुंगिएको हो ।
विकास निर्माण गर्ने सरकारी तथा गैर सरकारी कार्यालयहरुले आ–आÇनो ढंगले काम गर्ने र उक्त क्षेत्रमा ठोस काम नहुने गरेको गुनासो आएकाले जिल्ला स्थित सम्पूर्ण विकासे सरकारी तथा गैर सरकारी कार्यालयको संयुक्त बैठक राखेर माग भएका योजनाहरुको जिम्मेवारी हस्तान्तरण गर्नका लागि बैठकहरु राखिएको जिविसका स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए । विषयगत समितिहरुको बैठक सकिएपछि एकिकृत योजना तर्जूमा बैठक बस्ने र माग भएका योजनाहरु मध्ये कुन–कुन कार्यालयबाट कुन–कुन योजना सञ्चालन हुने भन्नेबारेमा निक्र्यौल हुने जिविसले जनाएको छ । ‘‘एउटै योजना दुईवटा कार्यालयबाट देखाउने र बजेट छुट्टयाउने प्रचलन देखिएकाले त्यस्ता विकृतिहरुको अन्त्य तथा समन्वयात्मक ढंगले विकासका कामहरु सञ्चालन गर्नका लागि विकास निर्माण सम्बन्धी सबै सरकारी तथा गैर सरकारी कार्यालयहरुलाई एकैठाउँमा राखेर छलफल चलाईएको हो ।’’ स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘जसले गर्दा कार्यक्रमहरु जुध्दैन र एउटै कामका लागि दोहोरो बजेट निकासा पनि हुँदैन ।’’
आगामी फागुन २६ गते जिल्ला परिषद् गर्नेगरि जिल्ला विकास समितिको कार्यालयले तयारी सुरु गरिसकेको छ । भवितव्य घटना आइनपरे तोकिएकै मितिमा जिल्ला परिषद् हुने स्थानीय विकास अधिकारी बस्नेतले बताए ।

हेपाटाइटिस बी बारे संसदमा आवाज

हेपाटाइटिस बी बारे संसदमा आवाज
सर्लाही समाचारदाता
हरिवन, फागुन १२ । सर्लाहीको किशनपुर लगायत विभिन्न गाविसमा फैलिएको हेपाटाइटिस बी को प्रकोप बारेमा तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष एवं क्षेत्र नं. ५ बाट निर्वाचित सभासद् जंगीलाल रायले सोमबार आवाज उठाएका छन् ।
सोमबार दिउँसो व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै सभासद् रायले सर्लाहीका विभिन्न गाविसहरुमा हेपाटाइटिस बी ले प्रकोपको रुप लिएपनि सरकारी स्तरबाट कुनै सुनुवाई नभएको भन्दै ध्यानाकृष्ट गराएका थिए । जिल्ला स्थित जन स्वास्थ्य कार्यालय सहित सरकारको उपल्लो निकायले समेत उक्त प्रकोप विरुद्ध कुनै काम नगरेको भन्दै सभासद् रायले रोष प्रकट गरे ।
एचआइभी (एड्स) भन्दापनि खतरनाक मानिने उक्त रोगबाट किशनपुर गाविस–१ मा एकजनाको मृत्यु भईसकेको छ भने आधा दर्जनभन्दा बढी स्थानीय बासिन्दा पीडित भएका छन् । त्यस्तै उक्त रोगको प्रकोप सलेमपुरमा समेत देखिएको सभासद् रायले संसद् बैठकमा दावी गरेका छन् ।
‘‘पशु पंक्षीमा बर्डÇलू रोग देखिए नियन्त्रणका लागि सरकारले तुरुन्तै एक्सन लिन्छ ।’’ सभासद् रायले भने–‘‘तर हाम्रो तिर खतरनाक मानिने हेपाटाइटिस बी को प्रकोप फैलिएको महिनौं हुँदा पनि कुनै कदम चालिएको छैन ।’’ सरकारी वेवास्ताका कारण सयौं सर्वसाधारण उक्त रोगबाट पीडित बन्दै गएको सभासद् रायले बताए ।

चोरीको मोटरसाईकल सहित एक पक्राउ

चोरीको मोटरसाईकल सहित एक पक्राउ
सर्लाही समाचारदाता
लालबन्दी, फागुन १२ । इलाका प्रहरी कार्यालय लालबन्दी र ट्राफिक प्रहरी कार्यालयको सुंयुक्त टोलीले चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ गरेको छ ।
सोमबार लालबन्दीमा भएको चेकजाँचका क्रममा परवानीपुर गाविस–१ का शुभलाल स्याङतानलाई चोरीको मोटरसाइकल सहित पक्राउ गरिएको हो । काठमाण्डौबाट गत कात्तिक २५ गते हराएको ना. २२ प ३९२१ नम्बरको मोटरसाईकल चलाईरहेको अवस्थामा स्याङतानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
१५० सीसीको पल्सर मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरेर चलाएको अवस्थामा प्रहरीले फेला पारेको हो । हाल ना. २५ प ६७९३ नम्बर लेखाएर काठमाण्डौबाट हराएको सो मोटरसाईकल चलाएको अवस्थामा स्याङतानलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । मापसे चेकजाँच गर्ने क्रममा तीनजना चढेर हिडेको देखेपछि नियन्त्रणमा लिईएको र पछि उक्त मोटरसाईकल चोरीको भएको पत्ता लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पक्राउ परेका स्याङतान र मोटरसाईकल आवश्यक कार्वाही प्रकृयाका लागि इलाका प्रहरी कार्यालय हरिपुर पठाइएको लालबन्दी प्रहरीले जनाएको छ ।

लेनदेन मुद्दामा दिनकर पक्राउ

लेनदेन मुद्दामा दिनकर पक्राउ
सर्लाही समाचारदाता
मलंगवा, फागुन १२ । जिल्ला प्रहरी कार्यालयले सोमबार देवानी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरि अदालतमा बुझाएको छ ।
जिल्ला अदालतको आदेश अनुसार नोकेल्वा गाविस–५ घर भई हाल मलंगवा नगरपालिका–५ बस्दै आएका दिनकर महतोलाई प्रहरीले पक्राउ गरेको हो । लेनदेन मुद्दा अन्तर्गत एकलाख ३२ हजार ८ सय ४० रुपैया विगो भर्नुपर्ने वा ६ महिना कैद बस्नुपर्ने अदालतको आदेश अनुसार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरि अदालत बुझाईएका महतोले तोकिएको कैद सजायको विगो अर्थात एकलाख ३२ हजार ८ सय ४० रुपैया जरिवाना तिरेर साँझ मुक्त भएका छन् ।

स्वस्तिकको सूपथ मूल्य पसल

स्वस्तिकको सूपथ मूल्य पसल
सर्लाही समाचारदाता
इश्वरपुर, फागुन १२ । स्वस्तिक बचत तथा ऋण सहकारी संस्था इश्वरपुरले सोमबारदेखि सुपथ मूल्यको सहकारी पसल पूनः सञ्चालनमा ल्याएको छ ।
डिभिजन सहकारी कार्यालय मलंगवामा प्रमुख रामलक्षण रायको उपस्थितीमा एक कार्यक्रमका बीच उक्त पसलको उद्घाटन गरिएको हो । संस्थाको भवन निमार्ण गर्ने क्रममा बन्द रहेको पसल सोमबारबाट पुन सञ्चालनमा ल्याएको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष बेनी बहादुर कार्की, सञ्चालक सुर्य नारायण चौधरी, प्रवन्धक रुपनारायण सिंह, सहायक प्रवन्धक बिनोद थापा, डिभिजन सहकारी कार्यालयका सहायक निरीक्षक प्रमोद अधिकारी लगायको उपस्थिती रहेको थियो ।
आÇनो सेयर सदस्यको हितका लागी सुपथ मूल्य पसल सञ्चालन गरिएकाले सेयर सदस्यहरुलाई सोही पसलबाटै आवश्यक सामानहरु खरिद गर्नका लागी संस्थाले आग्रह गरेको छ । पसलमा दैनिक उपभोग्य सामाग्रीका साथै किसानका लागी मलखाद समेत उपलब्ध रहेको सहकारी संस्थाका अध्यक्ष कार्कीले बताए । संस्थाका नियमीत ग्राहक उपेन्द्र कार्कीलाई सामाग्री बिक्री गरी पसलको उद्घाटन गरिएको हो ।

दुई दिने गोष्ठी सम्पन्न

दुई दिने गोष्ठी सम्पन्न
सर्लाही समाचारदाता
इश्वरपुर, फागुन १२ । स्वयमसेवीहरुका लागी इलाका स्तरीय दुई दिने गोष्ठी सोमबार इश्वरपुरमा सम्पन्न भएको छ ।
गोष्ठीमा आगामी चैत्र मसान्त भित्रमा सबै स्वयमसेवीकाहरुले आ–आफ्नो घरमा शौचालय निमार्ण गर्नु पर्ने निर्णय भएको ईश्वरपुर बर्थिङ सेन्टरका सुनिता कार्कीले जानकारी दिइन् । जिल्लालाई सन् २०१६ सम्ममा खुल्ला दिशामुक्त घोषाण गर्ने योजना अनुरुप यस्तो निर्णय गरिएको हो । साथै गाविसलाई आगामी असार मसान्त भित्र पूर्ण खोपमुत्त गाविस घोषणा गर्ने समेत निर्णय भएको छ ।

आइटिएफ तेक्वान्दो हुँदै

आइटिएफ तेक्वान्दो हुँदै
सर्लाही समाचारदाता
इश्वरपुर, फागुन १२ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा इश्वरपुरमा जिल्ला स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता मंगलबार हुँदैछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष गणेश थापाले बताए । ईश्वरपुरको नारायण उमावीको खेल मैदानमा बिहान साँढे १० बजेबाट प्रतियोगिता सुरु हुने सर्लाही आईटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष प्रभु नारायण सिवाकोटी (श्याम)ले जानकारी दिए । प्रतियोगितामा जिल्लाका तेक्वान्दो खेलाडीहरुबीच प्रतिष्पर्धा हुने बताइएको छ ।

उखुको मुल्य तय गर्न किसान नेताको ताकेता

उखुको मुल्य तय गर्न किसान नेताको ताकेता
सर्लाही समाचारदाता
हरिवन, फागुन ११ । उखुको मूल्यका विषयमा अबिलम्ब वार्ताको वातावरण बनाउन उखु उत्पादक महासंघले सरकारलाई लिखित पत्र बुझाएको छ ।
आइतबार उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उखुको मूल्य कायम गर्न मध्यस्थताका लागि लिखित पत्र बुझाएका हुन् । ‘‘उखुको मूल्य तय गर्ने छलफल आयोजना गर्न र वार्तामा मध्यस्थताका लागि आग्रह सहित सरकारलाई लिखित आग्रह सहितको पत्र आज बुझाएका छौं ।’’ आईतबार सर्लाही दैनिकसँग उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले भने–‘‘सम्भवत आगामी मंगलबार त्रिपक्षिय वार्ता हुनेछ ।’’
उखुको मूल्य तय गर्ने विषयमा नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि वास्कोटा अत्यन्त सकारात्मक रहेको समेत महासंघ अध्यक्ष मैनालीले बताए । ‘‘उखुको मूल्य तय सहित वार्ताको मध्यस्थता गर्न नेपाल सरकारका मुख्य सचिव सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलाई लिखित पत्र बुझाएका छौं ।’’ अध्यक्ष मैनालीले भने–‘‘उहाँहरु उक्त विषयमा अत्यन्त सकारात्मक हुनुहुन्छ र मन्त्रिपरिषद् विस्तार हुने वितिकै उखुको मूल्यका विषयमा तत्काल छलफल आयोजना गरिने आश्वासन दिनुभएको छ ।’’
चिनी उद्योगपतिहरुले उद्योग मन्त्रालयमा उखुको मूल्यका विषयमा मध्यस्थता गर्न आग्रह सहितको पत्र पठाएका कारण सरकारी अधिकारीहरु अन्यौलमा परेको समेत मैनालीले बताए । ‘‘उद्योगीहरुले उद्योग मन्त्रालयमा लिखित आग्रह गरेपछि सरकारी अधिकारीहरु अन्यौलमा परेका रहेछन् ।’’ अध्यक्ष मैनालीले भने–‘‘मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लगायत सरकारी अधिकारीहरु उद्योग मन्त्रालय वा कृषि मन्त्रालय कसले वार्ताको मध्यस्थता गर्ने भन्ने विषयमा अन्यौलग्रस्त छन् ।’’ आफूहरुले कृषि मन्त्रालयले नै उखुको मूल्यका विषयमा मध्यस्थता गर्नुपर्ने समेत सुझाएको अध्यक्ष मैनालीले बताए । सरकारी अधिकारीहरुले सम्भवतः आगामी मंगलबार उखुको मूल्यका विषयमा त्रिपक्षिय छलफल गराइने आश्वासन समेत दिएको अध्यक्ष मैनालीले जानकारी दिए ।
चिनी उद्योगपतिहरुले गत शुक्रबार उद्योग मन्त्रालयमा चालु सिजनका लागि उखुको मूल्य प्रति क्वीन्टल चारसय आठ रुपैयाभन्दा बढी दिन नसकिने उल्लेख गर्दै मध्यस्थताका लागि लिखित पत्र पठाएको समेत महासंघ अध्यक्ष मैनालीले बताए । माघ २९ गते हेटौंडामा भएको चौथो चरणको वार्तामा पनि मूल्यका विषयमा सहमति हुन नसकेपछि उद्योगपति र किसान प्रतिनिधिहरुले मध्यस्थताका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेका थिए । वीरगंजमा भएको तेस्रो चरणको वार्ताले तत्काल उद्योग सञ्चालन गर्ने र माघ मसान्त भित्र मूल्य तय गर्ने सहमति गरेको थियो ।
दोस्रो चरणको वार्तासम्म उखुको मूल्य प्रतिक्वीन्टल ४ सय ६० रुपैयासम्म दिन सहमत भएका उद्योगपतिहरुले चौथो चरणको वार्तामा उक्त मूल्य दिन नसकिने बताएको र सरकारलाई मध्यस्थताका लागि लेखेको पत्रमा प्रति क्वीन्टल ४ सय ८ रुपैयाभन्दा बढी दिन नसकिने जनाएको महासंघ अध्यक्ष मैनालीले बताए । किसानहरुले गतवर्ष नै प्रति क्वीन्टल ४ सय ८१ रुपैया प्रति क्वीन्टल उखुको मूल्य पाएकाले सो भन्दा कममा कुनै हालतमा सहमति नगरिने महासंघ अध्यक्ष मैनालीले बताए । ‘‘हामी बरु गोली खान र कÇर्यू झेल्न तयार छौं ।’’ अध्यक्ष मैनालीले भने–‘‘तर गतवर्षको भन्दापनि कम मूल्य सहन तयार छैनौं ।’’ उद्योगपतिहरुले चिनीको मूल्य घटेको दृष्टान्त दिदै किसानलाई मारमा पार्न खोजेको उल्लेख गर्दै महासंघका अध्यक्ष मैनालीले उखु उत्पादन लागत दोब्बर बढी भएकाले आफूहरुलाई कुनैपनि हालतमा गतवर्षको भन्दा कम मूल्यमा मान्य नहुने बताए ।
वीरगंजमा भएको तेस्रो चरणको वार्तामा भएको सहमति अनुसार पुस १५ गतेबाट इन्दुशंकर चिनी उद्योग हरिवन सहित मुलुकभरका चिनी उद्योगहरु सञ्चालनमा आएका थिए । इन्दुशंकरले शुक्रबारसम्म १३ लाख क्वीन्टलभन्दा बढी उखु क्रसिङ गरिसकेको छ । हाल किसानले सून्य मूल्य लेखिएको नेटपूर्जीका भरमा उद्योगलाई उखु दिईरहेका छन् ।
फागुन पहिलो साता वित्दा समेत उखु मूल्यको विवाद नमिल्दा किसानहरु भने चिन्तित बनेका छन् ।  सर्लाहीमा मुलुकभरी नै सबैभन्दा बढी अर्थात २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ । गतवर्ष साँढे २६ लाख क्वीन्टल उखु क्रसिङ गरेको सर्लाहीको हरिवन स्थित इन्दुशंकर चिनी उद्योगले यसवर्ष सिजनमा ४० लाख क्वीन्टल उखु क्रसिङ गर्ने योजना राखेको महाप्रबन्धक विजयकान्त झाले बताए ।

भारतमा पराजीत सर्लाहीका चौधरी नेपालमा सभासद् !

भारतमा पराजीत सर्लाहीका चौधरी नेपालमा सभासद् !
हालै सम्पन्न संविधानसभा निर्वाचन २०७० को क्रममा सर्लाहीको क्षेत्र नं. ६ मा उम्मेद्वारी दिएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर (नमस्कार गरेका) सँगै घरदैलोमा व्यस्त केदारनन्दन चौधरी (बायाँ)
काठमाडांै, फागुन ११ । भारतको नगरपरिषद् चुनाव हारेका केदारनन्दन चौधरी नेपालको सभासद् बनेका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीले चौधरीलाई समानुपातिकबाट दोस्रो संविधानसभामा सभासद् बनाएको हो ।
सन् २००४ मा भारतमा भएको स्थानीय चुनावमा चौधरीले गाजियवाद जिल्लाको खोना मकानपुर नगरपरिषद् चुनावमा उम्मेदवारी दिएका थिए । चुनावमा उनी पराजित भएका थिए । भारतको नगरपरिषद्मा उम्मेदवारी दिएको १० वर्षपछि चौधरी एकैचोटि नेपालको व्यवस्थापिका–संसदमा भित्रिएका छन् ।
सन् २००८ मा गरिएको दोस्रो स्थानीय चुनावमा केदारनन्दनकी कान्छी श्रीमती मीरा चौधरीले सोही नगरपरिषद्मा महिला कोटाबाट उम्मेदवारी दिएर जितेकी थिइन् । सभासद् चौधरीको घर अहिले पनि खोना मकानपुर नगरपरिषद्को खोहरा कोलनीमा रहेको स्रोतले बतायो । चौधरीकी श्रीमती मीरा अहिले पनि उतै बस्छिन् । गाजियावाद भारतको राजधानी नयाँदिल्लीनजिकै पर्छ ।
भारतमा रासनकार्डका लागि त्यहाँको बासिन्दा भएको प्रमाण पेस गर्नुपर्छ । यसका लागि स्थानीय निकायले सिफारिस गर्नुपर्ने हुन्छ । दैनिक उपभोग्य सामानहरू सहुलियत मूल्यमा खरिद गर्न प्रयोग हुने रासनकार्ड निकै महत्वपूर्ण कागजात हो । यसैका आधारमा मतदाता नामावलीमा नाम राखिनुका साथै भोटरकार्ड वितरण गरिन्छ । भोटरकार्ड भनेको नागरिकताजस्तै हो । भोटरकार्ड भएकाले चुनाव पनि लड्न पाउँछन् ।
सभासद् चौधरीका निकट व्यक्तिहरूका अनुसार उनीसँग अहिले पनि भारतको रासनकार्ड छ । भारतको रासनकार्ड हुने व्यक्तिले नेपालको नागरिकता लिन पाउँदैन । नेपालको नागरिकता पाउन रासनकार्ड त्यागेर मात्र हुँदैन, कानुनअनुसार नेपालमा स्थायी बसोबास गरेको प्रमाण पेस गर्नुपर्छ । भारतीय रासनकार्ड रहेका व्यक्तिलाई सभासद् बनाइएको भन्दै तमलोपामा विवादसमेत भएको छ । उनलाई अध्यक्ष महन्थ ठाकुरकै चाहनामा सभासद् बनाइएको तमलोपा स्रोतले बतायो । स्रोतका अनुसार संविधानसभा चुनावमा चौधरीले सर्लाही–६ बाट उम्मेदवारी दिएका पार्टी अध्यक्ष ठाकुरलाई निकै सहयोग गरेका थिए ।
‘‘उहाँ (चौधरी)ले भारतको स्थानीय चुनावमा उम्मेदवारी दिएर पराजित भएको पत्ता लागेको छ । उहाँसँग अझै पनि भारतको रासनकार्ड रहेको छ ।’’ तमलोपाका एक पदाधिकारीले भने–‘‘यो दुर्भाग्य हो ।’’ चौधरीको घर सर्लाहीको अचलीगढ गाविसमा पनि छ । सो घरमा उनकी जेठी श्रीमती बस्छिन् । जेठी श्रीमतीको नागरिकता नेपाली छ । स्रोतका अनुसार संविधानसभामा समानुपातिकमा मनोनीत हुनु केही दिन पहिले मात्र चौधरीले गाजियावादमा रहेकी कान्छी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । ‘‘तर, त्यो सम्बन्धविच्छेद कानुनी रूपमा देखाउन मात्र गरिएको हो ।’’ तमलोपा स्रोतले भन्यो–‘‘उनी अहिले पनि भारतमा कान्छी श्रीमतीसँगै बस्ने गर्छन् ।’’
हाल पनि सभासद् चौधरी गाजियावादमै रहेको र केही दिनपछि मात्र नेपाल आउने तमलोपा स्रोतले बतायो । उनीनिकट व्यक्तिले भने–‘‘समानुपातिकमा सभासद् हुुनुभन्दा पहिले चौधरी बढी समय भारतमै बस्ने गरेका थिए । सभासद् भएयता धेरैजसो काठमाडांै र सर्लाहीमा बस्ने गरेका छन् ।’’
सर्लाही क्षेत्र नम्बर ६ का तमलोपाका केही नेताहरूले सभासद् चौधरीको दोहोरो नागरिकताबारे केन्द्रमा मुद्दा उठाउने तयारी गरेका छन् । स्रोतका अनुसार चौधरीले खोना मकानपुर नगरपरिषद्मा चुनाव हारेपछि त्यहीँ ठेक्कापट्टाको काम गर्न सुरु गरेका थिए । त्यसमा उनलाई राम्रो आम्दानी भएको थियो । त्यहाँको आम्दानीले उनले नेपालको स्थानीय राजनीतिमा प्रभाव जमाउन खोजेको तमलोपाका एक केन्द्रीय सदस्यले बताए । चुनावमा सहयोग गर्ने आश्वासन दिएपछि तमलोपाले चौधरीलाई समानुपातिकमा नाम सिफारिस गरेको थियो । ‘‘उहाँ (चौधरी)लाई हाम्रो पार्टी अध्यक्षज्यूले कसरी समानुपातिकमा नाम चयन गर्नुभयो, त्यो बुझ्न सकिएन ।’’ तमलोपाका अर्का एक केन्द्रीय सदस्यले भने । (नयाँ पत्रिका)

स्त्री रोगको स्वास्थ्य शिविर

स्त्री रोगको स्वास्थ्य शिविर
सर्लाही समाचारदाता
नवलपुर, फागुन ११ । स्त्री रोग स्वास्थ्य शिविर सञ्चालन समिति नेत्रगंजको आयोजनामा आइतबार नवलपुर बजारमा स्त्री रोग सम्वन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जिल्ला विकास समितिको कार्यालयको आर्थिक सहयोगमा भएको शिविरमा तीनसय सात जना महिलाहरुले स्वास्थ्य परिक्षण गराएको समितिकी अध्यक्ष मन्दिरा आचार्यले बताइन् । शिविरमा परिक्षण गर्ने क्रममा एक महिलामा पाठेघरको क्यान्सर भेटिएको छ भने आधा दर्जनभन्दा बढी महिलाहरुलाई पाठेघरमा ‘रिङ’ राखिएको शिविर सञ्चालन समितिले जनाएको छ ।
शिविरमा स्त्री रोग विषेशज्ञ डाक्टर ईन्द्रजित महतोको टोलीले बिरामीहरुको स्वास्थ्य परिक्षण गरेको थियो । शिविरमा उपचार गर्न आउने महिलाहरुलाई औषधी समेत निःशुल्क प्रदान गरिएको बताइएको छ ।

पासवानलाई जेल र जरिवाना

पासवानलाई जेल र जरिवाना
सर्लाही समाचारदाता
मलंगवा, फागुन ११ । केही दिन अघि पक्राउ परेका नेत्रगंज गाविस–२ का  कामेश्वर पासवान हातहतियार खरखजाना ऐन अनुसार जेल चलान भएका छन् ।
२०६८ सालमा हजरियामा भएको डकैति एवं हातहतियार घटना अनुसार पासवान तीन वर्ष दुई महिनाका लागि जेल चलान भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । जेल भुक्तानका साथै पासवानले ७५ हजार जरिवाना समेत भुक्तान गर्नुपर्ने प्रहरीले जनाएको छ ।
२०७० मंसिर १४ गतेको प्रमुख जिल्ला अधिकारीको फैसला अनुसार पासवानले सो सजाय भुक्तान गर्नुपर्ने भएको हो । डकैति मुद्धामा जिल्ला अदालतले साधारण तारेखमा छाडेपनि सोही घटनामा हातहतियार तथा खरखजाना ऐन अनुसार अगाडी बढाईएको कार्वाहीमा पासवानलाई तीनवर्ष दुई महिना जेल तथा ७५ हजार जरिवाना तिनुपर्ने फैसला सुनाईएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा पासवान फरार सूचीमा रहेका थिए । उनलाई गत फागुन ८ गते विहिबार इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले पक्राउ गरेको थियो । सोमबार पासवानलाई जिल्ला कारागार महोत्तरी पठाइने जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

विकृती रोक्न प्रहरीको अभियान

विकृती रोक्न प्रहरीको अभियान
सर्लाही समाचारदाता
लालबन्दी, फागुन ११ । ईलाका प्रहरी कार्यालय लालबन्दीले समाजमा बढ्दै गएको सामाजिक विकृत नियन्त्रण गर्न अभियान सञ्चालन गर्ने भएको छ ।
आइतबार आयोजना गरिएको गोष्ठीमा सहभागी सरोकारावालाहरुले प्रहरीले सञ्चालन गर्न लागेको अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । गोष्ठीमा सहभागी सर्लाही क्षेत्र नम्वर १ का नवनिर्वाचित सभासद् शम्भुलाल श्रेष्ठले पनि प्रहरीले शुरु गर्न लागेको अभियान निकै प्रशंसनिय भएको भन्दै आफ्नो तर्फबाट अभियान सफल पार्न सक्दो पहल गर्ने बताए ।
लालबन्दीमा मदिरा सेवन गरी जथाभावी हो–हल्ला गर्ने, अखाद्य बस्तु बिक्री वितरण गर्ने, जुवातास खेल्ने, महिला हिंसा नियन्त्रण लगायत अन्य सामाजिक विकृती नियन्त्रण गर्न अभियान सञ्चालन गर्न लागेको प्रहरी निरीक्षक विष्णु प्रसाद सोतीले जानकारी दिए । पछिल्लो समयमा विभिन्न किसिमका सामाजिक विकृती बढेपछि प्रहरीले नियन्त्रण गर्न अभियान सञ्चालन गर्न लागेको हो । त्यस्तै विभिन्न विद्यालयहरुमा पुगेर ट्राफिक नियमको बारेमा विद्यार्थीहलाई शिक्षा दिन थालिएको प्रहरीले जनाएको छ ।

जिर्ण सडकले यात्रुहरु जोखिममा

जिर्ण सडकले यात्रुहरु जोखिममा
सर्लाही समाचारदाता
हरिवन, फागुन ११ । हिउँद लागेयता सर्लाहीको ग्रामीण क्षेत्रका लगायत चुरे भेगमा यातायात सञ्चालन भएपनि जिर्ण सडकका कारण यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
सडक मर्मतका लागि प्रभावकारी काम नहुँदा आफुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको यात्रुहरुको गुनासो छ । जिर्ण सडक र पुराना यातायातका साधनमा क्षमताभन्दा बढी यात्रुहरु चढाउँदा ग्रामीण क्षेत्रमा दुर्घटना समेत बढ्दै गएको छ ।
कालिन्जोर, परवानीपुर, नारायणखोला, अत्रौली लगायत गाविसमा पुग्ने अधिकांश ग्रामीण सडकको अवस्था अहिले अत्यन्त नाजुक रहेको छ । भित्री सडक खण्डका धेरै ठाउँमा कल्भर्ट नभएको र भएको कल्भर्ट समेत वर्षौदेखि जिर्ण अवस्थामा हुँदा समेत मर्मत हुन सकेको छैन । सडक मर्मतका लागी वर्षेनी बजेट विनियोजन हुने भएपनि प्रभावकारी काम नहँुदा आफुहरुले निकै जोखिम झेल्नु परेको यात्रुहरुको भनाई छ ।

वाइरिङ् तालिमको परीक्षा

वाइरिङ् तालिमको परीक्षा
सर्लाही समाचारदाता
ईश्वरपुर, फागुन ११ । बयलवासमा घर वाईरिङ् सम्वन्धी तीनसय ९० घण्टे तालिम लिएकाहरुसँग आइतबार परीक्षा लिईएको छ ।
उद्यम विकास तथा रोजगार सिर्जना केन्द्र हरिवनको आयोजनामा भएको तालिममा सहभागी युवाहरुसँग आइतबार परीक्षा लिईएको हो ।
तालिममा सहभागी १६ जना युवाहरुसँग मौखिक, लिखित र प्रयोगात्मक परीक्षा लिईएको केन्द्राध्यक्ष समिर सुवेदीले जानकारी दिए । परिक्षाको नतिजा सीटीईभीटीले तीन महिना पछि निकाल्ने सुवेदीले बताए । तालिममा भक्तिपुर, ईश्वरपुर लगायत आसपासका गाविसका युवाहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीलाई बिदाई

विद्यार्थीलाई बिदाई
सर्लाही समाचारदाता
हरिवन, फागुन ११ । हरिवनको सुकेपोखरीमा रहेको चर्तुभुजेश्वर उमाविबाट एसएलसी परीक्षा दिने विद्यार्थीहरुलाई आइतबार बिदाई गरिएको छ ।
कक्षा ९ का विद्यार्थीहरुले बुधबार एक कार्यक्रम गरी उनीहरुलाई अविर लगाएर कापी कलम प्रदान गरिएको विद्यार्थीहरुले जनाएका छन् । विद्यालयका प्रधाध्यापक नरेन्द्रराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । सो विद्यालयबाट यस वर्ष प्रवेशिका अर्थात एसएलसी परिक्षामा एकसय १२ जना विद्यार्थीहरु सहभागी हुने विद्यालयले जनाएको छ ।

Saturday, February 22, 2014

हेपाटाइटिस बी देखा परेको डेढ महिनापछि खोप !

हेपाटाइटिस बी देखा परेको डेढ महिनापछि खोप !
सर्लाही समाचारदाता
किशनपुर, फागुन १० । हेपाटाइटिस बी को प्रकोप फैलिएको किशनपुर गाविस स्थित वडा नं. १ र २ का दलित बस्तीमा शनिबार त्यस विरुद्धको खोप लगाईएको छ । दलित बस्तीमा हेपाटाइटिस बी को प्रकोप फैलिएको जानकारीमा आएको डेढ महिनापछि मात्र त्यस विरुद्धको खोप दिईएको हो । गाविसको कार्यालय किशनपुरको सकृयता एवं जिल्ला जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा शनिबार उक्त दलित बस्तीमा हेपाटाइटिस बी विरुद्धको खोप दिईएको छ । पुषको तेस्रो सातातिर उक्त गाउँमा हेपाटाइटिस बी का विरामी फेला परेपनि जिल्ला स्थित स्वास्थ्य कार्यालय सहित सरोकारवाला निकायको उदासिनताका कारण डेढ महिनापछि मात्र त्यस विरुद्धको खोप गाउँमा पु¥याईएको हो । अझैपनि जिल्ला स्थित सरोकारवाला निकायले उचित ध्यान नदिने हो भने खतरानाक मानिने सो रोगको प्रकोप जिल्लाव्यापी नहोला भन्न सकिन्न ।
किशनपुर गाविसका सचिव हरिकान्तलाल कर्णले दलित बस्तीमा शनिबार हेपाटाइटिस बी विरुद्धका खोप ५० जनालाई लगाईएको बताए । ‘‘गाविस कार्यालयले खरिद गरेको खोपहरु जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुले हेपाटाइटिस बी रोगको संक्रमण फैलन सक्ने ५० जना सर्वसाधारणलाई लगाएका छन् ।’’ कर्णले भने–‘‘ज्यादै खर्चिलो हुने भएकाले थप खोपहरु ल्याउन समस्या देखिएको छ ।’’ गाविसकै खर्चबाट प्रति गोटा दुईहजार एकसय रुपैया भन्दा बढी तिरेर भारतबाट उक्त खोप मगाईएको सचिव कर्णले बताए ।
जिल्ला जन स्वास्थ्य कार्यालय लगायत माथिल्ला विभिन्न निकायले कुनै चासो नदेखाएपछि बाध्य भएर गाविस कार्यालयको बजेटबाटै हेपाटाइटिस बी विरुद्धको खोप झिकाईएको गाविस सचिव कर्णले बताए । ‘‘दलित बस्तीका बासिन्दाहरुमा
हेपाटाइटिस बी देखिएको खबर आउने वितिकै गत पुस २५ गते नै जिल्ला जनस्वास्थ्यमा आवश्यक प्रकृया अगाडी बढाउन अनुरोध सहित मैले लिखित पत्र दिएको थिएँ ।’’ सचिव कर्णले भने–‘‘तर जनस्वास्थ्य कार्यालयले कुनै वास्ता गरेन र बाध्य भएर गाविस कार्यालयले नै खोप खरिद गरेर ल्याएको हो ।’’
निजी स्वास्थ्यकर्मीहरुलाई गाउँमै ल्याएर परिक्षण गराएपनि जिल्ला जनस्वास्थ्य कार्यालयले मान्यता दिन नसकिने बताएको र सरकारी चिकित्सक तथा माथिल्लो निकायबाट परिक्षण गराउन आग्रह गर्दा समेत कुनै वास्ता नभएको सचिव कर्णले बताए । ‘‘जनस्वास्थ्य प्रमुखले कुनै वास्ता गर्नु भएन ।’’ सचिव कर्णले भने–‘‘बाध्य भएर दलित विकास शिर्षकको बजेटबाट दलित बस्तीमा हेपाटाइटिस बी विरुद्धको खोप ल्याएर चलाएको छु ।’’
दलित बस्तीका स्थानीय रामप्रताप पासवानको केही दिनअघि हेपाटाइटिस बीबाट मृत्यु भईसकेको र आधादर्जन भन्दा बढी सर्वसाधारणहरु सो रोगले ग्रसित भईसकेको बताईएको छ । भारतमा रोजगारी गरेर फर्किएका स्थानीय बासिन्दाले सो गाउँमा हेपाटाइटिस बी रोग फैलाएको अनुमान स्वास्थ्यकर्मीहरुले गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रभाकर झाले सो गाउँमा हेपाटाइटिस बी का विरामीहरु देखिएको र केही समयअघि देखि जनस्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्यक्रमहरु गरेको दावी गरे । हाल उक्त दलित बस्तीमा किशनपुर गाविस लगायत आसपासका गाविसबासीहरु नजाने गरेको बताईएको छ । हेपाटाइटिस बी रोग लागेपछि त्यसको उपचार व्यवस्था नै नरहेकाले उक्त रोग लाग्न नदिनका लागि सचेत हुनुपर्ने जनस्वास्थ्य निरीक्षक झाले बताए । लिभर (कलेजो) संक्रमणका कारण निम्तिने उक्त रोग प्राणघातक एचआइभि (एड्स) भन्दापनि खतरनाक मानिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

यस्तो हो हेपाटाइटिस बी

यस्तो हो हेपाटाइटिस बी
प्रभाकर झा, जनस्वास्थ्य निरीक्षक सर्लाही
हेपाटाइटिस बी भाइरसबाट सर्ने खतरनाक रोग हो । यो रोग लागेपछि उपचारको कुनै औषधि छैन । यो रोग लाग्नुबाट बच्नु नै यसको उपाय हो । यो रोग लागेपछि हेपाटाइटीस बी विरुद्धको खोपले पनि कार्य गर्दैन र यो खोप नेपाल सरकारसँग उपलब्ध पनि छैन । हेपाटाइटिस बी विरुद्धको औषधि डिपीडि खोपको औपाधिमा मिसाइएको हुनाले डिपीडी खोप लगाएका व्यक्तिहरुले पूनः यो हेपाटाइटीस बी को खोप लगाउनु पर्दैन ।
हेपाटाइटिस बी लागेपछि प्रायः कलेजो (लिभर) मा असर गर्नै हुनाले यसलाई बचाउन ग्लुकोजको मात्र बढी प्रयोग गरेर आराम गर्नुपर्छ । सरसफाईमा बढी ध्यान दिनुपर्छ ।
हेपाटाइटिस बी असुरक्षित यौन सम्पर्क, रक्त संचार, ¥याल, पिसाबबाट सर्ने हुनाले त्यस विषयमा बढी सावधानि अपनाउनुपर्नै हुन्छ । एचआइभि भन्दा हेपाटाइटिस बी अलि बढी खतरनाक मानिन्छ ।
टाउको दुख्ने, वान्ता आउने, ज्वरो आउने, पिसाब गाढा हुने र जन्डीसको प्रकोप देखा पर्ने यसको प्रमुख लक्षणहरु हुन् । हेपाटाइटिस बी लागेको व्यक्तिको सम्पर्कमा सकेसम्म स्वस्थ मानिस नजादा नै राम्रो हुन्छ जानै परे उचित सावधानी अपनाउनु पर्छ । श्रीमान् श्रीमति मध्ये एकजनालाई हेपाटाइटिस बी लागेको अवस्थामा एक अर्कालाई छुट्टाएर राखेको घटनाहरु छन् ।

दुर्घटनामा घाइते

दुर्घटनामा घाइते
सर्लाही समाचारदाता
हरिवन, फागुन १० । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा शनिबार साँझ भएको सडक दुर्घटनामा एकजना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ज. १ त ४७९२ नम्बरको ट्रयाक्टरको उखु लोड भएको टेलर पछाडी ना. १८ प ६८७५ नम्बरको मोटरसाईकल ठोक्किँदा हरिवन–४ बस्ने ३६ वर्षिय राजेन्द्र खरेल घाइते भएका हुन् । हरिवन–७ नोचा टोलबाट पूर्व–पश्चिम राजमार्गमा निस्किएका खरेलले चलाएको मोटरसाईकल पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको उखु बोकेको ट्रयाक्टरको पछाडीपट्टी जोतिएको ट्राफिक प्रहरीले जनाएको छ । साँझ ७ बजे भएको दुर्घटना बाट घाइते खरेलको यो समाचार तयारपार्दासम्म हरिवन अस्पतालमा उपचार भईरहेको छ ।

शिक्षक संगठनको भेला सम्पन्न

शिक्षक संगठनको भेला सम्पन्न
सर्लाही समाचारदाता
बरहथवा, फागुन १० । नेपाल राष्ट्रिय शिक्षक संगठन सर्लाहीको बरहथवा स्रोत केन्द्र स्तरीय भेला शनिबार सम्पन्न भएको छ ।
संगठनका सर्लाही अध्यक्ष नरेन्द्र यादवको अध्यक्षता एवं केन्द्रीय प्रतिनिधि नरेन्द्रराज सुवेदीको प्रमुख आतिथ्यतामा भएको भेलाले रामकिसुन सिंहको संयोजकत्वमा ११ सदस्यिय बरहथवा स्रोत केन्द्र स्तरीय समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा कृष्णकुमार रेग्मी, रामरतन श्रीवास्तव, हरिकृष्ण पोखरेल, प्रेम सहनी, चन्देश्वरप्रसाद सिंह, रमाकुमारी कुशवाहा, रामएकवाल सहनी, एकवर महतो, सुनिता कुमारी कर्ण र प्रेमलाल दास रहेका छन् । भेला बरहथवा स्थित चक्र जनता सहिद उमावीमा भएको थियो ।

‘ठेकेदारले रासन ल्याएकै छैन’

‘ठेकेदारले रासन ल्याएकै छैन’
सर्लाही समाचारदाता
लालबन्दी, फागुन १० । जिल्ला वन कार्यालय अन्तर्गतका सशस्त्र वन रक्षकहरुले आफूहरुलाई रासन खुवाउने जिम्मेवारी पाएको ठेकेदारले कुनै सम्पर्क नगरेको दावी गरेका छन् ।
इलाका वन कार्यालय फूलजोरका सशस्त्र वन रक्षकतर्फका जमदार भिष्म भट्टराईले रासन ठेक्का सकार गरेको ठेकेदारले आफूहरुसँग सम्पर्क नै नगरेको दावी गरे । ‘‘माघ १ गतेदेखि हामिले ठेकेदारबाट रासन पाउनुपर्ने ।’’ जमदार भट्टराईले सर्लाही दैनिकसँग भने–‘‘तर हामीलाई रासन उपलब्ध गराउनुको सट्टा सम्बन्धित ठेकेदारले उल्टै पत्रपत्रिकामा सशस्त्र वन रक्षकहरुले रासन नबुझेको भन्दै गुनासो गरेर हिड्नु गलत हो ।’’ जिल्ला वन कार्यालयले आव्हान गरेको टेण्डर अनुसार रासनको ठेक्का सकार गरेका श्रीराम जेनरल अर्डर सप्लायर्सका सञ्चालक शिवकिशोर सिंहले वन कार्यालयका सशस्त्र वन रक्षकहरुले रासन पु¥याउँदा नबुझेको भन्दै गुनासो गरेपछि त्यस सम्बन्धी समाचार गत माघ फागुन ९ गते शुक्रबार प्रकाशित भएको थियो ।
जमदार भट्टराईले तोकिए अनुसार रासन खुवाउने व्यवस्था मिलाए आफूहरुलाई स्वीकार्य हुने समेत बताए । ‘‘हामि सरकारी नियमअनुसार रासन खान तयार छौं ।’’ उनले भने–‘‘रासन खुवाउने बहानामा जस्तो सुकै सामान ल्याईए कुनैपनि हालतमा बुझ्दैनौं ।’’ रासन खाने कर्मचारीसँग समन्वय नगरी सम्बन्धित ठेकेदारले पत्रपत्रिकामा गुनासो गर्दै हिड्नु गलत भएको समेत भट्टराईले बताए ।
गत पुषमै जिल्ला वन कार्यालयका सशस्त्र वन रक्षकहरुका लागि रासन खुवाउन श्रीराम जेनरल अर्डर सप्लायर्सलाई ठेक्का परेको जिल्ला वन कार्यालयले जनाएको छ । २९ जनाको दरबन्दी रहेको जिल्ला वन कार्यालय तथा मातहतका कार्यालयमा हाल २६ जना सशस्त्र वन रक्षकहरु कार्यरत रहेका छन् । ठेक्का सम्झौतामा टेण्डर सकार गर्नेले सशस्त्र वन रक्षकहरुलाई दाल, चामल, मासु, अण्डा, विस्कुट लगायत १९ किसिमका खानेकुराको व्यवस्था गर्नुपर्ने तोकिएको हुन्छ ।
जिल्ला वन अधिकृत केदार दाहालले भने आफूले रासन ठेक्कामा टेण्डर स्वीकृत गर्ने लगायतका काम सम्पन्न गरेको र अन्य कुराहरुमा भने रासन खाने तथा खुवाउने पक्षबीच समझदारी हुनुपर्ने बताए ।

सुरक्षित आप्रवासनको प्रशिक्षण

सुरक्षित आप्रवासनको प्रशिक्षण
सर्लाही समाचारदाता
इश्वरपुर, फागुन १० । ईश्वपुर २ मा रहेको नारायण निमावीमा शनिवार सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगारको विषयमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वैदेशिक रोजगारीमा सकेसम्म नजाने र जानैपरे आवश्यक शिप सिकेरमात्र जानुपर्ने जानकारी सहितको प्रशिक्षणमा ईश्वरपुर र भक्तिपुर स्रोत केन्द्र अन्तर्गतका १९ जना सामाजिक विषय पढाउने शिक्षकरुको सहभागिता रहेको थियो ।
सहयोगी समाज नेपाल हरिवनको अयोजनामा भएको प्रशिक्षणमा अरबिन्द चौधरी र रमेशचन्द्र बरालले प्रशिक्षण दिएका थिए । यसैगरी महिला तथा बालबालिका कार्यालय मलंगवाले महिला तथा बालबालिको क्षेत्रमा काम गर्न रणनीति तय गर्नका लागी ईश्वरपुरको मनकामना महिला जागृती बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधीहरुलई प्रशिक्षण दिएको छ । प्रशिक्षणमा संस्थाका सञ्चालक समिति सदस्य, लेखा समिति सदस्य लगायत ३० जना सहभागी भएका शान्ति सेवा केन्द्र मलंगवाकी संयोजक बनिता कार्कीले जानकारी दिइने । सहभागीहरुलाई पुष्पलता उपे्रतीले प्रंशिक्षण दिएकी थिइन् ।

लोकतान्त्रिक माहासंघमा घिमिरे

लोकतान्त्रिक माहासंघमा घिमिरे
सर्लाही समाचारदाता
हरिपुर, फागुन १० । लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ नेपाल सर्लाही शाखाको शनिवार भएको दोस्रो अधिवेशनले राधा घिमिरको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
नवगठित समितिका उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमस् प्रसान्त आचार्य, कृष्ण धमला र सरोज कुमार सिंह रहेका छन् । त्यस्तैगरी सदस्यहरुमा क्रमस रजनिकान्त झा, विष्णु चालिसे, सदन दुलाल, युनिस अन्सारी, भुवनहरि गौतम, शिवजी साह, लगायत रहेका छने ।
मध्यमाञ्चल क्षेत्रिय सदस्य भवानी कोईरालाको रोहवरमा नारी उत्थान संघको भवन हरिपुरमा सम्पन्न भएको अधिवेसन विष्णु चालिसेको अध्यक्षता तथा समाजसेवी बासुदेवशरण कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

महिला क्षेत्रिय अध्यक्षमा लामा

महिला क्षेत्रिय अध्यक्षमा लामा
सर्लाही समाचारदाता
घुर्कौली, फागुन १० । अखिल नेपाल महिला संघ क्षेत्र नम्वर २ को शनिवार भएको भेलाले मञ्जु लामा नेतृत्वमा १९ सदस्यीय क्षेत्रिय कमिटी गठन गरेको छ ।
क्षेत्र नम्वर २ का ईन्चार्ज रेणुका काफ्लेको अध्यक्षता तथा एमाले जिल्ला अध्यक्ष मनोज देवकोटोको प्रमुख आतिथ्यतामा भएको भेलाले लामालाई अध्यक्षमा चयन गरेको हो । भेलामा एमालेका समानुपातिक सभासद् रन्जना सरकार, अञ्चल सदस्य तारा पोखरेल, केन्द्रीय सम्पर्क मञ्चका सदस्य संन्जिता घिमिरे, जिल्ला कमिटी सदस्य बेची लुंगेली, क्षेत्र नम्वर २ का क्षेत्रिय अध्यक्ष धन बहादुर मिक्चन लगायतको उपस्थिती रहेको थियो । संघले प्रत्येक क्षेत्रमा कमिटी गठन गर्ने अनेमसंघ जिल्ला अध्यक्ष कल्पना कटुवालले जानकारी दिइन् ।

Friday, February 21, 2014

उखुको मुल्य घटाउन सरकारलाई उद्योगपतिको पत्र

उखुको मुल्य घटाउन सरकारलाई उद्योगपतिको पत्र
सर्लाही समाचारदाता
हरिवन, फागुन ०९ । चिनी उद्योगपतिहरुले चालु सिजनका लागि उखुको मूल्य प्रति क्वीन्टल चारसय आठ रुपैयाभन्दा बढी दिन नसकिने बताएका छन् ।
केही दिनअघि चिनी उद्योगी र उखु कृषक प्रतिनिधिबीच भएको सहमति अनुसार उद्योगपतिहरुले नेपाल सरकारलाई मूल्य तय गर्ने वार्तामा मध्यस्थता गर्न आग्रह सहित लेखेको पत्रमा सोभन्दा बढी मूल्य दिन नसकिने बताएका हुन् । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमूनी मैनालीले उद्योगपतिहरुले उद्योग मन्त्रालयमा वार्ताका लागि मध्यस्थता गर्न आग्रह सहित पठाएको पत्रमा प्रति क्वीन्टल चारसय आठरुपैयाभन्दा बढी दिन नसकिने उल्लेख रहेको बताए ।
‘‘भारतको विहार स्थित रिगा सुगर मिल्समा तोकिएको भन्दा बढी मूल्य दिन नसकिने व्यहोरा सहितको पत्र उद्योगपतिहरुले उद्योग मन्त्रालयमा पठाएका रहेछन् ।’’ काठमाण्डौमै रहेका मैनालीले शुक्रबार सर्लाही दैनिकसँग टेलिफोनमा भने–‘‘मध्यस्थताका लागि दुवैपक्षले आग्रह गर्ने सहमति भएपनि उद्योगपतिहरुले मूल्य नै तोकेर सरकारलाई पत्र पठाउनु गलत छ ।’’ उद्योगीहरुले जेसुकै प्रस्ताव गरेपनि गतवर्षको भन्दा कम मूल्यमा आफूहरु नमान्ने मैनालीले बताए । ‘‘गतवर्षको भन्दा कम मूल्य कुनै हालतमा स्वीकार गर्दैनौं ।’’ मैनालीले भने–‘‘हामी सशक्त आन्दोलन गर्न मात्रहैन, गोली खान र कÇर्यू  जस्ता राज्यको दमन सहन पनि तयार छौं ।’’ गतवर्ष किसानले प्रति क्वीन्टल चारसय ८१ रुपैंया उखुको मूल्य पाएका थिए ।
‘‘भारतको विहार स्थित रिगा मिल्सले दिएको मूल्यलाई नजिर बनाउन हामी तयार छौं ।’’ मैनालीले भने–‘‘किसानलाई दिने मूल्य भारतकै मूल्यको आधार मान्ने हो भने, भारतमा एकलाखमा पाईने कार नेपालका जनताले पनि त्यतिमै चढन पाउनु प¥यो नि !’’ भारतको रिगाले उखुको प्रति क्वीन्टल भारु दुईसय ५५ दिएको र त्यसमा गतवर्षझै उखु प्रवद्र्धन वापत प्रति क्वीन्टल २५ रुपैया थप्नुपर्ने र चिनीमा भ्याट छुटबापतको थप हुनुपर्ने समेत मैनालीले माग गरे । जसअनुसार प्रति क्वीन्टल चारसय ८१ रुपैयाभन्दा बढी हुने मैनालीको कथन छ ।
उद्योग मन्त्रालयले आगामी आइतबार किसान प्रतिनिधि र उद्योगपतिलाई राखेर उखुको मूल्यका विषयमा छलफल आयोजना गर्न लागेको समेत मैनालीले बताए । उद्योगपतिहरुले सरकारी अधिकारीहरुलाई प्रभावमा पारेर उखुको मूल्य घटाउने षडयन्त्र सुरु गरेको समेत अध्यक्ष मैनालीको आरोप छ । ‘‘चिनीको मूल्य घटेको बहानामा उखुको मूल्य घटाउने षडयन्त्रमा उद्योगपतिहरु लागेका छन् ।’’ उनले भने–‘‘उद्योगपतिहरुले चिनीको मूल्य किन घट्यो भनेर सरकारसँग प्रश्न गर्न सक्छन् तर सोही बहानामा किसानको उखुको मूल्य घटाउनु प¥यो भन्न पाइदैन ।’’ गतवर्षको तुलनामा उखु उत्पादन लागत भने दोब्बर बढेपनि अनेक बहाना देखाएर उद्योगपतिहरुले उखुको मूल्य गतवर्षको भन्दापनि कम दिन खोजेको प्रति मैनालीले आपत्ती जनाए । मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष बेदबहादुर बुढाथोकीले उखुको मूल्य गतवर्षको भन्दा कम कुनैपनि हालतमा मान्य नहुने बताए । ‘‘गतवर्षको भन्दा कम मूल्य मान्दैनौं ।’’ बुढाथोकीले भने–‘‘सशक्त आन्दोलन गर्छौं ।’’ माघ २९ गते हेटौंडामा भएको चौथो चरणको वार्तामा पनि मूल्यका विषयमा सहमति हुन नसकेपछि उद्योगपति र किसान प्रतिनिधिहरुले मध्यस्थताका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेका थिए । वीरगंजमा भएको तेस्रो चरणको वार्ताले तत्काल उद्योग सञ्चालन गर्ने र माघ मसान्त भित्र मूल्य तय गर्ने सहमति गरेको थियो । सोही सहमति अनुसार पुस १५ गतेबाट इन्दुशंकर चिनी उद्योग हरिवन सहित मुलुकभरका चिनी उद्योगहरु सञ्चालनमा आएका थिए । इन्दुशंकरले शुक्रबारसम्म १३ लाख क्वीन्टभन्दा बढी उखु क्रसिङ गरिसकेको छ । हाल किसानले सून्य मूल्य लेखिएको नेटपूर्जीका भरमा उद्योगलाई उखु दिईरहेका छन् ।
फागुन पहिलो साता वित्दा समेत उखु मूल्यको विवाद नमिल्दा किसानहरु भने चिन्तित बनेका छन् ।  सर्लाहीमा मुलुकभरी नै सबैभन्दा बढी अर्थात २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ । गतवर्ष साँढे २६ लाख क्वीन्टल उखु क्रसिङ गरेको सर्लाहीको हरिवन स्थित इन्दुशंकर चिनी उद्योगले यसवर्ष सिजनमा ४० लाख क्वीन्टल उखु क्रसिङ गर्ने योजना राखेको महाप्रबन्धक विजयकान्त झाले बताए ।

शिक्षक युनियनको अधिवेशन अन्यौलमा

शिक्षक युनियनको अधिवेशन अन्यौलमा
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०९ । नेपाल शिक्षक युनियनको जिल्ला अधिवेशन केन्द्रले तोकेको समयावधी भित्र नहुने भएको छ ।
शुक्रबार बसेको युनियनमा आवद्ध शिक्षक संघ संगठनका अध्यक्ष र सचिवहरुको बैठकले समय अभावका कारण अधिवेशनको मिति सार्न सिफारिस गर्ने निर्णय गरेको छ । युनियनका अध्यक्ष नवलकिशोर रायको अध्यक्षतामा अपरान्ह शिक्षक भवन मलंगवामा बसेको बैठकले केन्द्रीय समितिसमक्ष जिल्ला अधिवेशनका लागि तोकिएको मिति केही पर सार्न सिफारिस गर्ने निर्णय गरेको हो ।
केन्द्रले आगामी फागुन १५ गतेभित्र जिल्ला अधिवेशन सक्नुपर्ने परिपत्र गरेको तर समयअभावका कारण तोकिएको समयभित्र अधिवेशन गर्न सक्ने अवस्था नरहेकाले युनियनमा आवद्ध सम्पूर्ण व्यानर शिक्षक संगठनका अध्यक्ष र सचिवहरुको बैठकले अधिवेशन गर्ने समयावधी थप गर्न सिफारिस गर्ने निर्णय गरेको युनियनका अध्यक्ष रायले बताए । बैठकमा नेपाल शिक्षक संघका अध्यक्ष कौशलकिशोर राय, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नरेन्द्रप्रसाद यादव, शिक्षक मञ्चका अध्यक्ष श्यामबाबु सिंह र लोकतान्त्रिक शिक्षक फेड्रेशनका अध्यक्ष लालबाबु राय सहितका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । युनियनको राष्ट्रिय अधिवेशन आगामी फागुन २५, २६ र २७ गते तोकिईसकेको र जिल्लाको सिफारिस सदर गर्न केही अÇठ्यारो देखिएको एक शिक्षकले बताए । ‘‘राष्ट्रिय अधिवेशन नै नजिकिई सकेकाले जिल्ला अधिवेशन पर सार्ने कुरा केन्द्रले स्वीकार गर्ने सम्भावना कम छ ।’’ उनले भने–‘‘यदि जिल्लाको सिफारिस सदर नभएमा र जिल्लाले फागुन १५ गतेभित्र अधिवेशन नगरेमा सर्लाहीले शिक्षक युनियनको राष्ट्रिय अधिवेशनमा भाग लिन नपाउने निश्चित हुन्छ ।’’
चारवर्षे कार्यकालका लागि २०६५ सालमा नवलकिशोर रायको अध्यक्षतामा युनियनको जिल्ला नेतृत्व चयन भएको थियो । युनियनमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, शिक्षक मञ्च, नेपाल राष्ट्रिय शिक्षक परिषद र लोकतान्त्रिक शिक्षक फेड्रेशन आवद्ध रहेका छन् ।

सामाग्री बरामद

सामाग्री बरामद
सर्लाही समाचारदाता
गौरीशंकरपुर, फागुन ०९ ।  नेपाल विद्युत प्राधिकरण लालबन्दी प्रशाखाको चुहावट नियन्त्रण टोलीले शुक्रवार गौरीशंकरबाट विभिन्न विद्युतिय सामाग्री बरामत गरेको छ ।
विद्युत प्रवाह गरिएको नाङ्गो तारबाट हुकिङ् गरेर सञ्चालन गरिएको तीन थान समरसियल मोटर र एक साथ सिङ्गलफेज मोटर बरामत गरिएको हो । प्रशाखाका सुपरभाईजर मोहन सिंहको नेतृत्वमा गएको टोलीले सामाग्री बरामत गरिएको प्रशाखा प्रमुख दयानन्द झाले जानकारी दिए । हुकिङ् नियन्त्रणमा प्राधिकरणका कर्मचारीहरु मात्र गएका कारण मोटरधनीहरु पक्राउ पर्न नसकेका झाले बताए ।
यसैगरी लामो समयदेखि बक्यौता नबुझाउने ग्राहकरुको विद्युत लाईने काट्ने कार्यलाई समेत तीव्रता दिईएको प्रशाखा लालबन्दीले जनाएको छ ।

कागजात विनाको मोटरसाईकल छाड्न दवाव

कागजात विनाको मोटरसाईकल छाड्न दवाव
सर्लाही समाचारदाता
नवलपुर, फागुन ०९ । चेकजाँचका क्रममा कागजपत्र नभएको पाईएपछि नियन्त्रणमा लिईएको भारतीय मोटरसाईकल छाड्न चौतर्फी दवाव बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
ट्राफिक प्रहरी पोष्ट हरिवनले केही दिनअघि नियन्त्रणमा लिएको द्यच् घण् म् ८८३५ नम्बरको भारतीय स्प्लेण्डर मोटरसाईकल छाड्नका लागि प्रशासनिक र राजनैतिक दवाव आएको एक ट्राफिक प्रहरीले बताए । चेकजाँचका क्रममा विलबुक, भन्सार रसिद लगायत कुनैपनि कागजात नभएकाले उक्त मोटरसाईकल नियन्त्रणमा लिईएको ट्राफिक प्रहरीले जनाएको छ । ‘‘कागजपत्र लिएर आउँछु भन्दै हिडेका मोटरसाईकल चालक अहिलेसम्म आएका छैनन् ।’’ एक ट्राफिक प्रहरीले भने–‘‘तर मोटरसाईकल छाडिदिनु प¥यो भनेर निरन्तर फोनमा दवाव आईरहेको छ ।’’ चोरीको मोटरसाईकन हुनसक्ने आशंकाका साथ उक्त मोटरसाईकलमा अनुसन्धान भईरहेको ट्राफिक प्रहरी स्रोतले जनायो ।
यसैबीच केही दिनयता सवारी चालक अनुमति पत्र नबोकी तथा भन्सार नतिरी गुडिरहेका १५ वटा भारतीय मोटरसाईकललाई जरिवाना गरेर छाडिएको हरिवन ट्राफिक प्रहरीले जनाएको छ ।

बिना दाईजो विवाह

बिना दाईजो विवाह
सर्लाही समाचारदाता
हरिवन, फागुन ०९ ।   परंपरागत कु–संस्कृतिलाइ चुनौति दिदै शुक्रवार मधेशी समुदायका एक युवकले विना दाइजो विवाह गरेका छन् । हरिवनका युवक बिक्रम साहले नयाँरोडकी एक युवती सँग  दाईजो नलिईकन विवाह गरेका हुन् ।
साहले हरिवन ६ घर भएकी पार्वती रौनियार सँग दाईजो नै नलिई सुकेपोखरीमा रहेको चर्तुभुजेश्वर माहादेव मन्दिरमा विवाह गरेका हुन् । तराइ–मधेश क्षेत्रमा मधेशी समुदायमा विवाह गर्न केटा पक्षले किटान गरी केटी पक्षसँग नगद र जेन्सी दाईजो माग्ने प्रचलन रहेको छ । तर साहले  केहि पनि सम्पती नलिई सामान्य रुपमा विवाह सम्पन्न गरिएको बेहुलाका मामा नथुनी साहले जानकारी दिए । केटा पक्षबाट दाईजो नलिने र केटी पक्षले पनि दाई दाईजो नदिने भन्ने समझादारी अनुसार विवाह गरिएको बताइएको छ ।
मुलुक २१औं शताब्दीमा प्रवेश गरिसक्दा समेत १८औं शताब्दीका कू–साँस्कृतिक नीति नियम अन्त्य गनुपर्ने संदेश सहित लेनदेन बिनाको विवाह गरिएको साहको कथन छ ।

आन्तरिक नृत्य प्रतियोगिता

आन्तरिक नृत्य प्रतियोगिता
सर्लाही समाचारदाता
हरिवन, फागुन ०९ । सनराइज उच्च माध्यमिक विद्यालयले शुक्रबार आन्तरिक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यालयमा कक्षा–३ देखि १० सम्मका अध्ययनरत विद्यार्थी बिच नृत्य प्रतियोगिता भएको थियो । संचालित एकल र समूह नृत्य प्रतियोगितामा प्राय सबै प्रतियोगितामा कक्षा ९ का विद्यार्थीले उपाधि चुमेका थिए ।
राम लामा, मणि लामा र मुन्ना लामा निर्णायक रहेका सो प्रतियोगितामा कक्षा–९ की पुष्पाञ्जली प्रधान, रुपा थापा, प्रेरणा शर्मा, रोजी काफ्ले र यूनिसा थपलियाले प्रस्तुत गरेको समूह नृत्य प्रथम, एक नृत्य गर्ने कक्षा–९ की प्रेरणा शर्मा दोश्रो र कक्षा नौ कै गायत्री महत तेश्रो भएकी थिईन ।
त्यसैगरी एकल नृत्यमा पुष्पाञ्जली शर्माले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिईन । प्रतियोगितामा विजयीलाई विद्यालयका संस्थापक ज्ञानप्रसाद पोखरेल, तथा प्रमुख अतिथी अभिभावक प्रतिनीधि सिता दहाल एवं सह–प्रिन्सिपल शुवास घिमिरे द्धारा प्रमाण–पत्र, मेडल र स्टेशनरी सामग्री सहितको पुरस्कार प्रदान गरिएको थियो ।
वि.सं.२०५६ सालदेखि प्रत्येक वर्ष फागुन ९ गते विद्यालयमा नियमित रुपमा आन्तरिक नृत्य प्रतियोगिता संचालन गर्ने गरिएको विद्यालयका प्रिन्सिपल सुदर्शन पोखरेलले बताए ।

Thursday, February 20, 2014

गाउँ परिषद नभएका गाविसमा कार्वाही सुरु

गाउँ परिषद नभएका गाविसमा कार्वाही सुरु
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, फागुन ०८ । नियमानुसार तोकिएको समयभित्र गाउँ परिषद नगर्ने गाविस सचिवहरुलाई जिल्ला विकास समितिको कार्यालयले कार्वाही प्रकृया अगाडी बढाएको छ । जिविसका स्थानीय विकास अधिकारी उमेश बस्नेतले पुष मसान्त भित्र गाउँ परिषद नगर्ने गाविस सचिवहरुलाई स्पष्टिकरण सोधेका छन् । नियमानुसार तोकिएको समयभित्र गाउँ परिषद नगर्ने गाविस सचिवहरुलाई स्पष्टिकरण सोधेर कार्वाही प्रकृया अगाडी बढाईएको स्थानीय विकास अधिकारी बस्नेतले बताए ।
पुस मसान्त भित्र परिषद सम्पन्न गरि जानकारी नगराउने गाविस सचिवहरुलाई स्थानीय विकास अधिकारी बस्नेतले स्पष्टिकरण सोधेका हुन् । जिल्ला स्थित ९९ वटा गाविस मध्ये २२ वटा गाविसको गाउँ परिषद नभएको जिविस कार्यालयले जनाएको छ ।
हालसम्म गाउँ परिषद सम्पन्न हुन नसकेका गाविसहरुमा अर्नाहा, बगदह, बहादुरपुर, बाराउद्योरण, गम्हरिया, हेमपुर, जमुनिया, खोरिया, खुटौना, लक्ष्मिपुर सुखचैना, मोतिपुर, मुसैली, पडरिया, पर्सा, फूलपरासी, रामवन, सलेमपुर, सिमरा, सिसौट, सिसौटिया, सुदामा र सुन्दरपुर रहेका छन् । नियमानुसार पुस मसान्त भित्र गाविस कार्यालयले गाउँ परिषद सम्पन्न गर्नुपर्ने हुन्छ ।
स्थानीय विकास मन्त्रालयले पटक–पटक परिपत्र गरेर तोकिएको समयमा गाउँ परिषद नगरेका गाविस सचिवहरुलाईँ आवश्यक कार्वाही प्रकृया अगाडी बढाउन निर्देशन दिएपछि स्थानीय विकास अधिकारी बस्नेतले त्यस्ता गाविस सचिवहरुलाई स्पष्टिकरण सोधेका हुन् । केही दिनअघि सोधिएको ४८ घण्टे स्पष्टिकरणको जवाफ अधिकांश गाविस सचिवहरुबाट आएको भएपनि मन्त्रालयले पूनः थप कार्वाही प्रकृया अगाडी बढाउन निर्देशन सहितको परिपत्र गरेको छ ।
गाविस सचिवहरुले राजनैतिक खिचातानीका कारण गाउँ परिषद हुन नसकेको जवाफ पेश गरेको जिविस कार्यालय स्रोतले जनाएको छ । ‘‘अधिकांश गाविस सचिवले राजनैतिक खिचातानीका कारण गाउँ परिषद हुन नसकेको जवाफ पेश गरेका छन् ।’’ जिविस स्रोतलले जनायो–‘‘कतै राजनैतिक खिचातानी त कतै सरुवाका कारण कागजात बरबुझारथ नहुँदा गाउँ परिषद हुन नसकेको बताईएको छ ।’’ गाविस सचिवको गलत नियतका कारण गाउँ परिषद नभएको पाईएमा त्यस्ता गाविस सचिवलाई कडा कार्वाही गरिने स्थानीय विकास अधिकारी बस्नेतले बताए । अन्य ७६ वटा मध्ये कतिपय गाविसहरुको समेत ‘व्याक डेट’ मा गाउँ परिषदको मिति देखाएर जिविसमा कागजात पेश भएको जानकारहरु बताउँछन् । ‘‘पहुँचवाला गाविस सचिवले व्याक डेटमा गाउँ परिषद भएको कागजात पेश गरेका छन् ।’’ एक गाविस सचिवले भने–‘‘बोल्न नसक्ने र पहुँच नभएका सचिवले केही कागजात पेश गर्न सकेनन् ।’’
तोकिएको समयमा गाउँ परिषद हुन नसक्दा सम्बन्धित गाविसको कार्यालयहरुले थप सरकारी अनुदानबाट वञ्चित सहितको कार्वाही बहन गर्नुपर्दछ । तोकिएको समय भित्र गाउँ परिषद नगर्ने गाविसहरु आर्थिक वर्ष ०७०÷०७१ को न्यूनतम शर्तमापन सूचकमा अनुत्तीर्ण हुने फेल हुने निश्चित भएको छ । जसले गर्दा कम्तिमा एउटा गाविसले २ देखि ५ लाख थप अनुदान वापत गुमाउनु पर्ने हुन्छ । २२ वटा गाविसहरु न्यूनतम शर्तमापनमा फेल हुँदा समग्रमा जिल्लाले कम्तिमा पौने करोड गुमाउनुपर्ने निश्चित भएको छ ।

गाविस अनुगमनमा जिविसको टोली

गाविस अनुगमनमा जिविसको टोली
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०८ । जिल्ला विकास समितिको कार्यालयले गाविस कार्यालयका काम कार्वाहीको अनुगमन गर्न ६ वटै क्षेत्रमा अनुगमन टोली खटाएको छ ।
विहिबार स्थानीय विकास अधिकारी उमेश बस्नेतले ६ वटै क्षेत्रमा गाविसका काम कार्वाहीहरुको अनुगमन गर्नका लागि अधिकृतको नेतृत्वमा अनुगमन टोली गठन गरिएको बताए । ‘‘अब गाविस सचिवहरुको गुनासो सुन्ने र भएका काम कार्वाहीहरुको अनुगमन गर्न टोली गठन गरेका छौं ।’’ स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘गल्ती गर्ने गाविस सचिवलाई कार्वाही गर्ने लगायत सबैखाले अधिकार अनुगमन टोलीलाई छ ।’’
क्षेत्र नं. १ अन्तर्गतका गाविसहरुमा योजना अधिकृत होमबहादुर थापा, क्षेत्र नं. २ मा सूचना अधिकृत पुष्करमणि घिमिरे, क्षेत्र नं. ३ मा इन्जिनियर मोहरलाल महतो, क्षेत्र नं. ४ मा कार्यक्रम अधिकृत नगिना राय, क्षेत्र नं. ५ मा इन्जिनियर रमेश यादव र क्षेत्र नं. ६ अन्तर्गतका गाविसहरुमा स्थानीय विकास अधिकार बस्नेत आफैले अनुगमन गर्नेछन् । गाविस सचिव विरुद्ध धेरै गुनासा एवं विवादहरु समेत आएकाले कामा कार्वाही एवं गाविस सचिव विरुद्धको गुनासो सुन्नका लागि अनुगमन टोली खटाईएको स्थानीय विकास अधिकारी बस्नेतले बताए ।
जिल्लाकै सम्वेदनशिल मानिएको क्षेत्र नं. ६ अन्तर्गतका गाविसहरुमा भने आफै अनुगमनमा खट्ने स्थानीय विकास अधिकारी बस्नेतको कथन छ । स्थानीय विकास अधिकारी बस्नेतका अनुसार मन्त्रालयले समेत अनुगमन निर्देशिका जारी गरेकाले सोही अनुसार अनुगमन टोली खटाईएको र गाविस सचिव एवं गाविस कार्यालयका काम कार्वाही विरुद्ध आउने सम्पूर्ण गुनासाहरुमा आवश्यक कार्वाही प्रकृया टोलीले नै अगाडी बढाउने छ ।

कति सुस्त प्रहरी ?

कति सुस्त प्रहरी ?
सर्लाही समाचारदात
मलंगवा, फागुन ०८ । सदरमुकाम मलंगवा स्थित संचारकर्मी शंकर श्रेष्ठको घरमा विहिबार राती चोरीको प्रयास भएको छ । श्रेष्ठ सहित परिवारका सदस्यले चोर आएको तुरुन्तै थाहापाएकाले चोरी भने हुन पाएन ।
राती साँढे १० बजे बाहिर मान्छे बोलेको आवाज सुनेपछि ढोका खोलेर बाहिर निस्कन खोज्दा ढोकामा बाहिरबाट चुक्कुल लगाएको र छेउको कोठामा भाडामा बसेका परिवारलाई फोन गरेर ढोका खोलिदिन भन्दा उनको समेत कोठाको ढोकामा बाहिरबाट चुक्कुल लगाएको संचारकर्मी श्रेष्ठले बताए । लगतै प्रहरीलाई फोन गर्दा झण्डै पौने घण्टापछि मात्र सुरक्षाकर्मीको टोली घरमा आईपुगेको उनले बताए । ‘‘मान्छे कराएको सुनेपछि बाहिर निस्कन खोज्दा ढोकामा बाहिरबाट चुक्कल लगाएको रहेछ ।’’ उनले भने–‘‘छेउको कोठामा भाडामा बस्नेलाई खोल्न भन्दा त त्यहाँ पनि बाहिरबाट चुक्कुल लगाईएको रहेछ ।’’
जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल अर्थात १०० नम्बरमा घटनाबारे जानकारी गराउँदा २ सय मिटर हाराहारी दुरीमा रहेपनि जानकारी गराएको झण्डै पौने घण्टापछि प्रहरीको टोली आईपुगेको नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले बताए । निकैबेरसम्म पनि प्रहरी नआएपछि छिमेकी घरका मानिसलाई फोन गरेर ढोकाको चुक्कुल खोल्न लगाईएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार छिमेकीहरु आएर चुक्कुल खोलेपछि सबैतिर हेरेर चोरी नभएको पत्ता लागेको र त्यसको निकैबेरपछि मात्र प्रहरी टोली आएका थिए । ‘‘जिल्ला प्रहरी कार्यालयको नजिकै त यति ढिलागरी प्रहरी आउँछ भने ग्रामीण भेकहरुमा कुनै घटना हुँदा प्रहरीको के आशा गर्नु ?’’ श्रेष्ठको कथन थियो । श्रेष्ठको घर नेपाल बैंक लिमिटेडसँगै टाँसिएर रहेको छ ।

ट्यांकर पल्टदा एक महिलाको मृत्यु

ट्यांकर पल्टदा एक महिलाको मृत्यु
सर्लाही समाचारदाता
ढुंग्रेखोला, फागुन ०८ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ढुंग्रखोला गाविस–४ स्थीत मिलनचोक नजिक विहिबार साँझ भएको ट्यांकर दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् ।
दुर्घटनामा परि गम्भिर घाईते भएकी हरिवन गाविस–६ बस्ने ४० वर्षिया सन्तमाया दोङको थप उपचारार्थ बिरगंग तर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । दुर्घटनामा परि हरिवन गाविस–६ की १६ बर्षिया एलिसा दोङ, ढुंग्रेखोला गाविस–४ का ५६ वर्षिय चन्द्रबहादुर दोङ र कैलाली जिल्ला घर भएका चालक २७ वर्षिय गोविन्दबहादुर गुरुङ गम्भिर घाईते भएका छन् । त्यस्तै दुर्घटनामा ट्यांकरका सहचालक कैलालीका २५ वर्षिय विरबहादुर तामाङ सामान्य घाईते भएका छन् । गम्भिर घाईते तीनजनालाई नमुना अस्पताल हरिवनमा सामान्य उपचार पछि थप उपचारार्थ बिरगंज पठाईएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पुर्व तर्फ आईरहेको छुवा बोक्ने ना. २ ख ६१६ नम्बरको ट्यांकर बाटो काट्दै गरेको पैदल यात्रिलाई जोगाउने क्रममा राजमार्गबाट तल खसेको थियो ।

साक्षरता कक्षाको कोटा निर्धारण

साक्षरता कक्षाको कोटा निर्धारण
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०८ । जिल्ला शिक्षा कार्यालयले साक्षरता कक्षा संचालनका लागि छनौट भएका संस्थाहरुलाई कक्षा सञ्चालन र गर्ने स्थान निर्धारण गरेको छ ।
जिल्ला शिक्षा कार्यालयले ११ वटा स्रोत केन्द्रहरु अन्तर्गत एक–एकवटा गाविसमा संचालन गर्न साक्षरता कक्षाका लागि विभिन्न ५६ वटा संस्थाहरुलाई कोटा र स्थान निर्धारण गरेको हो । मलंगवा स्रोत केन्द्र अन्तर्गत मलंगवा नगरपालिकामा १ सय ४९ वटा कक्षा, गोडैता स्रोत केन्द्र अन्तर्गत रामवन गाविसमा १ सय ३९, गडहिया डुमरिया स्रोत केन्द्र
अन्तर्गत बलरामा ८८, बरहथवा स्रोत केन्द्र अन्तर्गत राजघाट गाविसमा ९१, मदनपुर स्रोत केन्द्र अन्तर्गत धनगढामा १ सय २५, हरिपुर स्रोत केन्द्र अन्तर्गत पिडारी गाविसमा ९०, हरिपूर्वा स्रोत केन्द्र अन्तर्गत संग्रामपुर गाविसमा १ सय २८, भक्तिपुर स्रोत केन्द्र अन्तर्गत गौरीशंकर गाविसमा १ सय ४२, सुखेपोखरी स्रोत केन्द्र अन्तर्गत घुर्कौली गाविसमा १ सय २५, इश्वरपुर स्रोत केन्द्र अन्तर्गत १ सय ७१ र परवानीपुर स्रोत केन्द्र अन्तर्गत नारायणखोला गाविसमा ५० वटा कक्षा सञ्चालनको निर्णय भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
साक्षरता कक्षा संचालनका लागि कोटा पाएका संस्थाहरुले आगामी फागुन १४ गते भित्र छनौट भएको स्वयमसेवकको नाम, थर, ठेगाना, वडा नं., सम्पर्क नं., कक्षा सञ्चालन गर्ने स्थान र समय सहितको जानकारी गराउनुपर्ने शिक्षा कार्यालय योजना तथा तथ्यांक फाँटका सुनिल कुशवाहाले बताए । सम्बन्धित संस्थाले फागुन २० गतेदेखि तीन महिनासम्म दैनिक दुईघण्टाका दरले कक्षा संचालन गर्नुपर्ने र साक्षरता कक्षाको अवधी सकिए पश्चात सबै व्यक्ति साक्षर भएको सार्वजनिक समारोह गरी घोषणा गर्नुपर्ने छ । साक्षरता कक्षा संचालनका लागि १ सय ६ वटा संस्थाले आवेदन दिएका थिए । जसमा ५६ वटा संस्थालाई छनौट गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

वनको रासनमा विवाद

वनको रासनमा विवाद
सर्लाही समाचारदाता
लालबन्दी, फागुन ०८ । जिल्ला वन कार्यालय अन्तर्गतका सशस्त्र वन रक्षकलाई रासन उपलब्ध गराउँदा लिन नमानेको सम्बन्धित ठेकेदारले गुनासो गरेका छन् ।
ठेक्का परेर रासन पु¥याउँदा जिल्ला वन कार्यालय लालबन्दी, इलाका वन कार्यालय मूर्तिया र पूmलजोरमा कोर्ट मास्टरहरुले नबुझेको टेण्डर परेको जय श्रीराम जेनरल अर्डर सप्लायर्सका सञ्चालक  शिवकिशोर सिंहले बताए । ‘‘रासनको ठेक्का सदर भएपछि मैले माघ २८ गते जिल्ला वन कार्यालय र इलाका वन कार्यालयहरुमा ट्रयाक्टरमा रासन सम्बन्धि सामानहरु पु¥याँए ।’’ उनले भने–‘‘तर कतैपनि बुझ्न मानिएन, रासन खुवाउने टेण्डर परेकाले मैले रासन नै पु¥याएको हुँ तर नबुझेर मलाई समस्यामा पार्ने काम भैरहेको छ ।’’ रासन वापतको सामान वनका रक्षकहरुले बुझ्न नमान्दा आफू निकै समस्यामा परेको सिंहले गुनासो गरे । समस्याबारे जिल्ला वन कार्यालयमा लिखित निवेदन पेश गरेपनि कुनै सुनुवाई नभएको सिंहको कथन छ । उनले जिल्ला प्रशासन कार्यालय, वन विभाग र कोष लेखा नियन्त्रक कार्यालय मलंगवामा समेत निवेदनको बोधार्थ गरेका छन् ।
जिल्ला वन अधिकृत केदार दाहालले भने आफूले रासन ठेक्कामा टेण्डर स्वीकृत गर्ने लगायतका काम सम्पन्न गरेको र अन्य कुराहरुमा भने रासन खाने तथा खुवाउने पक्षबीच समझदारी हुनुपर्ने बताए । समस्या समाधानमा पहल सुरु गरिसकेको समेत जिवअ दाहालले जानकारी दिए । स्रोतका अनुसार सशष्त्र वन रक्षकहरुले विगत वर्षमा रासन वापत ठेकेदारसँग रकम नै लिने गरेपनि सिंहले भने जबर्जस्ती रासन नै खुवाउन खोजेकाले उनीहरुले बुभ्mन नमानेको बताईएको छ ।

लालबन्दीमा सरसफाई सम्मेलन

लालबन्दीमा सरसफाई सम्मेलन
सर्लाही समाचारदाता
लालबन्दी, फागुन ०८ । गाविसको कार्यालय लालबन्दीले विहिबार गाउँ स्तरीय सरसफाई सम्मेलन सम्पन्न गरेको छ ।
गाविसलाई खुला दिशामुक्त क्षेत्र बनाउनका लागि सरसफाई सम्मेलन आयोजना गरिएको बताईएको छ । गाविस सचिव शम्भु ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. १ बाट निर्वाचित सभासद् शम्भुलाल श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने जिल्ला सरसफाई समन्वय समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी उमेश बस्नेत विशिष्ट अतिथि रहेका थिए । लालबन्दी गाविसलाई जिल्लाको पहिलो खुला दिशामुक्त गाविस घोषणा गर्ने लक्ष्यका साथ सरसफाई सम्मेलन गरिएको गाविस कार्यालयले जनाएको छ ।
स्थानीय विकास अधिकारी बस्नेतले कार्यक्रममा सरसफाई सम्वन्धी कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कृषि उपसेवा केन्द्र नवलपुरका प्रमुख ईन्द्रदेव यादवले स्वागत सम्मेलनमा विभिन्न सरकारी निकायका पदाधिकारी, लक्षित समुदायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि स्थानीय लगायतको सहभागिता रहेको थियो । सरसफाई सम्मेलनको अवसरमा शौचालय नभएका तर बनाउन सक्ने हैसियत भएका परिवारलाई २०७० चैत्र मसान्त भित्र अनिवार्यमा रुपमा शौचालय बनाउन पहल गर्ने, खुला स्थानमा दिशा गर्नेलाई सामाजिक सार्वजनिक अपराध मानी कार्वाही गर्ने, फागुन मसान्त भित्रमा हरेक वडा, टोल र बस्तीमा रहेका परिवारमा शौचालय भए नभएको यकिन गर्ने, खुल्ला दिशामुक्त क्षेत्र हुने पहिलो वडा, बस्ती, टोललाई पुरस्कृत गर्ने लगायत साँत बुँदे घोषण पत्र समेत सार्वजनिक गरिएको छ ।
सर्लाही जिल्लालाई नै सन २०१६ अर्थात २०७२ सम्ममा खुल्ला दिशामुक्त घोषणा गर्न ९९ सय वटै गाविसमा विभिन्न कार्यक्रम शुरु भएको छ । सबैको साथ र सहयोग मिलेमा जिल्लालाई सन २०१६ अर्थात वि.सं. २०७२ सालसम्ममा खुल्ला दिशामुक्त बनाउन सकिने स्थानीय विकास अधिकारी बस्नेतले बताए ।

प्रजातन्त्र दिवसका अवसरमा विविध कार्यक्रम

प्रजातन्त्र दिवसका अवसरमा विविध कार्यक्रम
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०७ । ६४औं प्रजातन्त्र दिवसका अवसरमा बुधबार जिल्लाका विभिन्न स्थानमा कार्यक्रमहरु भएका छन् ।
बुधबार विहान सदरमुकाम मलंगवामा जिल्ला विकास समितिको आयोजनामा प्रभातफेरी निकालिएको थियो । जिविस कार्यालय परिसरबाट शुरु भएको प्रभावतफेरी नगरपरिक्रमा गर्दै पूनः जिविसमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे, सहायक प्रजिअ प्रकाशचन्द्र अधिकारी, स्थानीय विकास अधिकारी उमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराई सहित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रजिअ घिमिरे सहितका वक्ताहरुले प्रजातन्त्र दिवसका बारेमा चर्चा गरेका थिए ।
त्यस्तै प्रजातन्त्र दिवसकै अवसरमा हरिवनको सुखेपोखरी स्थित सभिस् फर पिस नेपालले अनाथ बालबालिका सहितको सहभागितामा प्रजातन्त्र दिवस मनाएको छ । सुखेपोखरी स्थित कलश रेस्टुरेन्ट परिसरमा प्रजातन्त्र दिवस बारेका विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शन गरिएको थियो भने प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले प्रजातन्त्रका बारेमा अनाथ बालबालिकालाई चर्चा सुनाएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, नेपाली सेनाको रिपुमर्दन गण पाँचकुमारीका गणपति मनोज वैदवार, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, प्रशासकीय अधिकृतहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कमल खत्री, सर्भिस फर पीस नेपालका महासचिव सरोज खनाल, एमाले नेता केदार मैनाली, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो । प्रजातन्त्र दिवसकै अवसरमा भएको ब्याडमिण्टन प्रतियोगितामा प्रजिअ घिमिरे र प्रशासकीय अधिकृत पवन सुवेदीको जोडी विजयी भएको थियो ।
त्यसैगरी प्रजातन्त्र दिवसकै अवसरमा नेपाल विद्यार्थी संघले लालबन्दी स्थित पश्चिम बसपार्कमा साँझ दिप प्रज्वलन गरेको छ । कार्यक्रममा नेविसंघका जिल्ला सभापती बिमल ढुंगेल, नेपाली काँगे्रसका नेता कुवेर आचार्य, स्ववियू सभापती युवाराज देवकोटा लगायत सहभागी भएका नेविसंघका क्षेत्रिय सचिव प्रकाश मैनालीले जानकारी दिए ।
त्यस्तै प्रजातन्त्र दिवसकै अवसरमा जिल्ला स्थित अन्य स्थानहरुमा समेत विविध कार्यक्रमहरु भएको थियो । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानीया राणा शासनको अन्त्य भई शासन सत्तामा प्रजा अर्थात जनताका प्रतिनिधि समेत सहभागि भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ ।

हिंसा विरुद्ध अन्तरक्रिया

हिंसा विरुद्ध अन्तरक्रिया
सर्लाही समाचारदाता
हरिवन, फागुन ०७ । महिला हिंसा विरुद्ध स्थानीय महिला संजाललाई जागृत गराउन बुधबार सुखेपोखरीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
चतुर्भुजेश्वर सामुदायिक पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा हिंसा विरुद्धको नेपालको कानून विषयमा अधिवक्ता ओमप्रकाश थापाले प्रकाश पारेका थिए ।
अन्र्तपार्टी महिला संजालकी अध्यक्ष शुशिला कार्कीको संयोजकत्वमा भएको कार्यक्रममा स्थानिय करिब चारदर्जन महिलाहरुको उपस्थिति रहेको थियो ।
प्रजातन्त्र दिवसको अवसरमा गरिएको कार्यक्रममा समाजका कुरिती एवं महिलामाथिको थिचोमिचोका विरुद्ध हुने कानूनी मार्ग बारे चेतना जागृत गरिएको पुस्तकालयका अध्यक्ष यमिनी कुमार दीपले बताए ।

नेत्र ज्योति संघमा रंजितकार

नेत्र ज्योति संघमा रंजितकार
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०७ । नेपाल नेत्र ज्योति संघ सर्लाहीको बुधबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
समितिको अध्यक्षमा पुष्प रंजितकार निर्विरोध चयन भएका छन् । त्यस्तै उतm अधिवेशनबाट सदस्यहरुमा हरिकान्त लाल कर्ण, माधव सरकार, शेख अब्दुल्ला, मुकेश जयसवाल, रजेश कुमार गुप्ता, सुशिल कुमार अग्रवाल, राम दर्शन राय, मोति लाल झा, अशोक कुमार यादव, सुगन्ध कुमार गुप्ता, सुशिला आमात्य र सीमा गुप्ता लगायतका १३ सदस्य कार्यसमिति सर्वसम्मतिबाट चयन गरिएको छ ।

दुर्घटनामा नांै घाईते, एकको अवस्था गम्भिर

दुर्घटनामा नांै घाईते, एकको अवस्था गम्भिर
सर्लाही समाचारदाता
कर्मैया, फागुन ०७ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कर्मैया–७ मा बुधबार बिहान भएको सवारी दुर्घटनामा नौ जना घाईते भएका छन् ।
दुर्घटनामा परि घुर्कौली–४ की २५ वर्षिय ईन्द्रकलैया यादव गम्भिर घाईते भएकी छिन् । गम्भिर घाईते यादवलाई हरिवन स्थित नमूना अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी वीरगंज पठाएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक महेश थापाले जानकारी दिए । गर्भवती समेत रहेकिले यादवलाई थप उपचारका लागि वीरगंज पठाईएको प्रहरीले जनाएको छ ।
अन्य घाईतेहरुमा लालबन्दी गाविस–९ का ५७ वर्षिय मदन कोइराला, ५० वर्षिया मेनुका कोइराला, लालबन्दी गाविस–८ की ६४ वर्षिया भवानी प्याकुरेल, २५ वर्षिया सुष्मा प्याकुरेल लगायत रहेका छन् । उनीहरुको हरिवन स्थित नमुना अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
जनकपुरबाट वीरगंज तर्फ जाँदै गरेको ना. २ ख ५२३६ नम्वरको बस अनियन्त्रित भई पल्टिएको थियो । बसका चालकलाई ईलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा राखेको छ । ओभरटेक गर्ने बेलामा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गजलकार सहित साहित्यिक भेला सम्पन्न

गजलकार सहित साहित्यिक भेला सम्पन्न
सर्लाही समाचारदाता
कर्मैया, फागुन ०७ । ठुलो गजलकृति कैफियतको परिचर्चा कार्यक्रम बुधबार कर्मैयामा रहेको महेन्द्र जनता उमाविमा सम्पन्न भएको छ ।
महेन्द्र जनता उमावीका प्रधानाध्यापक महेश कुमार शर्माको सभापतित्व एवं गजलका माली वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सर्लाही, रौतहट, सिन्धुली र महोत्तरीका ७० भन्दा बढी सर्जकहरुले आ–आफ्ना गजल बाचन गरेका थिए ।
कार्यक्रममा बोल्ने क्रममा गजलका माली एवं कार्यक्रमका प्रमुख अतिथी ज्ञानुवाकर पौडेलले नेपाली गजल पछिल्लो समय परिष्कृत बन्दै अगाडी बढिरहेकाले आफु अत्यन्तै खुसी भएको बताएका छन् । कार्यक्रममा युवा कवि तथा गजलकार बाबु त्रिपाठी, पुरु लम्साल, मनोज न्यौपाने, मायामितु न्यौपाने, प्रोल्लास सिन्धुलीयन, गजलकार रमेश समर्थन, हरिकृष्ण काफ्ले लगायत २०० भन्दा बढी साहित्य अनुरागीहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

हेपाटाइटिसको भ्याक्सिन आयो

हेपाटाइटिसको भ्याक्सिन आयो
सर्लाही समाचारदाता
किसनपुर, फागुन ०७ । किसनपुर–१ स्थित दलित बस्तीमा फैलिएको हेपाटाइटिस बी रोग नियन्त्रण गर्नका लागि भारतबाट भ्याक्सिन झिकाईएको छ ।
गाविस कार्यालयले बुधबार भारतबाट ४ भाइल बरावरको ५० जनालाई पुग्ने भ्याक्सिन झिकाएको हो । केहिदिनअघि भ्याक्सिन अभाव भएको समाचार आएपछि गाविसले निजी व्यवसायी मार्फत भ्याक्सिन झिकाएको हो । जिल्लाका कुनै पनि स्वास्थ्य संस्थामा भ्याक्सिन नपाएपछि भारतबाट झिकाईएको गाविस सचिव हरिकान्तलाल कर्णले जानकारी दिए । उक्त बस्तीमा बसोवास गर्ने अधिकांश व्यक्तिहरु भारतमा रोजगार गर्न जाने भएकाले रोग सरेको चिकित्सकहरुको भनाई छ । किसनपुरमा हेपाटाइटिस बी लागेर एक जनाको मृत्यु भैसकेको छ भने आधा दर्जन भन्दा बढी व्यक्तिहरुमा यसको संक्रमण देखा परेको छ । बस्तीमा ल्याव टेष्ट पश्चात रोगको लक्ष्यण देखा परेकाहरुलाई भ्याक्सिन दिने बताईएको छ ।

आगालागीबाट लाखौँ क्षति

आगालागीबाट लाखौँ क्षति
सर्लाही समाचारदाता
जानकीनगर, फागुन ०७ । जानकीनगर–२ स्थित उखु बारीमा बुधबार आगलागी हुँदा लाखौँ मूल्य बरावरको उखु क्षति भएको छ ।
अचानक आगालागी हुँदा स्थानीय आधा दर्जन किसानहरुको खेतमा लगाएको उखु जलेर नष्ट भएको छ । आगालागीबाट नारायण पोखरेल, पदम दुलाल, रामसेवक राय, नारायण राय, रामनाथ राय र सुरेन्द्र महतो जमिनमा लगाएको उखु जलेर नष्ट भएको हो । आगालागीबाट ५ लाखभन्दा बढि क्षति भएको किसानहरुको भनाई छ । दिउँसो करिब साँढे एक बजेको समयमा भएको आगालागी लाई स्थानीय र ईलाका प्रहरी कार्यालय हरिपुरले नियन्त्रणमा लिएका थिए ।

सेवा नमूना संचालनमा

सेवा नमूना संचालनमा
सर्लाही समाचारदाता
हरिवन, फागुन ०७ । हरिवनमा  बुधबारदेखि सेवा नमूना क्लिनीक प्रा.लि. संचालनमा आएको छ ।
हरिवन चोकमा रहेको नमूना अपस्तालको पुरानो भवन अर्थात हरिवन मिडिया नेटवर्क प्रा.लि.को पूर्वपट्टी भवनमा संचालन भएको सो क्लिनिकको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. अनामिका झाले उद्घाटन गरेकी थिइन । ल्याव, एक्स–रे, ओपिडी, सेवा सहित दैनिक १२ घण्टा संचालन हुने क्लिनिकमा सप्ताहमा एक दिन विभिन्न विशेषज्ञ चिकित्सकहरु आउने व्यवस्था मिलाइएको संचालकहरुले जनाएका छन् ।
दैनिक ओपिडी सेवा प्रदान गरिने क्लिनिकमा हाडजोर्नी, मानसिक, यौन तथा छाला रोग, स्त्री रोग विशेषज्ञ चिकित्सकहरुको प्रत्येक महिना एक÷एक सातामा एकपटक सेवा प्रदान गरिने जनाइएको छ ।
क्लिनिक सुन्दर केसी, कमल विक्रम कार्की, दिनेश कार्की (वेनी) र भूवन बरालद्वारा संचालन गरिएको हो ।

तत्काल मूल्य निर्धारण गर्न माग

तत्काल मूल्य निर्धारण गर्न माग
सर्लाही समाचारदाता,
हरिवन, फागुन ०७ । कृषक अधिकार महासंघको बुधबार सर्लाहीको हरिवनमा भएको बैठकले छिटोभन्दा छिटो उखुको मूल्य निर्धारण गर्न माग गरेको छ ।
महासंघका अध्यक्ष दिपेन्द्र प्रसाद मैनालीको अध्यक्षतामा भएको बैठकले उखु क्रसिङ गरेको लामो समय भैसक्दा समेत मूल्य निर्धारण गर्न उद्योगीहरुले वास्ता नगरेपछि यस्तो माग गरिएको हो । मूल्य निर्धारण गर्न ढिलाई हुँदा किसानहरु अन्योलनमा परेको भन्दै केहि दिन भित्रमा मूल्य निर्धारण नभए कडा आन्दोलन गर्ने चेतावनी दिईएको छ ।
मूल्य निर्धारणमा ढिलाई भए आगामी फागुन १० गते हरिवन स्थित सुर्ती विकास मैदानमा किसानहरुको बृहत भेला गराई आन्दोलनको कार्यक्रम तय गर्ने निर्णय भएको महासंघका सदस्य राजेश महतोले जानकारी दिए । केहिदिनअघि गोरखापत्रमा यसवर्ष उखुको मूल्य चारसय ८१ रुपैँया निर्धारण भएको समाचारले आफुहरु आचार्य चकित भएको नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उखुको मूल्य निर्धारणमा उद्योगीहरुसँग सम्झौता नभएकाले भ्रममा नर्पन समेत किसानहरुलाई आव्हान गरेका छन् ।
उखुको मूल्य निर्धारण गर्नका लागि चारपटकसम्म विभिन्न ठाउँमा उद्योगी र किसान प्रतिनिधी बीच वार्ता भएपनि मूल्यमा कुरो मिल्न सकेको छैन । यसवर्ष किसानहरुले गतवर्षको भन्दा कम मूल्यमा सम्झौता गर्न नसक्ने बताएका छन भने उद्योगीहरुले चारसय ५० भन्दा बढी दिन नसक्ने अडान राख्दै आएका छन् । गत माघ २९ गते किसानका प्रतिनिधि र उद्योगीहरु बीच हेटौडामा भएको वार्तामा कुरा मिल्न नसकेपछि सरकारसँग मध्यस्थ गरी कुरा मिलाईने निर्णय भएको छ । गतवर्ष उखुको मूल्य चारसय ८१ रुपैँया निर्धारण भएको थियो ।

अगुवा कृषकलाई तालिम

अगुवा कृषकलाई तालिम
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०७ । सदरमुकाम मलंगवामा तीन दिने उखु बाली सम्बन्धि अगुवा कृषक तालिम सम्पन्न भएको छ ।
जिल्ला कृषि विकास कार्यालयको आयोजनामा सञ्चालित तालिम बुधबार सम्पन्न भएको हो । तालिममा विभिन्न गाविसका २३ जना कृषकहरु सहभागी रहेको कार्यालयका प्रमुख युगलकिश्वर तिवारीले जानकारी दिए । कृषकहरुलाई उखु बालीमा रोेग, किरा नियन्त्रण, खुट्टी व्यवस्थापन, उखु लगाउने तरिका लगायतको बारेमा तालिम दिइएको छ । तालिममा कार्यालयका बाली अधिकृत र इन्दु शंकर चिनी उद्योगका उखु प्रवन्धकले प्रशिक्षण दिएका थिए ।

तामाङ संचार समूहको जिल्ला अधिवेशन सम्पन्न

तामाङ संचार समूहको जिल्ला अधिवेशन सम्पन्न
सर्लाही समाचारदाता
लालबन्दी, फागुन ०७ । तामाङ सञ्चार समूह सर्लाहीको प्रथम जिल्ला अधिवेशन बुधबार नेपाल तामाङ घेदुङको कार्यालय लालबन्दीमा सम्पन्न भएको छ ।
समूहका जिल्ला अध्यक्ष सीता घिसिङको अध्यक्षता तथा केन्द्रिय सचिव विष्णु मोक्तानको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले फागुन १८ गते काठमाण्डौमा हुने केन्द्रिय अधिवेशनका लागि अध्यक्ष सीता घिसिङ, उपाध्यक्ष आदर्श थिङ, सचिव उपेन्द्र गोललाई पठाउने निर्णय समेत गरेको छ । अधिवेशनमा नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष हिराकाजी लामा, केन्द्रिय सदस्य ईन्द्र योन्जन लगायत अतिथी रहेका थिए । तामाङ जातीको भाषा, संस्कृति जगेर्ना गर्ने उद्देश्यले सर्लाहीमा केहि दिन अघि सञ्चारकर्मीहरु संगठित भएर तामाङ सञ्चार समूह गठन गरेका थिए ।

सकियो विद्यालय स्तरीय खेलकुद मेला

सकियो विद्यालय स्तरीय खेलकुद मेला
सर्लाही समाचारदाता
हरिपुर, फागुन ०६ । अन्तर विद्यालय जिल्ला स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सरस्वती उमावि हजरियाले सबैभन्दा बढी एकसय ३७ अंकका साथ प्रथम स्थान हाँसिल गर्दै जिल्ला प्रथम भएको छ । उसले नगद १५ हजार एवं रनिङ शिल्ड हात पारेको छ ।
त्यस्तै एभरेष्ट एकेडेमी जब्दीले एकसय ३३ अंक प्राप्त गर्दै दोस्रो स्थान हाँसिल गरेको छ । उसले नगद १२ हजारका साथै दोस्रो कप पाएको छ । त्यसैगरी इश्वरपुर जनता उमावि बेला मनर्वा एकसय तीन अंकका साथ तेस्रो भएको छ । मनर्वाले नगद नौहजारका साथै तेस्रो कप पाएको छ ।
हरिपुरको हात्तिसार खेल मैदानमा जारी पाँचौ रनिङ शिल्ड प्रतियोगितामा छात्रातर्फ एथलेटिक्सकी रंगीला बोगटी तथा छात्रतर्फ एथलेटिक्सका मिथुन चौधरी र जनज्योती उमाविका सुनील चौधरी उत्कृष्ट खेलाडी घोषित भएको जिल्ला खेलकुद विकास समितिको कार्यालयका प्रमुख अरुण भुजेलले बताए । उत्कृष्ट खेलाडीलाई नगद एकहजार पुरस्कार स्वरुप दिईएको थियो ।
जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित प्रतियोगितामा १८ वटा विद्यालयका २ सय ४७ जना विद्यार्थीले भलिबल बाहेक २६ विधामा प्रतिष्पर्धा गरेका थिए । ६ वटै क्षेत्रमा स्थानीय विद्यालयहरुबीच गराईएको प्रतिष्पर्धामा छानिएर आएका १८ वटा विद्यालयका विद्यार्थीहरुले जिल्ला स्तरीय प्रतियोगितामा भाग लिएका थिए । मंगलबार समापन समारोहका अवसरमा विजयी विद्यालय एवं उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । २६ विधामै प्रथम हुने विद्यार्थीहरुले मध्यमाञ्चल स्तरीय क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्लाहीको तर्फबाट भाग लिनेछन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश थापाको अध्यक्षता एवं नेपाली सेनाको रिपुमर्दन गणका गणपति मनोज वैदवारको प्रमुख आतिथ्यता रहेको समापन समारोहमा मध्यमाञ्चल क्षेत्रीय खेलुकद विकास समितिका प्रमुख महम्मद जियाउल विशिष्ट अतिथि रहेका थिए  । कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता, खेलकुद क्षेत्रका व्यक्तित्व, प्रशिक्षकहरु, विद्यालयका प्रधानाध्यापक, समाजसेवी, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।