Tuesday, January 28, 2014

‘हत्यारा’ खोज्दै सर्लाही प्रहरी काठमाडौंमा

‘हत्यारा’ खोज्दै सर्लाही प्रहरी काठमाडौंमा
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, माघ १४ । केहीदिन अघि खाडलमा गाडिएको अवस्थामा शव फेला परेका बबरगंज गाविसका जगन्नाथ महतोको हत्यामा संलग्नहरु खोज्दै सर्लाही प्रहरीको एकटोली काठमाण्डौतर्फ गएको छ ।
मृतकका परिवारले किटानी जाहेरी दिएपछि महतोको हत्यामा संलग्न आशंकित अभियुक्तहरु खोज्दै प्रहरी टोली काठमाण्डौ गएको हो । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओली सहितका सुरक्षाकर्मीहरु काठमाण्डौतर्फ गएका हुन् । किटानी जाहेरीमा नाम रहेका सहित संलग्न अभियुक्तहरु काठमाण्डौमा नै हुन सक्ने अनुमानका साथ प्रहरी टोली त्यसतर्फ लागेको हो ।
प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले महतोको हत्यामा संलग्न अभियुक्तहरुको खोजवीन चौतर्फी रुपमा भईरहेको बताए । ‘‘खोजवीन व्यापाक बनाएका छौं ।’’ प्रनाउ भट्टराईले सर्लाही दैनिकसँग भने–‘‘मुलुक भित्र र भारतमा समेत सम्भावित स्थानहरुमा खोजवीन टोली परिचालन गरेका छौं ।’’
बबरगंज गाविस–८ का रामविर साह सहितले हत्या गरेको भन्दै मृतकका भाई विश्वनाथ महतोले सोमबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरीमा अन्य केहीको नाम भएपनि प्रहरी नेतृत्वले सार्वजनिक गर्न चाहेन । बाह्र दिनदेखि वेपत्ता बबरगंज गाविस–८ निवासी करिब ४२ वर्षिय जगन्नाथ महतोको शव गाउँ नजिकै आँपको बगैचामा गाडिएको अवस्थामा आईतबार साँझ फेला परेको थियो ।
गत माघ १ गते बुधबार राती साँढे ८ बजे रामविर साहले फोन गरेर बोलाएपछि घरबाट बाहिरिएका मृतक महतो वेपत्ता भएका थिए । फोनबाट बोलाएर नियन्त्रणमा लिई साहले नै हत्या गरेको किटानी जाहेरीमा दावी गरिएको छ ।
मृतक महतोको हत्या कसरी भयो भन्ने बारेमा भने पोष्टमार्टम प्रतिवेदन नआई भन्न नसकिने जिल्ला प्रहरी कार्यालयले  जनाएको छ । लासको अवस्था हेर्दा ९–१० दिनअघि नै हत्या गरेर गाडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
गाउँका बालबालिका खेल्दै जाने क्रममा खाल्डो खनेर गाडिएको स्थानमा हात मात्र बाहिर निस्केको देखेपछि खनेर हेर्दा महतोको शव फेला परेको हो । खाल्डो खनेर माटोले पुरेको शवलाई स्यालले खनेपछि एउटा हात बाहिर निस्केको अनुमान गरिएको छ । दुर्गा जनता मावि छेउमा रहेको बँगैचा स्थित जरा सहित आपको बोट उखालेको खाडलमा उनलाई पुरिएको थियो । प्रहरीले पछि पहिचान गराउँदा आफन्तहरुले जगन्नाथकै शव भएको बताएका थिए ।

No comments:

Post a Comment